मलिन मुहारमा पूजाले भनिन्, ‘पल र पूजालाई माया गरिदिनुहोस्’

मलिन मुहारमा पूजाले भनिन्, ‘पल र पूजालाई माया गरिदिनुहोस्’

पोखरा। एक साताअघि प्रदर्शन भएको नेपाली फिल्म ‘म यस्तो गीत गाउँछु २’ का नायक पल शाह नाबालिग बालिकामाथि जबर्जस्तीकरणी अभियोगमा हिरासतमा छन्। नायक हिरासतमा भए पनि निर्देशक सुर्दशन थापा र नायिका पूजा शर्मा फिल्मको प्रचारका लागि दौडिरहेका छन्।

कोभिडले फिल्मी बजारलाई शून्यमा झारेको अवस्थापछि प्रदर्शन आएको उक्त फिल्मको व्यापारलाई धेरैले सन्तोषजनक मानेका छन्। व्यापार आशावादी भए पनि फिल्मकी नायिका पूजा शर्मा भने मलिन छन्।

फिल्मको प्रचारको लागि युनिटसहित पोखरा आएकी शर्मा मलिन मुहानरमा फिल्मलाई माया गरिदिन अनुरोध गरिन्। “फिल्म रिलिजलगत्तै पोखरा आउन मन थियो। तर, ढिलै भए पनि पोखरामा आएका छौं,” मसिनो आवाजमा उनले भनिन्, “पल र पूजालाई यसरी नै माया गरिदिनुहोला।” उनले पल चाँडै नै रिहाइ हुने र दर्शकसँगै बसेर हेर्न पाइनेसमेत अपेक्षा बाँडिन्। छोटो बोलेकी शर्माले बुधबार तनुहँ जिल्ला प्रहरी कार्यालय पुगेर पल शाहलाई भेटेर दर्शकले धेरै मिस गरेको कुरा सुनाएको बताइन्।

केही दिनअघि सञ्चारमाध्ममा बलात्कारको अर्थ नबुझेर दिएको अभिव्यक्तिले ‘ट्रोल’ बन्न पुगेपछि उनी सोही प्रश्नको घेरामा पुनः पोखरामा परिन्। समाजमा भोगिरहेको र पढ्दै आएको कानूनबारे बुझ्न र ज्ञान लिन अझै नसकेको प्रतिक्रिया दिइन्।

“हल–हल पुगेको हुन्छ, प्रेसर हुन्छ, हाफ ओड बोल्दा पनि कुन सेन्सले बोलेको हो भन्नी मान्छेलाई पर्न जान्छ,” उनले भनिन्, “कतिबेला के चेन्ज हुन्छ हामीलाई थाहा भको हुँदो रहेनछ। पढ्दा र अहिले के चेन्ज भको अपडेट हुँदो रहेन्छ। सबै जनाले मैले भनेको कुरा राइट हो भनेर पनि लिनुहुँदैन। सबै जनाको आआफ्नो वर्ड हुन्छ।”

निर्देशक थापाले पलबारे व्यक्तिपिच्छे आकलन गर्नुभन्दा पनि कानूनको पखाईमा रहनु उचित रहेको बताए।

‘कानूनको दायारामा बाँच्नुपर्छ। भोलि कानूनले दोषी ठहर्‍यो भने पल दोषी हुन्छ नत्र निर्दोष। यो कुरा हामीले बोलेर के नै हुन्छ र,” उनले भने, “कानूनको राइट डिसिजन कुर्नुपर्छ। सबैको भलो होस, सबैको राम्रो होस्।”

मुख्य नायक हिरासतमा हुँदा फिल्ममा असर पर्ने भए पनि कानूनले जे बोल्छ त्यो मान्नुपर्ने उनले सुनाए।

दर्शकको सेन्टिमेन्ट क्याच गर्न खोजिएको आरोप छ नि चलचित्रलाई भन्ने सञ्चारकर्मीको प्रश्नमा निर्देशक थापा भन्छन्, “चलचित्र निर्माण हुँदा यस्तो घटना हुन्छ भन्ने कसैलाई लागेको थिएन। त्यस्तो सेन्टिमेन्ट सोचेको भए यो चलचित्र नै बन्ने थिएन होला। कोभिडपछि यस्तो अवस्थामा पनि फिल्म रिलिज गर्नका लागि हिम्मत देखाउनुभयो, रिक्स गर्नुभयो बधाई छ, भन्नुको साटो उल्टै एउटै कुरामा अल्झिराख्नुभएको छ। हामी पोजेटिभ हुन सिकौं।”

पलको सन्दर्भलाई बिट मारेर निर्देशक थापाले साढे दुई वर्षपछि हलमा फिल्म रिजिल हुँदा फेरि पुराना दिन फर्केको प्रतिक्रया दिए। उनले पोखराको सौन्दर्यको गुनगान गाए।

“फिल्मका लागि राम्रो ठाउँ भएकोले मैले बनाएका लगभग १२-१३ वटा फिल्मको ७० प्रतिशत जति छायांकन पोखरा वरिपरि गरेको छु,” उनले भने, “फिल्म छायांकन मात्र नभएर काठमाडौं पछि पोखरालाई सिनेमाको बिजनेस गर्ने ठाउँ हो।” कोभिडपछि फिल्म रिलिज गर्ने आट गरे पनि डराएको उनले सुनाए।

“हामीले आँट त गर्‍यौं, पछि हजुरको साथ र सपोर्टले हौसला मिलेको छ,” उनले भने, “यतिखेर नेपाली फिल्म क्षेत्र नै उत्साहित छ। अब पक्कै पनि पुरानै दिन ब्याक भएको छ।” फिल्मको व्यापार उत्साहपूर्वक भएकोले यही शनिबारसम्मको व्यापारले लगानी बच्ने उनले दाबी गरे।

सबैको साथ र फिल्मका व्यापार अझै राम्रो भए यसको अर्को पार्ट पनि बन्ने संकेत गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved