परिवर्तनको संघारमा नेपाली क्रिकेट टिम

परिवर्तनको संघारमा नेपाली क्रिकेट टिम

काठमाडौं। आगामी शुक्रबारदेखि नेपालमा आयोजना हुने एकदिवसीय र टी–ट्वान्टी क्रिकेट सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले दुवै फर्म्याटका छुट्टाछुट्टै राष्ट्रिय टिम घोषणा गरेको छ।

यो पटक क्यानले टिममा व्यापक परिवर्तन गर्दै केही अनुभवी खेलाडीहरूलाई टिमबाट हटाएर युवा खेलाडीलाई मौका दिएको छ।

विशेषगरी पछिल्लो समय नेपालको ब्याटिङ प्रदर्शन निकै खस्केको छ। खराब ब्याटिङकै कारण नेपालले गतमहिना ओमानमा भएको टी–ट्वान्टी विश्वकप छनोटबाट विश्वकपको ढोका खोल्न सकेन।

ओमान टुर कै अर्को चारदेशिय टी–ट्वान्टी सिरिजमा पनि नेपाली ब्याटिङ चल्न सकेको थिएन। मंगलबार यूएईमा सकिएको आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजपछि त नेपालको ब्याटिङको समस्या उदांगो नै भएको छ।

यो सिरिजमा नेपालले आयोजक यूएईसँगको पहिलो खेलमा १६९ र दोस्रो खेलमा २०३ रनको सामान्य विजय लक्ष्य पनि पूरा गर्न सकेको थिएन। ५० ओभरको खेलमा यो सामान्य लक्ष्य हो। हालको क्रिकेटमा यो रनको लक्ष्य टी–ट्वान्टी (२० ओभरको) खेलमा नै पूरा हुन्छ।

बलिङमा राम्रो प्रदर्शन गरेर विपक्षी टिमलाई सस्तैमा रोके पनि लगातार एकदिवसीय खेलमा २०० आसपास रन बनाउन नसक्नु कमजोर ब्याटिङकै उपज हो।

“नेपाली ब्याटिङ अर्डर धेरै पटक ध्वस्त भयो। हरेक खेलमा बलिङले मात्र सबै काम गर्न सक्दैन, ब्याटरहरूले पनि साथ दिनुपर्छ। बलरले राम्रो प्रदर्शन गरेको खेलमा ब्याटरले १८०-१९० को स्कोर बनाउनैपर्छ। एकदिवसीय खेलमा जम्मा १००-१२० आसपास रन बनाएर हुँदैन,” सिरिजमा नेपालको ब्याटिङमा खराब फर्मबारे यूएईका पूर्वकप्तान रोहन मुस्तफाको धारण हो यो।

उनी थप्छन्,“एकदिवसीय म्याचमा २०० रन भनेको पुरा गर्न सक्ने स्कोर हो। जहाँ जितका लागि ब्याटरले उतरदायित्व लिनैपर्छ। उनीहरूले क्रिजमा समय लिर्नुपर्छ। ३५-४० ओभरसम्म खेललाई लान सकेमा अन्तिम १० ओभरमा जति पनि रन बनाउन सकिन्छ।”

तर नेपाल ब्याटरहरूले यो सिरिजका खेलमा पुरै ५० ओभरसम्म खेल खेल्नुपर्छ भन्ने सोच राखेनन्। जिम्मेबारी बहन गर्दै समालिएर व्याटिङ गर्न नसक्दा लगातार विकेट खस्नु नेपालको समस्या रह्यो। नेपालको प्रमुख कमजोरी माथिल्लो क्रमका ब्याटरले लामो पार्टनरसिप गर्न नसक्नु थियो। त्यसैले नेपालको ब्याटिङ पूरै फ्लप भयो।

अनुभवि व्याटर ज्ञानेन्द्र मल्ल र विनोद भण्डारी जस्ता खेलाडी पनि लगातार खराब फर्ममा रहे। त्यस्तै आशा गरिएका दीपेन्द्र सिंह ऐरी र ओपनार आसिफ शेखले पनि राम्रो प्रदर्शन गर्न सकेनन्।

त्यसैले प्रशिक्षक पुबुदु दासनायकेले प्रत्येक खेलमा ब्याटिङ अर्डरमा परिवर्तन गरिरहे। टुर दौरान नै पुबुदुले टिममा अब परिवर्तनको खाँचो रहेको बताइसकेका छन्।

अब पुबुदु हरेक खेलाडीको वैकल्पिक खेलाडी खोज्दैछन् जसका लागि नेपाली टिममा धेरै नयाँ खेलाडीलाई मौका दिँदैछन्। उनी भन्छन्, “हामी अब ठूलो टिम बनाउन चाहन्छौं। हामीसँग जुन बलिङ लाइनअप छ त्यसलाई भेट्ने खालको ब्याटिङ छैन। कमसेकम स्कोरबोर्डमा पर्याप्त रन बनाउने क्षमता भने राख्नुपर्छ। जब धेरै खेलाडी भएपछि टिम भित्र नै प्रतिस्पर्धा बढ्छ, मलाई लाग्छ यसले प्रदर्शन सुधार्न स्वतः काम गर्छ।”

त्यस्तै नेपाली टिमका कप्तान सन्दीप लामिछाने भन्छन्, “कुनै एक खेलाडी मात्र होइन सबै खेलाडी जबसम्म राम्रो प्रदर्शन गर्छन् टिममा रिल्याक्स रहन सक्छन्। तर खेल राम्रो हुँदैन भने चाहे भोलि गएर म नै किन नहोस् एउटा विकल्प खोज्नुपर्छ, टिममा सधैं खेलाडीको ब्याकअप त रहने नै गर्छ।”

यो घरेलु सिरिजका लागि पूर्वकप्तान ज्ञानेन्द्र मल्लसँगै, शरद भेषवाकर र विनोद भण्डारी जस्ता अनुभवी खेलाडी दुवै फर्म्याटबाट ड्रप भएका छन्। पारस खड्का, वसन्त रेग्मी, शक्ति गौचन जस्ता दिग्गज खेलाडीले यसअघि नै सन्यास लिइसकेका छन्। यसको अर्थ विस्तारै नेपाली टिम पुस्ता हस्तान्तरणको प्रक्रियामा छ।

सन्दीपका अनुसार, “यो घरेलु सिरिज नयाँ प्रतिभालाई ग्रुम गर्नसक्ने सिरिज हो त्यसैले ज्ञानेन्द्र मल्ललाई आराम मात्र दिइएको हो। उहाँलाई यो स्कावडबाट नै बाहिर राख्नुभन्दा पनि नयाँ खेलाडीलाई अवसर मात्र दिन लागेको हो।”

सिङ्गो नेपाली टिम हाल परिवर्तनको बाटोमा छ, त्यसैले टिममा नयाँ प्रयोग भैरहेका छन्। नेपाली टिम विस्तारै युवा पुस्तातर्फ केन्द्रित हुँदैछ।
पुबुदु भन्छन्,“इमानदार भएर भन्नुपर्दा यी युवा खेलाडीहरूको खेललाई मैले प्रर्याप्त रुपमा हेर्न पाएको छैन तर मैले उनीहरूबारे धेरै राम्रा कुरा सुनेको छु। निश्चय नै नेपाल क्रिकेटमा प्रतिभाको कुरा गर्नुपर्दा सधै नयाँ युवा खेलाडीहरू आइरहेका छन्, तर यो लेभलको खेलमा प्रतिस्पर्धा गर्न प्रतिभा र क्षमता मात्र भएर हुँदैन। मानसिक रुपमा पनि बलियो हुनुपर्छ। त्यसैले यो घरेलु सिरिजमा उनीहरूको लागि यसैको परिक्षा हुनेछ। यदि युवा खेलाडीले राम्रो प्रदर्शन गर्न सकेमा म निकै खुशी हुनेछु।”

यूएईमा सम्पन्न त्रिकोणात्मक सिरिजमा ब्याटिङमा राम्रो प्रदर्शन गर्न सफल खेलाडी भनेका युवा खेलाडी रोहित कुमार पौडेल र आरिफ शेख मात्र हुन। पीएनजीसँगको दुवै म्याच जित्नमा यी दुईको लामो साझेदारी प्रमुख पाटो थियो। यी दुवै ती एक–एक खेलमा प्लेएर अफ दी सिरिज पनि चुनिएका थिए।

यो सिरिजको चार खेल मध्ये रोहितले तीन खेलमा ४० प्लसको स्कोर बनाएका थिए। भर्खर १९ वर्षका उनी नेपालका लागि एकदिवसीय खेलमा सर्वाधिक रन प्रहार गर्ने दास्रो खेलाडी हुन्।

१५ खेलमा ४६२ रनसहित उनी पहिलो स्थानमा रहेका ज्ञानेन्द्र भन्दा उनी मात्र १८ रनले पछि छन्।

त्यस्तै आसिफले पीएनजीसँगको दुवै खेलमा ४५ प्लसको रन बनाएका थिए। अन्तिम खेलमा ब्याटिङ अर्डरमा परिवर्तन गरेर ज्ञानेन्द्रलाई बेञ्चमा नै राखेर ज्ञानेन्द्रले नियमित खेल्ने ब्याटिङ अर्डरको नं ३ को स्थान उनलाई दिइएको थियो। जसमा उनी सफल भए।

नेपालले शुक्रबार र शनिबार पीएनजीसँग दुई एकदिवसीय म्याचको सिरिज खेल्नेछ। यसपछि मलेसिया र पीएनजीसहितको त्रिकोणात्मक टी–ट्वान्टी सिरिज आयोजना हुनेछ।

दुवै सिरिजका लागि युवा खेलाडीको बाहुल्यतामा १५ सदस्यीय टिमको घोषणा भएको छ। यही सिरिजमार्फत दुई युव खेलाडी देव खनाल र अदिल अन्सारीले पनि पहिलो पटक राष्ट्रिय टिममा ठाउँ पाएका छन्।

मुख्य प्रतियोगिता नभएकोले यो सिरिजमा धेरै नयाँ खेलाडीलाई मौका दिने तयारीमा प्रशिक्षक पुबुदु रहेका छन्। यो सिरिजलाई उनी युवा टिम निर्माणको अवसरको रुपमा प्रयोग गर्न चाहन्छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved