डेंगु संक्रमण उच्च : स्वास्थ्यमन्त्री भन्छन्, ‘वैज्ञानिकसँग छलफलमा छौं’

ललितपुरमा सबैभन्दा बढी संक्रमण

मन्त्री खापुङ भने आफू चिन्तित रहेको बताउँछन् । उनी भन्छन, ‘मन्त्रीलाई चिन्ता नै छैन भन्ने जसरी बुझ्नु भएन, हामी रातदिन यसको नियन्त्रणका प्रयासबारे छलफलमा छौँ । स्वास्थ्य वैज्ञानिकसँग छलफल गरेर योजना बनाइरहेका छौँ ।’ 

डेंगु संक्रमण उच्च : स्वास्थ्यमन्त्री भन्छन्, ‘वैज्ञानिकसँग छलफलमा छौं’

काठमाडौं। डेंगुको संक्रमण दिनहुँ बढ्दो क्रममा छ । हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा संक्रमण फैलिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको लथ्याङ्कले देखाएको छ । जनवरीदेखि अहिलेसम्म देशभर डेंगु संक्रमितको करिब १० हजार पुगेको छ ।

सन् २००४ यता नेपालमा डेंगु संक्रमण फैलदो क्रममा रहेको महाशाखाका कीटजन्य रोग प्रमुख डा. गोकर्ण दाहाले जानकारी दिए । यसअघि, सन् २०१९ मा अहिलेको भन्दा बढी १७ हजार ९ सय ९२ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसपछि सन् २०२० मा संक्रमण घटेको थियो ।

सन् २०२० मा जम्मा ५ सय ३० जनामा डेंगु पुष्टि भएको थियो । सन् २०२१ मा पाँच सय ४० जनामा संक्रमण पुष्टि भएकोमा यो वर्षको मध्यतिरै १८ गुणाभन्दा धेरैले बढेको छ । यद्यपी अहिले परीक्षण नगरी घरमै बस्ने संख्या धेरै छ । त्यो जोड्दा संक्रमण अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको अनुमान छ ।

संक्रमण अझै बढ्नसक्ने भएकाले सर्तकता अपनाउन डा. दाहालले आग्रह गरे । उनी भन्छन् ‘ बर्खाको मौसम किटजन्य रोगको संक्रमण बढी देखिने समय हो । वर्षा सकिएपछि पनि केही महिना जोखिममै रहन्छौँ, यो बेला कसैलाई ज्वरो आयो, रुघा लाग्यो भने परीक्षण गराउनुपर्छ।’

याे वर्ष  सातजनाको मृत्यु

पछिल्लो १५ दिनयता डेंगु संक्रमणबाट सातजनाले ज्यान गुमाएको महाशाखाले जनाएको छ । महासाखाका अनुसार मृत्यु हनेमध्ये ४ जनाको डेंगुकै जटिलताले र ३ जनामा अरु रोग पनि थियो । कान्ति बाल अस्पतालमा तीन वर्षीया बालिकाको पनि ज्यान गएको छ ।

हिमाली जिल्लामा पनि डेङ्गु देखियो

सामान्यतया किटजन्यरोग तराइका क्षेत्रमा बढि देखिन्छ । डेंगु संक्रमण भने हिमाली जिल्लामा समेत देखिएको छ । मुस्ताङ र हुम्लाबाहेक सबै हिमाली जिल्लामा संक्रमण पुगेको छ । सन् २०२२ को जनवरी देखि सेप्टेम्बर १२ सम्म हिमाली १८ जिल्लाका ४ सय ३८ जनामा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

डोल्पा र मुगुमा समेत संक्रमण पुगेको छ । जलवायु परिवर्तनका कारण पहाड र हिमाली क्षेत्रमा पनि तापक्रम बढिरहेको छ । त्यसैले डेंगु फैलाउने लामखुट्टै माथि चढेको छ र हिमाली हावापानीमा पनि बाँच्न सक्नेगरी परीवर्तन भएको छ ।

ललितपुरमा संक्रमण सबैभन्दा बढी

बागमती प्रदेशमा सबैभन्दा बढी संक्रमित देखिएका छन् । बढी जनघनत्व भएकाले पनि यो प्रदेशमा संक्रमितको संख्या अन्य प्रदेशमा भन्दा बढी छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा संक्रमण बढी फैलिएको छ । काठमाडौंमा दुई हजार चार सय १४, ललितपुरमा तीनहजार ६ सय २२ र भक्तपुरमा एकसय ७६ जनामा संक्रमण पुष्टि भएको महाशाखाको तथ्यांक छ । तर यो भन्दा पनि घरमै बसेको संख्या अझ ठुलो हुन सक्ने अनुमान छ ।

 

यस्तै, प्रदेश एकमा तीन सय २०, मधेस प्रदेशमा एक सय ८० , गण्डकीमा दुई सय दुई, लुम्बिनीमामा एक हजार तीन सय ५६, सुदूरपश्चिममा दुई सय ७१, र कर्णाली प्रदेशमा करिब ६६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ  ।

डेंगु परीक्षणमा मनलाग्दी शुल्क

डेंगु संक्रमण फैलिएको लाभ निजी अस्पताल र क्लिनिकले उठाउन थालेका छन् । उनीहरुले डेंगु परीक्षणमा मनलाल्दी शुल्क लिइरहेको गुनासो छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुल्क निर्धारणमा एकरूपता ल्याउने निर्णय गरे पनि कार्यान्वयन भएको छैन । डेंगु परीक्षणका लागि नीजी अस्पतालले दुई हजार रुपैँयासम्म लिने गरेका छन् । विभिन्न अस्पताल तथा प्रयोगशालाले आफूखुसी मनपरी शुल्क लिएको गुनासोपछि स्वास्थ्य मन्त्रालयले शुल्क निर्धारण गर्ने तयारी गरेको छ ।

डेंगु आक्रामक, सरकार छलफलमै सीमित  

स्वास्थ्य मन्त्रालयले डेंगु नियन्त्रणका लागि ठोस कदम चाल्न सकेको छैन । अहिले लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान चलाइरहेको बताए पनि कतै पनि मन्त्रालयको उपस्थिति देखिदैन । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी प्रसाद खापुङ स्थानीय तहसँग समन्वय गरिरहेको  बताउँछन् ।

डेंगु संक्रमणले महामारीकै रुप लिएको छ तर मन्त्रालय भने सुस्त देखिन्छ । तर मन्त्री खापुङ भने आफू चिन्तित रहेको बताउँछन् । उनी भन्छन, ‘मन्त्रीलाई चिन्ता नै छैन भन्ने जसरी बुझ्नु भएन, हामी रातदिन यसको नियन्त्रणका प्रयासबारे छलफलमा छौँ । स्वास्थ्य वैज्ञानिकसँग छलफल गरेर योजना बनाइरहेका छौँ ।’

मन्त्रालयको छलफल कहिले सकिने हो, योजना कहिले बनेर कार्यान्वयनमा जाने हो कसैलाई थाहा छैन ।

के हो डेंगु ? 

डेंगु एडिस (बमष्क) जातिका (एजिप्टाई र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरो हो । डेंगु भाइरस चार प्रजातिको हुन्छ– डेन १, डेन २, डेन ३ र डेन ४ । एकपटक लामखुट्टेले भाइरस बोकेपछि उसले जन्माउने सबै लार्भा भाइरससहित जन्मिन्छन्। ३० देखि ४५ दिनसम्म बाँच्ने यस लामखुट्टेले आफ्नो जीवनकालमा ९ पटक अन्डा पार्छ। एक पटकमा एक सय ५० भन्दा बढी अन्डा पार्ने यसले सातदेखि १० जना मानिसलाई टोक्न सक्छ ।

यसकारण यो लामखुट्टेले धेरैलाई डेंगु सार्ने सम्भावना हुन्छ । यो लामखुट्टेले टोकेपछि ९० प्रतिशत मानिसलाई लक्षण देखिन्छ। पहिलो टोकाइमा लक्षण नदेखिए पनि दोस्रो पटक टोकेमा गम्भीर समस्या उत्पन्न हुनसक्ने चिकित्सक बताउँछन् ।

कसरी बच्ने ?

डेंगु लाग्न नदिन लामखुट्टेको टोकाइबाट बच्नुपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनको सुझाव छ ।

लामखुट्टेको वृद्धि रोक्न सके मात्र यसको नियन्त्रण गर्न सकिन्छ । पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदानी, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गाडीका काम नलाग्ने टायर सफा गर्नुपर्छ ।

साथै, सुत्दा झुलको प्रयोग गर्ने, लामखुट्टे भगाउने मल्हम लगाउन पनि सकिने पुनको सुझाव छ । यो लामखुट्टे दिउँसोको समयमा बढी सक्रिय हुने भएकाले बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनु आवस्यक छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved