कसले उचाल्ला टी-ट्वान्टी विश्वकप उपाधि ?

कसले उचाल्ला टी-ट्वान्टी विश्वकप उपाधि ?

काठमाडौं। हालको समयमा आर्कषणको केन्द्र बनेको क्रिकेटको राष्ट्रिय टिमको सबैभन्दा ठूलो प्रतियोगिता टी-ट्वान्टी विश्वकप ओमान र यूएईमा शुरु भइसकेको छ।

टी-ट्वान्टी विश्वकप पाँच वर्षपछि हुन लागेको हो। सन् २०१६ मा भारतमा भएपछि भएको थिएन। हुन त आईसीसीको तालिका अनुसार यो विश्वकप गतवर्ष नै अष्ट्रेलियामा आयोजना हुनुपर्ने थियो। तर कोभिडका कारण सरेको विश्वकप यसपालि भारतमा गर्ने योजना थियो। त्यसमा पनि कोभिड बाधक बनेपछि विश्वकपको आयोजक भारत नै भएपनि भारतले स्वास्थ्य सतर्कताका कारण ओमान र यूएईमा खेलहरू संचालन गरेको हो।

विश्वकपका पहिलो चरणका खेलहरू यी दुई राष्ट्रमा आयोजना भए पनि अबका सुपर १२ चरणका खेलहरू भने यूएईमा मात्र हुनेछन्। जसका लागि तीन‌ ओटा स्टेडियम छुट्टाइएको छ। विश्वकपका खेलहरू खेलिने दुबई, सारजाह र अबुदाबिको क्रिकेट स्टेडियममा यसै वर्ष ईण्डियन प्रिमियर लिग (आईपीएल) का खेलहरू पनि संचालन भइसकेका छन्।

१६ राष्ट्र सम्मिलित यो विश्वकपको पहलो चरणका खेलहरू शुक्रबारबाट सकिएका छन्। अब शनिबार (आज) देखि प्रतियोगिताको मुख्य आकर्षणको रुपमा रहेको सुपर १२ चरणको खेल शुरु भइसकेको छ।

यो विश्वकपको आयोजक राष्ट्र भारतसँगै आईसीसीको टी-ट्वान्टी वरीयता क्रममा शीर्ष आठमा परेका राष्ट्रले सीधै सुपर १२ मा प्रवेश पाएका हुन्। जसमा डिफेन्डिङ च्याम्पियन वेष्ट इण्डिज, अष्ट्रेलिया, पाकिस्तान, इङ्ल्याण्ड, न्यूजिल्याण्ड, साउथ अफ्रिका र अफगानिस्तान छन्।

यता पहिलो चरणको खेलबाट भने श्रीलंका र बंगलादेशसँगै दुई एसोसिएट राष्ट्र स्कटल्याण्ड र नामिबियाले पनि सुपर १२ मा स्थान सुरक्षित गरेका छन्। नेपालले भने आईसीसीको टी-ट्वान्टी वरीयता क्रममा एशोसिएट राष्ट्रमा अग्रस्थानमा रहे पनि यो विश्वकपको एसियाली छनोट चरण पनि पार गर्न सकेको थिएन।

सुपर १२ मा शनिबार ग्रुप वानका दुई खेल हुँदै छन्। हालसम्म विश्वकप उपाधि नजितेका अष्ट्रेलिया र साउथ अफ्रिका यो पटक पहिलो खेलमा भिडन्त गरिरहेका छन्। विश्व क्रिकेटका महारथी मानिए पनि अष्ट्रेलियाको क्रिकेट हाल त्यो फर्ममा छैन।

कागजमा हेर्दा टिममा स्टार खेलाडीको बाहुल्यता रहे पनि उनीहरूको हालको खराब फर्म नै अष्ट्रेलियाको टिमको प्रमुख समस्या बनेको छ। अष्ट्रेलियाले खेलेका पछिल्ला १० टी-ट्वान्टी खेलमा मात्र दुईमा जित हात पारेको छ। ठिकविपरीत साउथ अफ्रिका भने पछिल्ला १० खेलमा नौमा जितका साथ बलियो आत्मविश्वास बोकेर विश्वकप शुरुआत गर्दैछ।

त्यसैगरी शनिबारकै अर्को खेलमा विश्वकप उपाधि उचालिसकेका दुई राष्ट्र वेष्ट इण्डिज र इङ्ल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ। यी दुईले नै सन् २०१६ को गत संस्करणको फाइनलमा भिडन्त गरेका थिए। उक्त फाइनलमा इङ्ल्याण्डलाई हराउँदै वेष्ट इण्डिजले दोस्रो पटक विश्वकपको उपाधि उचालेको थियो। एकदिवसीय विश्वकप विजेता इङ्ल्याण्ड यो पटक पहिलो खेलमा वेष्ट इण्डिजसँग गत संस्करणको फाइनलको हारको बदला लिने दाउमा छ।

इङ्ल्याण्डलाई यो पटकको विश्वकप उपाधिको प्रबल दाबेदार पनि मानिएको छ। इङ्ल्याण्ड आईसीसीको टी-ट्वान्टी वरीयता क्रममा पनि पहिलो स्थानमा रहेको टिम हो। पछिल्लो समय टेस्ट, एक दिवसीय र टी-ट्वान्टी गरि तीनवटै फर्म्याटमा प्रायः भिन्दाभिन्दै खेलाडीको टिम बनाएको इङ्ल्याण्ड दोस्रो पटक टी-ट्वान्टी विश्वकप जित्ने तयारीमा छ। इङ्ल्याण्डले सन् २०१० मा अष्ट्रेलियालाई फाइनलमा हराउँदै पहिलो एक पटक टी-ट्वान्टी विश्वकपको उपाधि उचालेको छ।

यो पटकको टी-ट्वान्टी विश्वकप जित्न सक्ने सम्भावित टिममा भारत पनि पर्छ। सन् २००७ मा धोनीको कप्तानीमा पहिलो संस्करणको उपाधि जितेयता भारतले टी-ट्वान्टी विश्वकप फेरि जितेको छैन। २००७ को फाइनलमा चिर प्रतिद्वन्द्वी  पाकिस्तानलाई पराजित गर्दै भारतले पहिलो विश्वकप नै जितेको थियो।

यसपछिका तीन संस्करणमा सेमिफाइनलसम्म पनि नपुगेको भारत सन् २०१४ मा भने श्रीलंकासँग फाइनलमा पराजित भएको थियो। गत संस्करणमा भने भारत उपाधि विजेता वेष्ट इन्डिजसँग सेमिफाइनलमै हारेको थियो। भारतका कप्तान विराट कोहलीको टी-ट्वान्टी विश्वकपमा यो पहिलो र अन्तिम कप्तानी हुँदैछ। उनले विश्वकप यसखघि नै विश्वकपपछि टी-ट्वान्टी टिमको कप्तानी छाड्ने घोषण गरिसकेका छन्।

अर्को उपाधि दाबेदारका रुपमा न्यूजिल्याण्डलाई पनि मानिएको छ। सन् २०१९ को एक दिवसीयविश्वको फाइनलमा पराजित न्यूजिल्याण्डलाई विश्वक्रिकेटमा एक दुर्भाग्यमानी राष्ट्र मानिन्छ। किनकि आईसीसीका ठूला प्रतियोगिताहरूमा न्यूजिल्याण्डले प्रायः फाइनल खेलको छ तर हालसम्म आईसीसीको कुनै पनि प्रतियोगिताको उपाधि भने जित्न सकेको छैन। त्यसैले यो पटक न्यूजिल्याण्ड इतिहास रच्ने तयारीमा छ।

यो पटकको उपाधिको प्रबल दाबेदार मानिएका यी तीन राष्ट्रबाहेक उपाधिको ठूलो सम्भावना नबोके पनि डार्कहर्सको रूपाम रहेको एक टिम हो वेष्ट इन्डिज। टिम कम्बिनेसन राम्रो नभएकाले वेष्ट इन्डिजलाई विश्वकप सजिलै उचाल्ने टिमको रुपमा हेरिएको छैन।

अहिलेको वेष्ट इण्डिज टिमले पावर हिटर ब्याट्सम्यानलाई थुपारेको छ। धेरै ब्याट्सम्यान टिममा छन् भने बलिङ पक्ष भने वेष्ट इण्डिजको कमजोर छ। तर ब्याटिङ मात्र चलेको खण्डमा पनि वेष्ट इण्डिज जुनसुकै टिमलाई पनि हराउने ल्याकत राख्छ। त्यसैले वेष्ट इण्डिजलाई यो पटक डार्कहर्सको रुपमा हेरिएको छ।

वेष्ट इण्डिज टी-ट्वान्टी विश्वकप दुई पटक जित्ने पहिलो र एक मात्र राष्ट्र हो। सन् २००७ देखि शुरु भएको टी-ट्वान्टी विश्वकपमा वेष्ट इण्डिजले सन् २०१२ र २०१६ को गत संस्करणको उपाधि जितेको छ। त्यसैले ऊ यो पटक उपाधि डिफेन्ड गर्ने सोचमा छ।

विश्वमा क्रिकेटको विकासक्रम लामो फर्म्याटको खेलबाट भयो। शुरुआती दिनमा धेरै दिनसम्म फस्ट क्लासका रुपमा खेलिने क्रिकेटलाई पछि अन्तर्राष्ट्रिय खेलमा टेस्ट क्रिकेटको नाम दिइयो। सन् १९८७ देखि शुरु टेस्ट क्रिकेटको एउटै खेल पाँच दिनसम्म चल्ने गर्छ। यो फर्म्याटलाई नै आधिकारिक रुपमा अन्तर्राष्ट्रिय क्रिकेटको सबैभन्दा पुरानो फर्म्याट मानिन्छ।

टेस्ट क्रिकेट सहभागी दुई टिमबीच दुई-दुई इनिङ ब्याटिङसहित पाँच दिनसम्म चल्ने गर्छ। खेल हेर्न धेरै समय खर्चिनुपर्ने र लामो समय एक प्रकारको खेल हेरिरहँदा निरस पनि हुने भएकाले पछिल्लो समय टेस्ट क्रिकेटमा दर्शकको रुचि भने घट्दो छ। त्यसैले यसको विकल्पको रुपमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले छोटो फर्म्याटको क्रिकेटको अवधारणालाई अघि सार्दै गयो। जसअनुसार ५० ओभरको एक दिवसीय क्रिकेट हाल २० ओभरमा खेलिने सबैभन्दा छोटो फर्म्याटको टि-ट्वान्टिसम्म आइपुगेको छ। हुन त १० ओभरको टि-टेन तथा सय बलको दी हण्ड्रेड आदि फर्म्याटका क्लब प्रतियोगिताको अभ्यास पनि शुरु नभएको होइन तर आईसीसीले यी फर्म्याटलाई अन्तर्राष्ट्रिय मान्यता दिएको छैन।

आईसीसीको अन्तर्राष्ट्रिय मान्यता प्राप्त तीन फर्म्याट टेस्ट, एक दिवसीय र टी-ट्वान्टी मध्ये हालको सबैभन्दा रोमाञ्चाक र लोकप्रिय फर्म्याट भनेकोचाहिँ टी-ट्वान्टी क्रिकेट नै हो। टेस्ट र एकदिवसीय क्रिकेटभन्दा छोटो समयमा नै सकिने टी-ट्वान्टी फर्म्याटको खेल हेर्न करिब साढे तीन घण्टा खर्चिए पुग्छ। फेरि चाँडै-चाँडै बाउन्ड्री र विकेटको सम्भावना भएका खेलको हरेक बल रोमाञ्चक हुनाले टी-ट्वान्टी खेल अत्यधिक रुचाइएका छन्।

त्यसैले आईपीएलजस्ता टी-ट्वान्टी फ्रेन्चाइज लिगसँगै राष्ट्रिय टिमको टी-ट्वान्टी खेल पनि दर्शकका लागि निकै लोकप्रिय बनिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved