अनुस्मृति

जसले गतिशील तुल्याइरहे नेपाली रंगमञ्च

रंगकर्म उनका निम्ति ‘आर्ट अफ लिभिङ’ (जीवन ज्युँने कला) थियो। चाहे नाटक लेखून्, निर्देशन गरून्, मञ्च-परिकल्पना गरून् वा वस्त्र-परिधानमा आफूलाई दक्ष तुल्याउन्, उनले नाट्यकर्मको विकल्प देखेनन्, बाँचुन्जेल।

जसले गतिशील तुल्याइरहे नेपाली रंगमञ्च

जीवनपर्यन्त नेपाली रंगकर्ममा क्रियाशील प्रचण्ड मल्लले उत्तरार्द्धतिर एउटा रंग-योजना बुनेका थिए। त्यो थियो- नेपाली रंगमञ्चका अथक् साधकलाई बर्सेनि पुरस्कृत गर्ने र त्यसका निम्ति प्रारम्भमा दश लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने।

रंगकर्मका भिजेका सर्जकलाई बर्सेनि पुरस्कृत गर्ने उनको योजना आफैमा सार्थक एवं नेपाली रंगमञ्चप्रति नयाँ पुस्तालाई आकर्षित तुल्याउने उपक्रम पनि थियो।

जिम्मेवारीबोध स्वीकारेर अक्षयकोषलाई व्यवस्थित रूपले सञ्चालन गरिदिने सुपात्रको खोजीमा लागेका मल्लले पछिल्लो समय रंगमञ्चको ‘कखरा’ समेत सिकेका निबन्धकार/पत्रकार श्रीओम श्रेष्ठ ‘रोदन’ सामु अक्षयकोषको जिम्मेवारी लिइदिन आग्रह पनि गरेका थिए।

अक्षयकोष स्थापनाको योजनाले सार्थक रूप लिन खोज्दै थियो। अब भने आफ्नो जीवनकालमा वरिष्ठ नाट्यकर्मी मल्लको त्यो इच्छा पूरा नहुने भयो।

२०७८ पुस २ गतेको चिसो बिहानीसँगै उनी बिदा भए। ८४ वर्षको जीवन-यात्रामा सम्पूर्णतः समय नेपाली रंगमञ्चको विकास एवं उन्नयनमा सुम्पेका उनी नेपाली नाट्य क्षेत्रलाई ‘टुहुरा’ बनाएर बिदा भए। रोदन सम्झिन्छन्, ‘उहाँको देहावसानसँगै नेपाली रंगमञ्चको एउटा युग समाप्त भयो।’

मल्ल मात्रै सम-पुस्ताका अन्तिम नाट्यकर्मी थिए। यो यथार्थलाई वरिष्ठ नाट्यकर्मी हरिहर शर्मा पनि स्वीकार्छन्। शर्मा भन्छन्, ‘उहाँ कुशल रंगकर्मी, रंगशिल्पी र नेपाली नाट्य जगतका वरिष्ठ व्यक्तित्व हुनुहुन्थ्यो। उहाँले नाटकसम्बन्धी नजानेका कुरा केही पनि थिएनन्।’

रोदनको मूल्यांकनमा अतिशयोक्ति जोडिएको छैन। नेपाली रंगमञ्चमा नाट्य-सम्राट बालकृष्ण समले बसालेको जगमा अनेक निर्माण-सामग्रीहरू जुटाउँदै एकपछि अर्का उन्नत तला थप्ने र धुरी हाल्ने कामका अन्तिम ‘डकर्मी’ थिए, मल्ल। समकै नाट्य-परम्परालाई पछ्याउने कृष्णप्रसाद अधिकारी, सूर्यनाथ शर्मा र सिद्धान्तराम जोशी बितिसके।

मल्ल मात्रै सम-पुस्ताका अन्तिम नाट्यकर्मी थिए। यो यथार्थलाई वरिष्ठ नाट्यकर्मी हरिहर शर्मा पनि स्वीकार्छन्। शर्मा भन्छन्, ‘उहाँ कुशल रंगकर्मी, रंगशिल्पी र नेपाली नाट्य जगतका वरिष्ठ व्यक्तित्व हुनुहुन्थ्यो। उहाँले नाटकसम्बन्धी नजानेका कुरा केही पनि थिएनन्।’

‘मल्लको निधन नेपाली रंगमञ्चको लागि ठुलो क्षति हो,’ शर्मा भन्छन्, ‘उहाँलाई नाटकसम्बन्धी धेरै ज्ञान थियो। हामी पनि आफूलाई थाहा नभएका कुरा उहाँसँग सोध्थ्यौं। साँच्चै नै पर्याप्त ज्ञान थियो। उहाँले धेरै चेला पनि जन्माउनु भयो। उहाँ आज हामीबिच सशरीर नभए पनि उहाँका उत्कृष्ट कर्म र सम्झना सदैव रहनेछन्।’

विक्रमाब्द १९९६ मा काठमाडौंको वटु टोलमा जन्मिएका मल्लको बाल्यकालीन दिनहरू भने बिते, वीरगञ्जको परिवेशमा। वीरगञ्जमै प्रारम्भिक शिक्षादीक्षा पाए। सरकारी सेवामा रहेका बुबाको सरुवा वीरगञ्जमा भएसँगै उनी पनि त्यतै लागेका थिए। तर, उनको रुचि अध्ययनमा भन्दा नाटक हेर्नमा नै बढी तानियो। सीमावर्ती सहर रक्सौलमा गएर नाटक हेर्ने लत लागेसँगै उनी डोरिए, नाटकतिरै। अझ, त्रिजुद्ध हाई स्कुलमा रामलीला देखाउन आउनेहरूको अभिनय-क्षमता र हाउभाउ देखेर त उनलाई नाट्य क्षेत्रतिर झनै आकर्षित तुल्यायो।

काठमाडौं फर्किएपछि आफ्नै दाजुले उनलाई भेटाइदिए, बालकृष्ण समसँग। ‘मुकुन्द-इन्दिरा’ जस्ता चर्चित नाटक लेखन र प्रदर्शनपछि नेपाली रंगमञ्चलाई समुन्नत तुल्याउन सक्रिय समसँग २००९ सालतिर भेट भएपछि उनको जीवनको पाठ्यक्रम नै बदलिन पुग्यो। उनले समको ‘नेपाल कला मण्डल’ बाट नाट्य-यात्रा प्रारम्भ गरे। अर्थात्, सोही साल उनले समद्वारा निर्देशित ‘अमरसिंह’ मा भूमिका पाए। पछि त समको लेखन-निर्देशनका ‘भीमसेनको अन्त्य’, ‘प्रल्हाद’, ‘राजेन्द्रलक्ष्मी’ जस्ता ऐतिहासिक र पौराणिक नाटकहरूमा समेत उनको भूमिका रह्यो।

नाट्य क्षेत्रमा तन्मयतापूर्वक भिजिरहेकै बेला उनले तत्कालीन सोभियत संघमा ‘आर्ट एण्ड थियटर’ विषयमा अध्ययन गर्ने अवसर पाए। २०२४ सालमा सोभियत संघबाट नाटकसम्बन्धी अध्ययन सिध्याएर नेपाल फर्किएपछि उनले नेपाली रंगमञ्चको विकासमा दत्तचित्त रूपमा आफूलाई समर्पित तुल्याए।

मूलतः डबलीहरूमा अव्यवस्थित रूपले नाटक प्रदर्शन भइरहेको त्यो समय रंगमञ्चको परिकल्पनामा मल्ल तल्लीन रहे र राष्ट्रिय सभागृह, नेपाल प्रज्ञा-प्रतिष्ठान, भृकुटीमण्डपलगायत रंगमञ्चको परिकल्पना एवं स्थापनामा उनकै भूमिका रह्यो। निर्देशन त उनले समदेखि भीमनिधि तिवारी, हृदयचन्दसिंह प्रधान, गोपालप्रसाद रिमाल, गोविन्दबहादुर मल्ल ‘गोठाले’, विजय मल्ल, सत्यमोहन जोशी, रमेश विकलसम्मका नाटकमा गरे।

उनले गंगालालको चिता, पत्थरको कथा, कीर्तिपुरको युद्ध, दोभान, सहनशीला सुशीला, फर्केर हेर्दा, मानिस र मकुन्डो, वीरकुशजस्ता ऐतिहासिक र सामाजिक मूल्यबोधका नाटकहरूको कुशल निर्देशन गरे। एक हिसाबले, नाट्य गतिविधिलाई संकुचित हुन दिएनन् उनले, कहिल्यै। समयान्तरमा त उनी र नेपाली रंगमञ्च एकअर्काका पर्यायजस्तै बन्न पुग्यो। र, उनी पनि रंगकर्मलाई आफ्नै जीवन ठानेर गतिशील भइरहे।

नाट्यकर्ममै सिंगो जीवन अर्पेका मल्लले २०६७ सालमा पाए- नेपाल नाट्य तथा संगीत प्रज्ञा-प्रतिष्ठानको उपकूलपतिको जिम्मेवारी। त्यसअघि नेपाल प्रज्ञा-प्रतिष्ठानको संगीत-नाट्य विभागको व्यवस्थापक, रंगमञ्च प्रबन्धक र नाटक-संगीतको प्राविधिकको समेत भूमिका निभाए।

रंगकर्मप्रति अगाध प्रेम, निष्ठा र समर्पणका प्रतिफलस्वरूप उनी केही पुरस्कार/सम्मानबाट सुशोभित पनि भए- इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार, बालकृष्ण सम सम्मान, डबली पुरस्कारबाट। ‘नेपाली रंगमञ्च’, ‘भातृप्रेम’, ‘तिलगंगा : ऐतिहासिक नाटक संग्रह’ र ‘पश्चाताप’ लगायत कृतिका सर्जक मल्लका दर्जनौं नाट्यकृति प्रकाशित छन्। नाटक लेखन, निर्देशन, परिकल्पना र मञ्च निर्माणमा उत्तिकै योगदान दिएका मल्लले पछिल्लो समय ६ वटा पूर्णांकी लेखेका थिए र त्यसलाई प्रकाशनमा ल्याउन चाहेका थिए। यसबाहेक उनले थुप्रै नाटकका पाण्डुलिपि छोडेर गएका छन्- नेपाली रंगमञ्चलाई/नाटकका पारखीहरूलाई।

निःसन्देह, मल्ल जीवनभर रंगकर्ममा गतिशील र ऊर्जाले भरिपूर्ण रहिरहे र नाट्य क्षेत्रलाई गतिशील तुल्याउन हरदम तत्पर देखिइरहे। कुनै समय समाजमा नाट्याकर्षणमा वृद्धि गर्न डबलीको जति भूमिका थियो, पछिल्लो समय भूमिका रहेको रंगमञ्चलाई हरेक तरिकाले समुन्नत तुल्याउन मल्लले घुँडा घसेरै काम गरे। कुनै कन्जुस्याइँ नगरी भन्नैपर्छ, उनी नेपाली रंगमञ्चलाई महकिलो तुल्याउने ‘कर्मी मौरी’ थिए।

त्यसैले भन्न सकिन्छ- रंगकर्म उनका निम्ति ‘आर्ट अफ लिभिङ’ (जीवन ज्युँने कला) थियो। चाहे नाटक लेखून्, निर्देशन गरून्, मञ्च-परिकल्पना गरून् वा वस्त्र-परिधानमा आफूलाई दक्ष तुल्याउन्, उनले नाट्यकर्मको विकल्प देखेनन्, बाँचुन्जेल। सात दशकसम्म अविच्छिन्न नाट्यकर्मका बिताएका वरिष्ठ रंगकर्मी मल्लप्रति भावभीनी श्रद्धा-अर्चन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved