हरेक वर्ष १५ सय बालबालिकामा हुन्छ क्यान्सर, ३५० मात्रै उपचारमा

प्रत्येक वर्ष एक हजार पाँच सय बालबालिकालाई क्यान्सर देखिने अनुमान गरिएको छ तर ती मध्ये जम्मा तीन सय ५० जनामात्रै उपचारका लागि ल्याइन्छन्। जनचेतनाको कमी र आर्थिक अभावले यस्तो अवस्था ल्याएको हो।

हरेक वर्ष १५ सय बालबालिकामा हुन्छ क्यान्सर, ३५० मात्रै उपचारमा

काठमाडौं। ठिकठिकै चल्दै थियो दोलखाकी डोल्मा थामीको जिन्दगी। जिन्दगीका आवश्यकता त अनेक थिए, अपुरै थिए तैपनि बिहान–साँझ निमेक गरेर चलाएकै थिए। अचानक आइदियो प्रलयसरी संकट। एक वर्षअघि १६ महीनाकी छोरी आशिकालाई ज्वरो आउन थाल्यो। रोइरहन् थालिन्। आमाको दूध पनि खान नसक्ने भइन्।

शुरुमा त सानी छोरीलाई के भएको हो भन्ने मेसो नै पाइनन् डोल्माले। बिस्तारै ठीक होला भनेर घरेलु उपचार गर्न थालिन्। तर समस्या बढ्दै गयो। जे खाए पनि बान्ता गरिहाल्ने, एकोहोरो रोइरहने जस्ता समस्या बढ्दै गएपछि दोलखाकै चरिकोट अस्पताल लगिन्। अस्पतालमा ज्वरोको औषधी त दिए तर छोरीलाई बीसको उन्नाइस पनि भएन।

दोलखाको अस्पतालमा निको हुने छाँटकाँट नदेखेपछि आफन्तले छोरीलाई काठमाडौं लैजाने सल्लाह दिए। तर जाने कसरी ? बल्लतल्ल बिहान–साँझ गुजारा गरिरहेको उनको परिवारलाई काठमाडौं निकै टाढा थियो।

पतिले ज्याला मजदुरी गरेर ल्याएको पैसाले घरखर्च चलिरहेको थियो। ऋण–सापट गरेर डोल्माको दम्पति छोरीको उपचार गर्न गत भदौमा काठमाडौंको कान्ति बाल अस्पतालमा आइपुगे। तर अस्पतालले भने जतिको जाँच गराउन पैसा नपुगेपछि छोरिको रोग नै पत्ता नलगाई फर्किए, केही औषधी लिएर।

त्यो औषधीले एक महीनाजति त छोरीलाई सञ्चो भएजस्तै भयो। एक महीनापछि भने उस्तै समस्या दोहोरिन थाल्यो।

“छोरी एकोहोरो सुतेर रोइरहने भई, झन्झन् दुब्लाउँदै गई”, डोल्मा सुनाउँिछन््, “आफूसँग एक पैसा पनि थिएन। माइत बुबाले कताकताबाट पैसा जुटाएर दिनुभयो र फेरि कान्तिमै ल्यायौँ।”

यसपाली कान्ति अस्पतालमा डाक्टरले भनेजति जाँच भयो। अनि थाहा लाग्यो, सानी छोरी आशिकाको टाउकोको हड्डीमा क्यान्सर भएको छ।

काखे बच्चालाई पनि क्यान्सर लाग्छ भन्ने सुनेकै थिइनन् डोल्माले। एक्कासी आफ्नै छोरीलाई नसोचेको रोग लागेको थाहा पाउँदा छाँगाबाट खसेसरी भइन्।

उपचार गर्नुको विकल्प थिएन। डेढ महीना अस्पतालमै भर्ना गर्नुप¥यो। २० दिन त आइसीयू (अति सघन कक्ष)मै राखेको उनले सुनाइन्।

त्यसत मात्र नभई कान्ति बाल अस्पतालले नसक्ने भन्दै पठाएपछि केएमसीको आइसीयूमा राख्नुपरेको उनले बताइन्।

“केएमसीमा तीन दिन राख्दा निकै पैसा खर्च भयो,” उनले भनिन्, “अहिले पनि हप्ताको २÷३ दिन अस्पताल ल्याउनुपर्छ, केमो पनि चढाउनु प¥यो अझै एक वर्ष जति औषधि खुवाउनुपर्छ भन्नुभएको छ।”

गत कात्तिकमा दोस्रोपटक काठमाडौं आएका डोल्मा दम्पति घर फर्किन सकेका छैनन्। छोरीको उपचारकै लागि कति बस्नुपर्ने हो टुंगो छैन। त्यो भन्दा बेटुंगो छ, खर्चपर्चको जोहो।

“श्रीमान ज्यालामजदुरी गर्नु हुन्छ, त्यो पैसाले हामीलाई खान पनि पुग्दैन। उपचार त कसरी गर्नु चार, पाँच लाख खर्च भइसक्यो माइती र केही संस्थाले छोरीको उपचारका लागि सहयोग गरिदिनु भएको छ”, डोल्मा सुनाउँछिन्।

डोल्माको जस्तै छ, सिराहाकी अलिना चौधरीको पीडा पनि।

अलिनाका पाँच वर्षीय छोरा प्रज्जवललाई पनि शुरु–शुरुमा ज्वरो आउने, बान्ता हुने भयो। बिस्तारै शरीर पहेँलो हुँदै गयो।

यस्तो समस्या देखिएपछि उनी छोरा लिएर धरानको ‘बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान’मा लिएर गइन्। त्यहाँ रोग नै पत्ता नलागेपछि कान्ति बाल अस्पताल पठाइएको उनले बताइन्।

गत साउनमा कान्ति बाल अस्पताल ल्याउँदा प्रज्जवलको शरीर पुरै पहेँलो भइसकेको थियो। यहाँ जाँच गरेपछि उनलाई रक्त क्यान्सर लागेको पत्ता लाग्यो।

छोराको उपचार गराउन अलिना दम्पती नौ महीनादेखि किर्तिपुरमा बसिरहेका छन्।

छोराको उपचार निकै महँगो भएकाले जग्गा बेच्नु परेको उनले सुनाइन्।

“अस्पतालले अझै कम्तीमा पनि तीन वर्ष उपचार गर्नु पर्छ भनेको छ”, उनले सुनाइन्।

यी दुई ओटा त प्रतिनिधि उदाहरणमात्रै हुन्। गत वर्ष कान्ति बाल अस्पतालमा मात्रै एक सय ८७ जना क्यान्सरपीडित बालबालिकाको उपचार गरिएको बाल क्यान्सर रोग विशेषज्ञ डा. विष्णुरथ गिरी बताउँछन्।

भक्तपुर क्यान्सर अस्पतालमा पनि गत वर्षमात्रै एकदेखि चार वर्षसम्मका ४३ जना, पाँच वर्षदेखि १४ वर्षसम्मका एक सय ६३ जना र १५ देखि १९ वर्षसम्मका दुई सय १४ जनाको उपचार गरिएको अस्प्तालका निर्देशक डा. विष्णुदत्त पौडेलले बताए।

दुई वर्षदेखि बाल क्यान्सरको उपचार गराइरहेको पाटन अस्पतालमा पनि गत वर्षमात्र ३० जना बालबालिकाको क्यान्सर उपचार गरिएको त्यहाँकी बाल क्यान्सर रोग विशेषज्ञ डा. सुचारिका तुलाधरले बताइन्।

बालबालिकामा आँखाको भित्री भागको पर्दाबाट मासु पलाउने (रेटिनोब्लास्टो) क्यान्सर पनि पाइने गरेको छ।

तिलगंगा आँखा अस्पतालमा मात्रै वार्षिक ५० जना बालबालिका त्यस्तो समस्या लिएर आउने गरेको अपतालका आँखा रोग विशेषज्ञ डा. पूर्णिमा राजकर्णिकारले बताइन्। उनका अनुसार हरेक १५ हजार बालबालिकामध्ये एक जनामा त्यस्तो क्यान्सर देखापर्ने गर्छ।

डा. विष्णुरथ गिरीका अनुसार नेपालका बालबालिकामा सबैभन्दा रक्त क्यान्सर, रेटिनोब्लास्टोमा र मिर्गौलाको क्यान्सर बढी देखिने गरेको छ।

यद्यपि नेपालमा वर्षेनी कति बालबालिका क्यान्सरबाट पीडित हुन्छन् भन्ने ठोस तथ्यांक छैन। डा. गिरीका अनुसार नेपालमा हरेक वर्ष १५ सय बालबालिकामा क्यान्सर देखिने अनुमान गरिएको छ तर कान्ति लगायत अन्य अस्पतालमा गरेर वर्षेनी तीन सय ५० जना भन्दा कम बालबालिकाको उपचार भइरहेको छ।

सिमित अस्पतालमा मात्र उपचार हुने र अभिभावकहरु लामो समयसम्म अस्पतालमै बस्नुपर्ने बाध्यता भएकाले पनि उपचार गराउन नआएको ठम्याई छ डा. गिरीको।

वरिष्ठ बालरोग विशेषज्ञ डा. युवानिधी बसौला पनि नेपालमा बाल क्यान्सर बढ्दै गइरहेको बताउँछन्।

उनका अनुसार क्यान्सर लागेका दुई तिहाई बालबालिका उपचारबाट वञ्चित छन्।

“रोग समयमै पत्ता नलाग्ने, पत्ता लागे पनि आर्थिक अभाव र क्यान्सर लागेपछि निको हुँदैन भन्ने मानसिकताका कारण उपचार नै गराउँदैनन्”, उनी भन्छन्।

भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. विष्णुदत्त पौडेल पनि बाल क्यान्सरबारे समाजमा अझै पनि जनचेतनाको कमी रहेका कारण उपचार गराउन आउनेको संख्या निकै कम रहेको ठान्छन्।

नेपालमा बालबालिकाको क्यान्सर उपचार कान्ति अस्पताल बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, भक्तपुर क्यान्सर अस्पताल, पाटन अस्पताल र तिलगङ्गा आँखा अस्पतालमा भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved