आलेख

के हुँदैछ हाम्रो संसारमा ?

यो द्वन्द्वमा सबैलाई आआफ्नो शक्ति संघर्षको स्वार्थ पूरा गर्नुछ । इरानको इस्लामपन्थी सरकारलाई अमेरिकासँगको शत्रुता साँध्नु छ हिजब्बुलालाई इजरायललाई एक्लाएर लेबनानमा शक्ति सुदृढ गर्नु छ । पुटिनलाई नाटोसँगको शत्रुताका नाममा रुसभित्रको शासन र अल्पतन्त्रको लुटलाई बलियो बनाउनु छ ।

के हुँदैछ हाम्रो संसारमा ?

म सन् १९९५ देखि द न्यूओर्क टाइम्सको विदेश मामिला स्तम्भकार छु । यो क्रममा मैले सिकेको सबैभन्दा चीरस्थायी पाठ के हो भने यस काममा राम्रा/नराम्रा मौसम आइरहन्छन् । यी कुरा सबैभन्दा ठूला शक्तिले गर्ने ठूला विकल्प छनोटबाट परिभाषित हुन्छन् ।

मेरो पहिलो दशकको सबैभन्दा खराब छनोट सेप्टेम्बर ११ को घटना आसपासमा अमेरिकाले गरेका प्रतिक्रिया थिए । तर, त्यो बेला थुप्रै आशाजनक कुरा पनि भएका थिए । जस्तो कि रुस र पूर्वी युरोपमा लोकतन्त्रको जन्म, यसका लागि मिखायल गोर्भाचेवको छनोटलाई धन्यवाद दिनुपर्छ ।

ओस्लो शान्ति सम्झौताको छनोटका लागि ईत्ज्याक रविन र यासिर अराफातलाई धन्यवाद । विश्वमा चीनको द्रुत खुलापन छनोटका लागि तङस्याओ फेङलाई धन्यवाद । भारतले विश्वव्यापीकरण अँगालेकोमा मनमोहन सिंहलाई धन्यवाद ।

युरोपियन युनियनको विस्तार र अमेरिकामा पहिलो अश्वेत राष्ट्रपति निर्वाचित हुनु त्यो बेलाका थप राम्रा छनोट थिए । दक्षिण अफ्रिकमा कठोर प्रतिरोधको साटो मेलमिलापकेन्द्रित बहुजातीय लोकतन्त्रको स्थापना त्यस प्रक्रियालाई नेतृत्व गर्ने दुवै नेताको राम्रो छनोट थियो ।

विश्वले अन्ततः जलवायु परिवर्तनलाई गम्भीरतापूर्वक लिन थालेको संकेत देखिएको थियो ।

यी छनोटले विश्वलाई थप शान्ति र सन्तुलनतिर लगेका थिए । एक स्तम्भकारका रूपमा यी सकारात्मक छनोटबारे सोच्नु र लेख्न पाउनु आफैँमा रोमाञ्चक कुरा थियो । तर, पछिल्ला केही वर्षयता मैले ठीक विपरीत महसुस गर्न थालेको छु । अहिलेका ठूला खेलाडीले खराब विकल्प छनोट गर्दैछन् ।

भ्लादिमिर पुटिनको कडा तानाशाही र आक्रामकता युक्रेनमा क्रूर हस्तक्षेपमा परिणत भयो । सी चिनफिङले चीनको खुल्लापनलाई उल्टो बाटोतिर लगे । इजरायलमा इतिहासकै सर्वाधिक दक्षिणपन्थी सरकार निर्वाचित भयो ।

जलवायु परिवर्तनको प्रभाव व्यापक हुनु, अमेरिकाले दक्षिणी सीमामा नियन्त्रण गुमाउनु अशुभ हुन् । तर, यीमध्ये पनि सबैभन्दा ठूलो अशुभ टर्की, पोल्याण्ड र हंगेरीजस्ता युरोपेली मुलुकमा मात्र हैन, अमेरिकाको रिपब्लिकन पार्टीभित्र अधिनायकवादको बहाव आउनु हो ।

म सन् १९७८ मा पत्रकार भएको थिएँ । त्यो बेला म विश्वको स्थायीत्वका लागि तीन स्तम्भ हुन भन्ने सोच्थेँ । एक— नेटोलगायत स्वस्थ बहुपक्षीय संस्थाहरूको सहयोगमा उदार विश्व व्यवस्थाको रक्षाका लागि बलियो अमेरिकी प्रतिबद्धता, दुई— निरन्तर आकासिँदो चीनको विश्व अर्थतन्त्र उकास्ने तत्परता र तीन— युरोप र विकासशील देशहरूका स्थिर सिमानाहरू । पछिल्लो दशकमा यी तीनवटै स्तम्भ नराम्ररी हल्लिएका छन् ।

यसो हुनुमा अमेरिका-चीन शीत युद्ध, दक्षिणबाट उत्तरमा आम आप्रवासन र आवश्यकताभन्दा बढी अविश्वासनीय भइरहेको अमेरिकाजस्ता ठूला शक्तिका खराब छनोट जिम्मेवार छन् । तर, ठूला शक्ति मात्र हैन, साना शक्तिका छनोटले पनि राम्रो संकेत गरिरहेको छैन । हुथी र यमनी जनजातिबीचको संघर्षले अन्तर्राष्ट्रिय व्यापारका रुट नै बदल्नुपर्ने भएको छ । यिनले लालसागर र स्वेज नहरको जलमार्गलाई ड्रोन र रकेटमार्फत् व्यवधान गरेका छन् ।

मलाई के लाग्छ भने युक्रेनमाथि रुसको आक्रमण हाम्रो समयको पहिलो विश्व युद्ध हो र हमास-इजरायल युद्ध साँचो दोस्रो विश्व युद्ध हो । यिनीहरू भौतिक युद्धक्षेत्र र डिजिटल ‘स्पेश’मा जसरी लड्दैछन्, यसका व्यापक विश्वव्यापी प्रभाव छन् ।

युद्धको कारण अर्जेन्टिनाका किसानले युक्रेनबाट प्राप्त गर्ने मल गुमाए । गाजाबाट प्राप्त दृष्यको भयानकताको कारण विश्वभरिका युवाले टिकटक, जारा र म्याकडोनाल्ड्स च्यानल बहिष्कार गर्दैछन् । हमासलाई समर्थनको बदलाका रूपमा इजरायली ह्याकरले इरानका ७० प्रतिशत ग्यास स्टेशसन बन्द भएको श्रेय दाबी गरे ।

यथार्थमा आजको संसार बलियो तारजालोको संसार हो । यो हुन सक्दछ कि वासिङ्गटनको राष्ट्रपतिको छनोट गाजाको सवालले गर्दियोस् । इजरायललाई अमेरिकी समर्थनको कारण युवा लोकतान्त्रिक मतदाताले बाइडनलाई नरोज्न सक्दछन् । मलाई के लाग्दछ भने यी सबै कुरा छनोट गरिएका विकल्प थिए, अपरिहार्य हैन ।

गोर्भाचेव, तङ, अनबर अल-सदात, मेनाकेम बेगिन, जर्ज बुस र ब्लोदोमिर जेलेन्स्की नाम मात्र हैनन्, कष्टप्रद छनोटको सामना गरिरहेका मान्छे थिए । जसको छनोटले संसारलाई थोरै भए पनि सुरक्षित र समृद्धि विश्वतिर लान मद्दत गरेको थियो, अरु धेरैले उल्टो बाटो रोजे ।

अक्टोबर ७ यताको हमासऔइजरायल युद्ध त्यति अपरिहार्य थिएन जस्तो कि अहिले धेरैले ठान्न थालेका छन् । यसलाई टार्न सकिन्थ्यो ।

केही हप्ताcघि म संयुक्त राष्ट्र संघको जलवायु सम्मेलनमा भाग लिन दुबई गएको थिएँ । दुबई विमानस्थलमा संसारकै लामा कन्कोर्स छन् । अवतरणपछि केहीबेर म ‘कन्कोर्स बी’ को पार्कमा बसेको थिएँ । त्यहाँबाट मैले १५ वटा लामो दूरीका एयर इमिरेट्सका जेट विमान देखेँ । मनमा कुरा आयो— दुबईमा के छ र यस्तो भयो जो गाजामा अभाव छ ? एक अर्थमा यी दुवै उस्तै छन्, समुद्रको पानी सकिएर बालुवाले बनेका, संसारसँग उत्तिकै अन्तरक्रिया गर्न सक्ने ।

दुबई तेलको कारणले मात्र बनेको हैन । तेल त दुबईको अर्थतन्त्रको एक सानो अंश हो । लोकतन्त्र पनि हैन । दुबईमा लोकतन्त्र पनि छैन र हुन पनि चाहँदैन । तर, मान्छे संसारभरिबाट यहाँ बस्न आइरहेका छन् । कोभिड–१९ पछि मात्रै यसको जनसंख्या ३५ लाखले बढेको छ । किन ? छोटो उत्तर हो— दूरदर्शी नेतृत्व ।

यहाँका दुई पुस्ता राजाको दूरदर्शीताबाट दुबई लाभान्वित छ । उनीहरूले दुबईका लागि आधुनिक बहुलवादी, भूमण्डलीकृत र मध्यमार्गी इस्लामको विकल्प छनोट गरे । उनीहरूको विकास सूत्रमा चरमपन्थी इस्लामवाद प्रतिबन्धित छ । उनीहरूले खुलापन, स्वतन्त्र बजार र शिक्षामा जोड दिएका छन् । यहाँ कडा विधिको शासन छ । सापेक्षिकरूपमा भ्रष्टाचार निकै कम छ । आर्थिक विविधिकरण, प्रतिभा भर्ती र विकासका लागि माथिदेखि तलसम्मकै प्रतिबद्धता छ ।

दुबईमा आलोचना गर्न सकिने पनि थुप्रै कुरा छन् । जस्तै भेला हुने स्वतन्त्रताको अभाव, विदेशी कमादारका लागि श्रम अधिकारको अभाव, स्वतन्त्र प्रेस र अतिभवनीकरण आदि । तर, नेतृत्वले व्यापार, यातायात, पर्यटन र नवप्रवर्तनमा संसारकै सबैभन्दा राम्रो बनाएको छ । म्यानहटन र हङकङले समेत ईष्या गर्नुपर्ने गरी गगनचुम्बी महल छन् । यी सबै काम खतरनाक इस्लामिक गणतन्त्र इरानको ईष्या र छायाँमा भएका हुन् ।

सन् १९८० मा पहिलोपटक म दुबई जाँदा समुद्र किनारमा माछा मार्ने परम्परागत झुप्राहरू थिए । आज इमिरेट्सको लजिस्टिक कम्पनी डीपी वर्ल्डले संसारभरिकै कार्गो रसद र पोर्ट टर्मिनल प्रबन्ध गर्दछ । सामान तटरेखामा भएका उसका छिमेकी कतार, ओमान, इरान, बहराइन, कुवेत, साउदी अरेबिया जसकसैले यो काम गर्न सक्थे । तर, यो काम युएईले गर्न सक्यो किनकि उसले यो विकल्पको छनोट गर्‍यो ।

यसलाई गाजासँग तुलना गरौँ त जहाँ इजरायलसँगको युद्धले अन्त्यहीन हमास शहीदहरू रोल मोडेल बनेका छन् । सबैभन्दा अज्ञानी र घिनलाग्दो भनाइ यो हो कि हमाससँग कुनै विकल्प थिएन । अक्टोबर ७ को हत्यारा र विध्वंसक आक्रमण के जरुरी थियो ? इजरायलीमाथि प्रहार, हत्या, बलात्कार र बन्धक बनाउन के जरुरी थियो ? थिएन ।

तथ्यमा गएर हेर्ने हो भने सन् १९६७ को युद्धमा इजरायलले जितेका गाजाका क्षेत्रबाट सन् २००५ मा एरियल स्यारोनले एकतर्फीरूपमा यहुदी वस्ती फिर्ता गरेका थिए । तर, त्यसपछि पनि हमासले क्रस पोइन्टहरूमा आक्रमण रोकेन । अन्ततः इजरायलले त्यस्ता बिन्दु ६ बाट २ मा झार्‍यो ।

सन् २००६ को चुनावपछि प्यालेस्टाइनमा वैधानिक प्राधिकारको अपेक्षा गरिएको थियो । निर्वाचित प्रशासनले गाजा र पश्चिमी किनारा नियन्त्रण गर्ने ठानिएको थियो । तर, हमासले निर्वाचन परिणाम र ओस्लो शान्ति सम्झौतालाई नै अस्वीकार गर्‍यो। सन् २००७ मा हमासले हिंस्रक संघर्षबाट प्यालेस्टाइनी प्रशासन र फतेह समूहलाई गाजा क्षेत्रबाट धपाएको थियो । त्यसपछि मात्र इजरायलले गाजा क्षेत्रमा नाकाबन्दी गरेको हो । यी के विकल्प हमासका छनोट थिएनन् ?

यदि हमासले ओस्लो शान्ति सम्झौता आँगालेको भए आफ्नै दुबई निर्माण गर्न सक्थ्यो । प्यालेस्टाइनी मातृभूमिको मुटुलाई सहयोग गर्न संसार लाइन लागेर आउँथ्यो । प्यालेस्टाइनीले इजरायलसँगको प्रतिस्पर्धा र ईष्याको सन्दर्भमा आफनो तरक्कीको नयाँ अध्याय बनाउन सक्थे । तर, हमासले गाजा इजरायललाई ध्वंस गर्ने बिन्दुका रूपमा प्रयोग गर्न चाह्यो ।

हमास इजरायललाई ध्वंस्त गर्ने चाहनाले मात्र प्रेरित छैन । प्यालेस्टाइनभित्रै फतेह समूहसँग कच्चा सत्ता संघर्षमा सामेल छ । हमास यो क्षेत्रकै शक्तिसंघर्षमा जोडिएको छ । जसको एकातिर कट्टरपन्थी मुस्लिम ब्रदर्सहुड पार्टी, टर्की र कतार छन् अर्कोतिर साउदी अरेबिया, जोर्डन, कुवेत, युएईका पश्चिमी रुझान राख्ने राजतन्त्र र इजिप्टको सैनिक तानाशाही छ ।

यो द्वन्द्वमा सबैलाई आआफ्नो शक्ति संघर्षको स्वार्थ पूरा गर्नु छ । इरानको इस्लामपन्थी सरकारलाई अमेरिकासँगको शत्रुता साँध्नु छ हिजब्बुलालाई इजरायललाई एक्लाएर लेबनानमा शक्ति सुदृढ गर्नु छ । पुटिनलाई नाटोसँगको शत्रुताका नाममा रुसभित्रको शासन र अल्पतन्त्रको लुटलाई बलियो बनाउनु छ ।

यहुदीवादी राज्य इजरायलाई ध्वंस्त पारेर मात्र बलियो प्यालेस्टाइनी राज्य बनाउन सकिन्छ भन्ने हमासको सोच उसको छनोट पनि हो । तर, यो छनोट हमासको मात्र हैन, इजरायलमा सबैभन्दा लामो १६ वर्ष शासन गर्ने प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको पनि हो । यो युद्ध सुरुवात हुनुअघि नै उनी इजरायल र विश्वभरिका यहुदीका लागि भयानक भइसकेका थिए ।

नेतान्याहूमाथि यस्तो आरोप लगाउन सकिने कारणको सूची लामो हुन्छ । उनले कतारलाई प्रयोग गरेर गाजा क्षेत्रमा हमासलाई बलियो बनाउने काम गरिरहेका थिए। यसको उद्देश्य भने प्यालेस्टाइनलाई विभाजित गर्नु र कमजोर पार्नु थियो। यस कार्यमा कतारले अर्बौँ डलर खर्च गरेको छ । फलतः ओस्लो शान्ति सम्झौता र गैरहिंसात्मक पश्चिम किनाराप्रति प्रतिबद्ध रमाल्लाह प्रशासन कमजोर भयो ।

यो विभाजनबाट नेतान्याहूले सधैँ यो भन्ने निहुँ पाए कि म शान्तिको पक्षमा छु । तर, सम्झौता कोसँग गर्ने ? रमल्लाह कि गाजा प्रशासनसँग ? तिनीहरू एक हुन न त, मलाई मात्र भनेर हुन्छ ?

यति जटिल घटनाक्रमबीच राष्ट्रपति बाइडन नेतान्याहूको कान फुकेर समाधानको अपेक्षा गर्दछन् । समग्रमा यो युद्ध बिल्कुलै कुरुप, घातक र पीडादायी छ । अधिकांश प्यालेस्टाइनी र इजरायली चाहन्छन् कि युद्ध रोकियोस र बाँच्न पाइयोस् ।

मलाई लाग्छ कि यो संसारमा सबै खराब वा असल मौसम हामीले छनोट गरेको बाटोका प्रतिदान् हुन् ।

(द न्यूओर्क टाइम्सबाट संक्षेपीकरणसहित)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved