फेरि ब्याटिङले धोका दियो

तर ब्याटिङमा सम्बेदनशिलता देखाउन नसक्दा ५० ओभरको खेलमा १६९ रनको झिनो विजय लक्ष्य पनि नेपालले पूरा गर्न सकेन। त्यति मात्र होइन यति सानो लक्ष्य पछ्याएको नेपालले ३६ औ ओभरमा मात्र १२० रनमा अलआउट हुँदा ४८ रनको लज्जास्पद हार भोग्यो।

फेरि ब्याटिङले धोका दियो

काठमाडौं। नेपाली क्रिकेटमा सधैको समस्या, कमजोर ब्याटिङका कारण नेपालले सजिलै जित्नुपर्ने अर्को एउटा खेल पनि हारेको छ। यूएईमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले बलिङमा राम्रो प्रदर्शन गर्दै घरेलु टिमलाई १६८ रनमा रोकेको थियो।

तर ब्याटिङमा सम्बेदनशिलता देखाउन नसक्दा ५० ओभरको खेलमा १६९ रनको झिनो विजय लक्ष्य पनि नेपालले पूरा गर्न सकेन। त्यति मात्र होइन यति सानो लक्ष्य पछ्याएको नेपालले ३६ औ ओभरमा मात्र १२० रनमा अलआउट हुँदा ४८ रनको लज्जास्पद हार भोग्यो।

आईसीसी क्रिकेट विश्वकप लिग –२ अन्तर्गतको सिरिजको दोस्रो खेलमा नेपाललाई जितका लागि प्रति ओभर ३.३६ को रनरेटमा रन जोडे पुग्थ्यो। जसको अर्थ जोखिमपूर्ण सटको कुनै आवश्यकता थिएन।

क्रिजमा टिके मात्र एक दुई रन आफै आउँथ्यो, खेल सजिलै हातमा थियो। तर सुझबुझपुर्ण ब्याटिङ गर्न नजानेको नेपाललको इनिङ शुरुआतदेखि नै धरापमा पर्‍यो।

बलिङमा नेपालको शुरुआत जति राम्रो भएको थियो ब्याटिङमा त्यति नै खराब भयो। एकै ओभरमा नेपालका दुवै ओपनार आउट भए। पाँचौ ओभरमा जुनिद सिद्दगीको बलमा कुशल मल्ल ११ रनमा बोल्ड हुँदा आशिफ शेख ७ रनमै क्याच आउट भए।

१९ रनमा दुबै ओपनर गएपछि नेपाली ब्याटिङ अर्डर पनि स्वतः दबाबमा पर्‍यो। तर लक्ष्य खासै ठूलो थिएन। नेपाली ब्याटरलाई विकेट मात्र जोगाए पुग्थ्यो। आवश्यक रनरेट आफै पूरा हुन्थ्यो।

तर पनि ओपनार चाडै आउट भएको दबाबमा परेका नेपालका भरपर्दा खेलाडी दिपेन्द्र सिंह ऐरी चार रन जोड्दै रनआउट भए। नवौ ओभरमा २७ रन जोड्दा तीन विकेट गएपछि अब नेपालले समालिएर खेल्नु थियो। अझै पनि नेपालले खेल जित्ने सम्भावना प्रचुर थियो।

पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र रोहित कुमार पौडेलले चौथो विकेटका लागि ५५ रनको साझेदारी पनि निभाएका थिए। ६२ बलमा २८ रन जोड्दै ज्ञानेन्द्र मल्ल आउट भए। ६० बल खेलेर रोहित पनि ४६ रन जोड्दै पेभोलिएन फर्किपछि भने नेपालको जित बिस्तारै हातबाट फुस्किएको थियो।

रोहित छैठौ विकेटको रुपमा आउट हुँदा नेपालको स्कोर १०७ थियो। यसपछि बाँकी ४ विकेट नेपालले मात्र १३ रनमा गुमायो। सारै कमजोर ब्याटिङ प्रदर्शन गरेका नेपालका आठ ब्याटरले दोहारो अंकमा रन नै बनाउन सकेनन्।

पहिलो इनिङमा यूएईले पनि ३५ रनमा चार विकेट गएको अवस्थामा गम्भिरतापुर्वक ब्याटिङ गर्दै फाइट गर्न सक्ने १६८ रनसम्म खेललाई तानेको थियो। त्यही अवस्थामा पुगेको नेपालले भने खेल तान्न सकेन।

खराब ब्याटिङ गरेपछि उत्कृष्ट बलिङको अर्थै भएन

यस्तो अस्वभाविक ब्याटिङका कारण पहिलो इनिङमा गरेको सान्दार बलिङ ब्यर्थमा गयो। खेलमा टस हारेर पहिले बलिङ गेरेको नेपालले निकै आकर्षक शुरुआत गरेको थियो। फाष्ट बलर सोमपाल कामीले सान्दार बलिङ गर्दै १० ओभरको पावर प्लेमा नै यूएईको शुरुआती तीन विकेट झारेका थिए।

चौथो ओभरमा सोमपाल कामीको बाउन्सर बलमा यूएईका ओपनर चिराग सुरी मात्र ६ रनमा विकेटकिपर आसिफ शेखद्वारा क्याच आउट भए। लगतै छैठौ ओभरको पहिलो बलमा कामीको अर्को उत्कृष्ठ बलमा अर्का ब्याटर बृत्य अरविन्द पनि मात्र ४ रनमा आउट भए।

नेपालका लागि घातक हुनसक्ने उनी यूएईका खतरानक ब्याटर हुन्। यूएईलाई टी–ट्वान्टी विश्वकपमा छनोट गराउन अरविन्द महत्वपूर्ण खेलाडी थिए। निर्णयक सेमिफाइनल खेलमा पनि उनकै आक्रमक ब्याटिङमा कारण नेपाल पराजित भएको थियो।

१० औ ओभरको पहिलो बलमा सोमपालले तेस्रो विकेट पनि लिए। यूएईका अर्का ओपनर मुहमद वसिम उन कै बलमा सट खेल्न खोज्दा २१ रन बनाउदै कुशल भुर्तेलद्वारा क्याच आउट भए। सोमपालले शुरुआती तीन विकेट लिदा ४.१ ओभरमा मात्र ११ रन खर्नेका थिए।

लगातार विकेट खसिरहेको यूएईले यसपछि अर्को ओभरमा चौथो विकेट गुमायो। आसफ खानलाई करण केसीले मात्र दुई रनमा पेभोलिएनको बाटो देखाए। ११ औ ओभरमा मात्र ३५ रन जोड्नेक्रमका प्रमुख चार विकेट गएपछि यूएईको इनिङ स्वत दबाबमा आयो। यसपछि यूएईलाई रन बनाउनु भन्दा पनि ५० ओभरको पुरै खेल खेल्न विकेट जोगाउनु प्रमुख चुनौती थियो।

त्यसैले मध्यक्रमका ब्याटर रिजवान र रोहन मुस्ताफाले निकै समालिएर ब्याटिङ गरे। नेपालको कसिलो बलिङसामु विकेट जोगाउनका लागि उनीहरू निकै कम रनरेटमा रन जोडिरहेका थिए। यी दुईले पाँचौ विकेटको लागि २३ ओभर टिक्दै ७७ को महत्वपूर्ण साझेदारी गरे। जसले सस्तैमा रोकिन सक्ने यूएईको इनिङलाई केहि हदसम्म जोगायो। यो साझेदारी नै यूएईका जितको प्रमुख कडि थियो।

रिजवानले ८५ बलमा ४० र रोहनले पनि ८१ बल खेलेर ४० रन नै जोडेका थिए।

रिजवानलाई सन्दीपले आउट गरे भने रोहनलाई दिपेन्द्र सिह एरीले बोल्ड गरे। किफायती बलिङ गरेका सन्दीपले १० ओभरमा मात्र ३० रन दिएका थिए। यसपछि ४१ औ ओभरमा सातौ विकेटमा रुपमा सागर ढकालले बसिम हमिदको विकेट लिए। यसै सिरिजमार्फत एकदिवसीय अन्तराष्ट्रिय (ओडीई) डेब्यू गरेका उनको यो पहिलो ओडीई विकेट थियो।

अन्तिम १० ओभर बाँकी छदा १३७ रनमा सात विकेट खसेको यूएई यसपछि आक्रमक ब्याटिङ गर्न थाल्यो। तर लगातार ठूला प्रहार गर्न खोज्दा तल्लोक्रमका ब्याटरले लामो इनिङ खेल्न सकेनन। यूएईले निरन्तर विकेट गुमाइरह्यो।

४७ औ औभरमा करण केसीले दुई विकेट लिएपछि यूएई १६८ रनमा अलआउट भयो। निकै कसिलो बलिङ गरेका उनले ७.३ ओभरमा मात्र १६ रन खर्चेर तीन विकेट लिए। त्यस्तै सोमपालले पनि १० ओभरमा ३९ रन दिएर चार विकेट झारेका थिए।

गत महीनाको टी–ट्वान्टी विश्वकपको छनोट प्रतियोगितामा यी दुई प्रमुख बलर, सोमपाल कामी र करण केसी (जसले ब्याटिङ पनि गर्न सक्छन्) चोटका कारण टिममा नहुनु नेपालका लागि ठूलो घाटा थियो। यो खेलमा यी दुईको कसिलो बलिङ सामु यूएईको ब्याटिङले घुँडा टेक्यो।

तर यी बलरको प्रदर्शनलाई यो खेलमा ब्याटरले खेर फालिदिए र नेपलले सजिलै जित्नपर्ने खेल हार्न पुग्यो। गत महीनाको टी–ट्वान्टी विश्वकपको छनोट प्रतियोगिताको निर्णायक खेलमा यूएईसँग नै पराजित भएपछि नेपालको विश्वकप यात्रामा पूर्णविराम लागेको थियो। त्यसैले यो खेलमा यूएईलाई उसकै घरेलु मैदानमा हराउँदै नेपाल त्यो हारको बदला लिने दाउमा थियो। तर यो मौका पनि नेपालले खेर फाल्यो।

पहिलो खेलमा पनि पीएनजीसँग २०५ रनको लक्ष्य पूरा गर्न पनि ब्याटिङ कै कारण निके संघर्ष गर्नुपरेको थियो।

आईसीसी क्रिकेट विश्वकप लिग–२ समीकरण

यो आईसीसी क्रिकेट विश्वकप लिग –२ सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपको छनोट प्रतियोगिताको प्रारम्भिक छनोट लिग हो। जस अन्तर्गतको यो सिरिजमा यो हारपछि नेपाल १० खेलमा ५ जितसँगै १० अंक सहित लिगको छैठौं स्थानमा कायमै छ। १६ खेलमा २० अंक रहेको यूएई दोस्रो स्थानमा छ। पहिलो स्थानमा रहेको ओमानको २८ खेलबाट ३६ अंक छ।

सात राष्ट्र सहभागी यो लिग –२ मा प्रत्येक टिमले ९ त्रिकोणात्मक सिरिज खेल्दैछन। प्रत्येक सिरिजमा प्रत्येक टिमले चार–चार खेल खेल्नेछ। सिरिजको अन्त्यसम्म सबै टिमले ३६ खेल खेलीसकेपछि लिगको शिर्ष तीनमा रहने टिमले सिधै एकदिवसीय विश्वकपको छनोट प्रतियोगितामा प्रवेश पाउनेछन्।

यसबाहेकका अंकतालिकाको तल रहेका चार टिमले भने प्लेअफ मार्फत विश्वकपको छनोट खेल्न पाउने सम्भावना रहन्छ। लिग –२ अन्तर्गतको नेपालको यो तेस्रो सिरिज हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved