धनराज गुरुङलाई प्रश्न : आफ्नै पार्टीका बागी उम्मेदवारलाई किन कारबाही गर्नुभयो ?

धनराज गुरुङलाई प्रश्न : आफ्नै पार्टीका बागी उम्मेदवारलाई किन कारबाही गर्नुभयो ?

स्थानीय तहको निर्वाचनमा सत्ता साझेदार पाँच दल गठबन्धनसहित निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन्। निर्णयबमोजिम नै स्थानीय तहको सिट भागबण्डा गरिएको छ। केन्द्रबाट गठबन्धनको निर्णयअनुसार चुनावी तालमेल गर्न निर्देशन दिए पनि स्थानीय नेताहरूले भने केन्द्रको निर्णय अस्वीकार पनि गरेका छन्।

विशेषगरी केन्द्रको निर्णय नमान्ने सवालमा नेपाली कांग्रेस अगाडि छ। पार्टीको निर्णयविपरीत उम्मेदवारी दिएका व्यक्तिलाई पार्टीले फिर्ता गर्ने प्रयास गरे पनि केही स्थानमा सफल हुँदा केही महत्वपूर्ण स्थानमा भने पार्टी असफल  भएको छ। 

स्वतन्त्र उम्मेदवारलाई फकाउन बहालवालामन्त्री नै पनि खटिएका देखियो। उम्मेदवारी फिर्ता लिने समय सकिएसँगै कांग्रेसले कारवाहीस्वरूप बागी उम्मेदवारलाई साधारणसदस्यसमेत नरहने गरी निष्काशन गरेको छ, उक्त निर्णयविरुद्ध नेता/कार्यकर्ताहरू असन्तुष्ट देखिएका छन्। यही सेरोफेरोमा कांग्रेसका उपसभापति नराज गुरुङसँग गरिएको संवाद : 

पार्टीको निर्वाचन चिह्नमा मतदान गर्न पाउनुपर्ने मागसहित बागी उम्मेदवारी दिएका जिल्लाका नेताहरूलाई कांग्रेसले पार्टीबाट निष्काशन गरेको छ। पार्टीको निर्वाचन चिह्नमा भोट हाल्न पाउनुपर्ने माग किन गलत लाग्यो?

स्थानीय आवश्यकताअनुसार तालमेल गर्न सकिने पार्टीले निर्णय गरेको थियो। पार्टीले तालमेलको निर्णय गरे पनि पार्टीकै निर्वाचन चिह्नमा मतदान गर्न पाउनुपर्ने आवाज उठेको थियो। पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम तलमेलको निर्णय कार्यान्वयनमा गरेका कारण तालमेल गर्ने निर्णय भएका स्थानमा पार्टीको निर्णय बाहिर नजान हामीले आग्रह गरेका थियौँ। पार्टीको केन्द्रीय कार्यसमितिले गरेको निर्णय बाहिर जाने साथीहरूलाई पार्टीले कारबाही गरेको हो।

पार्टीको चुनाव चिह्नमा मतदान गर्न पाउनुपर्छ भनेर अवाज उठाउने नेतालाई पार्टीबाट निष्काशित गर्नु कत्तिको जायज हो?

पार्टीको निर्वाचन चिह्नमा मतदान गर्न पाउनुपर्ने कार्यकर्ताको अधिकारको विषय हो। तर, पार्टीले गरेको निर्णयविरुद्ध जानु पनि ठीक हुँदैन।

कांग्रेसको कार्यसमिति र पार्टीको विधानमा कुन ठूलो हो, विधानमा त पार्टीको निर्वाचन चिह्नमा मतदान गर्नु सबै कार्यकर्ताको दायित्व हो भनेर लेखिएको छ नि?

कुन ठूलो भन्ने विषय तत्कालीन परिस्थितिले निर्धारण गर्छ। केन्द्रीय कार्य समितिले तत्कालीन परिस्थितिको मूल्यांकन गर्दै निर्णय गरेको हो। त्यसैले केन्द्रीय कार्य समितिको निर्णय पूरै गलत हो भन्ने होइन। जहाँसम्म विधान र केन्द्रीय कार्यसमितिमा कुन ठूलो भन्ने प्रश्न छ, विधानमा हठात् रुपमा आउन सक्ने परिस्थितिको विषयमा उल्लेख गरिएको हुँदैन।

त्यसैले विधानभित्र नपर्ने विषय पार्टीको केन्द्रीय कार्यसमितिले निर्णय गर्छ। विधान आवश्यकताबमोजिम प्रत्येक चार वर्षमा परिमार्जन गरिन्छ। विधानबमोजिम महाधिवेशन गरिने हो। त्यसबीच आउने समस्यलाई समाधान गर्ने जिम्मेवारी पार्टीको केन्द्रीय समिति र त्यसअन्तर्गत केन्द्रीय कार्य समितिको हो।

तत्कालीन परिपस्थितिमा आवश्यक निर्णय गर्न अधिकार पार्टीको केन्द्रीय समितिलाई हुन्छ। त्यही अधिकारको प्रयोग गर्दै पार्टीले स्थानीय निर्वाचनमा निश्चित स्थानमा पार्टीले राजनीतिक तालमेल गर्ने निर्णय गरेको थियो।

२०७४ मा कांग्रेसले रेनु दाहाललाई समर्थन गर्ने निर्णय गर्दा तपाईंहरूले त्यसको विरोध गर्नुभएको थियो। त्यसबेला विरोध गर्ने नेताहरू अहिले पार्टीको नेतृत्वदायी भूमिकामा हुनुहुन्छ। अहिले र त्यसबेलाको अवस्था फरक हो र?

२०७४ को निर्णयमा र अहिलेको निर्णयमा फरक छ। तत्कालीन समयमा पार्टीको केन्द्रीय कार्य समिति वा केन्द्रीय समितिबाट निर्णय नै नगरी अन्तिम समयमा सहकार्य गर्ने निर्णय भएको थियो। अहिले पार्टीको केन्द्रीय कार्यसमितिले अवस्था र आवश्यकताबमोजिम तालमेल गर्न सकिनेछ भन्ने निर्णय भएको छ।

अघिल्लो स्थानीय तहको निर्वाचन र अहिलेको अवस्था फरक छ। पार्टीभित्र काम गर्दै जाँदा कमीकमजोरी हुन्छन्। नेतृत्व तहबाट कमजोरी भएका छन् भने पार्टीलाई क्षति पुग्ने काम नगरौँ। भोलिका दिनमा यसलाई सुधार गर्ने अवस्थाबाट अघि बढौँ भन्ने मेरो अनुरोध हो।

अब स्थानीय तहको निर्वाचनपछि कांग्रेस सबैभन्दा ठूलो दल बन्छ भन्नुहुन्छ, तर उम्मेदवार उठाउने सवालमा एमालेभन्दा कम ठाउँमा छ। यो कसरी सम्भव हुन्छ त ?

उम्मेदवार धेरै स्थानमा दिँदैमा ठूलो पार्टी हुने र कम स्थानमा दिँदैमा सानो पार्टी हुने होइन। ठूलो सानो चुनावको परिणामले देखाउने हो। त्यसका लागि परिणाम आउन दिनुहोस्। त्यसपछि हामी कसले कति उम्मेदवारी दिँदा ठूलो र सानो भयो भन्ने छलफल गरौँला।

विराटनगर, भरतपुर, पोखरामा गठबन्धनमा समस्या देखिएको छ। विराटनगरमा जसपा र माओवादी केन्द्रबाट बागी उम्मेदवारी परेको छ। भरतपुरमा र पोखरामा पनि कांग्रेसबाट बागी उम्मेदवार छन्। यस्तो किन ? 

तालमेलविरुद्ध आफ्नो उम्मेदवारी दिनुभएका साथीहरूलाई सम्झाउने क्रम चलिरहेको छ। हिजोबाट उम्मेदवारी फिर्ता लिने समय सकिएको छ यद्यपि मिल्न सक्ने ठाउँ रहेको छ। योबीचमा केही प्रयास र अभ्यास हुन्छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved