आलेख

अमेरिकी क्याम्पसहरूमा भइरहेको इजरायलविरोधी प्रदर्शनलाई कसरी बुझ्ने ?

यी विद्यार्थी प्रदर्शनले स्वयम् गाजा क्षेत्रमा हमासको अधिनायकवादलाई मन नपराउने प्यालेस्टाइनीको भावनालाई बेवास्ता गर्दछन् । गाजा क्षेत्रमा त्यस्ता थुप्रै प्यालेस्टाइनी छन्, जो हमासको निरङ्कुश शासनलाई घृणा गर्दछन् ।

अमेरिकी क्याम्पसहरूमा भइरहेको इजरायलविरोधी प्रदर्शनलाई कसरी बुझ्ने ?

अमेरिकी क्याम्पसहरूमा अहिले गाजा युद्ध रोकिनुपर्ने भन्दै विद्यार्थीको प्रदर्शन चर्किएको छ । पाठकहरू यसबारे मलाई सोध्दै हुनुहुन्छ, म भने आफैँलाई सोध्दैछु— यी विद्यार्थी प्रदर्शनबारे म कस्तो महसुस गर्दछु ?

गाजा युद्ध सुरु भएको अक्टोबर ७ देखि नै मैले यसबारे स्तम्भ लेख्दै आएको छु । मेरो स्तम्भ पढ्ने पाठकलाई यो थाहा हुनु पर्दछ कि मेरो ध्यान मध्यपूर्वका धरातलीय घटनामा केन्द्रित छ तर, यसलाई बेवास्ता गर्ने मनोवृत्ति सबैतिर ठूलो हुँदै गयो ।

संक्षिप्तमा भन्दा मलाई यी यावत् चिज कष्टप्रद लाग्दछन् । किनकि गाजा युद्धबारे बोल्ने ठूला आवाज र प्लेकार्डमा लेखिने सन्देशले पछिल्लो युद्ध कसरी सुरु भयो, यसलाई निष्पक्ष र दीगो निष्कर्षमा कसरी पुर्‍याउन सकिन्छ, त्यसका लागि के-के आवश्यक छ भन्ने महत्त्वपूर्ण सत्यलाई अस्वीकार गर्दछन् ।

मेरो समस्या यो हैन कि विरोध प्रदर्शन ‘यहुदी-विरोधी’ छन् । म ती प्रदर्शनलाई वर्णन गर्न यो शब्द प्रयोग गर्दिनँ । तर, म एक यहुदीका रूपमा इजरायल-प्यालेस्टाइन मुद्दामा कसरी यहुदी विरोधी आरोप लगाइन्छ भन्ने कुरामा गहिरो असहजता अनुभूति गर्छु ।

मेरो समस्या बरु यो हो कि म बेरुत र जेरुसेलममा बस्ने एक कठोर व्यावहारवादी हुँ । मैले लेख्दा सबै पक्षका मानिसको ख्याल राख्न सक्दछु । यस क्षेत्रका दशकौंदेखिका समस्या मलाई थाहा छ । यो समस्याको एक मात्र न्यायोचित र व्यावहारिक समाधान छ भन्ने पनि मलाई थाहा छ— त्यो हो दुई मौलिक जातिका जनताका लागि दुई राष्ट्रिय-राज्य ।

यदि तपाईं यो पक्षमा हुनुहुन्छ भने धर्म, राष्ट्रियता र राजनीति जेसुकै होस्, तपाईं समाधानको पक्षमा हुनुहुन्छ । यदि यसको पक्षमा हुनुहुन्न भने तपाईं समाधान हैन, समस्याको अंश हो ।

मैले पढेका, देखेका, बुझेका कुराबाट यो भन्न सक्दछु कि विद्यार्थी प्रदर्शन समाधान हैन, समस्याका अंश बनेका छन् । यसका मुख्य तीन कारण छन् ।

पहिलो— प्रदर्शनले हमास लडाकुविरुद्धको कारबाहीको नाममा प्यालेस्टाइनी नागरिक मार्ने इजरायलको लज्जास्पद व्यवहार रोक्न माग गर्दछन् तर, हमासलाई अक्टोबर ७ को हमला र युद्धविराम भङ्ग गरेको दोषबाट उन्मुक्ति दिन्छन् ।

अक्टोबर ७ को बिहान हमासले आक्रमण सुरु गरेको थियो भन्ने बिर्सन मिल्दैन । त्यो बिहान कति क्रूर थियो ? हमासले अभिभावक सामु बालबालिका मारेको थियो । इजरायली महिलालाई बलात्कार गरेको थियो । सक्ने जति सबैलाई या त मारेको थियो वा अपहरण गरेको थियो । बालबच्चादेखि बृद्धबृद्धासम्म कसैलाई छोडेको थिएन ।

अर्को पाटो हेरौँ, इजरायलको प्रतिक्रिया पनि उत्तिकै स्तब्धकारी थियो । इजरायलले गाजामा अन्धधुन्ध बमबारी गरेको थियो । हजारौँ बालबालिका मारिए, अपाङ्ग र अनाथ भए । हमासले के गरेको थियो भनेर इजरायलका कदमलाई जायज ठान्न सकिँदैन ।

तर, यो घटनामा तपाईं कसरी यहुदी राज्यले प्यालेस्टाइनी महिला, पुरुष र बालबालिकालाई पीडा दिन सक्दछ भनेर व्याख्या गर्नुहुन्छ भने एउटा पक्ष लिइसक्नुभयो, तपाईं समस्याको आगोमा घिउ थप्दै हुनुहुन्छ ।

विद्यार्थी प्रदर्शनले ठीक यही गल्ती गर्दैछ । युद्धका लागि इजरायललाई हदैसम्मको जिम्मेवार ठानिरहेका छन् । यहाँसम्मकी इजरायलको अस्तित्वलाई लक्षित गरिरहेका छन् । जबकि हमासको हत्यारो व्यवहारलाई भने औपनिवेशीकरणविरुद्धको साहसिक कार्यका रूपमा अनुमोदन गरिरहेका छन् ।

दोस्रो— जब मान्छेले ‘समुद्रदेखि नदीसम्म प्यालेस्टाइनलाई मुक्त गर’ जस्ता नारा लगाउँछन्, उनीहरूले इजरायल राज्यको अस्तित्व मेटाउन आह्वान गरिरहेका छन् भन्ने प्रष्टै हुन्छ । यो दुई-राज्य समाधानको अपिल हैन ।

यसो भन्नुको अर्थ हुन्छ कि यहुदी जनतासँग आत्मनिर्णय र आत्मरक्षाको अधिकार छैन । ठीक यही कुरा म यहुदी र प्यालेस्टाइनी दुवैको बारेमा भन्न सक्दिनँ । म दुई-राज्य सामधानमा विश्वास गर्छु ।

यस्तो समाधानमा इजरायल सुरक्षा प्रत्याभूतिको बदलामा पश्चिमी किनारा, गाजापट्टी र जेरुसेलमको अरब इलाकाबाट फिर्ता हुनु पर्दछ । त्यसैगरी निसैनिकीकरण भएको प्यालेस्टाइनी राज्यले ‘दुई जनताका लागि दुई राज्यको सिद्धान्त’ स्वीकार गर्नु पर्दछ । सन् १९६७ मा कब्जा भएका भूभागमा पनि यो सिद्धान्त लागू गर्नु पर्दछ ।

मलाई आफ्नो ४५ वर्षे करिअरमा सन् २००२ को मार्च २७ मा साउदी राजकुमार अब्दुल्ला बिन अब्दुल अजिजसँगको अन्तर्वार्ताका लागि गौरव लाग्छ । उनले पहिलोपटक सन् १९६७ को कब्जाबाट फिर्ता हुने शर्तमा इजरायलसँग शान्ति तथा सम्बन्ध सामान्यीकरणको प्रस्ताव अरब लिगको बैठकमा राखेका थिए । बेरुतमा शान्ति सम्मेलन आयोजना गरिएको थियो । यसलाई शान्तिका लागि अरबको पहलकदमी भनिन्छ ।

तर, हामी के यो बिर्सन सक्छौँ कि अरब लिगको यो शान्ति पहलकदमी र दुई राज्य समाधानप्रति हमासको प्रतिक्रिया के थियो ? अरब लिगको शान्ति सम्मेलन सुरु भएको मार्च २७ को साँझ हमासले प्रतिक्रिया दिँदै भनेको थियो— इजरायलको निस्तारमाथि हमला गरिनेछ ।

अब तपाईं यो प्रश्न सोध्न सक्नुहुन्छ कि ‘ओई, फ्रिडम्यान नेतान्याहूले हमासलाई उक्साएको, प्यालेस्टाइनी क्षेत्रमा इजरायली वस्ती बसाएको, त्यस्ता ठाउँमा प्यालेस्टाइनी जनतालाई दु:ख दिइएको, ओस्लो शान्ति सम्झौता पालना गर्ने प्यालेइस्टानी प्राधिकारलाई कमजोर बनाएकोबारे चाहिँ के भन्छौ ?’

मेरो उत्तर हुनेछ— ती हिंसा र नेतान्याहुका कार्यहरू दुई-राज्य समाधानका लागि उत्तिकै भयानक र हानिकारक छन् । त्यसैले त भन्ने गर्छु, म नेतान्याहु र हमास दुवैको विरोधी हुँ । तपाईं कुनै एउटाको मात्र विरोध गर्दै हुनुहुन्छ भने अर्कोको समर्थन गर्दै हुनुहुन्छ भन्ने अर्थ निस्कन्छ । यहाँनेर हामी होसियार हुनु पर्दछ । किनकि हमास र नेतान्याहु गुटहरूले दुई-राज्य समाधानलाई सबैभन्दा बढी हानि पुर्‍याएका छन् ।

यो बुझ्न जरुरी छ कि हमासले सन् १९६७ पछिको कब्जाको विरोध गरिरहेको छैन । बरु हमास यहुदी राज्यको अस्तित्वकै विरुद्धमा छ । हमास नदी र समुद्रको बीचमा एक मात्र इस्लामिक राष्ट्र हुनु पर्दछ भन्ने विश्वास गर्दछ । जब हाम्रा कलेजका विद्यार्थीको प्रदर्शनले यो कुरा बेवास्ता गर्दछ, त्यो समस्या बन्न पुग्दछ ।

ठीक यही समस्या इजरायली चरम दक्षिणपन्थीहरूको पनि हो । त्यस्ता शक्तिहरू अहिले नेतान्याहु सरकारभित्रै छन् । उनीहरू भूमध्यसागरदेखि जोर्डन नदीसम्मको भूभाग एउटै यहुदी राज्यका लागि हो भन्ने विश्वास गर्दछन् ।

अब तपाईंले भन्नुहोला कि यो कुरा मलाई कसरी थाहा भयो ? यो त नेतान्याहु आफैँले गठबन्धन सरकार बनाउनुअघिको चरम दक्षिणपन्थीसँग गरेको सम्झौतामा लेखेका छन् ।

तेस्रो— यी विद्यार्थी प्रदर्शनले स्वयम् गाजा क्षेत्रमा हमासको अधिनायकवादलाई मन नपराउने प्यालेस्टाइनीको भावनालाई बेवास्ता गर्दछन् । गाजा क्षेत्रमा त्यस्ता थुप्रै प्यालेस्टाइनी छन्, जो हमासको निरङ्कुश शासनलाई घृणा गर्दछन् । उनीहरू यस्ता विद्यार्थी प्रदर्शनसँग क्रोधित छन् ।

हमासले आक्रमण गरेपछि इजरायलले प्रतिक्रिया गर्छ भन्ने सबैलाई थाहा थियो । हमासले आफ्ना जनताको सुरक्षालाई ध्यान नदिँदै पर्याप्त तयारी र सूचनाबिनै किन आक्रमण सुरु गर्‍यो ? हमासले गाजा क्षेत्रका नागरिकको सुरक्षाका लागि कुनै तयारी नै गरेको थिएन । एक हमास अधिकारीले युद्धअघि भनेका थिए कि सुरुङहरू हमास लडाकाका लागि मात्र हुन्, गाजाका नागरिकका लागि हैनन् ।

मैले यो तर्क गरेर इजरायलका ज्यादतिका लागि उसलाई माफ गर्नु पर्दछ भनिरहेको छैन । तर, इजरायललाई युद्धका लागि आमन्त्रण गरेबापत् हमासलाई पनि उन्मुक्ति दिन मिल्दैन ।

मलाई लाग्छ कि हमास नयाँ विश्वव्यापी टिकटक पुस्ताको विश्वास जित्न हजारौँ गाजावासी नागरिकको बलिदान दिन तयार थियो । र, त्यही भयो । तर, यसले काम गर्नुको करण यो पुस्तामा आलोचनात्मक सोचको अभाव पनि हो ।

क्याम्पस संस्कृतिले नयाँ पुस्तालाई के सोच्ने, के नसोच्ने, कसरी सोच्ने, कसरी नसोच्ने भन्ने बनाएको छ । म तिनलाई त्यस्ता लेख पढ्न सिफारिस गर्दछु, जसले हमासले युद्ध किन, कसरी र कहिलेसम्म गर्ने, के परिणाम निकाल्ने भन्ने कुनै लक्ष्यबिनै बर्बादी निम्त्याएकोमा क्रोधित गाजावासीको चित्रण गर्दछन् ।

उनीहरूलाई लाग्छ कि हमास नेता याहया सिनवर व्यक्तिगत बदलाका लागि इजरायललाई ध्वंस गर्ने परिणामहीन प्रयत्न गर्दैछन् । तर, त्यसको मूल्य भने गाजाका वासिन्दाले चुकाउन परेको छ ।

गाजामा हुर्केका प्यालेस्टाइनी अमेरिकी अहमद फाउद अलखातिबले अबुधाबीको एक राष्ट्रिय समाचार पत्रमा लेखेको लेखको टुक्राले मलाई अचम्मित पारेको थियो । उनले लेखेका थिए—इजरायलको युद्धले मेरा परिवारका ३१ सदस्य मारिएका छन् तर, पनि मलाई लाग्छ कि हमासविरुद्ध बोल्नपर्छ ।

उनले सन् २०१९ पछि ‘हामी बाँच्न चाहन्छौं’ लेखेको ब्यानर देखाएर गाजा क्षेत्रमै हमासविरुद्ध प्रदर्शन गर्ने गरेका थिए । उनले हमास प्रशासनलाई अयोग्य र निरङ्कुश शासन मान्दछन् । उनले त्यो लेखमा भनेका छन्— हमासको राजनीति इजरायलसँगको युद्धलाई कहिल्यै समाधान हुन नदिने अतिवादी राजनीति हो ।

अलखातिब एटलान्टिक काउन्सिलका एक गैरआवासीय राजनीतिक विश्लेषक पनि हुन् । उनी अगाडि लेख्छन्— गाजामा हुर्केको कारण म हमासको शक्ति उदयको कारण बुझ्दछु । गाजापट्टी, प्यालेस्टाइनी राजनीति र समाजमा उनीहरू प्रतिशोधको कथा र लुकेका भाष्यबाट अघि बढ्दै गए । अक्टोबर ७ भन्दा केही महिनाअघि सन् २०१७ र सन् २०१९ मा जस्तै गाजाका दशौं हजार वासिन्दाले हमासविरुद्ध प्रदर्शन गरेका थिए ।

अलखिताबको तर्कमा हमासले गाजाका वासिन्दाको हित चाहेको छैन । उसले गाजालाई इजरायलविरुद्धको प्रतिरोध युद्धको किल्ला मात्र बनाउन चाहेको छ । त्यसले इरानसँग एक कुख्यात क्षेत्रीय गठबन्धन बनाएको छ ।

गाजाका वासिन्दाको जीवनस्तर र बेरोजगारीबारे हमासलाई कुनै मतलब छैन । क्षेत्रका वास्तविकताको बोध र अवसरहरूमा अर्थपूर्ण रुपान्तणका लागि राजनीतिक क्षितिजको अभाव छ ।

हमासको शासन एक आपराधिक गिरोहको निरङ्कुश उद्यम जस्तो छ । यसले गाजालाई सम्बद्धहरूको आश्रयस्थलका रूपमा प्रयोग गर्दछ । यसले प्यालेस्टाइनीलाई अन्तर्राष्ट्रिय समुदायको सहयोगमा निर्भर विषयजस्तो बनाइदिएको छ ।

क्याम्पसका आलोचनात्मक चिन्तकले इजरायली आप्रवासीले गरेका हिंसालाइ मात्र हैन, समस्याको केन्द्रीय विषयलाई समेत शिक्षित गर्न आवश्यक छ ।

यो किनारीकृत सोचको समय हैन, यो प्रयोजनशील र जटिल सोचको समय हो । हामी दुई फरक मौलिक जनताका लागि दुई राष्ट्रिय-राज्य निर्माणको लक्ष्यसम्म कसरी पुग्न सक्दछौँ ? जसले यो लक्ष्यलाई स्वीकार गर्दछ, त्यसलाई अङ्गालो हालौँ, जसले यसलाई अस्वीकार गर्दछ, त्यस्तो जो कोहीलाई हामीले पनि अस्वीकार गरौँ ।

(न्यूओर्क टाइम्सबाट)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved