नादियादेखि रुस्दीसम्म : जो सधैँ धार्मिक अतिवादको शिकार भइरहे

धर्ममा व्याप्त अमानवीय, मानवद्रोही एवं जीर्णशीर्ण भाष्यहरूमाथि प्रश्न उठाउने कटु आलोचक, लेखक–स्रष्टा वा सांस्कृतिककर्मीहरूलाई आज पनि विश्व परिदृश्यमा सहज जीवन बिताउन कठिन छ भन्ने पछिल्लो दृष्टान्त रुस्दीमाथिको सांघातिक हमला हो।

नादियादेखि रुस्दीसम्म : जो सधैँ धार्मिक अतिवादको शिकार भइरहे

‘फतवा’ यो केवल एउटा शब्द मात्र थिएन। स्वतन्त्र, प्रेममय र सार्थक जीवन बाँच्न चाहने मानव–संसारका निम्ति ‘आतंक’ को पर्यायसमेत थियो।

सन् १९८९ भन्दापूर्व यो मानवद्वेषी शब्दसँग सिंगो विश्व शायदै परिचित थियो। परिचित भए पनि कट्टरताको मलजल पाएर मौलाइरहेको मुस्लिम समाज मात्र। तर, यो उर्दू शब्दले सन् नब्बेको दशकपछि भने व्यापकता लियो। विख्यात उपन्यास–सर्जक सलमान रुस्दीले ‘द सटानिक भर्सेज’ लेखेपछि मुस्लिम समुदायमा रुष्टताको सीमा नै रहेन। इरानको तत्कालीन सर्वोच्च धार्मिक नेता अयातोल्लाह खोमेनीले रुस्दीलाई मृत्युदण्ड दिइने ‘फतवा’ घोषणा गरे। खोमेनीले यस्तो उद्घोष गरेको समय थियो– सन् १९८९ को फेब्रुअरी १४। जुन उपन्यास त्यसको वर्ष दिनअघि सन् १९८८ मा प्रकाशित भएको थियो।

खोमेनीको फतवा यदि कडा र निर्मम थियो, तत्कालीन समयमा नै रुस्दीको हत्या गर्नेलाई मोटो धनराशी दिइने घोषणासमेत गरिएको थियो, पूरै १० लाख डलर। ‘द सटानिज भर्सेज’ मा पैगम्बर मोहमदमाथि केही नराम्रा टिप्पणी गरिएको हुँदा मुस्लिम वृत्तमा त्यसले हलचल मच्चाउनु स्वाभाविकै थियो। खोमेनीको फतवा घोषणालगत्तै केही वर्षसम्म भारत र दक्षिण अफ्रिकाजस्ता मुलुकमा उपन्यासमाथि प्रतिबन्धसमेत लगाइयो।

फतवालाई केवल आज्ञा मात्र मानिँदैन। सुन्नी र शिया पम्परामा बाँचेको छ, मुस्लिम समाज। शिया परम्परामा धार्मिक गुरुको फतवालाई बाध्यकारी मानिन्छ। यद्यपि, सुन्नी परम्परामा भने फतवालाई एउटा सुझावभन्दा बढी ठानिँदैन। खोमेनी शिया परम्पराका सर्वोच्च नेता थिए र उनको फतवा बाध्यकारी थियो।

खोमेनी जीवित छैनन् अहिले। तर करिब साढे तीन दशकपूर्व उनले रुस्दीलाई मृत्युदण्ड दिनुपर्ने फतवा घोषणा गरेको परिणाम रुस्दीले केही दिनअघि भोग्न बाध्य हुनुपर्‍यो। पश्चिम न्यूयोर्कको एउटा समारोहमा सहभागी रुस्दीको घाँटीमा मुस्लिम अतिवादीको छुरा प्रहार भयो। गम्भीर घाइते भए उनी। भनिन्छ, अहिले खतरामुक्त छन् उनी।

धार्मिक असहिष्णुता, कट्टरता र अतिवादलाई पछ्याउनेहरूले आज पनि एकपछि अर्का रुस्दीलाई निशाना बनाइरहेका छन्, विश्वको जुनसुकै कुनामा होस्। धर्ममा व्याप्त अमानवीय, मानवद्रोही एवं जीर्णशीर्ण भाष्यहरूमाथि प्रश्न उठाउने कटु आलोचक, लेखक–स्रष्टा वा सांस्कृतिककर्मीहरूलाई आज पनि विश्व परिदृश्यमा सहज जीवन बिताउन कठिन छ भन्ने पछिल्लो दृष्टान्त रुस्दीमाथिको सांघातिक हमला हो।

‘द सटानिक भर्सेज’ को चुलिँदो विश्वव्यापी चर्चा–परिचर्चाका साथै खोमेनीको फतवापछि रुस्दीले संसारका सुरक्षित ठाउँहरू चहार्दै बिताए। उनीमाथि आक्रमण हुनसक्थ्यो, जहाँ पनि, जुनसुकै पल। आखिर भएरै छाड्यो, सन् २०२२ मा आएर।

सन् नब्बेको दशकयता मुस्लिम समुदाय त रुष्ट थिए नै, रुस्दीप्रति। सन् २००७ मा बेलायतकी महारानीले उनलाई ‘नाइटहुड’को सम्मान दिँदा त्यो रुष्टता झनै चुलिएको थियो। नाइटहुड यस्तो सम्मान हो, जुन बेलायत सरकारको सर्वोच्च सम्मानको लहरमा पर्दछ। यो सम्मान प्राप्तिपछि कुनै व्यक्तिले आफ्नो नामभन्दा अगाडि ‘सर’ शब्द झुन्ड्याइने अवसर पाउँछन्। जस्तै: सर आइज्याक न्यूटन। कमै विश्वविख्यात व्यक्तिलाई मात्र यस्तो सम्मान दिइने चलन छ, बेलायतमा। रुस्दीले यो सम्मान पाएपछि पाकिस्तानलगायत मुस्लिम बाहुल्य देशहरूमा तीव्र विरोध मात्र भएन, पाकिस्तानको त राष्ट्रिय असेम्बलीमा रुस्दी र नाइटहुड सम्मानको विरोधमा प्रस्ताव नै पारित गरिएको थियो।

नसरिनका पुस्तकहरू आज पनि बङ्गलादेशमा प्रतिबन्धित अवस्थामै छन्। अरू मुस्लिम देशहरूमा पनि प्रतिबन्धित नै छन्। उनका पुस्तकहरू प्रतिबन्धित हुनुको अर्थ उनको विचारमाथिको प्रतिबन्ध हो। वाक्–स्वतन्त्रतामाथिको हस्तक्षेप हो।

धार्मिक कट्टरता र अतिवादको डोहो समात्नेहरूमा प्रायः मुस्लिम बाहुल्य देशहरू नै पर्दै आएका छन्। सतर्क रहनुपर्ने देखिएको छ अब तसलिमा नसरिनजस्ता लेखिकालाई पनि। दशकअघि बंगलादेशकी यी लेखिकाले आफ्नो कृति ‘लज्जा’ मार्फत् मुस्लिम समाजका नकारात्मक पक्षहरूलाई सतहमा ल्याइन्। के चुप लाग्थे र कट्टरपन्थीहरू ? अनेक देशमा निर्वासित हुँदै दशकौँयता उनी भारतमा निर्वासित जीवन बिताइरहेकी छिन्। सन् १९९४ देखि नै उनले निर्वासित जीवन रोज्न बाध्य भएकी थिइन्। एक दशकभन्दा बढी समय त उनले युरोप र अमेरिकामा नै गुजारिन्।

एउटी महिलाले आफ्नो भूभाग, समाज र आफन्तजनहरूबाट अलग्गिएर भौँतारिँदै जीवन बिताउनु कति कष्टप्रद विषय होला ? कल्पनासम्म पनि गर्न सकिँदैन। तर नसरिनले भने त्यही नियति झेलिरहेकी छन्।

नसरिन, एउटी नारी। मुस्लिम समाजमा नारी समुदायले भोग्नुपरेका दर्दनाक कथासँग उनी अपरिचित रहने सवालै रहेन। सो समाजमा बाँचिरहेकी नारी एउटा गहन पीडाको पर्यायजस्तै बनिरहेका छन्, आजपर्यन्त। अझ, धार्मिक कट्टरताको छहारीमुनि बाँचिरहेको मुस्लिम समाजमा त नारीले नारकीय जीवन बाँच्नुपरेका यथार्थ बेलाबेलामा सामुन्नेमा आउँछन् पनि। हुन पनि, पछिल्लो समय जुन कुनै धर्म भयको सुसंस्कृत चेहरा लिएर सतहमा देखिँदै आएकोमा सायदै दुईमत होला।

नसरिनका पुस्तकहरू आज पनि बङ्गलादेशमा प्रतिबन्धित अवस्थामै छन्। अरू मुस्लिम देशहरूमा पनि प्रतिबन्धित नै छन्। उनका पुस्तकहरू प्रतिबन्धित हुनुको अर्थ उनको विचारमाथिको प्रतिबन्ध हो। वाक्–स्वतन्त्रतामाथिको हस्तक्षेप हो।

नादियाको दुःखद अन्त्य

नादिया अंजुमन एक प्रतिभासम्पन्न कवि। अफसोच, उनी जन्मिइन्, अफगानिस्तानमा। जहाँ अझै पनि हजारौँ ‘अयातोल्लाह खोमेनी’ हरू जीवितै छन् र उनीहरूका धार्मिक कानुन र निर्देशनअनुरूप चल्नुपर्छ, सबैले नै। कसैलाई पनि स्वतन्त्र र स्वच्छन्द रूपले चल्ने अनुमति छैन। यस्तो नियति अझ धेरै झेल्नुपर्छ महिलाहरूले। उनी यस्तो समाजमा जन्मिइन्, जहाँ नारीको स्वचित्तता र जागृत सपना आजपर्यन्त पिँजडामा कैद छन्।

‘ओ, अदृश्य पर्वतका निर्वासनहरू
ओ, मौनताको फोहोरमा निदाइरहेका तिम्रो नामका जवाहरातहरू
ओ, तिम्रो पुछिएको स्मृति
विस्मृतिको समुद्रको एउटा लहरको पिँधमा भरिएको मस्तिष्कमा
ओ, तिम्रो हलुका–नीलो स्मृति
कहाँ छ त्यो सफा
प्रवाहमय बगाइ तिम्रो विचारको ?’

यति शक्तिशाली कविता लेख्थिन् नादिया। मुस्लिम समाज। अझ, त्यसमा एउटी अबोध महिलाले कविता लेख्नु ! काव्यको माध्यमद्वारा समाजलाई झक्झक्याउनु ! यो जति दण्डनीय कार्य अरू के नै हुन सक्थ्यो र ! सन् १९८० मा जन्मिएकी नादियाले पहिलो चरणको तालिवानी सत्तालाई नजिकैबाट नियालेकी थिइन्, भोगेकी थिइन्।

तत्कालीन समय तालिवानी शासकहरूले महिलाहरूलाई शिक्षाबाट पूरै वञ्चित तुल्याइरहेको थियो। त्यो कठिन समय उनले भने हाई स्कुलको अध्ययन पूरा गरिन्। हाई स्कुलमा पढ्दा ताका नै साहित्यका एकजना प्राध्यापकको घरमा आयोजना हुने गोप्य साहित्यिक गोष्ठीमा उनले नियमित उपस्थितिसमेत जनाउन थालिन्। साहित्यको गहन अध्ययनमा जोडिएका उनले कविता–लेखनमा आफूलाई सक्रिय तुल्याउन थालिन्। त्यही क्रममा उनले हेरात विश्वविद्यालयबाट डारी साहित्यको अध्ययनसमेत गरिन्।

‘हरित पाइलाहरूका पदचाप हो– वर्षात्
त्यो आइरहेको छ, सडक–मार्ग हुँदै अब
मरुभूमिले लगाइरहेको तिर्खालु आत्मा र धुलोयुक्त छाया
जलिरहेको उसको सास, मृगतृष्णामा घोलिएको
सुक्खा मुख, ध्वनि निकालिरहेको धूलो
त्यो आइरहेको छ सडक–मार्ग हुँदै अब।’

मुस्लिम समाजमा सिर्जनशील कर्ममा लीन महिलाहरूले सामाजिक र पारिवारिक वृत्तबाट कस्तो दुर्धर्ष नियति झेल्नुपर्छ ? बुझेकी थिइन् उनले यो यथार्थ। उनले तसलिमा नसरिनलाई नपढेकी होइनन्। बंगाली लेखिका तसलिमा आफ्नो भूमिबाट विस्थापित भई निर्वासन जीवन भोग्न बाध्य भएकी कुरा उनलाई थाहा थियो। तर पनि कट्टरताको मन्दविषमा डुबिरहेको समाज र परिवारको व्यवधानलाई छिचोल्दै उनी कविता सिर्जनामा गहन र प्रतिबद्ध रूपले लागेकी थिइन्। उनको आत्मस्वीकारोक्ति थियो, ‘मलाई कविता सदैव मन पर्थ्यो। ६ वर्षको तालिवानी शासनको जुन साङ्लाले मेरा खुट्टालाई बाँधिदिएको थियो, तिनै साङ्लाले मेरो कलमको हिच्किचाहटयुक्त पैंतालाको सहायताले मलाई कविताको मैदानमा पुर्‍यायो। मेरा साथीहरूले मलाई यो बाटोमा हिँड्न प्रेरणा दिए। तर, आज पनि पहिलो पाइला चाल्दा मेरो कलमको निब काँप्न पुग्छ। किनभने, यो बाटोमा हिँड्दा कतै ठोक्किएर लड्ने हुँ कि भन्ने डर लागिरहन्छ। किनकि, बाटो धेरै कठिन छ र मेरा पाइला अस्थिर।’

अफसोच ! सन् २००५ मा केवल पच्चीस वर्षकै उमेरमा कविता लेखेकै आरोपमा उनको हत्या भयो। मानौँ, नादियाको हत्या एउटा भर्भराउँदो कलमको निब भाँचिनुभन्दा कुनै पनि हिसाबले पृथक् थिएन।

यति शक्तिशाली कविता लेख्थिन् नादिया। मुस्लिम समाज। अझ, त्यसमा एउटी अबोध महिलाले कविता लेख्नु ! काव्यको माध्यमद्वारा समाजलाई झक्झक्याउनु ! यो जति दण्डनीय कार्य अरू के नै हुन सक्थ्यो र !

जीवनभर भौतारिइरहे हुसेन

धार्मिक कट्टरताको झाडीमा अल्झिरहेको समाजले न आलोचना पचाउन सक्छ, न सिर्जनशील मस्तिष्कहरूलाई कुनै सम्मानभाव नै दर्शाउन सक्छ। त्यस विपरीत, आफ्नो धार्मिक दम्भ र अहंकारलाई प्रस्फुटित तुल्याउन र त्यसलाई स्थापित गर्न सदैव तत्पर रहन्छ।

कट्टर मुस्लिम समाजको मात्र कुरा होइन। हिन्दू अतिवादमा हुर्किएको समाज र व्यक्ति पनि ‘धर्मको रक्षार्थ’ अभिव्यक्ति र सिर्जनशील स्वतन्त्रतामाथि धावा बोल्दै हरेक समय अग्रपंक्तिमा उभिँदै आएको दृष्टान्त छन्, अनेकानेक। जसका निम्ति भारतीय समाज पनि अछुतो छैन।

हेर्न सकिन्छ, प्रख्यात चित्रशिल्पी एम. एफ. हुसेनलाई नै। सन् १९७० मा नै हुसेनले केही उत्कृष्ट कला सिर्जेका थिए। तर सन् १९९६ मा भने करिब दुई दशकअघि नै सिर्जित उनका सिर्जनालाई लिएर हिन्दू अतिवादीहरूले हङ्गामा मच्चाउन थाले। खासमा, ‘सरस्वती’ शीर्षकको पेन्टिङमा सरस्वतीलाई नग्न देखाइएको सन्दर्भ उप्काएर हुसेनमाथि धावा बोलियो। उनका पेन्टिङ प्रदर्शनीस्थलमा आक्रमण भयो, केही पेन्टिङहरू जलाइए। बर्बरकालीन समयलाई बिर्साउने गरी यस्तो घोषणासमेत गरियो, ‘उनको शरीरको कुनै अंग काटेर ल्याउनेलाई उचित पुरस्कार दिइने छ।’

हरेक समय सिर्जनशील कर्ममा व्यस्त रहने हुसेनलाई भारतीय भूमि ‘असुरक्षित’ रहँदै गयो। जब हिन्दू अतिवादीहरूकै ‘फतवा’ का साथै प्रिय सन्तानजस्तै पेन्टिङहरू जलाइँदा कुन सिर्जनकर्मीको चित्त नफाट्ला र ? सुरक्षित थलोको खोजी गर्दै र आफ्नो सिर्जनकर्मलाई यथावत राख्ने सोच बोकेर उनले निर्वासन जीवन रोजे।

हिन्दू अतिवादीहरूलाई यो कुरा कहिल्यै थाहा हुन सकेन वा थाहा भए पनि बुझ्पचाए। कुनै समय हुसेनले ‘रामायण’ शृंखलाका पेन्टिङहरूसमेत बनाएका थिए। ती पेन्टिङहरू उनले भारतका समाजवादी नेता राममनोहर लोहियाको सुझावलाई ग्रहण गर्दै बनाएका थिए।

जीवनका आखिरी समय उनले लण्डनमा निर्वासित जीवन बिताए। ९६ वर्षमा मृत्युवरण गरेका उनलाई लन्डनको यस्तो ठाउँमा समाधिस्थ गरियो, जुन लन्डनको हाईगेट सिमिट्रीभन्दा कैयौँ दूरी टाढा थिए, जहाँ विश्वलाई नयाँ दृष्टि र दिशा दिने महान् सिद्धान्तकार कार्ल मार्क्सलाई समाधिस्थ गरिएको थियो। एक नागरिकता–विहीन निर्वासित नागरिकका रूपमा। हुसेनलाई समाधिस्थ गरिँदा पनि उनी रहे– नागरिकता–विहीन निर्वासित नागरिक नै।

अतः लेखकीय वा सिर्जनशील स्वतन्त्रताको मार्गमा चट्टानजस्तै उभिएर अवरोध सिर्जना गर्ने समाज र व्यक्तिहरू आज पनि मौजूद छन्। विश्वमा जतिसुकै आधुनिक र उन्नत प्रविधिको विकास भए पनि, समृद्धिका नयाँ नयाँ रेखाहरू कोरिए पनि र सभ्यताका सिँढीहरू झकिझकाउ भए पनि धर्मको नाममा जुनकुनै प्रकारका अभिव्यक्तिमाथि प्रहार हुन छाडेका छैनन्। आखिर रुस्दीमाथिको अमानवीय हमलाले यही कुराको पुष्टि गर्दछ। धार्मिक असहिष्णुता, कट्टरता र अतिवादले सिंगो विश्वलाई अजिङ्गरले झैँ बेहोरिरहेको छ भन्ने प्रस्टै देखिन्छ।
००


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved