राजनीतिक दलले पत्याएका डाक्टर

राजनीतिक दलले पत्याएका डाक्टर

काठमाडौं। आगामी मंसिर ४ मा हुने निर्वाचनमा प्रतिनिधिसभातर्फ दुई हजार पाँच सय २६ जना चुनावी मैदानमा छन् । राजनीतिक दलले मात्र होइन अहिले व्यक्तिहरू स्वतन्त्ररूपमा पनि निर्वाचमा उठ्दै छन्।

राजनीतिमा पढेलेखेका र विषय विज्ञको अभाव भइरहेको आवाज विगतदेखि नै उठ्दै आएको छ । यो पटक केही राजनीतिक दलले देशका विभिन्न स्थानमा चिकित्सकहरूलाई पनि प्रत्यक्षतर्फको टिकट दिएका छन्।

मोरङको क्षेत्र ६ मा गठबन्धनबाट कांग्रेसका नेता डा. शेखर कोइरालाले उम्मेदवारी दर्ता गराएका छन्। कोइराला फिजिसियन डाक्टर हुन्। उनको प्रतिस्पर्धा एमालेका नेता लालबाबु पण्डितसँग हुनेछ। अघिल्लो निर्वाचनमा पण्डितले ३३ हजार ९४१ र कोइरालाले ३३ हजार २६६ मत ल्याएका थिए।

यता, रौतहट २ मा नेपाली कांग्रेसले डा. फिरदोस आलमलाई उम्मेदवार बनाएको छ। डा. आलम कांग्रेस नेता अफताव आलमका छोरा हुन्। अफताव इँटाभट्टामा जिउँदै मान्छे जलाएको आरोपमा जेलमा रहेका छन्। रौतहट कांग्रेसले यो क्षेत्रबाट अफतावको नाम सिफारिस गरेको थियो। तर, त्यसको चौतर्फी विरोध भएपछि कांग्रेसले उनका छोरालाई अघि सारेको हो। डा. आलम नेपाल प्रहरी अस्पतालमा कार्यरत थिए। उनले यसअघि नै राजीनामा दिइसकेका छन्।

यो निर्वाचन क्षेत्रमा एमाले र जसपाले तालमेल गरेका छन् । एमाले र जसपाले जसपाका शैलेन्द्र साहलाई उम्मेदवार बनाएका छन् । यस्तै सोही क्षेत्रमा गान्धीवादी पार्टीले नन्दकिशोर प्रसाद यादवलाई उठाएको छ।

यस्तै, राप्रपाले महिन्द्र साह तेली, नेपाल मजदुर किसान पार्टीले दिनेशप्रसाद साह तेली र रामयस झालाई जनमत पार्टीले उठाएका छन् यस्तै किरणकुमार साह, सेख सोवएल र पनिलाल यादवले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

नेकपा माओवादीले प्रचण्डले छाडेको क्षेत्रमा डा.भोजराज अधिकारीलाई उठाएको छ । भरतपुर अस्पतालको अध्यक्ष पदबाट राजीनामा दिएर अधिकारीले प्रतिनिधिसभा सदस्य पदकालागि उम्मेदवारी दिएका हुन् । उनी तत्कालीन नेकपा नेतृत्वको सरकारका बेला भरतपुर अस्पतालको अध्यक्ष भएका थिए । अस्पतालमा मेडिकल अफिसरमा रहेर काम गरेका डा. अधिकारी ३ वर्ष विदा स्वीकृत गरेर अध्यक्ष बनेका थिए । उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विश्वासपात्र मानिन्छन् । उनिसँग एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने चुनाव लड्दै छन् ।

यस्तै, राप्रपाले केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेलाई उम्मेदवार बनाएको छ । निर्वाचनका अनुभवी पाण्डे अधिकारीका लागि चुनौती मानिएका छन् । यस्तै, पदम थापामगर नेमकिपाबाट उम्मेदवार बनेका छन् भने मंगोल नेसनलबाट फैन्द्रजंग गुरुङ, राष्ट्रिय नागरिक पार्टीका नवराज घले , जसपाबाट कासिम मियाले पनि उम्मेदवारी दिएका छन् ।

कांग्रेसमा असन्तृष्ट बनेका केन्द्रीय सदस्य दिनेश कोइरालाले सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका छन् भने जनमुक्ति पार्टीले जगबहादुर पुनलाई उम्मेदवार बनाएको छ । जगन्नाथ पौडेल, हरि तामाङ, बद्री सिलवाल र नन्दराज उपाध्यायले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमाडौं ५ मा प्रा.डा. रामप्रसाद उप्रेतीलाई उम्मेदवार बनाएको छ। त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा कार्यरत रहँदा रहँदै झापाको बीएन्डसी मेडिकल कलेजको प्रमुख (प्रिन्सिपल) मा नियुक्त भए पनि उनी विवादमा आएका थिए। उप्रेतीले अवकाश हुनुभन्दा ६ महिनाअघि नै चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) सँग अनुमति नै नलिई बीएन्डसी मेडिकल कलेजको प्रिन्सिपलको जिम्मेवारी सम्हालेका थिए। सोही क्षेत्रमा कांग्रेसका प्रदीप पौडेल र एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उम्मेदवारी दिएका छन् । यस्तै, चर्चित अनुहार रञ्जु दर्शनाले पनि यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएकी छन्। विजय कँडेल, गोपीलाल न्यौपाने र मधुसूदन पाठकले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै, रौतहट १ मा सीके राउत नेतृत्वको राष्ट्रिय जनमत पाटीले डा. राजेन्द्रप्रसाद साहलाई उम्मेदवार बनाएको छ । रौतहट १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल उठ्दै छन्। डा. साहालाई हेवीवेट नेता नेपाल चुनौतीका रूपमा छन्। नेता नेपाललाई सत्ता गठबन्धनको समर्थन रहेको छ। यस्तै, महोत्तरी ४ मा जनता समाजवादी पार्टीले डा. सुरेन्द्र कुमार यादवलाई उम्मेदवार बनाएको छ । यस्तै, महोत्तरी ४ मा जसपाबाट डा‍. सुरेन्द्रकुमार यादवले उम्मेदवारी दर्ता गराएका छन् । उनी पूर्वस्वास्थ्य राज्यमन्त्रीसमेत हुन्। उनीसँग नेपाली कांग्रेसका महेन्द्रकुमार राय यादव लड्दै छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved