सुन तस्करी प्रकरण : छोरा पक्राउ परेको ७ महिनापछि बाबु पनि हिरासतमा

अन्तत: कृष्णबहादुर महरा पनि पक्राउ परेका छन् । पूर्वसभामुखसमेत रहेका सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष महरा यसअघि नै पक्राउ पर्नुपर्ने आवाज बलियो बनेको थियो । तर, उनी उम्किन सफल भएका थिए ।

नेपालभ्युज

सुन तस्करी प्रकरण : छोरा पक्राउ परेको ७ महिनापछि बाबु पनि हिरासतमा

काठमाडौं । अन्तत: कृष्णबहादुर महरा पनि पक्राउ परेका छन् । पूर्वसभामुखसमेत रहेका सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष महरा यसअघि नै पक्राउ पर्नुपर्ने आवाज बलियो बनेको थियो । तर, उनी उम्किन सफल भएका थिए ।

सुनको अवैध तस्करी नियन्त्रण जाँचबुझका लागि गठित आयोगले महरालाई मुद्दा चलाउन सिफारिससहितको प्रतिवेदन बुझाएपछि गृहमन्त्री रवि लामिछानेले महरालाई पक्राउ गर्न निर्देशन दिएका थिए । यसपछि उनी सोमबार बिहान कपिलवस्तुबाट पक्राउ परेका हुन् ।

साउन २ मा ब्रेक-सूमा लुकाएर ल्याइएको ६१ किलो र २०७९ पुसमा भेप (विद्युतीय चुरोट) मा ल्याइएको ९ किलो सुन तस्करीमा महरा, उनका छोरा राहुल, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन र परराष्ट्रविज्ञ जीवन गुरुङसहित मुछिएका छन् ।

 त्यसो त महराका छोरा राहुल यसअघि नै पक्राउ परिसकेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गत भदौ १३ गते नै पक्राउ गरिसकेको छ । उनी अहिले पुर्पक्षका लागि हिरासतमै छन् ।

भारत भाग्न लागेका थिए महरा, गाडी रोक्न नमानेपछि घेरा हालेर नियन्त्रणमा !

कृष्णबहादुर महरा पनि उत्तिबेलै पक्राउ पर्नुपर्ने सरकारमै रहेका दलहरूले बताएका थिए । तर, उनी बचे । उसो त महराले चिनियाँ सुन तस्करीसँग पटक-पटक टेलिफोन संवाद गरेको सीआईबीको अध्ययनले देखाएको थियो ।

तै पनि उनी पक्राउ परेनन् । त्यसबेला गृह मन्त्रालयको जिम्मेवारीमा महराकै पार्टी माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ थिए । त्यसबेला आफ्नै पार्टीका भएकाले श्रेष्ठले महरालाई उन्मुक्ति दिएको बताइएको थियो ।

अहिले गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छन् । गल्ती गर्ने जोकोहीलाई नछाड्ने बताउँदै आएका लामिछानेले यसअघि नै महरालाई पक्राउ गर्न निर्देशन दिइसकेका थिए । यसपछि उनी पक्राउ परेका हुन् ।

यससँगै महरा बाबू-छोरा सुन प्रकरणमा हिरासत पुगेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved