‘बजार उच्छृङ्खल गीतले भरिए, हराए परम्परागत होली गीत’ 

वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म मिथिलाञ्चलका घर, गाउँ, टोल र छिमेकमा यस्ता गीतहरू गुन्जिन्थे । तर, अहिले गीत गाउने मान्छेहरू छैनन्, फलत: गीतहरू लोप हुँदै गएका छन् । 

‘बजार उच्छृङ्खल गीतले भरिए, हराए परम्परागत होली गीत’ 

शिव मठ पर राम खेलैए होली
ओ शिव मठ पर..

वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म मिथिलाञ्चलका घर, गाउँ, टोल र छिमेकमा यस्ता गीतहरू गुन्जिन्थे । तर, अहिले गीत गाउने मान्छेहरू छैनन्, फलत: गीतहरू लोप हुँदै गएका छन् ।

क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बस्ने ७० वर्षीय बेचन विराजी पुर्ख्यौली बाजा मृदङ्ग बजाइ फागु गीत जोगिरा गाउन नपाएकामा दुखी छन् । “पहिले-पहिले यस्ता फागु गीत जोगिरा वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाउँ-गाउँ, टोलटोल घुमेर फागु पर्वको आगमन भएकोबारे गीत गाएर जानकारी दिने परम्परा थियो । तर, अब गाउँका युवा वैदेशिक रोजगारको क्रममा खाडी मुलुक गएका र गीत गाउने बूढापाकाको कमी भएका कारण न त त्यति मात्रामा ढोल मृदङ्ग नै बज्छ, न त फागु गीत नै गाइन्छ ।”

महेन्द्रनगरकै ७२ वर्षीय पचकौरी साह बजारमा उछृङ्खल गीतहरू भरिँदा संस्कृतिसँग जोडिएका गीत/सङ्गीतहरू हराएको ठान्छन् ।

“होली गीतमा पहिले कामोत्सवको मर्म, धार्मिक र आधुनिक विशिष्टता, जीवनको उमङ्ग, ऊर्जा, संस्कृतिको प्रकाश, परम्पराको आधार, पिरती तथा उन्मुक्ति थियो । तर, अब उच्छृङ्खल गीतहरू आएकाले होलीमा माधुर्य र प्रेमभाव मिसिएको गीत विरलै सुन्न पाइन्छ,” साह चिन्ता बोल्छन् ।

त्यस्तै गुनासो राम अवतार ठाकुरको पनि छ । “जोगिरा सररर, कौन ताल पर ढोलक बाजे, कौन ताल मृदङ्ग, कौन ताल पर गौरिया नाचे, कौन ताल पर हम जोगिरा सररर; यस्ता गीत सुन्न पाइएन । न त मृदङ्ग ढोल डम्फाको स्वर नै सुन्न पाइन्छ,” उनले भने ।

सांस्कृतिक एवम् ऐतिहासिक पर्व फागुले साह र ठाकुरलाई मात्र होइन, महेन्द्रनगर धनुषाका ७० वर्षीय रामगुलाम यादवलाई पनि त्यति मनोरञ्जन दिन छाडिसकेको छ ।

उनी भन्छन्, “होलीको पौराणिकता अब हराइसकेको छ । दिनहुँजसो हुने झैँझगडा, रागद्वेषको कारण होली गीत गाउन नै छाडिएको छ । होलीको तर्क, दर्शन, लौकिकतालाई गम्भीरतापूर्वक नलिइएकाले अहिलेको होलीमा सङ्कीर्णता छाएको छ । अबको होली होली नभएर भोगवादी र शहरमुखी होली भएकाले यसको पौराणिकतासंँग जोडिएको होली गीत हराउँदै गइरहेको छ ।”

पहिले पहिले बूढापाकाले रात परेपछि गाउँको बीचमा रहेको चौपालमा झ्याल, मृदङ्ग, ढोल, डम्फा र तुरकी लिएर समूहगतरूपमा होली गीत जोगिरा गाउने गरेको रामतपेश्वर दास बताउँछन् । “अब त्यो समय हराएर गएको छ,” उनलाई चिन्ता छ ।

अधिकांश युवा कामका लागि खाडी मुलुक गएकाले होली गीत हराउँदै गएको बताउँदै जनकपुरधामका वरिष्ठ पत्रकार तथा साहित्यकार रामभरोस कापडी भन्छन्, “अबको होली प्रेम र सद्भावको नभएर वैमनस्यतापूर्णतामा पुगेको छ । भाङको ठाउँमा रक्सी, प्रेम र सद्भावको ठाउँमा रागद्वेष देखापरेकाले अबको होलीको पौराणिकता र माधुर्य हराउँदै गएको छ ।”

धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले अति महत्त्वपूर्ण रहेको होलीले सबै जातजातिलाई प्रभाव पारेको भएपनि होलीको रौनकता नै हराएर गएको छ । फागु पर्व सबै जातजातिले प्रेम र सद्भावका साथ मनाउँदै आइरहेका छन् ।

पहिलेका होली गीतमा धार्मिक तथा सद्भावको सन्देश बढी पाइन्थ्यो । अब उच्छृङ्ल गीतका सिडी चक्का बजारमा बढी पाउन थालिएको छ । यस्तो गीतमा अश्लील शब्द बढी भएको शिक्षक अरुण चौधरीको भनाइ छ ।

मिथिलाको शहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा गाइने यस्ता होली गीतमा विशुद्धरूपमा ग्रामीण होलीको महत्त्व, त्यस भेगको माटाको मन्दमन्द वास्ना हुने भएकाले यस्ता गीतको रक्षा गर्नु आजको आवश्यकता रहेको संस्कृतिविद्को भनाइ छ ।

पौराणिक होली गीतमा विषय वासना, प्रेमालाप, सीताराम र शिव पार्वतीमा केन्द्रित भएर जोगिरा गीत गाउने परम्परा थियो । अबको होली गीतमा पश्चिमी सभ्यता, उच्छृङ्खलता अश्लीलताजस्ता गीतले कब्जा जमाउन थालेकाले यसको माधुर्य समाप्त हुँदै गएको छ ।

वसन्त ऋतुको आगमनसँगसँगै वसन्तोत्सव पर्वका रूपमा मनाइने होली पर्वका अवसरमा गाइने जोगिरा लोप हुन थालेकाले यसको संरक्षणतर्फ मिथिला क्षेत्रमा काम गर्ने संस्था अगाडि आएर यसको पौराणिकता र सांस्कृतिक महत्वलाई संरक्षण गर्नुपर्ने संस्कृतिविद् बताउँछन् ।

संस्कृतविद्हरूको एउटै स्वर छ— होली यस्तो हुनुपर्छ, जहाँ महिला-पुरुष निर्धक्क भएर बाहिर निस्कन सकून् । होलीलाई एउटा यस्तो आदर्श बनाउनुपर्छ कि देश र दुनियाँले होली खेलोस् त मिथिलावासीजस्तो, जोगिरा सररर… ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved