एकै वर्षमा करिब साढे तीन लाख नेपाली स्वदेश फर्किएनन्, ४५९ जनालाई देश निकाला

सो अवधिमा ८ लाख ८ हजार ४१५ नागरिक श्रमिकको रूपमा विभिन्न देश गएका छन् । नाता भिसामा १ लाख ६७ हजार ४८५, भिजिट पर्यटक तथा धार्मिक प्रयोजनको लागि २ लाख ४ हजार ५१८ नागरिक बाहिरिएका छन् । 

नेपालभ्युज

एकै वर्षमा करिब साढे तीन लाख नेपाली स्वदेश फर्किएनन्, ४५९ जनालाई देश निकाला

काठमाडौं । विभिन्न प्रयोजनका लागि विदेश गएकामध्ये ३ लाख ४० हजारभन्दा बढी नेपाली सन् २०२३ मा स्वदेश नफर्किएको पाइएको छ ।

गृह मन्त्रालयले आइतबार प्रतिनिधिसभाको राज्यव्यवस्था समितिमा छलफलका लागि पेश गरेको बुँदामा उल्लेखित तथ्यांक अनुसार सन् २०२३ मा १६ लाख ३ हजार ८३८ जना नेपाली नागरिकले विभिन्न प्रयोजनका लागि देश छाडेको उल्लेख छ ।

सोही अवधिमा १२ लाख ६३ हजार ४६९ भित्रिएका थिए । यसर्थ, सन् २०२३ मा ३ लाख ४० हजार ३ सय ६९ जना नेपाली नागरिकहरू नेपाल नफर्किएका हुन् ।

यस अवधिमा अध्ययनको लागि १ लाख ८ हजार ५४२ जना, अस्थायी आवास भिसामा ९२ हजार ३४९ विदेशमा गएका छन् । त्यस्तै स्थायी आवासका ७० हजार ९१५ र डिपेन्डेन्ट भिसामा २० हजार ६१३ गरी जम्मा २ लाख ९२ हजार ४२० नेपाली कुनै न कुनै रूपमा विदेश मै रहने गरी गएका छन् ।

यस्तै सो अवधिमा ८ लाख ८ हजार ४१५ नागरिक श्रमिकको रूपमा विभिन्न देश गएका छन् । नाता भिसामा १ लाख ६७ हजार ४८५, भिजिट पर्यटक तथा धार्मिक प्रयोजनको लागि २ लाख ४ हजार ५१८ नागरिक बाहिरिएका छन् ।

त्यसै गरी, सन् २०२३ मा नेपालबाट ४ सय ५९ जना विदेशी नागरिक निष्कासनमा परेका छन् । गृह मन्त्रालयले आइतबार अध्यागमन सम्बन्धी विषयमा प्रतिनिधिसभाको राज्यव्यवस्था समितिमा छलफलका लागि पेस गरेको विवरणअनुसार निष्कासनमा पर्नेमा सबैभन्दा धेरै भिसा अवधिभन्दा बढी बस्ने पर्यटक छन् ।

भिसा अवधि सकिसके पनि नेपालमै बसिरहेका विदेशी नागरिकहरूलाई गृह मन्त्रालयले निष्कासन गरेको हो । यसअघि सन् २०१७ मा ५५९, सन् २०१८ मा ६७८, सन् २०१९ मा ६७१, सन् २०२० मा ३३२, सन् २०२१ मा ३०८, सन् २०२२ मा ५७० जना विदेशी नागरिकहरू नेपालबाट निकालिएका थिए ।

मन्त्रालयका अनुसार गैरआवसीय नेपाली नागरिकता लिएका नेपाली मूलका विदेशीहरूको भिसा शुल्क सम्बन्धमा स्पष्ट नभएकोले उनीहरूलाई निष्कासन गरिएको हो ।

नेपालमा नेपाली नागरिकहरूसँग वैवाहिक सम्बन्धका आधारमा रिलेसन भिसामा रहेका विदेशी मूलका नागरिकहरूले नेपालमा काम गर्न पाउने वा नपाउने सम्बन्धी द्विविधा कायमै रहेको मन्त्रालयको भनाइ छ ।

लामो समयसम्म नेपालमै काम गरेर बसेका अथवा विभिन्न संघसंस्थामा आबद्ध भएर काम गरिरहेका विदेशी नागरिकहरू पनि भिसा अवधिका कारण निष्कासित हुन परेको कुरालाई पनि मन्त्रालयले उठाएको छ ।

मन्त्रालयको प्रतिवेदनमा भनिएको छ, ‘भिसा अवधि लम्बिएकै कारण भिसा शुल्क र जरिवाना तिर्न नसक्दा कतिपय विदेशी नागरिकहरू नेपाली कारागार र अध्यागमनको हिरासतमा रहेका छन् ।

उनीहरूको शुल्क र जरिवाना मिनाहा गर्ने व्यवस्था पनि नभएकाले उनीहरूलाई लामो समयसम्म नेपाल सरकारले पाल्नुपरेको छ । यस सम्बन्धमा कूटनैतिक तहबाट पारस्परिकताको आधारमा सम्झौता गरी सहज ढंगबाट निष्कासन हुने व्यवस्था मिलाउनु पर्ने देखिन्छ ।’

यो सँगै मन्त्रालयले नेपालमै जन्मिएका तर बुवाआमा विदेशी भएकाहरूलाई इन्ट्री भिसा र विदेश प्रस्थान गराउने सम्बन्धी स्पष्ट व्यवस्था नभएकाले उनीहरूले अनागरिकको जीवन बिताइरहनु परेको प्रति पनि समितिलाई जानकारी गराएको छ ।

नेपालमा रहेका विदेशी शरणार्थीहरू सम्बन्धी पनि कानुनी जटिलताको कारण नेपालमै अड्किरहेको मन्त्रालयले जानकारी गराएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved