त्यागिसकेको पुर्ख्यौली पेशालाई व्यवसाय बनाउँदैछन् निर्मल नापित (भिडिओसहित)

सुन्नुहोस्

सामाजिक विभेदकै कारण त्यागिसकेको नङ-कपाल काट्ने सीप त्यागेर सैनिक हुन पुगेका भक्तपुरका निर्मलले सामाजिक परिवर्तनसँगै सोही पेशालाई स्वरोजगार बनाएका छन्।

त्यागिसकेको पुर्ख्यौली पेशालाई व्यवसाय बनाउँदैछन् निर्मल नापित (भिडिओसहित)

भक्तपुर। घरको भग्नावशेष। त्यहीँ रहेको खाली जमिनमा खोलिएको काठ उद्योग। चाङ लगाएर राखिएका चिरान काठ। तिनैको आड लिएर मैयाँ नापितले भुईँमा बोराको चकटी बिछ्याइन। झोलाबाट छलंचा (नङ काट्ने परम्परागत औजार), अल (रातो रङ) र सुकेको छालाको टुक्रा निकालिन्।

“भिजेपछि काट्न सजिलो हुन्छ नि”, भन्दै छिमेकी बुहारीको नङ काट्न थालिन्।

उही गल्लीमा अलि पर भने आधुनिक शैलुन थियो जहाँ मैयाँ नापितकै छोराले कपाल काटिरहेका थिए।

पुरानो र नयाँ पुस्ताले एकै समयमा एउटै काम तर भिन्दाभिन्दै तरिकाले गरिरहेको यो दृश्य हो भक्तपुर याछेँको।

परम्परागत तरिकाले छिमेकीको नङ काटिदिँदै मैयाँ नापित। सबै तस्वीरः गोपेन राई

देख्दा सामान्य लाग्नसक्छ। भोगिरहनेलाई स्वाभाविक। अलि फराकिलो नजरले हेर्दा यो दृश्यपछाडि भने कथा छ। कथा, परम्परागत ज्ञान प्रसारको। कथा, पुस्तैनी सीप हस्तान्तरणको। कथा, स्वरोजगारका लागि पुरानो ज्ञान र नयाँ प्रविधिको सम्मीश्रणको।

लाग्छ, यो गल्लीमा, यी आमा-छोरामा विगत र वर्तमान एकैसाथ बाँचिरहेछ।

परम्पराको निरन्तरता

त्यो कुन वर्ष थियो ? कुन महिना ? सम्झना छैन मैयाँ नापितलाई। औंला भाँच्छिन्। अहिले ८५ वर्षकी भइन्। बिहे हुँदा १० कि थिइन्। ७५ वर्ष पो पुगेछ।

७५ वर्षअघि दोलखाबाट बिहे गरेर भक्तपुर आइपुगेकी थिइन् उनी। माइतीहरू श्रेष्ठ लेख्थे। यता आएर नापित भइन्।

श्रमको आधारमा जात विभाजन गरिएको नेवार समुदायमा नापितहरूको काम हो- नङ, कपाल काट्ने।

पहिलेपहिले अहिलेजस्तो शैलुन थिएनन्। मेडिकेयर, पेडिकेयर थिएन तर सफा हुन मन लाग्थ्यो। नङ बढे काट्नुपर्थ्यो, कपाल छोट्यारहनैपर्थ्यो। त्यो जिम्मा दिइएको थियो नापितहरूलाई।

खुट्टा सिंगार्ने परम्परागत तरिकाः अल लगाइदिँदै मैयाँ नापित।

त्यतिमात्र होइन खुट्टा मड्किँदा, नङ गाडिएर घाउ हुँदा नापितहरूलाई बोलाइन्थ्यो। बालीघरे हुन्थे नापितहरू। अहिलेजस्तो पैसाको जमाना थिएन। वर्सेनी बाली भित्र्याउँदा हिस्सा छुट्याएर बाली दिइन्थ्यो। चाडपर्वमा पनि भोजको एक भाग छुट्याइन्थ्यो।

त्यही नापित हुन आइपुगेकी थिइन् मैयाँ पनि। रहर त थियो उनको, नाच्ने, गाउने। तर बिहे भएर आएको घरको पेशा अपनाउनुपर्‍यो। सासुले सिकाइन्। उनी अभ्यस्त हुँदै गइन्।

“शुरुमा त अप्ठ्यारो लाग्थ्यो पछि काममै रमाउन थालेँ”, मुसुक्क हाँस्दै नेपाल भाषामा मैयाँले भनिन्, “गीत गाउँदै नङ काट्न थालेँ।”

पुस्तैनी पेशा अपनाउँदै दाम्पत्य जीवनको रथ कुद्न थाल्यो। नेवार समुदायमा न्वारानदेखि मृत्युका हरेक कार्यमा उनको दम्पती पुगेका हुन्थे। उनले छोए मात्रै पनि चोखो हुन्छ भन्ने मान्यता अझै नेवार समुदायमा छ।

उमेरले समयको गल्छेडो पार गरिसक्यो। अब त सपना कम अनुभव बढी छन् उनीसँग। तैपनि छोडेकी छैनन् पुस्तैनी पेशा। अरूको नङ काटिदिएर दिन कट्छ उनको।

पुस्तैनी सीप नै स्वरोजगार

सपना त नभनौं पीर भने थियो मैयाँसँग। दुई वर्षअघि श्रीमानको निधन भएपछि उनी चिन्तित थिइन्, कतै छोरा-बुहारीले उनीहरूको अलग काम गर्ने हुन् कि ? उनीहरूले अलग काम रोजेका थिए।

त्यो चिन्ता लामो रहेन। पुर्ख्यौली पेशालाई ४० वर्षीय छोरा निर्मलले व्यवसायिक रूप दिएका छन्। याछेँ-५ मा यही वर्षको पुसबाट ‘निर्मल जेन्स पार्लर’ खोजेका छन्।बुहारीले पनि मैयाँसँगै सीप सिकेर नङ काटिदिन थालेकी छिन्।

“यही काम नै गरेको वर्षाैँ भइसक्यो, हामीपछि हाम्रो काम हराउला भन्ने चिन्ता थियो,” मैया भन्छिन्, “छोराले पार्लर खोल्यो, बुहारीले मेरो सीप सिकेको छ, मलाई त खुशी लागेको छ।”

नङ र कपाल काट्नु भक्तपुरको नापित समुदायको परम्परागत पेशा हो। यो पेशा छोड्दा बेरोजगार हुनुपरेको छ।

“हाम्रो नापितहरू पुरानै धारणामा बसिरहेका छन् जसले गर्दा हाम्रो सीप लोप हुन थालेको छ,” निर्मल भन्छन्, “हामीले चाहिँ यो पेशा छाड्दै जाने र बाहिरको मान्छे आएर कपाल काटिदिएर हाम्रो पैसा बाहिर नै लिएर जाने क्रम बढ्यो। यसरी हुँदैन भनेर मैले पार्लर खोलेको हो।”

आधुनिक तरिकाले कपाल ग्राहकको कपाल काट्दै निर्मल नापित।

यो निर्णयसम्म आइपुग्दासम्म भने निर्मलको जिन्दगीले अनेक मोड लिएको छ।

बा र दाइहरूले जजमानको कपाल काटिदिएको हेरेरै नै काम सिकेको उनी बताउँछन्। पढाइका लागि खर्च जुटाउन उनी जजमानको कपाल काटिदिन्थे। उनका जजमान भक्तपुरको याछेँ, चोर्चा, इनाचोँ, ब्रम्हायणी लगायत क्षेत्रमा थिए। बाह्रै महीना बाह्रै काल उनीहरूको काम खाली हुँदैनथ्यो। न्वारन, बेलविवाह, गुफादेखि व्रतबन्ध, विवाह, श्राद्ध, मृत्युको काममा उनी जानै पर्थ्यो। जजमान घरसम्मै बोलाउन आउँथे। बाहुनको मुख चोखो, नाउको हात चोखो हुन्छ भन्ने मान्यता भएकाले उनको छलन्चा र छुराले आफूलाई छुवाएर चोखो हुन नेवार समुदायका मानिसहरू उनलाई खोज्दै आउँथे।

निर्मल पनि बा र दाइहरूसँगै जान्थे। तर युवावस्थामा उनलाई यो कामप्रति वितृष्णा जाग्यो। त्यतिबेला नेवार समाजभित्रका कथित उच्च जातका मानिसले नापित समुदायलाई होच्याउने गर्थे। त्यसैले उनी नेपाली सेनामा भर्ती हुन पुगे। सैनिक जीवनले कामलाई हेर्ने दृष्टिकोण नै परिवर्तन गरिदिएको बताउँछन् उनी।

“हरेक कामले सम्मान पाउनुपर्छ भन्ने लाग्यो। आफ्नो पुर्ख्यौली कामप्रति सम्मान र माया जाग्यो। रिटायर्ड भएपछि बाँकी जीवन कपाल काटेरै बिताउँछु भन्ने अठोट लिए”, निर्मल सुनाउँछन्।

१८ वर्षपछि सेवानिवृत्त भएपछि उनी आउँदा भक्तपुर पहिलेजस्तो थिएन।

“पहिले जाँदा नापितहरू आउँदा यिनीहरू नङ काट्ने हो भनेर तलै राख्थ्यो, त्यो हिसाबले मलाई मन पर्दैनथ्यो,” उनी भन्छन्, “तर पहिलेको तुलनामा अहिलेको जेनेरेसनमा धेरै चेन्ज भएको छ। रिटायर्ड भएर आएपछि साथीहरूले पनि आफ्नै व्यवसाय गर भनेर हौसला दिए। आफ्नो परिवारको ब्याक सपोर्ट पाएँ। त्यसैले एक स्टेप अगाडि आएर मैले यो कपाल काट्ने कामलाई व्यावसायिक रूपमा शुरु गरेँ।”

पार्लरमा निर्मल अहिले कपाल काट्ने, दारी काट्ने, हेयर कलर गर्ने, काम गरिरहेका छन्। साथै फेसवास, हाइलाइटको पनि काम सिक्दैछन्। उनले यो पार्लर भक्तपुरको सानो समुदायलाई टार्गेट गरेर खोलेका हुन्। उनकी श्रीमतीले नङ काटिदिने, नङ मासुमा गाडिएर भएको घाउलाई पुर्ने र हात गोडा मर्किएको ठाउँमा आयुर्वेदिक औषधीको प्रयोग गरी निको पार्ने काम गर्छिन्।

पहिले कपाल र नङ काटिदिएबापत वा औषधी गरिदिएबापत जजमानले धान दिन्थे। त्यही उनीहरूले ल्याउँथे। तर सामाजिक परिवर्तनसँगै त्यो चलन पनि फेरियो। अचेल उनीहरू नगदमै कारोबार गर्छन्।

परिवर्तित समाजमा काम गर्न भने निकै चुनौती रहेको सुनाउँछन् निर्मल। भन्छन्,  “बाआमाको पालामा सानै कैँची, काइयो र छुरा भए पुग्थ्यो, तर अहिले बाहिरको मानिसले दिएको जस्तो नापितहरूले सुविधा दिन सकेका छैनन्। धेरै गाह्रो छ। तर म निरन्तर कोशिस गरिरहेको छु।”

पुर्ख्यौली पेशा अपनाउँदै गर्दा नयाँ तरिका सिकेर सुविधा दिन सके नापितहरूको परम्परागत सीप जोगिने र आम्दानी हुने उनको ठम्याई छ।  भन्छन्, “यसरी नै पुर्ख्यौली काम अर्काे पुस्तामा हस्तान्तरण गर्‍यो भने राम्रो हुन्छ। विदेश जानुपर्दैन।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved