बर्डफ्लू देखिएपछि पोखरामा पंक्षी ओसारपसारमा रोक

जिल्ला बर्डफ्लु नियन्त्रण समितिले बर्डफ्लु देखिएका क्षेत्रमा पंक्षी तथा पंक्षीजन्य पदार्थ नष्ट गर्न र्‍यापिड रेस्पोन्स टिम खटाएको छ।

बर्डफ्लू देखिएपछि पोखरामा पंक्षी ओसारपसारमा रोक
फाइल तस्वीर

पोखरा। पोखरामा इभियन इन्फ्लुएन्जा (बर्डफ्लू) को संक्रमण फेला परेको छ। १५ र १७ फागुनमा पोखरामा घरपालुवा कुखुरा र हाँसमा बर्डफ्लूको संक्रमण भेटिएको हो। ६ फागुनमा पोखरा १५ का खुशीमान गुरुङको फार्ममा रहेका कुखरा मर्न थालेपछि जिल्ला प्रयोगशालमा परीक्षणको लागि ल्याइएको थियो।

परीक्षणपछि आरडीटी परीक्षणमा पोजेटिभ देखिएपछि काठमाडौं पठाएकोमा १५ फागुनमा संक्रमण पुष्टि भएको हो। त्यस्तै पोखरा–१७ का खेमबहादुर क्षेत्रीको कुखुरा पनि परीक्षणपछि संक्रमण पुष्टि भएको हो।

संक्रमण थप फैलिन सक्ने जोखिम रहेका कारण संक्रमण केन्द्रका रूपमा रहेका खोरहरूमा आउँदो २९ चैतसम्म कुनै पनि प्रजातिका पंक्षी पालन गर्न र संक्रमित क्षेत्रबाट आउँदो २७ फागुनसम्म कुनै पनि पंक्षी तथा पंक्षीजन्य पदार्थको ओसारपसार गर्न निषेध गरिएको छ।

पोखरा महानगरपालिका–१५ का पूर्वतर्फ सिर्जना मार्ग, पश्चिमतर्फ सेती नदी, उत्तरतर्फ ऋषिमार्ग र दक्षिणतर्फ ताङ्ले समाजघर जाने बाटो क्षेत्र र वडा–१७ को पूर्वतर्फ एस एण्ड एस डेरी उद्योगको कम्पाउन्ड, पश्चिमतर्फ हाम्रो मल्टिपर्पोज कृषि फर्म, उत्तरतर्फ एस एण्ड एस डेरीबाट उत्तर तर्फको सडक र दक्षिणतर्फ एस एण्ड एस डेरीको चोकबाट दक्षिणको सडक भित्रको क्षेत्रलाई संक्रमित क्षेत्र निर्धारण गरिएको जिल्ला बर्डफ्लू रोग नियन्त्रण समिति कास्कीका सञ्चार अधिकृत डा. ग्रिष्म न्यौपानेले जानकारी दिए।

‘‘संक्रमण भएका पंक्षीहरूलाई नष्ट गर्ने काम सकियो। जोखिम क्षेत्रमा पंक्षी र पंक्षीजन्य पदार्थ ओसारपसारमा रोक लगाएका छौँ,’’ डा. न्यौपानेले भने, ‘‘अव्यवस्थित पालन र कारोबारका कारण यी क्षेत्रहरू उच्च जोखिममा रहेका छन्।’’ आफ्नै परिवारका लागि पालिएको भए पनि छत र सानो खोरमा पालिएकोले धेरै क्षति नभएको उनले सुनाए। उनका अनुसार बर्डफ्लूको भाइरस २३ डिग्री सेल्सियस तापक्रममा मर्छ। कुखुराको खोरमा काम गर्ने र मासु काट्ने व्यक्तिले पञ्जा, मास्क लगाउने गर्नुपर्छ।

जिल्ला बर्डफ्लू नियन्त्रण कक्षका अनुसार संक्रमणको पुष्टि भएका दुवै क्षेत्रका ३९ घरमा रहेका तीन सय ८१ वटा स्थानीय जातका कुखुरा, १२ वटा हाँस, ५१ वटा बट्टाई, पाँच वटा टर्की, पाँच सय नौ वटा अण्डा, २२ किलोग्राम मासु, तीन सय ३२ किलोग्राम दाना र ३८ सय ५० किलोग्राम सुली नष्ट गरिएको छ।

‘बर्डफ्लू नियन्त्रण नियमावली, २०७८’ बमोजिम रोग नियन्त्रण गर्न जिल्ला बर्डफ्लू नियन्त्रण समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले चार किल्ला तोकी निषेधाज्ञा जारी गरिएको हो। तोकिएको क्षेत्रमा रहेका सबै घरपालुवा पंक्षी तथा पंक्षीजन्य पदार्थ नष्ट तथा निसंक्रमण गर्नको लागि ‘र्‍यापिड रेस्पोन्स टिम’ खटिएर नियन्त्रणसम्बन्धी कामहरू गरिरहेको छ। जनप्रतिनिधी, जिल्ला भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्राविधिकहरू, प्रहरीसहितको टोलीले पंक्षी र पंक्षीजन्य पदार्थ नष्ट गर्ने अभियान सञ्चालन गरेको हो।

कास्कीमा सन २०७५ पछि अहिले बर्डफ्लू भेटिएको हो। २०७३ मा पनि खाल्टे मसिनामा संक्रमण फैलिएको थियो। पोखरा पहिलोपटक २०६६ मा पहिलोपटक कुखुरामा बर्डफ्लू संक्रमण पुष्टि भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved