पाँच लाख ऋणले सकियो बिघा जमिन, घरमै आएर लछारपछार गर्छन् साहु

महोत्तरी जिल्लाको औरही नगरपालिका वडा नं. १ निवासी रामकली देवी साह साहुको कुटपिट र अत्याचारबाट ४ वर्षदेखि पिल्सिँदै आएकी छन् । कारण उनले ६ वर्ष अगाडि गाउँकै छविलाल यादव नाम गरेका व्यक्तिबाट लिएको ऋण हो ।

पाँच लाख ऋणले सकियो बिघा जमिन, घरमै आएर लछारपछार गर्छन् साहु

काठमाडौं । महोत्तरी जिल्लाको औरही नगरपालिका वडा नं. १ निवासी रामकली देवी साह साहुको कुटपिट र अत्याचारबाट ४ वर्षदेखि पिल्सिँदै आएकी छन् । कारण उनले ६ वर्ष अगाडि गाउँकै छविलाल यादव नाम गरेका व्यक्तिबाट लिएको ऋण हो ।

उनले आज भन्दा ६ वर्ष अगाडि गाउँकै एक धनाढ्यबाट घर धितो राखेर २ लाख र एक बिघा जमिन धितो राखेर ३ लाख गरी जम्मा ५ लाख ऋण लिएकी थिइन् । त्यो ऋण उनले छोरीको बिहेको लागि लिएकी थिइन् । तर, उनले ऋण समयमै चुक्ता गर्न सकिनन् ।

तर, पनि उनले आफूले सकेजति थोरै थोरै गरेर छविलाल यादव (महाजन) लाई ऋण तिर्दै आएकी थिइन् । ऋण लिएको दुई वर्ष बितिसकेको थियो । रामकलीले १ लाख ८० हजार तिरिसकेकी थिइन् । जसको प्रमाणस्वरूप यो हेर्नुहोस् ।

त्यसपछि उनको घरमा केही गुण्डाहरू आउन थाले र उनीलाई ‘पैसा दे, खाएपछि तिर्न पर्दैन ?’ भन्दै धम्क्याउथे । ती गुण्डा उनकै महाजन यादवले पठाएका थिए ।

उनले सकेको पैसा तिर्दै आइरहेकी थिइन् । तर, उनको महाजन यादवले पैसा पूरै तिर्न भन्दै घरमा आएर धम्क्याउन थाले । त्यसपछि रामकलीको घरमा उनको महाजन यादव मात्र नभएर उनका स-परिवार श्रीमती छोराहरू र केही गुण्डाहरू पनि धम्क्याउन आउथे ।

घर घेर्न आएका उनीहरूको हुलबाट रामकली पटकपटक पिटिएकी छन् । पटकपटक पछारिएकी छन् । पटकपटक यातना खेपेकी छन् । छोरीको कन्यादानको लागि लिएको ऋणले यस्तोसम्मको दिन पनि देखाउँछ भनेर उनले कहिल्यै पनि सोचेकी थिइनन् ।

अहिले उनको घर, खेत, बारी सबै सकियो । बारीमा उनले रोपेको बोट बिरुवाहरू पनि साहु महाजन आएर सबै काटेर लैजान्छन् । उनले उमारेका सबै बालीनाली पाक्न नपाउँदै बारीबाटै साहुको घरमा पुग्छ । यो क्रम चलेको करिब ४ वर्ष बितिसक्यो ।

उनीसँग महाजनको यो प्रताडनापूर्ण व्यवहारलाई सहेर बस्नुको अर्को विकल्प छैन । ऋण खाएकै कारण महाजनको अत्याचारको उनले पटकपटक प्रतिकार गर्न पनि खोजिन्, आवाज उठाइन्, सम्बन्धित निकायको ढोका पनि ढक्ढकाइन् । तर, उनलाई कतैबाट न्याय मिलेन ।

उनी भन्छिन्, “समाजका सबै मानिसहरू महाजनसँग डराउाछन्, उसको खिलाप केही पनि बोल्न सक्दैनन् । मेयरलाई भन्दा मर, बरु म मुचुल्का उठाउँछु भन्छ । प्रहरीले मुद्दा दर्ता गर्न मान्दैन ।”

उनी अन्तिम आश सरकार नै भएकाले ज्यानको माया मारेर सबैथोक त्यागेर काठमाडौं आएको बताउँछिन् । उनको शरीरका विभिन्न भागमा चोटपटक पनि छ, उनी त्यो चोट महाजनकै परिवारले दिएको बताउँछिन् ।

उनी अहिले २५ दिनको पैदलयात्रा तय गरेर सङ्घीय राजधानी काठमाडौं पसेकी छिन् । उनी विश्वास व्यक्त गर्छिन्, “पुन: जीवन पाउँछु, महाजनको यातनाबाट छुटकारा पाउँछु, सरकारले पक्कै पनि न्याय दिन्छ भनेर नै म यतिबेला सरकारको शरणमा आएको हुँ ।”

यतिबेला उनको आवाज अन्य मिटरब्याज पीडितहरूसँगै मिसिएर काठमाडौंका विभिन्न सडकहरूमा गुन्जिरहेको छ । त्यस्तै महोत्तरीकै अर्की मिटरब्याज पीडित देवोदेवी भन्छिन्, “साहुले ६० हजारको लागि ३ कठ्ठा खेत लिलाम गरिदियो, जग्गाको टेन्सनले म घरमा बस्दिनँ । घरमा छोरा बुहारी छन्, उनीहरूलाई नि दिनदिनै टर्चर दिन्छन् ।”

आजभन्दा १० वर्ष अगाडि देवोदेवीको सासू बिरामी परिन्, घरको आर्थिक स्थिति कमजोर भएकै कारण उनले सासूको उपचारको लागि गाउँकै प्रेमलता नाम गरेकी व्यक्तिसँग ३० हजार रुपैयाँ ऋण लिइन् । तर, पनि उनले आफ्नो सासूलाई बचाउन सकिनन् ।

सासूको निधनपश्चात् काजक्रियाको लागि उनले फेरि सोही व्यक्तिबाट ३ कठ्ठा जग्गा धितो राखेर ३० हजार रुपैयाँ कर्जा लिइन् र गर्जो टारिन् । उनले लिएको ऋण भाका अवधिमा तिर्न सकिनन् । यद्यपि, विस्तारै-विस्तारै गरेर तिर्दै आइरहेकी थिइन् ।

उनको घरजग्गामा आँखा गाडेकी प्रेमलताले उनको दु:ख बुझ्न चाहिनन् । जग्गा लिलाम गर्ने धम्की आइनै रह्यो । उनले जसोतसो कर्जाको साँवा र तेब्बर भएको ब्याजलाई त चुकाइन् तर, पनि जालझेल गर्न माहिर उनकी महाजनले उनको जग्गा लिलाम गरेरै छाड्यो ।

अहिले उनले ऋण तिरिसकेकी छिन् । तर, पनि आफ्नो जग्गा प्रेमलताकै कब्जामा छ । उनको दु:खको फाइदा उठाएर सहयोगको नाममा सर्वस्वहरण गर्ने प्रेमलतालाई कारबाहीको माग गर्दै यतिबेला उनी काठमाडौंको सडक चहारिरहेकी छन् ।

रोइरहेको दूधे बच्चा काखमा च्यापिरहेकी मञ्जुकुमारी यादवको व्यथा पनि उस्तै छ । उनले ५ वर्षअगाडि आफ्नो श्रीमान्‌लाई विदेश पठाउनका लागि गाउँकै एकजना महाजनबाट ५ लाख रुपैयाँ ऋण लिएकी थिइन् ।

समय बित्दै गयो, विदेशमा उनको श्रीमान्‌को कमाइ पनि राम्रै थियो । ३ बच्चा र वृद्धवृद्धा सासू-ससुराको हेरविचारमा उनी व्यस्त हुने गर्थिन् । श्रीमान्‌को कमाइ राम्रै भएकाले ऋण पनि उनले बेलैमा तिर्दै आएकी थिइन् ।

तर, अचानक उनका श्रीमान् विदेशमै रोगले थला परे । श्रीमान्‌लाई मञ्जुले जेनतेन हारगुहार गरेर नेपाल त झिकाइन् । तर, महाजनको कर्जाले उनलाई च्याप्न थाल्यो । ब्याज बढेर साँवाकै हाराहारीमा पुग्न लाग्यो ।

घरमा स-साना तीन बच्चा, वृद्धवृद्धा सासू-ससुरा र बिरामी श्रीमान् । घरमा खान लाउन नै धौ धौ भइरहेको बेला महाजनले कर्जा चुक्ताको लागि दबाब दिन थाले । अहिले उनको जग्गा महाजनले कब्जा गरिसके तमसुकमा ८ लाखको ऋण देखाइदिएको छ ।

त्यसैको आधारमा महाजनले उनलाई मुद्दा पनि हालेको छ । “जग्गा पनि सकियो, जति तिरे पनि तमसुकको ऋण घट्दैन । अब म के गरूँ, परिवार कसरी सम्हाल्नू, पैसा कसरी तिरूँ, दिनरात महाजन धम्की दिन्छ, म मर्नु न बाँच्नु भएको छु,” उनले दु:ख सुनाइन् ।

उनी सरकारले न्याय दिन्छ भन्ने आशमा त छैनन् । तर, पनि न्यायको लागि सरकारलाई दबाब दिन आएकाहरूको भीडले उनलाई पनि सङ्घीय राजधानी काठमाडौं ल्याइपुर्‍याएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved