के हो लघु बिमा कम्पनी ? यसले कसलाई बढी फाइदा पुग्छ ?

सातवटा लघु बीमा कम्पनी खोल्ने सरकारको तयारी

बिमा कम्पनीका अध्यक्ष सूर्यप्रसाद सिलवाल बिमाबाट निमुखाले पनि फाइदा पाउनुपर्छ भन्ने अवधारणाबाट नयाँ कदम चालेको बताउँछन् । उनी भन्छन्- ‘बिमाको फाइदा सहर बजारमा बस्ने टाठाबाठाले मात्रै हैन दूरदराजमा बस्ने गरिबले पनि पाउनुपर्छ ।

नेपालभ्युज

के हो लघु बिमा कम्पनी ? यसले कसलाई बढी फाइदा पुग्छ ?

काठमाडौं । बिमा समितिले लघु बिमा कम्पनी स्थापनाको लागि आह्वान गरेपछि यसका राम्रा नराम्रा पक्षबारे वहस भइरहेको छ । सरकारले बजेट भाषणबाटै लघु बिमा कम्पनी स्थापना गर्ने बताएको थियो । त्यसै अनुसार बिमा समितिले सातवटा लघु बिमा कम्पनीका लागि भदौ १० गते ३५ दिने सूचनामार्फत आह्वान मागेको छ । सातमध्ये तीन वटा जीवन र चारवटा निर्जीवन कम्पनी छन् ।

लघु बिमा कम्पनीको लागि कम्तीमा ७५ करोड चुक्ता पूँजी हुनुपर्ने व्यवस्था छ। आवेदन दिने कम्पनीले जीवन र निर्जीवन बिमा दुवै वा एक मात्र कार्यक्रम सञ्चालन गर्न सक्नेछन् । अर्थमन्त्री जनार्दन शर्माले  बजेट वक्तव्य मार्फत बिमा व्यवसायलाई सामाजिक सुरक्षाको महत्त्वपूर्ण आधारको रूपमा विकास गर्न गरिब विपन्न वर्ग तथा क्षेत्रलाई समेट्ने गरी लघु बिमा कम्पनी स्थापना गर्ने घोषणा गरेका थिए ।

बिमा समितिले पनि अर्थमन्त्रालयलाई लघु बिमा कम्पनी स्थापनाको सुझाव दिएको थियो ।

के हो लघु बिमा ? कसलाई फाइदा पुग्छ ?

बिमा मुख्यत जोखिमबाट बच्ने सुरक्षा कवच हो । अर्कातिर यो बचत र लगानी पनि हो ।  न्यून आय भएका व्यक्तिप्रति लक्षित गरिँदा यसलाई लघु बिमा भन्न सकिन्छ । यसबाट सबैभन्दा बढी विपन्न, न्यून आय भएका वर्ग र साना उद्यमीलाई फाइदा हुन्छ ।

लघु बचत, लघु कर्जा, लघु बिमा र लघु भुक्तानी सेवा यसका वित्तीय आयाम हुनेछन्। यसबाहेक लघु वीत्त संस्थाले शिक्षा, स्वास्थ्य जस्ता विभिन्न सेवामा सहयोग पनि गर्न सक्छ । जब साना उद्यमीले व्यवसायिक रूपमा आफूलाई सुरक्षित महशुश गर्छन् तब जोखिम बहन गर्न सक्ने क्षमता विकास हुन्छ ।

व्यवसाय विस्तार गर्ने आत्मविश्वाससँगै यसबाट नयाँ व्यवसायमा लगानी बढ्छ ।  यिनै साना उद्यमी व्यवसायी पछि ठूला उद्यमी बन्न सक्छन् । अर्कातिर गरिब नागरिकले यसबाट प्रत्यक्ष लाभ पाउन सक्नेछन् । कमाउने सदस्यको मृत्यु हुँदा, विभिन्न दुर्घटना र प्राकृतिक प्रकोपले घर, झुपडी र बालिनाली नासिदा बिमाबाट उनीहरूले रकम पाउनेछन् ।

नेपालमा अधिकांश लघुवित्त संस्थाले बचत तथा ऋणको मात्र कारोबार गर्छन् । गरिबलाई मार परेको बेला सहयोगी भूमिका खेल्न बिमा नै चाहिन्छ । सहरमा भन्दा ग्रामीण क्षेत्रमा गरिबी धेरै छ । अर्कातिर विभिन्न कारणले जोखिम पनि अधिक छ । तथ्यांकले नै रोग, मृत्यु तथा दुर्घटनाको दर बढी भएको देखाउँछ ।

बिमा कम्पनीका अध्यक्ष सुर्य प्रसाद सिलवाल बिमाबाट निमुखाले पनि फाइदा पाउनुपर्छ भन्ने अवधारणाबाट नयाँ कदम चालेको बताउँछन् । उनी भन्छन, ‘बिमाको फाइदा सहर बजारमा बस्ने टाठाबाठाले मात्रै हैन दूर दराजमा बस्ने गरिबले पनि पाउनुपर्छ । अहिले देशमा २५ प्रतिशत नागरिक बिमा गराउन नसक्ने अवस्थामा छन् । ४० वटा कम्पनी हुँदा पनि २ प्रतिशत नागरिकमा बिमा पुग्न सकेको छैन । त्यसैले लघु बिमा अत्यन्तै आवस्यक भएको छ ।’

अहिले बिमा सेवाको पहुँच सुगम तथा सहरी क्षेत्रमा सीमित छ, बिमा प्रिमियम पनि उच्च र प्रक्रिया पनि लामो र जटिल छ । त्यसैले न्यून आय भएका गरिब यसको पहुँबाट टाढा छन् । बिमा कम्पनीहरू मुनाफा नहुने क्षेत्रमा पुग्नै चाहँदैनन् ।

जसका कारण न्यून आय भएका नागरिक मुलधारका बिमा कम्पनीको प्राथमिकतामा पर्दैनन् । लघु बिमा भयो भने यो गरिब र गाउँ लक्षित हुन सक्छ । सरकारले पनि यसमा सहयोग गर्न सक्छ । अध्यक्ष सिलवाल भन्छन, ‘ धनीबाट उठेको करको सानो हिस्सा गरिबसम्म पुर्‍याउन पर्छ । यो कुनै पनि राज्यको मुख्य दायित्व हो । त्यसैले लघु बिमा कम्पनीलाई सरकारले पनि सहयोग गर्नुपर्छ ।’

लघु बिमालाई दुई भागमा बाँडिएको छ । लघु जीवन बिमाअन्तर्गत ऋण रकमको साथै मृत्युपश्चात् गरिने संस्कारमा हुने खर्चको समेत बिमा गरिन्छ । लघु जीवन बिमा पनि विभिन्न प्रकृतिका हुन्छन् । म्यादी लघु जीवन बिमा, आजिवन लघु जीवन बिमा, सावधिक लघु बिमा र लघु उद्यम जीवनबिमा । म्यादी जीवन बिमा निश्चित अवधिको लागि गरिन्छ ।

आजिवन जीवन बिमा जीवन भरको लागि गरिन्छ, मृत्यु भएमा उक्त रकम मृतकका आफन्तलाई प्रदान गरिन्छ । सावधिक जीवन बिमा तोकिएको बिमा रकम बीमितको मृत्यु वा तोकिएको उमेर मध्ये जुन अगाडि हुन्छ, त्यही समयमा भुक्तानी गरिन्छ ।

लघु निर्जिवन बिमा पनि विभिन्न खालका हुन्छन् । बीमित तथा उसका परिवारका सदस्य बिरामी भई उपचारका लागि दिने सहयोगलाई स्वास्थ्य बिमा भनिन्छ । अन्न खेती, नगदे बाली, पशु तथा पंक्षीपालन, फलफुल खेतीलगायतका कृषिसँग सम्वन्धित जोखिमयुक्त क्रियाकलापमा पनि यस्तो बिमा प्रभावकारी हुनंछ । लघु बिमा कार्यक्रमले किसानका साथै लगानीकर्तालाई नोक्सानीबाट सुरक्षा प्रदान गर्दछ । यसबाहेक निर्जिवन लघु बिमाअन्तर्गत गार्हस्थ बिमा, दुर्घटना बिमा तथा अपांगता वा असमर्थता बिमा, प्राकृतिक प्रकोपबाट सुरक्षा, बेरोजगारी बिमा लगायतका व्यवस्था पनि हुन्छन् ।

लघु बिमाका पनि विभिन्न मोडेल छन् । तीमध्ये नेपालमा कस्तो मोडल अपनाउने भन्ने गृहकार्य भइरहेको छ । अध्यक्ष सिलवालका अनुसार धेरै विषयमा तयारी अघि बढेको छ । यी सबै समेटेर कार्यविधि तयार हुँदैछ । समितिले प्रस्ताव आह्वान गरेपछि केहीले विरोध पनि गरेका छन् ।  विशेष गरी बिमाका नाममा अहिलेसम्म फाइदा लिइरहेकाहरूमा छटपटी बढेको छ ।

अध्यक्ष सिलवाल भन्छन, ‘पारदर्शी प्रक्रियाबाट कम्पनी स्थापनाका लागि प्रस्ताव आह्वान भएको छ । क्राइटएरिया पुग्ने कम्पनीले पाउँछन् । पहिले टिका लगाएर चुपचाप दिँदा कोही नबोल्ने ? अहिले सबै प्रक्रिया पुर्‍याएर लाइसेन्स लैजाऊ भन्दा शंका गर्ने ?’

उनका अनुसार नेपालमा यो यस्तो नयाँ प्रयोग हो जसले गरिबलाई प्रत्यक्ष फाइदा पुर्‍याउनेछ । कम्पनी स्थापनालाई लिएर शंका गर्नुभन्दा पनि सहयोग गर्नुपर्ने सिलवालको आग्रह छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved