आलेख

पुटिन, ट्रम्प, सी र नेतान्याहू : समकालीन विश्वलाई उल्टो दिशामा हिँडाइरहेका ४ नेता

अमेरिका अझै पनि विश्वको बिंडो समात्ने एक ध्रुव हो । भलै कि यो काम अमेरिकाले सधैं बुद्धिमानी ढंगले पूरा गरेको छैन। तर, अमेरिकाले यो काम गर्न छोड्ने हो भने हेर्नुहोला, झनै खराब अवस्था आउनेछ । यदि, यी अन्य ३ देशमा के भइरहेको छ भन्ने हेरेर अमेरिका डगमगायो भने यस्तो विश्व जन्मिनेछ, जहाँ कसैले कुनै योजना बनाउन सक्नेछैन । भविष्यको पूर्वानुमान भन्ने चिज नै समाप्त हुने छ ।

पुटिन, ट्रम्प, सी र नेतान्याहू : समकालीन विश्वलाई उल्टो दिशामा हिँडाइरहेका ४ नेता

सन् १९४७ मा वाल्टर लिपम्यानले सोभियत संघ र संयुक्त राज्य अमेरिका बीचको उदाउँदो द्वन्द्वलाई परिभाषित गर्न ‘शीत युद्ध’ शब्दलाई लोकप्रिय बनाएका थिए । यो थाहा पाएदेखि नै मैले ऐतिहासिक युगको नाम दिन सक्षम हुनु राम्रो हो भन्ने सोच्ने गरेको थिएँ।

अब त ‘शीतयुद्ध’ मात्र हैन, ‘शीत–युद्धोत्तर’ (पोस्ट-कोल्डवार) पनि समाप्त भएको छ । अहिले हामी जहाँ प्रवेश गरेका छौं, सायद यो ‘शीत–युद्धोत्तर उत्तर’ (पोस्ट पोस्ट-कोल्डवार) हो । र यो ‘योजना नगरिएको युग’ हो । पोस्ट पोस्ट-कोल्डवार–मलाई थाहा छ कि, यो शब्दावली प्रयोग गर्न जिब्रो राम्ररी फड्कारिँदैन । मान्छेका मुखमा सजिलै बस्ने आशा छैन । तैपनि, मलाई लाग्छ कि केटो ठीक भन्दैछ ।

भर्खरैको युक्रेन यात्रामा खाएको ठक्करले ममा यस्तो चेत घुसेको हो । त्यहाँ म एक युक्रेनी आमासँग कुरा गर्दै थिएँ । उनले आफ्नो सामाजिक जीवन युद्ध सुरु भएयता साथीभाइसँग कहिलेकाहीँ मात्र हुने रात्रिभोज, बच्चाहरूका जन्मदिनका पार्टी र अन्त्येष्टिहरूमा सीमित भएको बताइएन ।

उनको भनाइ आफ्नो स्तम्भका लागि टाइप गरिसकेपछि मैले थपे– यस्तो होला भन्ने कसैले सोचेको थिएन, यो योजना नगरिएको युग हो । युद्ध सुरु हुनुअघि युवा युक्रेनीले युरोपियन युनियनमा सहज पहुँचको आनन्द उठाइरहेका थिए । प्राविधिक स्टार्ट–अर्पहरूको बाढी आउँदै थियो । ती कहाँ गएर कलेज पढ्ने वा इटाली र स्पेनमा छुट्टि मनाउन जानेबारे सोच्दै थिए । त्यसपछि उल्कापात भएजस्तै रुसी आक्रमण भयो, जसले उनीहरूको जीवनलाई रातारात उलटपुलट पारिदियो ।

अहिले ती युक्रेनी आमा र युवाको मात्र हैन, धेरै मान्छेका योजना, धेरै देशका योजना भताभुङ भएका छन्। आज हामी त्यस्तो ‘शीत–युद्धोत्तर उत्तर’ युगमा प्रवेश भएका छौं, जसमा बर्लिनको पर्खाल ढले यताको शीत–युद्धोत्तर ३० वर्षमा जस्तो समृद्धि, पूर्वानुमानीयता र नयाँ सम्भावनाको असाध्यै थोरै गुन्जायस छ ।

यसो हुनुका धेरै कारण छन् । तर, तीमध्ये अरु कुनै मुख्य कारण हैनन् जति अहिले विश्वलाई उल्टो हिँडाउन खोजिरहेका ४ नेता हुन् । यी ४ नेतामा एक साझा कुरा छ । यी ठान्छन् कि, उनीहरूको नेतृत्व अपरिहार्य छ । र यिनीहरू सत्तामा सकेसम्म लामो समय टिकिरहन जुनसुकै सीमा पार गर्न पनि तयार छन्।

हो, म भ्लादिमिर पुटिन, सी चिनफिङ, डोनाल्ड ट्रम्प र बेन्जामिन नेतान्याहूको कुरा गर्दैछु । यी ४ वटै नेताले देश र जनताको भन्दा आफ्नो निजी राजनीतिक स्वार्थका लागि आ-आफ्नो देशभित्र र बाहिर भयानक व्यवधान सिर्जना गरेका छन् । र, उनीहरूको यस्तो व्यवहारले ती राष्ट्रलाई आज राम्रो गरी सञ्चालन गर्न र भविष्यको विवेकपूर्ण योजना बनाउन निकै गाह्रो बनाइदिएको छ ।

कुरा पुटिनबाटै सुरु गरौं । उनको राजनीतिक यात्रा बोरिस यल्तसिनपछिको युगमा एक सुधारकको रूपमा सुरु भएको थियो । उनले त्यो बेलाको अस्थिर रुसमा स्थिरताका लागि योगदान गरे । त्यही बेला तेलको मूल्यमा उछाल आयो । रुसको अर्थतन्त्र पनि राम्रो भएको देखिन्थ्यो। तर, तेलको मूल्य घट्न थाल्यो । त्यसपछि विशेषतः सन् २०१२ को तेस्रो राष्ट्रपतीय कार्यकालमा पुटिनले आफ्नो सोच र व्यवहारमा ठूलो परिर्वतन ल्याए ।

रुसी विद्धान् लियोन एरोनको नयाँ किताब आउँदैछ– ‘राइडिङ द टाइगरः भ्लादिमिर पुटिन्स रसिया एन्ड युजेज अफ वार’ । यसमा उनले पुटिनमा आएका परिवर्तनलाई राम्रो वर्णन गरेका छन् । त्यो बेला रुसका १०० शहरमा पुटिन विरोधी ठूला जनप्रर्दशन भएका थिए । रुसी अर्थतन्त्र गतिरोधमा पुगेको थियो । त्यसको हल गर्ने उपायका रूपमा पुटिनले शासकीय चरित्र नै बदले । उनी आर्थिक प्रगतिको साटो सैन्यवादी देशभक्तिबाट शासनको वैधता हासिल गर्न तिर लागे ।

एरोनले मलाई भन्थे– त्यसपछि, पुटिन रुसमा हुने सबै गडबडीको दोष पश्चिमा देश र नेटोलाई लगाउनतिर उदत्त भए । रुस व्यापक घेराबन्दीमा परेको किल्लाजस्तो हो भन्ने भाष्य बनाए । यो उनको दिमागी खेल र प्रोपोगान्डा थियो, साथै उनले यो पनि दाबी गरे कि, रुसलाई यस्तो घेराबन्दीबाट पुटिनले मात्र बचाउन सक्नेछन् । तसर्थ, उनी सत्तामा बसिरहन आवश्यक छ।

उनी अघिल्लो चरणमा रुसी ‘आयको वितरक’ थिए, अब रुसी ‘आत्मसम्मानको वितरक’ बने । तर, उनको यो दोस्रो आय भने गलत स्थान र तरिकाको कमाइ थियो । किंवदन्तीको मातृभूमि रुस पुनर्स्थापना गर्न युक्रेनमाथिको आक्रमण र रुसी विस्तार अपरिहार्य थियो ।

चीनका पछिल्ला घटनाक्रम पनि यसरी नै अनपेक्षित रूपमा आएका हुन् । सन् १९७८ देखि चीनले आफ्नो आन्तरिक नियन्त्रण निरन्तर खुकुलो पार्दै लगेको थियो । त्यो अवधिमा चीन आधुनिक इतिहासका अरु कुनै कालखण्डमा भन्दा सबैभन्दा बढी स्थिर, अपेक्षित, पूर्वानुमानीय र समृद्ध भयो । तर, सी चिनफिङको उदयपछि चीनले १८० डिग्रीको फन्को मार्‍यो ।

राष्ट्रपति सीले अर्को माओको सम्भावित उदयलाई रोक्न आफ्ना अग्रजहरूले लागू र सम्मान गरेको दुई कार्यकालको सीमा हटाए । र, आफूलाई अनिश्चितकालीन लगभग जीवन पर्यन्त पदमा बस्ने बाटो खोले । राष्ट्रपति सीले यो विश्वास गरे कि व्याप्त भ्रष्टाचारको कारण चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो पकड गुमाउँदै छ । तसर्थ, उनले समाज र व्यावसायिक जगतका सबै तहमा आफ्नो शक्तिलाई पुनर्स्थापित गरे । र, सबै प्रकार विरोधीको सफाया गरे ।

त्यसले चीनलाई माओकाल यताकै सबैभन्दा ‘बन्द’ बनायो । यहाँसम्म कि, रक्षा र परराष्ट्र मन्त्री नै अचानक बेपत्ता भए । र यस्तो चर्चालाई व्यापक बनाइयो कि चीनले आर्थिक प्रगतिको दृष्टिकोणले शिखर चुमिसकेको छ र यो विश्व अर्थतन्त्रका लागि भूकम्पसरह हुनेछ ।

मैले जीवनभरि इजरायली राजनीतिक र लोकतन्त्रलाई ध्यान दिने गरेँ । तर, मेरो पूर्वानुमानमा कहिल्यै यस्तो थिएन कि, विदेशी शत्रुसँगको लामो संघर्षपछि अब यहुदी लोकतन्त्रको सबैभन्दा ठूलो जोखिम आन्तरिक हुनेछ । बेन्जामिन नेतान्याहूको नेतृत्वमा भएको न्यायिक विद्रोहले इजरायलको समाज र सेनालाई निरन्तर विभाजित गरिरहेको छ ।

इजरायली प्रतिरक्षा मन्त्रालयका पूर्वनिर्देशक जर्नेल डान हारेलले गत हप्ता तेलअभिवको एक लोकतान्त्रिक र्‍यालीलाई सम्बोधन गर्दै भने– ‘मैले हाम्रो राष्ट्रिय सुरक्षालाई आजको भन्दा खराब स्थितिमा कहिल्यै देखेको थिइनँ । त्यहाँ आवश्यक रिजर्भ इकाइलाई क्षति पुर्‍याइएको छ । तत्परता र परिचालन क्षमता कमजोर हुने गरी सुरक्षा संरचना भत्काइएका छन् ।’

अमेरिकाका लागि यो सानो समस्या हैन । इजरायल विगत ५० वर्षदेखि एक महत्त्वपूर्ण साझेदार, यथार्थमा यो क्षेत्रको अग्राधार रहँदै आएको छ । अमेरिकाले इजरायलको सहायतामा यो क्षेत्रमा आफ्नो सेना तैनाथ नगरिकन आफ्ना सरोकार प्राप्त गर्न सक्दथ्यो । इजरायलले नै हो इराक र सिरियाको आणविक शक्ति बन्ने प्रयासलाई नष्ट गरेको । इजरायल आज पनि सम्पूर्ण क्षेत्रमा इरानी शक्ति विस्तारलाई घेर्ने मुख्य प्रतिभार हो ।

तर, अहिले त्यहाँ अतिवादी नेतान्याहू सरकार छ, जो अझै तीन वर्ष रहन सक्नेछ । यसले पश्चिमी किनारालाई इजरायलमा गाभ्ने र प्यालेस्टाइनमा रंगभेदजस्तो शासनसत्ता चलाउने आकांक्षा पालेको छ । यो यहुदी राज्य यो क्षेत्रको स्थिरताको हैन, अस्थिरताको कारक बन्न सक्दछ । र अमेरिकाको लागि पुरानो इजरायलजस्तो विश्वासनीय हैन, टर्कीजस्तो अविश्वासनीय साझेदार बन्न सक्दछ । नेतान्याहू यो दाबी गर्दै छन् कि, आजको इजरायलका लागि उनी सबैभन्दा राम्रा नेता हुन् । उनी सत्तामा रहेनन् भने इजरालयका यी आकांक्षा पूरा हुने छैनन् ।

डोनाल्ड ट्रम्पको त झन् कुरै गर्न परेन । उनले सन् २०२० को चुनावी नतिजालाई नमान्ने मनसायले सन् २०२१ को जनवरी ६ मा क्यापिटोल हिलमाथि भीडलाई हिंसात्मक आक्रमण गर्न लगाए । आज यो देखिँदैछ कि, सन् २०२४ को राष्ट्रपतीय निर्वाचनको उम्मेदवारका लागि रिपब्लिकन दौडमा त्यही मान्छे सबैभन्दा अगाडि छ । हाम्रो अर्को चुनाव यति महत्त्वपूर्ण हुँदैछ कि कतै यो अन्तिम चुनाव नहोस् । यस्तो योजना थिएन ।

यी ४ नेतालाई उस्तै बनाउने एक साझा मानक हो– यी सबैले आन्तरिक राजनीतिका नियम उल्लंघन गरेका छन् । तर, पुटिनको हकमा भने त्यसको बाह्य विस्तार पनि भएको छ । उनले त युद्ध नै गरे । तर, पुटिन युद्धको अर्को कुनै कारण भने छैन, लामो समय सत्तामा रहनेबाहेक । त्यहाँका स्थानीय प्रणाली चाहे रुसी अभिजात वर्ग, चाहे चिनियाँ कम्युनिस्ट पार्टी, चाहे इजरायली मतदाता वा अमेरिकी रिपब्लिकन पार्टी, तिनलाई प्रभावकारी र पूर्णरूपमा नियमबद्ध गर्न सक्षम छैनन् ।

तर, यी ४ नेता बीच केही महत्त्वपूर्ण भिन्नता पनि छन । नेतान्याहू र ट्रम्पले आफ्नो देशको ‘लोकतान्त्रिक धक्का’ को सामना गर्नुपरिरहेको छ । मतदाताले यी दुवैलाई रोक्न वा हटाउन सक्दछन् । यिनीहरूले पुटिनलेजस्तो युद्ध सुरु गरेका पनि छैनन् ।

सी चिनफिङ एक निरंकुश शासक हुन् । तर, उनीसँग चिनियाँ जनताको जीवनस्तर सुधार गर्ने, २१औं शताब्दिका बायोटेकदेखि कृत्रिम बौद्धिकतासम्मका प्रमुख उद्योगमाथि हाबी हुने योजना छ । तर, राष्ट्रपति सीको फलामे मुठ्ठी नीतिले चीनलाई यी लक्ष्यहरू हासिल गर्नबाट रोक्न सक्दछ । चीनको कठोर नीतिले त्यहाँ प्रतिभा पलायनको झल्को सल्किँदैछ ।

पुटिन अब राष्ट्रपतिको खोलभित्र माफिया सरदारभन्दा बढी केही हैनन् । रुस कुनै बेला विश्वकै एक वैज्ञानिक महाशक्ति थियो । उसले सन् १९५७ मा पहिलोपटक भू-उपग्रहलाई अन्तरिक्षमा पठाएको थियो । आज एउटा कार, घडी वा टोस्टरसम्म बनाउन नसक्ने देश भएको छ । यस्ता अनेक चिज आज रुसले अरुले जस्तै बाहिरबाट किन्नुपरेको छ । पुटिनले युक्रेनमा क्षतिग्रस्त भएको आफ्नो सेनाको युद्ध सामग्रीका लागि सहयोगका लागि उत्तर कोरियालाई फोन गर्नुपर्ने भएको छ ।

मलाई लाग्छ कि, यी ४ मध्ये पनि सबैभन्दा खतरनाक ट्रम्प नै हुन । त्यसको एक सामान्य कारण छ– जब विश्व अनेक उपद्रवमा फस्छ, यस्ता मुख्य देश योजना बाहिर भड्किन्छन्, समस्यालाई छोप्न तथा समस्या सर्जकको विरुद्धमा बाँकी विश्व अमेरिकासँग आधारित हुन्छ । तर, ट्रम्पले यसको ठीक उल्टो गर्दछन्। उनी समस्यालाई बेवास्ता गर्दछन् । यहाँसम्म कि, पुटिनलगायत समस्या सर्जकको प्रशंसा गर्दछन् । यसले ट्रम्पको अर्को एक कार्यकाल आएमा सम्भावनालाई यति डरलाग्दो, लापरवाह र बुझ्नै नसकिने बनाउँछ, भनी साध्य छैन ।

अमेरिका अझै पनि विश्वको बिंडो समात्ने एक ध्रुव हो । भलै कि यो काम अमेरिकाले सधैं बुद्धिमानी ढंगले पूरा गरेको छैन। तर, अमेरिकाले यो काम गर्न छोड्ने हो भने हेर्नुहोला, झनै खराब अवस्था आउनेछ । यदि, यी अन्य ३ देशमा के भइरहेको छ भन्ने हेरेर अमेरिका डगमगायो भने यस्तो विश्व जन्मिनेछ, जहाँ कसैले कुनै योजना बनाउन सक्नेछैन । भविष्यको पूर्वानुमान भन्ने चिज नै समाप्त हुने छ । र यसलाई दिन सकिने सजिलो नाम हो– अव्यवस्थाको युग ।

(द न्युयोर्क टाइम्सबाट अनुदित )


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved