तीन फिट सात इन्च अग्ला सागरको ‘सगरमाथा सपना’

अपांग, होचो कद भएका व्यक्तिहरुलाई समाजले हेर्ने दृष्टिकोण फरक भएकोले यसलाई परिवर्तन हुन आवश्यक रहेको सागर बताउँछन्। उनी अहिले सगरमाथा चढ्ने तयारीमा विभिन्न कसरतहरु गरिरहेका छन्। “अबको दुई महीनामा हिँड्नुपर्छ। तयारी गरिरहेको छु,” उनले सुनाए।

तीन फिट सात इन्च अग्ला सागरको ‘सगरमाथा सपना’

पोखरा। कास्कीको मादी गाउँपालिकाका सागर सुनार (विश्वकर्मा) ३ फिट ७ इन्च उचाइका छन्। उनको तौल ३५ केजी छ। मादी–११ तासेका स्थायी बासिन्दा उनी पाँच भाइमध्येका कान्छा हुन्।

२८ वर्षीय सागर सर्वोच्च शिखर सगरमाथा आरोहरण गर्ने योजनामा छन्। उनले सबै तयारी पूरा गरी आउँदो वैशाखमा सगरमाथा चढ्ने योजना बुनेका छन्। उनले आरोहण सम्बन्धी पूर्वतयारीसमेत गरिसकेका छन्।

सागरले गत ३० अक्टुबरमा दोलखा जिल्लामा पर्ने ५ हजार ९२५ मिटर अग्लो रामदुङ हिमाल सफल आरोहण गरेर अनुभव सगाँलिसकेका छन्। उनी १८ दिनको प्याकेज बनाएर हिमाल चढ्न पुगेका थिए।

सगरमाथाको सफल कीर्तिमानी आरोहण गर्ने सागरको सपना छ। उनलाई २१ पटक सगरमाथा शिखरमा पुगेका पेम्बा दोर्जे शेर्पाको साथ छ। शेर्पा र अधिवक्ता विष्णुप्रसाद भुसालको सर्पोटले सागर रामदुङ हिमाल चढेका हुन्।

“मेरो सगरमाथा चढ्ने ठूलो सपना छ। बाल्यकालदेखि नै यो सोच पलाएको हो,” उनले भने, “विदेशतिर पनि अपांग भएका व्यक्तिहरुले विभिन्न फरकखालका काम गरेर कीर्तिमान गरेको सुनेको थिएँ। मैले पनि सक्छु भन्ने अठोट लिएर यो निर्णय गरेको हुँ। सफल आरोहणपछि अपांगलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न चाहन्छु। म सफल हुनेछु भन्ने विश्वास पनि लिएको छुँ।”

अपांग, होचो कद भएका व्यक्तिहरुलाई समाजले हेर्ने दृष्टिकोण फरक भएकोले यसलाई परिवर्तन हुन आवश्यक रहेको सागर बताउँछन्। उनी अहिले सगरमाथा चढ्ने तयारीमा विभिन्न कसरतहरु गरिरहेका छन्। “अबको दुई महीनामा हिँड्नुपर्छ। तयारी गरिरहेको छु,” उनले सुनाए।

सागरको सगरमाथा चढ्ने प्रेरणाको स्रोत भने पेम्बा दोर्जेको श्रीमती कान्छीमायाँ तामाङ हुन्। उनले सगरमाथा चढ्न जाने पाँच सहयोगीसहित करीब १ करोड रुपैयाँ खर्च लाग्ने बताएका छन्।

सागरको सगरमाथा चढ्ने योजनालाई मादी गाउँपालिकाले सर्पोट गर्ने भएको छ। पालिका अध्यक्ष बेदबहादुर गुरुङ ‘श्याम’ले सागर सुनार सगरमाथा आरोहण सहयोग समिति गठन गरिएको जानकारी दिए।

गुरुङको संयोजकत्वमा १२१ सदस्यीय समिति रहेको छ। उनले सबै एक भएर कार्यापालिकाको बैठक बसेर आर्थिक सहयोग गर्ने निर्णय हुने जानकारी दिए।

“अर्थ संकलनको लागि अभियान नै चलाउनेछौँ। यो अभियान पोखरा, काठमाडौं र विदेशसम्म रहनेछ। हामीले आर्थिक पारदर्शी ढंगले काम गर्ने व्यवस्था मिलाउनेछौँ,” उनले भने, “सागर भाइको सपनालाई पूरा हुनुभनेको समग्र मादी गाउँपालिकाको गौरवको कुरा पनि हो। हाम्रो हर पाइलापाइलामा सर्पोट रहनेछ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved