राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ : वरिष्ठ नेता पौडेल

नेपालभ्युज

1330297477719290

काठमाडाैं।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका छन् । आज स्पिकर्स फोरम नेपालले काठमाडौंमा आयोजना गरेको प्रदेशसभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व विषयक अन्तरक्रियामा वरिष्ठ नेता पौडेलले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताए ।

उनले देशको अर्थतन्त्र खतरनाक अवस्थामा रहेको तथा राजनीतिक, आर्थिक र सामाजिक लगायतका समस्याहरूले घेरिरहेकाले समस्या समाधानका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताए । उनले वर्तमान व्यवस्था र संविधानको रक्षाका लागि सबै मिलेर राष्ट्रिय सहमति खोज्नुपर्नेमा जोड दिए ।

लामो संघर्षबाट आएको राजनीतिक परिवर्तनलाई जोगाउँदै सबै एक भएर राष्ट्रिय सहमति गरेर अघि जानुपर्ने उनको भनाइ छ । वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतको विगतको गठबन्धन हाइज्याक भएको टिप्पणी गरे ।

उनले आफूहरूले गरेको हिसाबकिताबले काम नगरेको बताए । उनले विगतमा आफूहरूका बीचमा भएको गठबन्धन टुट्नु देशको लागि दुर्भाग्य भएको बताए । देशमा अस्थिरताको श्रृङ्खला अगाडि बढेको उनले बताए । वरिष्ठ नेता पौडेलले सांसदहरूलाई ऐन, कानुन बनाउनका लागि जनताको प्रतिनिधिको रूपमा पठाइने भए पनि विकास निर्माणको काममा मात्रै केन्द्रित हुने गरेकाे बताए ।

जनताले पनि सांसदहरूलाई विकासे कार्यकताको रूपमा बुझ्दा समस्या भएको उनकाे भनाइ छ । जनताले सांसदले कति विकास ल्यायो ल्याएन भन्ने मात्र हेर्ने गरेपछि सांसदहरू पनि विकास निर्माणको काममा मात्रै केन्द्रित हुनुपर्ने बाध्यता रहेको उनले बताए ।

उनले संविधानले दिएजति अधिकार स्थानीय तहले पाउन नसकेको बताए । केन्द्रिकृत मानसिकताबाट मुक्त हुन नसकेका कारण स्थानीय तहहरूले अधिकार नपाएका उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved