पाण्डेको दाबी- गण्डकीका मुख्यमन्त्रीबारे गरेको फैसला सर्वोच्चले कुनै दिन सच्याउँछ

'सभामुखले दलीय पक्षधरता लिनुहुन्न'

नेपालभ्युज

पाण्डेको दाबी- गण्डकीका मुख्यमन्त्रीबारे गरेको फैसला सर्वोच्चले कुनै दिन सच्याउँछ

काठमाडौं । नेपाली कांग्रेसको गण्डकी प्रदेशसभाका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्रीबारे सर्वोच्च अदालतले गरेको फैसला सच्याउने दाबी गरेका छन् ।

मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने प्रयोजनसहित जारी प्रदेशसभा बैठकमा भाग लिँदै नेता पाण्डेले भने, “कुनै दिन सर्वोच्च अदालतले आफ्नो निर्णय सच्याउँछ, सच्याउनै पर्छ । यदि सचिएन भने न्याय मर्छ, अदालतप्रतिको विश्वास घट्छ । यसपछि मुलुक अराजकतमा जान्छ। कुनै दिन बाध्य भएर सर्वोच्च अदालतले आफ्नो निर्णय सच्याउँछ ।”

सभामुखको समेत सङ्ख्या जोडेर अधिकारी मुख्यमन्त्री बनेका हुन् । त्यसविरुद्ध पाण्डे सर्वोच्च अदालत पुगेका थिए ।

अदालतले उनको रिटमाथि सुनुवाइ गर्दै गत वैशाख १७ गते सभामुखबाहेक पनि मुख्यमन्त्री अधिकारीको पक्षमा बहुमत पुग्ने व्याख्या गरेको छ । ‘जम्मा प्रदेशसभा सदस्य ६० जना रहेको र खगराज अधिकारीको दाबीमा नेकपा (माओवादी केन्द्र) को सदस्य सङ्ख्यामा सभामुखलाई गणना नगर्दा पनि प्रदेशसभा सदस्य ५९ जनामा ३० जनाको सङ्ख्या पुगेको’ भनेर अदालतले व्याख्या गरेको छ ।

यसबाट चित्त नबुझाएका पाण्डेले कुनै दिन अदालतले आफ्नो फैसला सच्याउने दाबी गरेका हुन् ।

त्यसो त पाण्डेसँग अझै एउटा विकल्प बाँकी नै छ । यो फैसला न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको इजलासले गरेको हो । यो फैसलालाई चुनौती दिने अधिकार निवेदकसँग रहन्छ । यो विषय अदालतको पूर्ण इजलास (कम्तिमा ३ न्यायाधीश) समक्ष जाने बाटो बन्द भएको छैन । सम्भवत: पाण्डेले यही विकल्पलाई लक्षित गरेका हुन् ।

यसैबीच पाण्डेले सभामुख कृष्णप्रसाद धितालललाई राजनीतिक पक्षधरता त्याग्न सुझाव दिएका छन् ।

“सभामुखले आफ्नो निर्णय गर्दा के हो संविधानमा लेखिएको कुरा ख्याल गर्नुहोला, सभामुख भनेको कुनै दलीय पक्षधरता नलिने हो, तटस्थ बस्नुपर्छ । मेरो अनुरोध छ, यहाँ पनि तटस्थ बस्नुहोला,” उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved