हार बिर्साउने रोहितको कीर्तिमानी ब्याटिङ, रेकर्डको वर्षा गराए

हार बिर्साउने रोहितको कीर्तिमानी ब्याटिङ, रेकर्डको वर्षा गराए

काठमाडौं। नेपाल शुक्रबार आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) इतिहासकै सबैभन्दा ठूलो कीर्तिमानी रन चेज गरिरहेको थियो। एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा पीएनजीले नेपालका लागि हालसम्मकै ठूलो २९३ रनको विजय लक्ष्य दिएको थियो।

तर खराब शुरुआत गरेको नेपालले ४५ रन जोड्ने क्रममा तीन विकेट गुमाइसकेको थियो। यो संकटको अवस्थामा ब्याट बोकेर मैदान छिरेका युवा ब्याटर रोहित कुमार पौडेलले टीयू खेल मैदानमा रेकर्डको वर्षात् गराए।

१९ वर्षीय रोहितले यो खेलमा नेपालका लागि ओडीआई म्याचमा नेपालका लागि एकै इनिङमा सर्वाधिक रन जोड्ने खेलाडीको रेकर्ड बनाए। उनले पारसको नाउमा रहेको सर्वाधिक ११५ रनको रेकर्ड तोडेका हुन्।

रोहितले १०७ बलमा सात चौका र चार छक्कासहित १२६ रन जोडेका थिए। पारसले सन् २०१९ मा यूएईविरुद्ध नेपालको लागि पहिलो ओडीआई शतक प्रहार गर्दै सर्वाधिक ११५ रन जोडेका थिए। यसै खेलमा नेपालको लागि ओडीआईमा शतक प्रहार गर्ने रोहित दोस्रो खेलाडी पनि बनेका छन्।

आजको खेलमा उनले ९१ बलमा सात चौका र दुई छक्काको मद्दतले करिअरकै पहिलो शतक पूरा गरे। यसअघि पूर्वकप्तान पारस खड्काले मात्र ओडीआईमा एक शतक हानेका थिए।

त्यस्तै रोहित नेपालका लागि ओडीआईमा सर्वाधिक रन जोड्ने खेलाडी पनि बने। उनले ज्ञानेन्द्र मल्लको नाउँमा रहेको यो रेकर्ड तोडेका हुन्। ज्ञानेन्द्रले १९ खेलमा बनाएको ४८० रनको रेकर्ड १९ वर्षीय रोहितले मात्र १६ खेलमा तोडे।

साथै यसै खेलमार्फत उनी ओडीआईमा नेपालका लागि ५०० रन पूरा गर्ने पहिलो ब्याटर पनि बनेका छन्। ४५.२ ओभरमा नेपालको आठौं विकेटको रूपमा उनी पेभोलिएन फर्किएका थिए। तर यी धेरै रेकर्डका बाबजुद पनि उनी मैदान छाड्दा खुशी थिएनन। कारण नेपाललाई जित दिलाएर जान चाहन्थे। “जितको लागि खेल्न पाएको भए राम्रो हुन्थ्यो, तर फिनिस गर्न सकिएन, त्यसैले शतक पनि त्यति मजा आएन”, खेलपछि रोहितले भने।

रोहितको यो शतकलाई कप्तान सन्दीपले पनि आफूले हालसम्म देखेको सबैभन्दा राम्रो इनिङ बताए।

ब्याटिङमा सम्मानजनक प्रदर्शन

२९३ रनको ठूलो लक्ष्य पूरा गर्नुपरेको नेपालको लागि शुरुआत निकै खराब भयो। ३५ रनसम्म विकेट नगुमाएको नेपालको यसपछि लगातार विकेट गयो। आठौं ओभरमा पहिलो विकेटको रूपमा टिममा पुनरागमन गरेका अनिल शाह ६ रनमा आउट भए।

यसपछि एकदिवसीय डेब्यू गरेका देव खनाल नवौं ओभरको अन्तिम बलमा डकआउट भए। उनले खाता नै खोल्न सकेनन्। लगत्तै अर्को बलमा टिकिरहेका ओपनर कुशल भुर्तेल पनि ३२ रनमा बोल्ड भए। १० ओभरको पावर प्लेमा नै ४५ रन जोड्नेक्रममा तीन विकेट गएपछि नेपालको इनिङ धरापमा पर्‍यो।

अब नेपाललाई लामो पार्टनरशिपको आवश्यकता थियो। तर यसपछि १३ औं ओभरमा दीपेन्द्र सिंह ऐरी पनि मात्र १५ रनमा आउट भए। टी ट्वान्टी म्याचमा राम्रो प्रदर्शन गरेका उनी ओडीआईमा भने खराब फर्ममा छन्।

रोहित र आरिफको कीर्तिमानी साझेदारी

७३ रन ४ विकेटको अवस्थामा पुगेको नेपालको इनिङलाई जोगाउने जिम्मा रोहित र आरिफको काँधमा थियो। यी दुईले नेपालको लागि कीर्तिमानी शतकीय साझेदारी गर्दै जितको आशा कायमै राखेका थिए। गतहप्ता यूएई सिरिजमा यी दुईले पीएनजीविरुद्ध नै पाँचौं विकेटको लागि सर्वाधिक १०० रनको साझेदारी गरेका थिए।

यो खेलमा उक्त रकेर्ड तोड्दै १०४ रनको कीर्तिमानी साझेदारी गरे। ओडीआईमा नेपालले कुनै पनि विकेटका लागि गरेको यो सबैभन्दा ठूलो साझेदारी हो। आरिफ ६४ बल खेल्दै ३४ रनमा आउट हुँदा नेपालको स्कोर १७७ थियो। रोहित ७९ रनमा अविजित थिए।

आरिफ शेख ३४ र रोहित १२६ रनमा आउट भएपछि नेपाललई जितका लागि २८ बल ४५ रन जोड्नु थियो र बाँकी थियो दुई विकेट। सोमपाल कामी र कमल ऐरीले अन्तिम ओभरसम्म खेल ताने। तर अन्तिम ओभरमा आवश्यक १० रन प्रहार गर्न सकेनन्। नेपाल ५० ओभरमा २८६ रनमा समेटियो र ६ रनले पराजित भयो।

पीएनजीले एकदिवसीय खेलमा नेपाललाई हराएको पहिलो पटक हो।

बलिङ जमेन

यसअघि खेलमा टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको नेपालले बलिङ पनि त्यति राम्रो प्रदर्शन गर्न सकेन। पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा आठ विकेट गुमाएर २९२ रनको विशाल स्कोर बनायो।

कुनै पनि टिमले नेपालविरुद्ध एकदिवसीय म्याचमा बनाएको यो हालसम्मकै उच्च स्कोर हो। यसअघि सन् २०१९ मा यूएईले नेपालविरुद्ध २५४ रनको उच्च योगफल बनाएको रेकर्ड थियो। नेपालले उक्त रन चेज गरेको थियो।

खेलको चौथो ओभरमा नै नेपालले पहिलो सफलता त पायो। फाष्ट बलर सोमपाल कामीले पीएनजीका ओपनर हिरी हिरीलाई आउट गरे। तर २१ रनमा पहिलो विकेट गुमाएको पीएनजीका लागि अर्का ओपनर टोनी उराले कप्तान आसाद भालासँग मिलेर दोस्रो विकेटको लागि ४९ रनको साझेदारी गरे।

भालाले अर्धशतकीय पारी खेल्दै ५५ बलमा ६० रन प्रहार गर्दा उराले ३८ रन जोडे। यी दुवैलाई दीपेन्द्र सिंह ऐरीले आउट गरेका थिए।

भालाले चौथो विकेटको लागि चार्ल्स आमिनीसँग मिलेर ७४ रनको साझेदारी गरेपछि पीएनजीले ठूलो स्कोर बनाउने संकेत देखायो। ४२ ओभरको खेलसम्म २०६ रनको योगफल बनाउदा पाँच विकेट गुमाएको पीएनजीले यसपछि आक्रामक खेल्यो।

विष्फोटक ब्याटिङ गरेका अमिनीले सोमपाल कामीको ४४ औ ओभरमा लगातार दुई छक्कासहित १९ रन जोडेका थिए। अर्को ओभरमा ७० रनमा आरिफले अमिनीको क्याच छोडेका थिए।

तर ४५ औं ओभरमा सोमपालले अमिनीलाई ७७ रनमा बोल्ड आउट गरे। त्यस्तै पीएनजीका नोर्मन भानुवाले ४७ रनको योगदान गरे।

बलिङतर्फ सोमपाल र दीपेन्द्र र कमल सिंह ऐरीले समान दुई विकेट दिए। सन्दीप र पवन सर्राफले एक एक विकेट लिएका थिए। किफायती बलिङ गरेका दीपेन्द्रले १० ओभरमा मात्र ३० रन खर्चेका थिए।

बलिङमा सोमपाल र सन्दीप सबैभन्दा महँगा साबित भएका थिए। सोमपालले ९ ओभरमा ८१ रन खर्चेका थिए भने सन्दिपले १० ओभरमा ६२ रन दिए।

युवा खेलाडीसहितको टिम परीक्षण

यो सिरिजमा युवा खेलाडीहरूलाई मौका दिन ज्ञानेन्द्र मल्ल, विनोद भण्डारीजस्ता अनुभवी ब्याटरलाई ‘ड्रप’ गरिएको थियो। त्यस्तै ओपनर आसिफ शेख र अलराउण्डर करण केसी पनि टिममा छैनन्। लगातार खराब ब्याटिङका कारण आलोचित बनेपछि नेपाली टिम नयाँ युवा टिम निर्माणमा छ।

युवा ब्याटर तथा यू १९ कप्तान देव खनालले यसै खेलमार्फत एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मा डेब्यू गरे। देवसँगै भीम सार्की, अनिल शाह, पवन सर्राफजस्ता युवा खेलाडीले टिममा मौका पाएका थिए।

सन् २०१८ मा जिम्बाबेमा भएको एकदिवसीय विश्वकप छनोटमा पीएनजीलाई नै हराएर नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो। त्यसयता नेपालले पीएनजीसँगको सबै एकदिवसीय खेल जितेको रेकर्ड छ।

कुनै बेला नेपालको लागि कठिन प्रतिद्वन्द्वी रहेको पीएनजी हाल खराब फर्ममा छ। पीएनजीले लगातार १८ एकदिवसीय खेलमा हार भोगेपछि गतसाता मात्र लिग डिभिजन–२ मा युएईलाई हराउँदै पहिलो जित हात पारेको थियो।

लिग डिभिजन–२ मा नेपालले पीएनजीलाई दुई खेलमा लगातार दुई विकेट र सात विकेटले हराएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved