इलाममा एमालेलाई समर्थन गरेर आफ्नै निर्णयविरुद्ध उभियो माओवादी

कोशी नाममा समर्थन जनाएपछि पहिचानको आन्दोलनमार्फत स्थापित भएको दल माओवादी केन्द्रको व्यापक आलोचना भयो । जबकि आदिवासी जनजातिहरूको सघन बसोबास रहेको तत्कालीन प्रदेश १ को पहिचान र सभ्यताका आधारमा नाम राखिनुपर्ने अडानमा पहिचानवादी थिए ।

इलाममा एमालेलाई समर्थन गरेर आफ्नै निर्णयविरुद्ध उभियो माओवादी

काठमाडौं । २०७९ फागुन १७ गते तत्कालीन प्रदेश १ को नामाकरण गरियो— कोशी प्रदेश । प्रदेशको नाम कोशी राख्ने प्रस्ताव थियो नेकपा (एमाले) को र समर्थक दलहरू थिए, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ।

कोशी नाममा समर्थन जनाएपछि पहिचानको आन्दोलनमार्फत स्थापित भएको दल माओवादी केन्द्रको व्यापक आलोचना भयो । जबकि आदिवासी जनजातिहरूको सघन बसोबास रहेको तत्कालीन प्रदेश १ को पहिचान र सभ्यताका आधारमा नाम राखिनुपर्ने अडानमा पहिचानवादी थिए ।

तर, आफूहरूको मागविरुद्ध नामाकरण भएपछि उनीहरू सङ्घर्ष समिति गठन गरेर आन्दोलनमा उत्रिए । जुन अहिलेसम्मै निरन्तर छ । त्यही समितिका संयोजक डकेन्द्रसिंह थेगिम (Dakendra sing thegim) अहिले चुनावी मैदानमा छन् । उनले पहिचानवादीको तर्फबाट वैशाख १५ मा हुने इलाम २ को उपनिर्वाचनमा स्वतन्त्ररूपमा उम्मेदवारी दिएका छन् । उनलाई ४५ भन्दा धेरै पहिचान समर्थित जातीय तथा सांस्कृतिक सङ्घसंस्थाहरूले समर्थन जनाएका छन् ।

कोशी नाममा समर्थन जनाएपछि भएको व्यापक आलोचना थेग्न नसकेर अन्तत: माओवादी केन्द्रले नामाकरणका क्रममा गम्भीर गल्ती गरेको निष्कर्ष निकाल्यो र आफू स्पष्टरूपमा पहिचानकै पक्षमा रहेको बतायो ।

कोशी नाममा समर्थन जनाएको २२ दिनपछि २०७९ चैत २२ गते माओवादी केन्द्रले निर्णय नै गर्दै भन्यो— पूर्वमा कोशी प्रदेश नामकरण भयो । त्यस विषयमा आन्दोलन उठिरहेको छ । त्यसमा हाम्रो पार्टीको अडान के हो भन्ने प्रश्न उठेको पाइयो । हाम्रो पार्टी स्पष्टसँग पहिचानकै पक्षमा छ । पहिचानकै पक्षमा अडान राख्नुपर्थ्यो, त्यतिखेर अलिकति कमजोरी भएको छ । अब प्रदेश कमिटीलाई हामीले पहिचानकै पक्षमा छौँ भन्ने कुरा रिजर्भेसन राख्ने कुरा भएको छ ।

माथिबाट यस्तो निर्णय भएपछि माओवादीको कोशी प्रदेशले पनि २०८० भदौ ३ गते आन्तरिक सर्कुलरमार्फत गम्भीर गल्ती भएको बतायो । प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ र सचिव गणेश उप्रेती ‘सुशील’हस्ताक्षरित सर्कुलरको बुँदा नं. ३ मा प्रदेश नामाकरणमा गम्भीर गल्ती भएको स्वीकारोक्ति छ ।

त्यहाँ भनिएको छ— प्रदेश नामाकरण सम्बन्धमा पार्टी र संसदीय दलले गरेको कमजोरीप्रति गम्भीर समीक्षा र आत्मालोचनासहित प्रदेशको नाम बहुपहिचानको आधारमा पुनः नामाङ्कन गर्न हाम्रो पार्टी, दृढताका साथ प्रतिबद्धता व्यक्त गर्दछ ।

इलाम २ उपनिर्वाचन : कसले जिते के अर्थ लाग्छ ?

तर, अहिले आएर माओवादी केन्द्रले आफ्नै निर्णय र सर्कुलरविरुद्ध अघि बढ्ने निर्णय गरेको छ । स्पष्टरूपमा पहिचानको पक्षमा उभिने प्रतिबद्धता जनाएको माओवादी केन्द्रले उपनिर्वाचनमा आफैँले ‘पहिचान विरोधी’ करार गरेको दल नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङ (Suhang nembang) लाई समर्थन जनाउने निर्णय गरेको छ ।

नामाकरण सम्बन्धमा गरेको गल्ती सच्याउने हो भने उसले पहिचानवादीको तर्फबाट स्वतन्त्ररूपमा उम्मेदवार बनेका डकेन्द्रसिंह थेगिमलाई समर्थन जनाउनुपर्थ्यो । तर, माओवादी त्यसो नगरी आफ्नै निर्णयविरुद्ध उभियो ।

किन यस्तो भयो ? भन्ने नेपालभ्युजको जिज्ञासामा माओवादी केन्द्रका सचिव राम कार्की गठबन्धनलाई कारण देखाउँछन् । अहिले माओवादी केन्द्र नेतृत्वको सरकारमा एमाले सत्ता साझेदार दलका रूपमा छ । त्यसैले माओवादी केन्द्रले आफ्नो उम्मेदवार धिरेन शर्मालाई ‘ब्याक’ गराएर पनि एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गर्ने निर्णय गरेको हो ।

कार्की भन्छन्, “समर्थन गरे राम्रै हुने हो । तर, माओवादी केन्द्रले यतिको आँट कहाँबाट गर्नु । एमालेलाई नै समर्थन गर्छ । त्यहाँभित्र विभिन्न कुरा छन् ।”

माओवादी केन्द्र, कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ भने आफूहरू पहिचानकै पक्षमा भएको बताउँछन् । उपनिर्वाचनमा मिलेर उम्मेदवारी दिनेबारे पनि पहिचानवादीले कुनै छलफल र संवाद नगरेको भन्दै उनले भने, “अहिलेसम्म कुनै संवाद गर्नुभएको छैन । उम्मेदवारी घोषणाअघि नै संवाद भएको भए सोच्न सकिन्थ्यो कि !”

पार्टी सधैँ पहिचानकै पक्षमा भएको अध्यक्ष मिक्सोको जिकिर छ । “पहिले भएको गल्तीको समीक्षा हामीले गरिसकेका छौँ,” उनले नेपालभ्युजसँग भने, “अहिलेको गल्तीलाई अर्को गल्ती भन्न सकिँदैन ।” केन्द्रीय गठबन्धनमा माओवादी केन्द्र र एमाले एउटै गठबन्धनमा हुँदा पनि समर्थन गर्ने बाध्यात्मक अवस्था रहेको उनले दाबी गरे ।

जे होस्, माओवादी केन्द्रले यसअघि गरेको निर्णयअनुरूप एमालेलाई समर्थन नगरीकन पहिचानवादीको पक्षमा उभिन सकेको भए यसअघि धर्मराएको विश्वास जाग्न सक्थ्यो भन्ने आशा राख्नेहरू भने अहिले निराश भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved