राष्ट्रिय सभामा सिटौलाले उठाए तीन विषय- महान्यायाधिवक्ताले कहिल्यै ‘क्लिन चिट’ दिँदैन

नेपालभ्युज

राष्ट्रिय सभामा सिटौलाले उठाए तीन विषय- महान्यायाधिवक्ताले कहिल्यै ‘क्लिन चिट’ दिँदैन

१. सहमतिका नाममा स्वार्थ हाबी हुन थाल्यो ।
२. प्रतिनिधिसभा अवरुद्ध छ, संसदीय समिति बनाउँ ।
३. महान्यायाधिवक्ताले कहीँ पनि ‘क्लिन चिट’ दिँदैन ।

काठमाडौं । राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले राजनीतिक दलहरूबीच सहमति, सहकार्य र एकताको भावनाको खडेरी लाग्न थालेको टिप्पणी गरेका छन् ।

शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा नेपाली कांग्रेसका नेतासमेत रहेका सिटौलाले यस्तो टिप्पणी गरेका हुन् । पहिले सहमति, सहकार्य र एकताको भावना रहेपनि अहिले त्यो कम हुँदै गएको उनले बताए ।

सिटौलाले संविधानलाई दलहरूबीचको सहमति, सहकार्य र एकताको दस्ताबेज भएको बताए । संविधान सभाबाट संविधान जारी हुँदा शीर्षस्थ नेताहरूले मिलेरै अगाडि बढ्ने प्रण गरेको स्मरण गर्दै सिटौलाले यहाँसम्म आइपुग्दा त्यो क्रम समाप्त हुने क्रममा गएको बताए ।

बोल्ने क्रममा सिटौला मूलत: तीनवटा कुरामा केन्द्रित भए ।

१, सहमतिका नाममा स्वार्थ हाबी : सिटौलाले सहमतिका नाममा अहिले स्वार्थ हाबी हुन थालेको बताए ।

“हामीले सहमतिले संविधान बनायौँ तर, त्यसयता सहमति, सहकार्य र एकताको राजनीति सकियो,” उनले भने, “आफ्नो स्वार्थकेन्द्रित भयो भने सहमति भयो भन्ने अनि आफ्नो स्वार्थकेन्द्रित भएन भने सहमति भएन भन्ने चलन आयो । यसले हामीलाई कहीँ पनि पुर्‍याउँदैन ।”

उनले अहिले बढी समस्या निजी स्वार्थका हुने गरेको बताए । त्यसकारण नेताहरूले छातीमा हात राखेर आत्मसमीक्षा गर्ने बेला भएको बताए ।

“नेताहरूले सोच्नुस्, यसरी चल्छ कि चल्दैन; आत्मसमीक्षा गर्नुस् । भाषण जति गरेपनि हुन्छ तर, भाषण कार्यान्वयन नहुँदासम्म केही हुन्न,” उनले भने, “एकपटक पुनर्मूल्याङ्कन गर्नुस्, आत्मसमीक्षा गर्नुस् ।”

२. संसदीय छानबिन समिति गठन : सिटौलाले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि उच्चस्तरीय संसदीय छानबिन समिति बनाउँदा केही नबिग्रिने बताए । त्यो स्वयम् लामिछानेका लागि अवसर भएको उनले बताए ।

त्यसकै कारण प्रतिनिधिसभा अवरोध भइरहेको सिटौलाले बताए । प्रतिनिधिसभा नचल्दा देश अगाडि बढ्न नसक्ने उनको भनाइ थियो । “जहाँनेर पावर छ, त्यहीँनेर नै समस्या छ । प्रतिनिधिसभा नै अवरोध राखेर राष्ट्रियसभा मात्रै चलाउनुको कुनै अर्थ छैन,” उनले भने ।

३. महान्यायाधिवक्ताले ‘क्लिन चिट’ दिन मिल्दैन :सिटौलाले महान्यायाधिवक्ताले कुनै पनि घटनामा ‘क्लिन चिट’दिन नमिल्ने उनले बताए ।

सहकारी ठगी प्रकरणमा दोषी भएको आरोप लागेका गृहमन्त्री लामिछानेलाई महान्यायाधिवक्ताले क्लिन चिट दिएको भन्दै उनले त्यसको विरोध गरे ।

“आजसम्म इतिहासमा नभएको घटना भयो । महान्यायाधिवक्ताले कहीँ पनि क्लिन चिट दिँदैन । प्रहरीले क्यारेक्टरको सर्टीफिकेट दिजस्तो हो यो ? राज्यको कुन अङ्गको प्रभावमा यस्तो काम हुन्छ ?,” उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved