कोरोना नियन्त्रणमा प्रदेश सरकारको प्रयास, बेड बढाए पनि बिरामीलाई अपुग

विदेशी भूमिबाट नेपाल आएका नागरिकहरूमा कोरोना संक्रमण पुष्टि हुने क्रम बढेसँगै सरकारले अस्पताल व्यवस्थापनदेखि सिमानाकामा कडाइ गर्नेलगायतका पक्षमा आफ्नो सक्रियता बढाएको हो।

कोरोना नियन्त्रणमा प्रदेश सरकारको प्रयास, बेड बढाए पनि बिरामीलाई अपुग

विराटनगर। नयाँ भेरिएन्टसहितको कोरोना संक्रमण दर तीव्र भएसँगै रोकथाम तथा प्रतिकार्यको सवालमा प्रदेश १ सरकारले सक्रियता बढाएको छ। विदेशी भूमिबाट नेपाल आएका नागरिकहरूमा कोरोना संक्रमण पुष्टि हुने क्रम बढेसँगै सरकारले अस्पताल व्यवस्थापनदेखि सिमानाकामा कडाइ गर्ने लगायतका पक्षमा आफ्नो सक्रियता बढाएको हो।

जिल्लाका कोभिड विशेष अस्पतालको व्यवस्थापन, स्वास्थ्य जनशक्तिको पुनः परिचालन र अक्सिजनको पर्याप्त व्यवस्था लगायतका विषयमा सरकारले विशेष ध्यान दिएको छ।
‘म्युटेन्ट भेरिएन्ट’ सहितको दोस्रो लहरबाट पाठ सिक्दै विभिन्न जिल्ला अस्पताल र आइसोलेसन सेन्टरहरूलाई समेत दुरुस्त अवस्थामा राख्न निर्देशन गरिएको प्रदेश सरकारका सामाजिक विकास मन्त्री जयराम यादवले बताए।

भारतीय सीमासँग प्रत्यक्ष जोडिएका जिल्लाहरूमा स्वास्थ्य सतर्कता र स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने गराउने पक्षमा सरकारले निर्देशन गरिसकेको उनले जानकारी दिए। उनले भने, ‘हामीले पछिल्लो दुई भेरिएन्टबाट ठुलो पाठ सिकेका छौँ। त्यो अवस्था पुनः दोहोरिन नदिन हामी प्रयासरत छौँ।’

कोभिडको जोखिमलाई दृष्टिगत गर्दै प्रदेश सरकारले सिमानाका समेत आवश्यक कडाइ गरेको छ। पुस अन्तिम सातायता कोरोनाको संक्रमण दर तीव्र भएसँगै सरकारी निर्देशानुसार सार्वजनिक स्थलमा मास्क अनिवार्य गरिएको छ।
मास्क नलगाएको खण्डमा १ सय रुपैयाँ जरिवाना गर्ने नियम बनाइएको छ। नेपाल–भारत बिचको दोहोरो आवागमन व्यवस्थित र सुरक्षित बनाउन माघ १ गतेदेखि खोप कार्ड समेत अनिवार्य गरिएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार प्रदेश १ का विभिन्न जिल्लाहरूमा निर्माण भइरहेको होल्डिङ सेन्टरको कार्यलाई पनि यथाशीघ्र सम्पन्न गर्न निर्देशन गरिएको छ। प्रदेश नं. १ को राजधानी विराटनगरको हकमा रानीको जुट मिल्समा नेपाली सेनाले निमार्ण गरिरहेको १ हजार क्षमताको होल्डिङ सेन्टरलाई समेत चाँडै सम्पन्न गर्न निर्देशन गरिएको मन्त्री यादवले नेपालभ्यूजलाई बताए। उनले ८० प्रतिशत भौतिक प्रगति भएको होल्डिङ सेन्टर अब केही दिनमै सञ्चालनमा आउने जानकारी दिए।

यस्तै, सघन प्रकृतिका कोभिड संक्रमित बिरामीको उपचारका लागि प्रदेश सरकारले सञ्चालन गरेको कोभिड–१९ उपचार केन्द्रलाई समेत तयारी अवस्थामा निर्देशन गरिएको जनाइएको छ।
हाल उपचार केन्द्रको पूर्वपट्टि अक्सिजन सहित आइसियु र एचडियु गरी ९६ बेड क्षमताको बिशिष्टिकृत कोभिड अस्पताल सञ्चालनमा छ। ८० बेड क्षमताको पुरानो अस्पताल पनि दुरुस्त अवस्थामा छ।

यसका अतिरिक्त नयाँ ब्लक छेउमै दक्षिणपट्टिको खाली संरचनामा अक्सिजन प्लान्ट सहित ७६ बेड क्षमताको अर्को अस्पताल निर्माणको कार्य धमाधम भइरहेको छ। २४ आइसियु र ५२ एचडियु गरी स्विस सरकारको कुल ४ करोड आर्थिक सहयोगमा शहरी विकास तथा भवन कार्यालयमार्फत उक्त हस्पिटल निर्माण भइरहेको जनाइएको छ।

अस्पतालको निर्माण कार्य अन्तिम चरणमा रहेको मन्त्री यादवको भनाई छ। उनले अस्पतालमा अक्सिजन आपूर्तिलाई सहज बनाउन प्रदेश सरकारले कोभिड अस्पतालको नयाँ ब्लकका लागि आफ्नै अक्सिजन प्लान्ट निर्माण गरेको जानकारी दिए। उनले भने, ‘दैनिक ३०० सिलिन्डर अक्सिजन उत्पादन गर्ने प्लान्ट निर्माण गरिएको छ।’

अक्सिजनको पर्याप्त व्यवस्था

कोरोना संक्रमितको उपचारका क्रममा विगतको जस्तो अक्सिजन अभावको समस्या नहुने मन्त्रालयको अध्ययन छ। सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, झापाको मेची प्रादेशिक अस्पताल र मोरङको कोभिड–१९ उपचार केन्द्रमा अक्सिजन प्लान्ट जडान भइसकेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार प्रदेशका नोबेल, विराट र बीएण्डसी अस्पताल लगायतका निजी अस्पतालहरुले पनि आवश्यक मात्रामा अक्सिजन आपूर्तिका लागि संयन्त्र मिलाइसकेका छन्।
यस्तै संक्रमित बिरामीहरूको उपचारका लागि प्रदेश सरकारले १४ वटै जिल्लाका ३१ वटा अस्पतालमा १ हजार १ सय ३६ वटा बेड तयारी अवस्थामा राखिएको जनाएको छ। सरकारका अनुसार ती अस्पतालमा ११७ वटा भेन्टिलेटर, १६९ वटा आइसियु, ३५७ वटा एचडीयु, ३५९ वटा जेनेरल बेड र २५१ आइसोलेसन दुरुस्त अवस्थामा छ।

खोपमा प्राथमिकता

संक्रमणको जोखिम उच्च भएसँगै प्रदेश १ सरकारले खोप कार्यलाई प्राथमिकतामा राखेको छ।
यही माघ मसान्तभित्र कुल जनसङ्ख्याको ८० प्रतिशतलाई खोप लगाउने प्रदेश सरकारको तयारी गरेको छ।
त्यसका लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र मार्फत प्रदेश सरकारले हाल १४ वटै जिल्लामा पर्याप्त मात्रामा खोप पठाइसकेको छ। हालसम्म प्रदेशका आधा जनसङ्ख्याले कोरोना विरुद्धको खोप लगाइसकेको प्रदेश सरकारले जनाएको छ।
प्रदेश १ को कुल जनसंख्या ४९ लाख ९५ हजार १६२ छ। जसमा सोमबारसम्म प्रदेशका २९ लाख ४७ हजार १ सय ४६ लक्षित वर्गले कोरोना विरुद्धको पूर्ण खोप लगाइसकेको मन्त्रालयको अस्पताल विकास महाशाखाकी कम्युनिटी फिजिसियन डा.संगीता राईले बताइन्।

सोमबारसम्म १८ वर्षमाथिका ७४ प्रतिशत अर्थात् ३६ लाख ९६ हजार ४ सय २० जनाले कोरोना विरुद्धको पहिलो डोज लगाएको उनीले जानकारी दिइन्। पूर्ण खोप पाएकाहरूलाई चाँडै नै बुस्टर डोज लगाउने तयारी समेत रहेको उनको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved