को बन्ला यस वर्षको महामूर्ख ?

को बन्ला यस वर्षको महामूर्ख ?
गत वर्षको महामूर्ख सम्मेलनको तस्वीर

जनकपुरधाम । जनकपुरधाममा होली पर्वको उपलक्ष्यमा मनाइने होली महोत्सव अन्तर्गत महामूर्ख पदवी प्रदान गर्नको लागि महामूर्खको खोजी कार्य सुरू भएको छ ।

होली पर्वको अवसरमा मिथिला नाट्यकला परिषद् (मिनाप)ले प्रत्येक वर्ष धुमधामसंग मनाउँदै आएको दुई दिवसीय होरी(होली) महोत्सव अन्तर्गत आयोजना गरिने महामूर्ख सम्मेलनको लागि महामूर्खको खोजी सुरू गरिएको मिनापका महासचिव शैलेन्द्र मल्लिकले बताए ।

होलीको अवसरमा जनकपुरमा आयोजना गरिने महामूर्ख सम्मेलन प्रसिद्ध छ । मिथिला क्षेत्रको सांस्कृतिक अभियानमा अग्रणी भूमिका खेलेको दाबी गर्ने मिथिला नाट्य कला परिषद् (मिनाप) यसको आयोजक हो ।

मिनापले मिथिला क्षेत्रबाट उच्च तहको बौद्धिक काम गर्ने एक जनालाई हरेक वर्ष छनौट गरेर महामूर्खसहित विभिन्न व्यंगात्मक पदवीबाट सामाजिक सम्मान गर्ने चलन छ । जुन मिथिला क्षेत्रमा चर्चित छन् ।

मिथिला नाट्य कला परिषद्कै भनाइलाई सत्य मान्ने हो भन्ने विभिन्न क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई वर्षै पिच्छै छनौट गरेर यो पदवीबाट सामाजिक सम्मान दिने चलन छ ।

आपसी भाईचाराको रूपमा लिइएको होली पर्वलाई जनकपुरधाममा हिन्दुसंगै मुस्लिम युवाहरूले पनि संगै मिलेर होली मनाएर आपसी सौहार्दताको परिचय दिँदै आएका छन् ।

मिथिलामा वसन्त पंचमीको आगमनसंगै होली गीत गाउन सुरू गरिन्छ । तर, अहिले आएर ग्रामीण इलाकामा फागु गीत गाउनेमा कमी हुन थालेपछि लोपोन्मुख फागु गीतलाई जगेर्ना गर्ने मिनापले विगत २८–२९ वर्षदेखि होरी महोत्सवको आयोजन गर्दै आएको छ ।

फागुपूर्णिमाको पूर्वसन्ध्यामा आयोजना हुने दुई दिने होली महोत्सवको पहिलो दिन फागु गीत प्रतियोगिता तथा दोस्रो दिन महामूर्ख सम्मेलनको आयोजन गरिन्छ  । मिनाप महासचिव मल्लिकले मैथिली भाषा, साहित्य, कला, संस्कृति तथा लोकगीतको संरक्षण गर्न होली महोत्सव आयोजना गरिएको बताए ।

फागु गीत प्रतियोगितामा धनुषा, महोत्तरी, सिरहा, सप्तरी र सर्लाहीका आधा दर्जन ग्रामीण समूह सहभागी हुने मिनापका महासचिव मल्लिकले जानकारी दिए ।

महोत्सवको दोस्रो दिन आयोजन हुने महामूर्ख सम्मेलनमा समाजका अगुवा व्यक्तित्वलाई विशेष मानपदवी प्रदान गर्ने चलन छ । जसअन्तर्गत महत्वपुर्ण व्यक्तिलाई महामूर्खको उपाधी प्रदान गरिन्छ । जस अन्तर्गत महामूर्ख तथा अन्य उपाधीकर्तालाई मिथिलामा उत्पादन गरिएका तरकारीहरूको माला वनाएर लगाउने प्रचलन रहेको छ ।

यस्तो छ सम्मेलनको इतिहास

महामूर्ख सम्मेलन नेपालको विभिन्न स्थानमा हुँदै आएपनि जनकपुरमा यसले निकै उचाई पाएको छ । तर, यसको प्रारम्भ नेपालको विरगंजबाट भएको हो । विरगंजमा विसं २०५० सालमा पहिलोपटक यो सम्मेलनको आयोजना गरिएको थियो । पहिलो पटकको महामूर्ख लाला माधवेन्द्र जी भएका थिए ।

यो सम्मेलनको परिकल्पनाकारमध्ये एक रहेका मैथिली साहित्य परिषदका पूर्व महासचिव एवं चर्चित पत्रकार चन्द्र किशोर झा भन्छन्, “नेपालमा विसं २०४६ सालमा बहुदल आएको थियो । राजनीतिक रूपमा परिवर्तनको समय थियो । यो परिवर्तनमा सामाजिक तथा साहित्यिक क्षेत्रका व्यक्तिहरूको योगदानको आवश्यकता थियो, यस्तो अवस्थामा यो कन्सेप्ट आएको थियो ।”

“समाजमा रहेको विकृति विसंगतिलाई समाप्त गर्न व्य‌ंग्यले निकै ठूलो भूमिका खेल्ने गर्छ” झाले थपे ।

महामूर्ख सम्मेलन प्रकृतिको कार्यक्रम भारतमा पनि पहिले देखिनै हुँदै आएको छ ।

विसं २०६१ देखि जनकपुरधाममा महामूर्ख सम्मेलनको आरम्भ गरिएको थियो । विसं २०६१ मा महामूर्खको उपाधि मैथिली कवि नरेश ठाकुर, विसं २०६२ मा तत्कालीन नेकपा (एमाले) का नेता शीतल झा, २०६३ मा तत्कालीन जनकपुर नगरपालिकाका प्रमुख हरिबहादुर बिसी, २०६४ मा तत्कालीन सद्भावना पार्टीका नेता ओमकुमार झा, २०६५ मा वरिष्ठ साहित्यकार डा.राजेन्द्र विमल, २०६६ मा पूर्वमन्त्री रामचन्द्र झालाई महामूर्ख उपाधि दिइएको थियो ।

यस्तै, विसं २०६७ मा नेपालका चर्चित राजनीतिक विश्लेषक सिके लाल, २०६८ मा साहित्यकार रामभरोष कापडि भ्रमर, २०६९ मा नेपाली कांग्रेसका नेता रामसरोज यादव, २०७० मा तमलोपाका वरिष्ठ नेता डा.विजयकुमार सिंह, २०७१ मा नेता शत्रूधन महतो, २०७२ मा श्मशानघाटको स्वरूप परिवर्तन गरी आधुनिक स्वर्गद्वार बनाएर चर्चा बटुलेका पवन सिंघानीयालाई महामूर्खको उपाधि प्रदान गरिएको थियो ।

विसं २०७३ मा सप्तरीको मलेठमा नेकपा (एमाले)ले गरेको मेची–महाकाली अभियानका क्रममा प्रहरीको गोली लागेर पाँच जनाको मृत्यु भएपछि अन्तिम समयमा मिनापले सो कार्यक्रम स्थगित गरेको थियो ।

विसं २०७४ मा महामूर्खको उपाधि तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल र विसं २०७५ मा जसपाका नेता लालकिशोर साहलाई प्रदान गरिएको थियो ।

त्यस्तै, विसं २०७६ मा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, २०७७ सालमा महजोडी मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य एवं २०७८ सालमा अर्थविद डा भोगेन्द्र झालाई महामूर्खको उपाधि प्रदान गरिएको थियो भने २०८० को महामूर्खको उपाधि जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहलाई प्रदान गरिएको थियो ।

मिथिला नाट्यकला परिषदले प्रत्येक वर्ष महामूर्खसहित १५ जनालाई पदवी प्रदान गर्दै आइरहेको छ । त्यसमध्ये सबभन्दा बढी चासोका साथ महामूर्खको उपाधिलाई हेरिन्छ । सोही अनुरूप यसवर्ष पनि यस पदवीका लागि विभिन्न आकांक्षीको नाम चर्चामा छ ।

मिनापका महासचिव शैलेन्द्र मल्लिकले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, सभामुख रामचन्द्र मण्डल लगायत विभिन्न सांसद तथा सामाजिक अभियन्ताको नाम चर्चामा रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved