पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले जगाएको आशा

९२ प्रतिशत काम सम्पन्न, ‘ल्यान्डफिल साइट’ व्यवस्थापनमा भने ढिलाइ

चिनियाँ कम्पनी सीएएमसीईले २०१७ नोभेम्बर १ मा निर्माण थालेको विमानस्थल यसअघि २०२१ जुलाई १० भित्र सक्ने लक्ष्य लिएको थियो। तर, समयमै काम सम्पन्न नभएपछि २०७९ असार २५ सम्मलाई म्याद थप गरिएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले जगाएको आशा

पोखरा। राष्ट्रिय गौरवको योजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण ९२ प्रतिशत पूरा भएको छ। चिनियाँ कम्पनी सीएएमसीईले २०१७ नोभेम्बर १ मा निर्माण थालेको विमानस्थल यसअघि २०२१ जुलाई १० भित्र सक्ने लक्ष्य लिएको थियो। तर, समयमै काम सम्पन्न नभएपछि २०७९ असार २५ सम्मलाई म्याद थप गरिएको छ।

अन्तर्राष्ट्रिय उड्ययन संस्था आइकाओको मापदण्डभित्र रहेर फोरडी मोडलमा निर्माण भइरहेको छ। चीन सरकारको २२ अर्ब सहुलियत ऋणमा निर्माण भइरहेको विमानस्थल कोरोना महामारीका कारण १ बर्ष समय थप गरेको विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले बताए।

“१ जनवरी २०२२ मा आन्तरिक उडान भर्ने महत्वाकांक्षीसहित तयारी भइरहेको थियो। तर उडानको मुखमा पर्ने रिठ्ठेपानी डाँडा खार्नका लागि स्थानीयस्तरबाट निजी जग्गा कटान शुरु भए पनि ठोसरुपमा अगाडि बढ्न सकेन,” उनले भने, ” विमानस्थलभित्र आयल डिपो निर्माणको काममा पनि ढिलासुस्ती विमानस्थल नजिकै रहेको खुला ल्यान्डफिल साइटका कारण चराचुरुङ्गीको क्रियाकलाप देखिएकाले यसको व्यवस्थापन तत्काल गर्न पहल हुँदै छ। बर्सातको समयमा पृथ्वी राजमार्गको नालाबाट र सिँचाइको नहर बगेर आउने पानीका कारण विमानस्थलको पूर्वी भागमा बाढी पहिरोको समस्या हुने गरेको छ।”

विमानस्थल नजिक रहेको “ल्याण्डफिल साइट” को लागि महानगरसँग समन्वय भइरहेको उनले सुनाए। “अस्थायी रुपमा हटाउने कुरा महानगरबाट भएको छ। उहाँहरूले जग्गा खोजी गर्नुभएको छ,” उनले भने, “वैशाखसम्म माटो प्रयोग गरेर ल्यान्डफिललाई पुर्नेछौँ।”

भलपानी व्यवस्थापन गर्न आवश्यक बजेटको मागसहित संघीय सरकारलाई बजेट माग गरिएको, रिठ्ठेपानी डाँडा कटानमा वन मन्त्रालयबाट अनुमति लिनुपर्ने भएकाले त्यसको लागि पनि काम अघि बढेको इन्धन डिपो नबन्दासम्म पुरानो विमानस्थलबाटै गाडीमा इन्धनको व्यवस्था गरिने उनले जनाए।

जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय, कास्कीलाई भलपानी व्यवस्थापन गर्न तीन वर्षदेखि पत्र दिए पनि त्यसको कुनै सुनुवाइ नभएको उनले गुनासो गरे। विमानस्थलमा केही महीनाअघि नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर, पर्यटन मन्त्री प्रेम आलेले अवलोकन गरी बाँकी काम पूरा गर्न सहयोग गर्ने वचन दिए थिए।

मुनाकर्मीका अनुसार हाल चिनिया १ सय ८८ र नेपाली २ सय ३० जना कामदार काममा खटिइरहेको छन्। आयोजनाको सबैभन्दा ठूलो करिब ६ सय ५० सिट क्षमताको टर्मिनल भवन, टावर, कार्यालय भवन, कार्गो भवनसहित १४ वटा भवनको निर्माण कार्य सम्पन्न भएको छ।

हालसम्म पोखरामा १ सय ५० देखि २ सय सिट क्षमताका न्यारोबडी जहाजहरू आउने गरी विमानस्थल निर्माण कार्यसँगै छिट्टै सञ्चालन गर्ने भइरहेको उनले बताए। उक्त विमानस्थलबाट पहिलो चरणमा आन्तरिक उडानबाटै शुरु गरी अन्तर्राष्ट्रिय हवाई उडानको संघसंस्थाहरूसँगको समन्वय र सहकार्य एवं मान्यता प्राप्त भएसँगै अन्तर्राष्ट्रिय क्षेत्रका केही देशहरूसँग सहकार्य गर्ने भएको उनले सुनाए। पोखराका लागि हाल सिमरा, वीरगन्ज र चाइनाबाट गरी हाल तीनवटा मात्र हवाई रुट पर्न आउने जनाइएको छ।

पोखरा विमानस्थल हाल करिब ३ हजार ८ सय ९९ रोपनी जग्गामा छ, जसमध्ये ९९ प्रतिशत आयोजनाको नाममा रहेको दाबी छ। २०३२ सालमा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने भन्दै स्थानीयले जग्गा अधिग्रहण गरी ३१ सय ६ रोपनी जग्गा व्यवस्थापन गरेका थिए। अन्य थप जग्गा आयोजनाले चरणबद्ध रूपमा अधिग्रहण गरेको हो।

उक्त परियोजनाका लागि ५ प्रतिशत ब्याजदरमा २० वर्षको अवधिमा २६ किस्ता तिर्ने गरी ऋण सम्झौता भएको थियो। शुरुको सात वर्ष भने (ग्रोस अवधि) कुनै किस्ता तिर्नु पर्दैन भने त्यसपछि १३ वर्षसम्म ६-६ महीनामा किस्ता तिर्नुपर्ने हुन्छ।

समितिका संयोजक विक्रम गौतमले पोखरामा अन्तर्राष्ट्रिय उडान भर्न दिल्ली, हङकङ, दोहा र बैंककसँग सहकार्य र सम्पर्क हुनुपर्ने बताए। “दिल्लीबाट धेरै पर्यटक आउन सक्छन्, नेपालीको आवतजावत पनि राम्रो छ, यस्तै दोहामा र खाडी मुलुक गएका नेपालीका लागि दोहा विमानस्थलबाट सेवा दिनुपर्छ,” उनले भने, “हङकङ र बैंकक पनि नेपालीको धेरै आवतजावत छ, त्यहाँबाट सेवा सञ्चालन गर्दा अन्तर्राष्ट्रिय उडान नियमित हुन सक्छ।”

टाउको दुखाइ ल्याण्डफिल साइट

विमानस्थलबाट “ल्याण्डफिल साइट” करिब दुई किलोमिटर दुरीमा पर्छ। विमानस्थल नजिक फोहर व्यवस्थापन गर्दा त्यसले चरा आकर्षित गर्ने र त्यसका कारण हवाई उडान र अवतरणमा जोखिम निम्तिने विज्ञहरूले बताउँछन्। त्यसले गर्दा ल्याण्डफिल अन्यत्र सार्नुपर्ने बाध्यता महानगरलाई छ।

महानगरले नयाँ ठाउँमा ल्याण्डफिल साइट सार्न खोजे पनि स्थानीयको विरोध भएपछि सहजीकरण गर्न समिति बनाए पनि त्यसले पनि निर्णय गर्न सकेको छैन। महानगरले अहिले पोखरा–१४ को बाच्छेबुडुवामा सहरको फोहर व्यवस्थापन गरिरहेको छ।

महानगरले गरेको अध्ययनले विभिन्न तीनवटा ठाउँ नयाँ ल्याण्डफिल साइटका लागि प्रस्तावित गरेको थियो। ती मध्ये पहिलो प्राथमिकतामा पोखरा–२० र १६ को सिमानामा पर्ने पस्मराङ परेको थियो। दोस्रो प्राथमिकतामा पोखरा–३३ को पुरिटार र तेस्रो विकल्पमा पोखरा–१३ को काहुँखोला र विजयपुर बीचको खण्डमा पर्ने ढाँडबेसी प्रस्तावित थियो।

महानगरपालिकाको गत कात्तिकको पहिलो साता बसेको कार्यपालिका बैठकले हालको पोखरा–१४ बाच्छेबुडुवामा रहेको ल्याण्डफिल साइट पस्मराङमा सार्ने निर्णय गरेको थियो।

हालको ल्याण्डफिल साइट अन्तर्राष्ट्रिय हवाई उडान रुटमा पर्ने भएपछि त्यसलाई सार्न महानगरले पोखरा–१६ का अध्यक्ष जीवन आचार्यको संयोजकत्वमा ११ का अध्यक्ष मोहन बास्तोला र प्राविधिक सम्मिलित अध्ययन समिति बनाएको थियो। सोही सिफारिस समितिको सिफारिस अनुसार ल्याण्डफिल साइट सार्ने निर्णय भएको थियो।

सहजीकरण समितिका सदस्य एवं पोखरा महानगर–१९ का अध्यक्ष शोभामोहन पौडेलले “ल्याण्डफिल साइट” को लागि धेरै चरणमा कुरा भइरहेको बताए।

“ठ्याक्कै कुनै ठाउँमा सार्ने भन्ने निर्णय भएको छैन, प्रयत्नको विषय बनेकोले निकास निकाल्नै पर्छ,” उनले भने, “विकल्प नबनाई उपाय नै छैन। समितिले प्रयास अवश्य गर्नेछ।”

प्रत्यक्ष लाभ

विमानस्थल पोखरेलीको लागि ठूलो सपना हो। गण्डकी प्रदेश र पोखरलीको लागि अन्तर्राष्ट्रिय रुपमा उडान हुने भनेपछि निकै चासोको रुपमा पनि लिइएको छ।

पर्यटक भित्राउने सहरको रुपमा परिचित पोखरामा अन्तर्राष्ट्रिय रुपमा सिधै उडान गर्ने अवसर पाउनु भनेको विकासको पहिलो आधार बनेको वडा नं १९ का अध्यक्ष शोभामोहन पौडेलले बताए।

“पोखरा र पोखरावरिपरिको क्षेत्रका पर्यटनको माध्यमबाट ठूलो आर्थिक विकास गर्न सकिन्छ,” उनले भने, “सीधै हवाई उडान भएको अवस्थामा विदेशी पर्यटक समय र खर्चको हिसाबमा कम खर्चमा सीधै पोखरा आवतजावत गर्न सक्छन्, जसले गर्दा पोखरा क्षेत्रमा पर्यटकीय गतिविधि ह्वात्तै बढ्नेछ।”

पोखरामा विमानस्थल निर्माण भएसँगै होटल रेस्टुरेन्ट, पर्यटकीय गतिविधिमा आकर्षण, पर्यटकको बसाइँ आनन्दमय बनाउने प्याकेज कार्यक्रम ल्याउन पर्यटन व्यवसायी लाग्न पर्ने उनले सुझाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved