महानगरपालिका काठमाडौंबासीको मात्रै होइन, देशकै महानगरपालिका हुनुपर्छ : सुसन वैद्य (भिडिओ)

यस अघिकै उम्मेदवार फेरि निर्वाचनका लागि प्रतिस्पर्धी हुनुहुँदैन। देश परिवर्तन भइसकेको छ, समाज परिवर्तन भइसकेको छ । यो परिवर्तित समाजले हाम्रो पुस्ताको नेतृत्व खोजेको छ।

महानगरपालिका काठमाडौंबासीको मात्रै होइन, देशकै महानगरपालिका हुनुपर्छ : सुसन वैद्य (भिडिओ)

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सरगर्मी बढेको छ । स्वतन्त्र व्यक्तिले आफ्नो उम्मेदवारी घोषणा गरे पनि राजनीतिक दलले आफ्ना उम्मेदवार सार्वजनिक गरिसकेका छैनन् । तथापि विभिन्न पार्टीमा उम्मेदवारका आकांक्षी भने बढ्दैछन् । तिनैमध्ये एक हुन्, नेपाली कांग्रेस काठमाडौं महानगरपालिका सचिव सुसन वैद्य । ‘लिवएभल काठमाडौं’ (बाँच्नयोग्य काठमाडौं) संस्थामार्फत् यहाँको संस्कृति र सम्पदा क्षेत्रमा काम गरिरहेका आर्किटेक्चर इन्जिनियर वैद्यसँग उनका उद्धेश्य र योजनाबारे पुरुषोत्तम पौडेलले गरेको कुराकानी ।

२०७४ मा भएको स्थानीय निर्वाचनमा पनि तपाईंं काठमाडौं महानगरपालिकाको नेतृत्वदायी भूमिकाका लागि आकांक्षा देखाउनु भएको थियो। यसपटक पनि तपाईंंलाई नेपाली कांग्रेसका तर्फबाट मेयरको आकांक्षीका रूपमा हेरिएको छ। तपाईंं उम्मेदवार हुनुपर्ने कारण के हो ?

मुख्यतः देश हाम्रो पुस्ताको नेतृत्वमा आउनुपर्छ भन्ने हो। लामो समयदेखि स्थानीय तहको निर्वाचन नभइरहेको अवस्थामा २०७४ मा भएको थियो। त्यो स्थानीय तहको निर्वाचनमा त्यसअघि नै महानगरपालिकाको निर्वाचनमा कुनै न कुनै हिसाबमा संलग्न व्यक्तिलाई नै पार्टीले अगाडी बढ्ने अवसर दिएको थियो। यस अघिकै उम्मेदवार फेरि निर्वाचनका लागि प्रतिस्पर्धी हुनुहुँदैन। देश परिवर्तन भइसकेको छ, समाज परिवर्तन भइसकेको छ । यो परिवर्तित समाजले हाम्रो पुस्ताको नेतृत्व खोजेको छ।

यसअघिको स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्ने सोचेका धेरै युवा साथीमध्ये केहीले मात्रै त्यो अवसर प्राप्त गरे। जतिले अवसर प्राप्त गर्नुभयो उहाँहरूले निकै राम्रो काम गर्नुभएको छ। काठमाडौं नजिक रहेको काभ्रेको पाँचखालका मेयर महेश खरेल, जो हामीभन्दा चार–पाँच वर्षले जेठो हुनुहुन्छ, उहाँले आफ्नो नगरपालिकामा उत्कृष्ट काम गर्नुभएको छ।

राजनीतिक प्रतिस्पर्धाबीच हाम्रो पुस्ताले केही गरेर देखाउने अवसर प्राप्त गर्‍यो भने काम गर्नसक्छ । त्यसैले यो पटक काठमाडौंको मेयरका लागि युवा पुस्तालाई त्यो अवसर प्रदान गर्नुपर्छ।

राम्रो काम गर्नेमध्ये त अघिल्लो पुस्ताकै व्यक्तिले पनि काम गरेकै छन् नि । तपाईं मेयर हुँदा हुने फरक चाहिँ के हो ? के हुन् तपाईंका सपना र योजना ?

अकस्मात आएर म काठमाडौंको मेयर बन्छु भनेको होइन। मेरो लक्ष्य काठमाडौंको मेयर मात्रै बन्ने होइन। मेरो लक्ष्य भनेको काठमाडौका बासिन्दाले भोगेका समस्याको समाधान गर्नु हो। ट्राफिक समस्या, फोहोरदेखि लिएर शिक्षा प्रणालीमा समस्या छ । यी समस्याको समाधान गर्ने मेरो उद्देश्य हो। यो समस्या समाधानका लागि काठमाडौं महानगरपालिकाको नेतृत्वदायी स्थानमा रहियो भने केही गर्नसकिन्छ भन्ने विश्वासका कारण यसमा लागेको हो।

गत पाँच वर्षका अभ्यास हेर्नुहुन्छ भने काठमाडौं महानगरपालिका भित्रका हरेक समस्यासँग जुध्न हामी अग्र मोर्चामा रहेका छौँ। काठमाडौंका वर्तमान मेयरले रानीपोखरीलाई स्वीमिङ पुल बनाउने इच्छा राख्दा होस् वा अन्य अवसरमा हामी काठमाडौंको पुरातात्विक सम्पदा जोगाउनुपर्छ भनेर लाग्यौँ। भूकम्पपछिको पुनर्निर्माणमा काठमाडौंको पुरातात्विक सम्पदा बिगार्न पाइँदैन भनेर हामी लाग्यौँ। खुलामञ्च अतिक्रमण हुँदा ‘यो कसैको घरको आँगन होइन, मन लागेको बेला सटर निकाल्ने, बसपार्क बनाउने’ भनेर हामीले विरोध गर्‍यौँ । काठमाडौं उपत्यकाका लागि खुलास्थानको आवश्यकता हुन्छ भनेर हामी लड्यौँ।

यहाँको ऐतिहासिकता जोगाउन लड्दै गर्दा काठमाडौं महानगरपालिकाको नेतृत्वदायी स्थानमा पुग्यौँ भने हामीले थप केही प्रभावकारी काम गर्न सक्नेथियौँ जसकारण आगामी पुस्ताले यसको संरक्षणकै लागि भनेर आन्दोलन गर्नुपर्दैन । त्यसैले नै मैले काठमाडौंको नेतृत्वका लागि आकांक्षा देखाएको हो।

अघि ट्राफिक समस्यादेखि फोहोर व्यवस्थापन र शिक्षा प्रणाली सुधार्छु भन्नुभयो । त्यसबारे तपाईंका योजना के छन् ?

काठमाडौं महानगरपालिकाले भोगेको एउटा प्रमुख समस्या ट्राफिक व्यवस्थापनको हो। केही वर्ष अगाडी केही विद्वान साथीहरूले काठमाडौंको सडकलाई फराकिलो बनायो भने त्यसले ट्राफिक समस्या समाधान हुने योजना ल्याएका थिए। सडक फराकिलो बनाउनु केही वर्षका लागि समाधान हो, दीर्घकालिन होइन भनेर हामीले त्यतिबेला नै भनेका थियौँ। काठमाडौंको ट्राफिक व्यवस्थापन गर्ने हो भने यहाँको सार्वजनिक यातायातलाई बलियो बनाउनुपर्छ । सबैले प्रयोग गर्नसक्ने किसिमले विश्वासिलो बनाउनुपर्छ। सार्वजनिक यातायात नै एउटा मात्रै विकल्प हो जसले काठमाडौंको ट्राफिक समस्या हटाउनसक्छ। यसका लागि सार्वजनिक सवारी साधनमा ठूलो लगानी गर्नुपर्छ त्यो हुनै सकेको छैन।

ट्राफिक जामको कुरा गर्दा तपाईं मेरा लागि जाम हो म तपाईंका लागि। सार्वजनिक यातायातको प्रयोग बढ्ने बित्तिकै निजी सवारी साधनको प्रयोग घट्छ। सवारीसाधन कम भएपछि ट्राफिक समस्या हट्छ। यहाँ सवारी साधनका जोर–विजोर प्रणाली लगाउनेदेखि लिएर हप्तामा दुई दिन बिदा दिनुपर्नेसम्मको बहस भएको छ ट्राफिक व्यवस्थापनका लागि । यो गलत बहस हो। निषेध गरेर सवारी साधनलाई कम सञ्चालन गर्न दिनु र व्यवस्थापन गर्नु फरक विषय हुन्।

व्यवस्थापन दुई तरिकाले हुनसक्छ। एक विद्युतिय सवारी साधनमा जोड दिने र अर्को रोजगारीको मिश्रित प्रणाली अपनाउने। कोभिड महामारीको समयमा हामीले रोजगारीको मिश्रित प्रणाली अपनाएका थियौँ। घरबाट हुनसक्ने काम घरैबाट गर्ने व्यवस्था मिलाउन सकिन्छ। त्यसका लागि काठमाडौं महानगरपालिकाले आवश्यक सहयोग गर्नसक्छ। यसरी मिश्रित रोजगार प्रणालीमा जान चाहने संस्थालाई महानगरपालिकाले कतैबाट सहुलियतको व्यवस्था गर्ने। घर बसेर काम हुनसक्ने कार्यालयलाई यो विधिमा लैजान सकियो भने मात्रै पनि हाम्रो ट्राफिक समस्या केही हदसम्म घट्छ।

कार्यालय बन्दको दिन र बजार बन्दको दिनलाई हामी फरक पार्नसक्छौँ। काठमाडौंको बजार शनिबार नै बन्द हुनुपर्छ भन्ने छैन। शनिबार न्युरोड खुला गरेर सोमबार बन्द गर्ने प्रणालीको विकास गर्न सकिन्छ।

अर्को योजना भनेको महानगरपालिका भित्रका व्यापार व्यवसायलाई २४ सैँ घण्टा सञ्चालन गर्ने हो। कसैले आफ्नो कार्यालय रातमा सञ्चालन गर्छु भन्छ भने महानगरपालिकाले सुरक्षाको जिम्मा लिनुपर्छ। कार्यालय दुई सिफ्टमा सञ्चालन हुँदा हाम्रो अर्थतन्त्रलाई फाइदा हुन्छ। बिहान वा दिउँसो पढ्ने विद्यार्थीले रातको केही समय काम गर्नसक्छ।

महानगरपालिकाले गर्नुपर्ने अर्को काम शिक्षा प्रणालीको सुधारमा हो। आज सामुदायिक स्कूलमा पढ्न जाने विद्यार्थीले हीनताबोध गर्नुपर्ने स्थिति छ। विद्यालयभित्रको वातावरण पनि खास राम्रो देखिँदैन। दुर्गन्धित शौचालय, भाँचिएको डेस्क–बेञ्च। के सामुदायिक विद्यालय यस्तै हुनुपर्ने हो त? होइन।

हीनताबोध लिएर पढेर हुर्किएका विद्यार्थीले भोली देश बनाउन सक्दैनन्। त्यसैले सामुदायिक विद्यालयमा हामीले ठूलो मात्रामा आर्थिक लगानी गर्नुपर्ने हुन्छ। सामुदायिक विद्यालयका शिक्षकलाई तालिमको खासै व्यवस्था गरिएको देखिँदैन।

हिजो जे पढायो आज पनि त्यही पढाउँदै छन्। त्यसका लागि महानगरपालिकाले नेतृत्वदायी भूमिका खेल्दै सामुदायिक शिक्षकका लागि शिक्षा विश्वविद्यालय स्थापना गर्नुपर्छ। यस्तो विश्वविद्यालयमा तालिम लिएपछि शिक्षकहरूको एउटा जाँच होस् त्यसमा प्राप्त अंकका आधारमा उहाँहरूको तलब बढाउने व्यवस्था गर्नसकिन्छ।

काठमाडौंका विद्यार्थीले के पढ्ने? त्यसको निर्णय गर्न पाठ्यक्रम निर्माण गर्न शिक्षा विभाग गठन गर्नसक्छौँ। हरेक पाँच वर्षमा पाठ्यक्रम परिमार्जन गर्नसक्छौँ। काठमाडौं महानगरपालिका देशकै पहिलो र केन्द्रमा भएको महानगरपालिका भएका कारण अन्य महानगर र उपमहानगरपालिकाका लागि नमुना बन्नसक्नुपर्छ।

अर्को काठमाडौं महानगरपालिकाभित्रको विकास यहाँका मानिसले मात्रै होइन देशभरिका मानिसले उपभोग गर्न पाउने हिसाबको हुनुपर्छ।

नेतृत्वमा आउने अभिलाषा राख्ने अन्य व्यक्तिको जस्तै तपाईंका योजना सुन्दा राम्रा सुनिन्छ। यसअघि नेतृत्वमा आएका व्यक्ति पनि यस्तै–यस्तै योजना सुनाएर नेतृत्वमा आएका हुन्। योजना सुनाउनु र कार्यान्वयन गर्नु फरक विषय हो। यसमा तपाईंको टिप्पणी के छ?

नेतृत्वमा पुग्न चाहने सबै व्यक्तिको लक्ष्य नै नेतृत्वमा पुग्ने रह्यो। प्रायः सबैले आफ्नो सम्पूर्ण बल नै नेतृत्वमा पुग्न मात्रै लगाएका छन्। नेतृत्वमा पुगेपछि के काम गर्ने भन्ने योजना छैन। काठमाडौंमा बस्दै गर्दा मैले भोगेका समस्या काठमाडौंमा बस्ने २२ लाख मानिसले भोगेका छन्। त्यसको समाधान हुनुपर्छ त्यसैका लागि म काठमाडौं महानगरपालिकाको नेतृत्वदायी भूमिकामा आउन चाहेको हो। सानो प्रयास गर्दा मात्र पनि काठमाडौं भित्रका धेरै समस्या समाधान गर्न सकिन्छ। उदाहरणका लागि काठमाडौंका फुटपाथमा निर्माण समाग्री बेग्रल्ती राखिएको देखिन्छ जुन नियम बमोजिम गलत हो। यति सानो समस्या समाधान पनि भएको पाइँदैन। काठमाडौंको सामुदायिक अस्पताललाई हामी प्रभावकारी बनाउन चाहान्छौँ।

तपाईंका योजनालाई कार्यान्वयन गर्न ठूलो आर्थिक स्रोतको आवश्यकता पर्ने देखिन्छ। देशकै अर्थतन्त्र वैदेशिक सहयोगमा निर्भर रहेको हाम्रो यर्थाथबीच काठमाडौं महानगरपालिका एक्लैले यी सबै योजनालाई कार्यान्वयन गर्न सक्छ? अर्थतन्त्रको दृष्टिकोणले तपाईंले सुनाउँदै गरेको योजना अलिक ठूला भएनन् र?

काठमाडौं महानगरपालिकाको अर्थतन्त्र यति कमजोर पनि छैन। हाम्रो अहिलेको मेयरले महानगरपालिकाको बजेट खर्च गर्न नसकेर पाँच अर्ब मुद्दती खातामा राख्नुभएको छ। अहिले महानगरपालिका ब्याजले चलेको छ। यो राजनीतिक, आर्थिक र नगरबासीको दृष्टिकोणबाट ठूलो अपराध हो। काठमाडौं महानगरपालिकालाई आर्थिक स्रोत साधनको कमी छैन। खर्चको मात्रै योजना होइन, रोजगारी सिर्जना गर्ने पनि छ हामीसँग । रात्री व्यवसायलाई पूर्ण रूपमा सञ्चालन गर्न दिँदा मात्रै पनि महानगरपालिकाको अर्थतन्त्रलाई त्यसले राम्रो सहयोग गर्छ।

काठमाडौंसँग भएको मानव स्रोतसाधन देशका अन्य स्थानमा छैनन्। हामीले त्यसको प्रयोग राम्रोसँग गर्न सकेका छैनौँ। यहाँ रहेका धेरै बेरोजगार युवाशक्तिलाई रोजगारी दिन सकेको अवस्थामा काठमाडौंको अर्थतन्त्रलाई त्यसले सकारात्मक प्रभाव पार्छ।

काठमाडौंको अर्थतन्त्रको अर्को महत्त्वपूर्ण स्रोत भनेको पर्यटन क्षेत्र हो। काठमाडौंमा आएका पर्यटकलाई धेरै समय राख्न आवश्यक पर्ने सुविधा र उनीहरूलाई खर्च गर्न मन लाग्ने अवस्था सिर्जना गर्नसकिन्छ। पशुपति, स्वयम्भु, दरबार स्क्वायर लगायत काठमाडौंमा रहेका पर्यटकीय स्थलको सर्किट बनाउन सकिन्छ। पर्यटनलाई काठमाडौंमा जति धेरै समय अल्झाउन सक्छौँ त्यति नै बढी त्यसले हाम्रो अर्थतन्त्रलाई फाइदा पुर्याउँछ। काठमाडौंभित्रका सम्पदा र संस्कृति आफैँमा हाम्रा लागि अर्थतन्त्र बढाउन साधन हुन्।

केही समयदेखि तपाईं काठमाडौं महानरभित्रका विभिन्न गतिविधिमा संलग्न हुनुहुन्छ विशेषगरी काठमाडौंको संस्कृति र सम्पदा जोगाउने विषयमा। यसबीच संस्कृति र सम्पदा जोगाउने नाममा तपाईंले हुलहुज्जत गर्ने गरेको आरोप पनि लगाइन्छ नि?

तपाईंको अस्तित्वमाथि कसैले आक्रमण गर्छ भने चुप लागेर बस्नुहुन्न, प्रतिकार गर्नुहुन्छ । रानीपोखरी पोखरी मात्रै होइन त्यो हाम्रो सम्पदा हो, काठमाडौंको मात्रै पनि होइन सम्पूर्ण नेपालीको हो। नेपालको सम्पदामाथि आक्रमण गर्दै सिमेन्टको कंक्रिट बनाउने योजना बन्दै गर्दा चुप लागेर सहन सकिँदैन थियो ।

काठमाडौं महानगरपालिकाको नेतृत्वदायी भूमिकाको आकांक्षा राख्दै गर्दा तपाईं संलग्न पार्टीले कसलाई विश्वास गर्छ भन्ने विषय पनि महत्त्वपूर्ण हुन्छ। पार्टीभित्रको शक्ति संरचना जुन प्रकारको छ त्यसले तपाईंलाई नेतृत्वमा आउन सहयोग गर्छ जस्तो लाग्छ तपाईंलाई?

पार्टी र त्यसको शक्ति संरचनाको आफ्नै प्रकारको आयाम हुन्छ र छ। नेतृत्व छनोटको केही विधि पनि छ। त्यो छनोट विधिले पठाएको नामलाई महानगरको केन्द्रीय समितिको निर्णयले पारित गर्छ। देशकै पुरानो पार्टीमा काठमाडौं महानगरपालिकाको नेतृत्वको आकांक्षा राख्ने व्यक्ति धेरै हुनु स्वाभाविक पनि हुन्छ। डेढ दर्जनभन्दा बढी उम्मेदवारले काठमाडौं महानगरपालिकाको नेतृत्वका लागि आकांक्षा देखाएका छन्। जसले टिकट पाए पनि काठमाडौं महानगरपालिकामा कांग्रेसले जित्दैछ। जित्ने स्थानमा पार्टीले सक्षम र काम गर्नसक्ने उम्मेदवारलाई अघि बढाउनुपर्ने आवश्यकता हुन्छ। यद्यपि यो पार्टीको निर्णय हो।

 


Comment

One thought on “महानगरपालिका काठमाडौंबासीको मात्रै होइन, देशकै महानगरपालिका हुनुपर्छ : सुसन वैद्य (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved