यस वर्ष मधेस प्रदेशबाट ८१ हजार ७६८ विद्यार्थीले एसइई दिने

नेपालभ्युज

यस वर्ष मधेस प्रदेशबाट ८१ हजार ७६८ विद्यार्थीले एसइई दिने
फाइल फोटो

जनकपुरधाम । मधेस प्रदेशबाट यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा धनुषाबाट सबैभन्दा बढी परीक्षार्थी सहभागी हुँदैछन् ।

चैत १५ गतेदेखि सुरू हुने एसइईमा मधेस प्रदेशबाट कुल ८१ हजार ७६८ परीक्षाार्थी सहभागी हुने शिक्षा विकास निर्देशनालय जनकपुरले जनाएको छ ।

परीक्षामा मधेस प्रदेशको आठ जिल्लामध्ये सबैभन्दा बढी विद्यार्थी धनुषाबाट र सबै भन्दा कम सप्तरीबाट छन् ।

धनुषाबाट ४८९ जना प्राविधिक तर्फका गरी १२ हजार २१४ जना, सिराहाबाट १० हजार ९२३, महोत्तरीबाट नौ हजार ४३१, सर्लाहीबाट १० हजार ८९६, रौतहटबाट ९ हजार ४६९, बाराबाट नौ हजार ४४४ र पर्साबाट १० हजार ६८ र सप्तरीबाट ९ हजार ३२३ जना परीक्षाार्थी सहभागी हुने शिक्षा विकास निर्देशनालय जनकपुरले जनाएको छ ।

शिक्षा विकास निर्देशनालय जनकपुरका निर्देशक दिलीपकुमार ठाकुरले परीक्षाका लागि आवश्यक तयारीहरू द्रूत गतिमा भइरहेको बताए ।

निर्देशक ठाकुरले आठ जिल्लामा २९५ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ भने २९५ केन्द्राध्यक्ष, ५३० सहायक केन्द्राध्यक्ष, चार हजार ९२ निरीक्षक, ८०७ परीक्षा सहायक, एक हजार ६३९ जना कार्यालय सहयोगी गरी जम्मा सात हजार ६५८ जना कर्मचारी खटाइने बताए ।

आवश्यक तयारी करिब पुरा भएका बताउँदै निर्देशक ठाकुरले मधेस प्रदेशका सबै जिल्लामा शिक्षा विकास तथा समन्वय इकाई कार्यालयमा उत्तरपुस्तिका र प्रश्नपत्र जिल्लास्थित जिल्ला प्रहरी कार्यालयमा पठाइ सकेको जानकारी दिए ।

उनले एसइई परीक्षालाई मर्यादित, अनुशासित र व्यवस्थित रूपमा सम्पन्न गराउन आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला परीक्षा समन्वय समितिले निरीक्षण तथा अनुगमन गरिने बताए ।

त्यसैगरी मधेस प्रदेशका शिक्षा तथा संस्कृति मन्त्रालय, शिक्षा विकास निर्देशनालय, शिक्षा तालिम केन्द्र लगायतका निकायलाई समेटेर प्रदेशस्तरीय अनुगमन टोली बनाएर अनुगमन गरिने निर्देशक ठाकुरले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved