बेइजिङ डायरी

कोशीको चेफाजस्तै उयिसानको नदीमा अनौठो र्‍याफ्टिङ

चीनको प्रख्यात पर्यटकीय क्षेत्रको भ्रमण

चीनको फुचियान प्रान्तमा रहेको नौघुम्ती नदीको बाँसको डुङ्गा कोशीमा बग्ने चेफा जस्तै छन्। फरक यत्ति छ चेफा स्थानीयको बाध्यता हो भने नौघुम्ती नदीका बाँसका डुङ्गा रहर र अवसर हुन्। चेफा स्थानीय र केन्द्रीय सरकारको आँखामा कहिल्यै नपरेको अँध्यारा पक्ष हो भने नौघुम्ती नदीका बाँसका डुङ्गा स्थानीय र केन्द्रीय सरकारले संरक्षण र प्रवर्द्धन गरेको उज्यालो पक्ष।

कोशीको चेफाजस्तै उयिसानको नदीमा अनौठो र्‍याफ्टिङ

बेइजिङ । साहसिक पर्यटनमा नेपाली र्‍याफ्टिङले विश्वमै ख्याति कमाएको छ। त्रिशूली, भोटेकोशी, कर्णाली, कालीगण्डकीलगायतका नदीका छालमा र्‍याफ्टिङ गर्न विभिन्न देशबाट पर्यटक नेपालमा आउने गर्छन्। र्‍याफ्टिङमै केन्द्रित भएर नेपालमा विभिन्न प्रतियोगिता पनि हुने गरेका छन्।

नेपालमा जस्तै चीनमा पनि र्‍याफ्टिङ गर्ने चलन छ। चीनमा रहेका सयौँ र्‍याफ्टिङ क्षेत्रमध्ये एउटा अनौठो र युनेस्कोद्वारा संरक्षित र्‍याफ्टिङको अनुभव गर्ने मौका पाएको थिएँ पाँच वर्ष पहिले। चीनको दक्षिण पूर्वमा पर्ने फुचियान प्रान्तमा एउटा पर्यावरणीय पार्क छ। उक्त संरक्षित पर्यावरणीय क्षेत्रको नाम हो उयिसान पार्क।

उयिसानको चिया विश्व प्रख्यात छ। अत्यन्त महँगो पर्ने उक्त चिया कुनै बगानको नभएर जङ्गलको चिया हो जहाँ चियाको पत्ती वर्षको एकपटक मात्र टिपिन्छ। ट्रपिकल मौसम भएकाले त्यहाँ प्राय पानी परिरहन्छ। सदाबहार क्षेत्रमा रहेका लोपोन्मुख कयौँ वनस्पति र जडीबुटी पाइन्छन्। पहाडलाई खोपेर सिँढी बनाइएको छ। पुरै पार्क घुम्नलाई कम्तीमा तीन दिन लाग्छ। उक्त क्षेलाई युनेस्कोले सन् १९९९ मा विश्व सम्पदा सूचीमा समावेश गरेको हो।

उयिसानको बीचबाट बग्ने गर्छ ‘नौघुम्ने’ नदी। नौ ठाउँमा फनक्क घुमेर नागबेली जस्तो भएकाले यो नदीको नाम नै नौघुम्ते नदी रहन गएको छ। अङ्ग्रेजीमा यसलाई ’नाइनबेन्ड रिभर’ भनिन्छ भने चिनियाँमा चाहिँ ’चिउछ्यु’। चिनियाँ भाषामा  ‘चिउ’ भनेको नौ हो भने ’छ्यु’ भनेको घुम्ती हो।

उयिसान पहाड र नौ घुम्ते नदी

उयिसान पार्कभित्र पसेपछि सफा ऊर्जाबाट चल्ने बसले पर्यटकलाई ओसार्ने गर्छन्। ठाउँ ठाउँमा ओर्लने र अवलोकन गर्ने, पहाड चढेर रमणीय दृश्य हेरेपछि अर्कोतिर ओर्लँदा बसहरू ठिक्क परेका हुन्छन्। पार्कको पल्लोछेउ पुगेपछि बसमा फर्कने कि बाँसका डुङ्गामा फर्कने भन्ने विकल्प पर्यटकलाई दिइन्छ।

सन् २०१७ को अप्रिल अन्ततिर चिनियाँ सहकर्मी समेघासँग म उक्त क्षेत्रको अवलोकन भ्रमणमा गएको थिएँ। फर्कने क्रममा सुमेघाजी डुङ्गामा फर्कन अलिक डराइन्। मैले चाहिँ डुङ्गामा जाने अड्डी कसें। म डुङ्गामा चढ्ने भएपछि उनी पनि बाँसका डुङ्गामा यात्रा गर्न तयार भइन्।

हामीलाई लाइफ ज्याकेट लगाउन दिइयो। त्यसबाहिर पोलेथिन ओड्न पनि दिइयो। बाँसका डुङ्गाभित्र छल्याङछुलुङ पानी छल्किरहने। नदी समतल भएकाले कुनै छालचाहिँ उठेर नआउने रहेछ। वरिपरिको अद्भूत दृश्य हेर्दै गरिने उक्त यात्रा र्‍याफ्टिङ जस्तो त थिएन्, तर अनौठो अनुभूति दिने चाहिँ पक्कै थियो।

भीर खोपेर बनाइएको सिँढी चढ्दै पर्यटकहरू

बाँसका डुङ्गाले पार गर्ने दुरी जम्मा ९ किलोमिटर रहेछ। उक्त दूरी पार गर्न बाँसका डुङ्गालाई लगभग २ घण्टा लाग्यो। पानीको बेग नभएकाले घारोले ठेलेकै भरमा बाँसका डुङ्गा गुड्नुपर्ने रहेछ।

बीचमा एक ठाउँमा डुङ्गा किनारा लगाएर फोटो खिच्नका लागि केही समय पनि दिइने। अगाडि र पछाडि दुईजना व्यक्तिले बाँसलाई पानीभित्रको जमिनमा पयेट लगाएर डुङ्गालाई ठेल्ने काम आफैँमा सकसपूर्ण र रमाइलो दुवै देखिन्थ्यो। अलिक भिरालो परेको ठाउँमाचाहिँ डुङ्गा आफैँ सुलुलु अगाडि बढ्थ्यो।

डुङ्गा केही अगाडि बढेपछि चालकले चिनियाँ सहकर्मी सुमेघासँग चिनियाँ भाषामा केही कुरा गरे। त्यसपछि, सुमेघाले मलाई सोधिन् ‘तपाईंलाई यो क्षेत्र आसपासका बारेमा जानकारी चाहिन्छ कि चाहिँदैन?’ ‘लौ किन नचाहिने ?’ मैले अचम्म मान्दै भनेँ ‘यो ठाउँमा पहिलोपटक आएको पर्यटक हुँ म। मलाई त यहाँको सबै जानकारी चाहिन्छ।’

उयिसानमा पर्यटकको भीड

‘त्यसो भए चालकलाई छुट्टै पैसा दिनुपर्छ’ सुमेघाले भनिन् ‘हामीले तिरेको टिकटमा डुङ्गाको शुल्क मात्र उल्लेख छ। जानकारी लिने हो भने छुट्टै शुल्क तिर्नुपर्छ रे। चालकले हामीसँग ४० चिनियाँ युआन मागेका छन्।’ मेरो भागको २० युआन दिँदै भने ‘हुन्छ तिरौँ न त। आखिर ४० युआनमा यहाँको जानकारी किन्न कतै पाइने होइन।’

एकैछिनमा मेरो दिमाग रन्थनियो। डुङ्गामा त हामी भरिभराउ थियौँ। आठ-दस जना थियौँ होला। आखिर चालकले दिएको जानकारी त सबैले लिन्थे। पैसाचाहिँ हामी दुई जनाबाट मात्र किन ? डुङ्गामा म एक मात्र विदेशी थिएँ।

आहा! चिनियाँ व्यापारको काइदा! प्रश्न नसोधे पनि उनीहरूले जानकारी त लिने नै थिए। जे होस् विदेशी पर्यटक भनेपछि पैसा झार्ने तरिका चाहिँ चिनियाँले पनि जानेका रहेछन्।

मैले सुमेघालाई उक्त जिज्ञासा राखेपछि उनले चालकलाई अनुवाद गरेर सुनाइन्। चालकले अत्यन्त सामान्यरूपमा भने ‘पैसा नतिर्नेले प्रश्न सोध्न पाउने छैनन्। पैसा तिरेका व्यक्तिले सोधेको प्रश्नको मात्र म जवाफ दिन्छु।’

झरनामा फोटो खिच्दै चिनियाँ पर्यटक

आहा! चिनियाँ व्यापारको काइदा! प्रश्न नसोधे पनि उनीहरूले जानकारी त लिने नै थिए। जे होस् विदेशी पर्यटक भनेपछि पैसा झार्ने तरिकाचाहिँ चिनियाँले पनि जानेका रहेछन्।

मैले पनि बीच बीचमा विभिन्न प्रश्नहरू सोधिरहेँ। फरासिलो पाराले जवाफ दिन्थे उनी। चालकले मलाई सिन्च्याङको उइगुर जातिको चिनियाँ ठानेका रहेछन्। सुमेघाले मलाई नेपालको भने पनि उनले बुझेनन्। उइगुर नभए कजाक हो कि भनेर उनी अझै अनुमान लगाउँदै थिए।

डुङ्गा खिवाउने ती अधवैँसे व्यक्तिले हामीलाई नदी वरिपरिको जानकारी रमाइलो तरिकाले दिन थाले। उनले भनेअनुसार माथि जङ्गलभित्र एउटा सेतो बाँदरको मन्दिर छ। उक्त मन्दिरमा तीनजना भिक्षुणी र दुईजना भिक्षु बस्छन्। परम्परागत चिनियाँ विश्वास अनुसार सेतो दाह्री भएको उक्त बाँदरको मन्दिर पश्चिममको यात्रा शृङ्खलामा भिक्षुसँग लुम्बिनी गएको बाँदरको मन्दिर हो।

चीनमा सबैभन्दा लामो टेलिशृङ्खला पश्चिमको यात्राको धेरै भाग उयिसान पहाडभित्रै खिचिएको पनि ती डुङ्गा चालकले बताए। पश्चिमको यात्रा चिनियाँ टेलिभिजनमा वर्षौँदेखि अटुट रूपमा चलिरहेको छ। एकजना भिक्षुका साथमा बाँदर, सुँगुर र एक व्यक्ति चीनबाट पश्चिमतिरको यात्रामा निस्किएका हुन्छन्। सातौँ शताब्दीमा नेपाल भ्रमणमा पुगेका सुआन चाङको कथा हो पश्चिमको यात्रा।

नौ घुम्ते नदीमा बाँसका डुङ्गाहरू

खासमा उनीहरू बुद्धसूत्र खोज्नका लागि लुम्बिनी र कपिलवस्तु गएका थिए। तर चिनियाँ टेलिभिजन शृङ्खलामा नेपालको कतै पनि नाम उल्लेख छैन। न त लुम्बिनीको नाम आउँछ न कपिलवस्तुको। बरु भारतको नाम चाहिँ थुप्रै ठाउँमा आउँछ।

विभिन्न रूप र तरिकाबाट छुट्टाछुट्टै छायांकन गर्दा आधा शताब्दीभन्दा लामो समय बितेको थियो। लामो समय छायांकन गरिएको प्रमाण बाँदर पात्रको भूमिकामा वर्षौँ अभिनय गरेका व्यक्तिका छोराले उही बाँदरको भूमिका अभिनय गर्न थालेको पनि तीन दशकभन्दा बढी भइसकेको छ। छोरा बाँदरलाई चीनमा ‘मङ्की किङ’ भनेर चिन्छन्। एउटै पात्रमा उही शृङ्खलामा बुबादेखि छोराले अभिनय गरेको एक मात्र टेलिभिजन शृङ्खला पनि हो पश्चिमको यात्रा। यसका केही भाग नेपाली भाषामा अनुवाद भएर नेपाल टेलिभिजनबाट प्रसारण भइसकेका छन्।

चिनियाँ भाषा नबुझे पनि मैले टेलिभिजनमा पश्चिमको यात्रा धेरैपटक हेरेको थिएँ/छु। जङ्गलमा भिक्षु अलपत्र परेको, विभिन्न रूप धारण गर्ने मायावी राक्षसले दुःख दिएको, बाटो भुलेको, चिताउनै नसकिने कष्ट भोग्नुपरेका दृश्य कुनै स्टुडियोमा खिचेर मिलाइएको होला भन्ठानेको थिएँ। त्यस्तो दृश्य छायांकन भएको स्थान त त्यही उयिसानको जङ्गल पो रहेछ।

र्‍याफ्टिङ गरिरहेका बेला मैले फ्याट्ट सोधेँ ‘नदीमा मोटरबोट नचलाएर किन बाँसको डुङ्गालाई घँचेट्दै र्‍याफ्टिङ गराएको ?’ सुमेघाले मेरो पश्नलाई चिनियाँमा अनुवाद गरेपछि ती चालकले दिएको जवाफले मेरो मथिङ्गल रनन्न भयो। उनले भने ‘मोटरबोट कुदाएको भए यत्तिका डुङ्गा चालकको जागिर चट हुने थियो। बाँसका डुङ्गा बनाउने कालिगड बेरोजगार हुने थिए। बाँसको खेती गर्ने किसानको आम्दानी गुम्ने थियो। अनि सबैभन्दा महत्त्वपूर्ण कुराचाहिँ वातावरण संरक्षण र उयिसानको पहिचान नामेट हुने थियो।’

बाँसका डुङ्गामा  र्‍याफ्टिङ गर्दै स्तम्भकार चेतनाथ आचार्य

ओहो यस्तो गहन कुरा पनि जानेका तिनले। मोटरबोट त चीनमा कति छन् कति। बेइजिङकै साना-साना कुला जस्ता खोल्सीमा मोटरबोट कुदाएको देखेकै हो। सबैभन्दा ठूलो नदी याङ्सेमा पनि मोटरबोट छँदैछन्। शाङ्हाईको होङपो नदीमा मोटरबोटमा बारम्बार यात्रा गरेकै हो। बाँसको प्राकृतिक डुङ्गा जसले उयिसानमा हजारौँ वर्षको इतिहास बोकेको छ। पुरानो सीप र कलालाई निरन्तरता दिएको छ। पर्यटकलाई लोभ्याएको छ। अनि युनेस्कोको सम्पदा सूचीमा रहेर आफ्नो पहिचानलाई कायम राखेको छ।

उक्त बाँसको डुङ्गामा यात्रा गरेको चार वर्षपछि गत फागुन ३ गते हेर्ने कथा युट्युब च्यानलले एउटा अनौठो भिडिओ प्रसारण गरेको देखेँ। उदयपुर र भोजपुरबाट मालबाँसका सयौँ घान बाँधेर कोशीमा बगाउँदै चतारामा लगेर बेचिँदोरहेछ। स्थानीय व्यक्तिले भिडियोमा बताए अनुसार यो पुस्तौँदेखिको पेशा हो।

यसरी कोशी नदीमा बाँसका चेफा बनाएर लाँदा कयौँ पटक दुर्घटना भएर केही व्यक्तिले ज्यान पनि गुमाएका रहेछन्। हिउँद याममा बाँसलाई बाँधेर कोशीमा बगाउँदै लगिने बिटालाई ‘चेफा’ भनिदाेरहेछ। त्यही चेफामाथि बसेर डुङ्गा खियाए जस्तै बगाएर अत्यन्त खतरनाक रूपमा घन्टौँको यात्रा गरिँदो रहेछ।

नेपालका मूलधार भनेर स्वघोषित सञ्चार माध्यमका आँखामा चेफाको पीडा कहिल्यै परेन। न त कुनै टेलिभिजनले कोशी किनारका ती व्यक्तिको सुस्केरा सुने, न कुनै पत्रपत्रिका र अनलाइनले ती विषयको उठान नै गरे। खै कसरी हेर्ने कथा समूहले उक्त विषयको जानकारी पायो र हामी जस्ता कथित पत्रकारलाई देखाएर ‘कुरी कुरी’ बनायो।

चीनको फुचियान प्रान्तमा रहेको नौघुम्ती नदीको बाँसको डुङ्गा कोशीमा बग्ने चेफा जस्तै छन्। फरक यत्ति छ चेफा स्थानीयको बाध्यता हो भने नौघुम्ती नदीका बाँसका डुङ्गा रहर र अवसर हुन्। चेफा स्थानीय र केन्द्रीय सरकारको आँखामा कहिल्यै नपरेको अँध्यारा पक्ष हो भने नौघुम्ती नदीका बाँसका डुङ्गा स्थानीय र केन्द्रीय सरकारले संरक्षण र प्रवर्द्धन गरेको उज्यालो पक्ष। ‘चिउछ्यु’का बाँसका डुङ्गा र कोशीका ‘चेफा’ दुवै ‘अर्ग्यानिक’ चाहिँ हुन्।

 

नदीमा बाँसका डुङ्गा

 

नदीमा बाँसका डुङ्गा

Comment

2 thoughts on “कोशीको चेफाजस्तै उयिसानको नदीमा अनौठो र्‍याफ्टिङ

  1. Similarity of Nepali ‘chefs’ and Bamboo boat of ‘Chiuchhu River’ is striking ! But Nepal not being mentioned in ‘Journey to the West’ and ‘Monkey King’ is deplorable .

  2. Similarity of Nepali ‘chefa’ and Bamboo boat of ‘jiuchhi River’ is striking ! But Nepal not being mentioned in ‘Journey to the West’ and ‘Monkey King’ is deplorable .

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved