क्यान्सर राईटर : समय छोटो छ, तर लामो बाँच्ने रहर छ…

कवि नवराज न्यौपानेलाई साँच्चै बाँच्ने रहर छ । तर, विडम्बना चिकित्सकले उनको आयु नै तोकिदिएका छन् । आफन्तलाई चिकित्सकले सहजै भनिदिए— नवराज ८ महिनाभन्दा बढी बाँच्दैनन् ।

क्यान्सर राईटर : समय छोटो छ, तर लामो बाँच्ने रहर छ…

बिरामी म
समय छोटो छ मेरो
बाँच्ने रहर छ मलाई…

कवि नवराज न्यौपानेलाई साँच्चै बाँच्ने रहर छ । तर, विडम्बना चिकित्सकले उनको आयु नै तोकिदिएका छन् ।

२०८० वैशाख ७ गतेको कुरा हो । नवराजका आफन्तलाई चिकित्सकले सहजै भनिदिए— नवराज ८ महिनाभन्दा बढी बाँच्दैनन् ।

चिकित्सककै घोषणालाई सत्य मान्ने हो भने नवराज अहिले भौतिकरूपमा यो संसारमा हुने थिएनन् । त्यसपछि न मैले यो कथा लेख्नुपर्थ्यो, न तपाईंहरूले हृदयविदारक उनका कथा पढ्न पाउनुहुन्थ्यो । खैर, नवराजलाई शीघ्र स्वास्थ्यलाभको कामना दिएरै थप कथा बुन्छु ।

माथि सुरूमा मैले उल्लेख गरेको हरफ उनै नवराजद्वारा लिखित हुन् । जुन गीतका रूपमा तपाईंहरूले ‘अनुप्रस्थ’ यूट्युबमा भेट्टाउन सक्नुहुन्छ ।

अनुप्रस्थले नवराजलाई धेरै सहयोग गरेको छ । अनुप्रस्थ अर्थात् ‘पार गर्नुपर्ने कठिन ठाउँ’, नवराज पनि अहिले एकखाले अनुप्रस्थमै छन् । त्यहाँबाट उनी जीवनतर्फ मोडिन चाहन्छन् । र त प्रयासरत छन्, अस्पतालको ओछ्यानमा पल्टिएर उनी मृत्युबाट कैयन् टाढा भएको महसुस गर्छन् ।

नवराज मृत्युलाई शब्दहरू देखाएर भुल्याइरहन्छन् । २ वर्षयता ब्लड क्यान्सरजस्तो प्राणघातक रोगबाट ग्रसित उनी मुस्कुराउँदै शब्दहरूसँग खेलिरहन्छन् ।

उनी दिनचर्या सुनाउँछन्, “आठ महिना मात्र समयावधि पाउँदा पनि म रोइनँ । बरु लेख्दै रमाइरहेँ, शब्दहरूसँग खेलिरहेँ । बार-बार जिउने नयाँ आशा बोकेर अगाडि बढिरहेँ । अहिले पनि बढिरहेको छु ।”

त्यसो त नवराज आफूलाई ‘मर्छु’जस्तो लाग्दैन । उनी हिजोआज आशावादी छन् जीवनसँग, थपिँदैछन् बाँच्ने रहरहरू अनि बुन्दैछन् मनमनै जीवनका अनेक रङ्गहरू । तै पनि मनै त हो, कहिलेकाहीँ डराइहाल्छ, डग्मगाइहाल्छ  । कहिलेकाहीँ मृत्युसँग उसै भय पनि नहुने होइन नवराजलाई, तर फेरि पनि उनी त्यो समयलाई शब्दहरूसँग साट्छन् ।

त्यसको सबुत नवराजले जारी पोयट आइडल सिजन २ मा पेश गरेका छन् । आफ्नै अनि आफैँबारे लेखेको ‘गुहार’ शीर्षकको कविता पोयट आइडलको मञ्चमा वाचन गरेका छन् नवराजले । कवितामार्फत उनले भनेका छन्—

हाँस्दै, खेल्दै, रम्दै-रम्दै लौ है म त फेरि आएँ
गयो, भयो अब सकियो भन्नेहरू बीच बीज खुसीको छर्दै आएँ
जे पर्ला-पर्ला विजयको बिगुल आज फुक्दै आएँ
यो म घमण्डचाहिँ कहिल्यै गर्दैन
थाहा छ उसलाई सधैँका लागि
त्यो, तिमी, तपाईं, कोही पनि त रहँदैन
जानी-जानी ढिलपिल-ढिलपिल जिन्दगीको भारी भर्दै आएँ
जत्ति सकिन्छ त्यति, जता भ्याइन्छ त्यता
जहाँ-जहाँ पुग्छु म
मैले जाने/भोगेजति जिन्दगी के हो
बुझ्दै, बुझाउँदै, बाँच्दै आएँ
पटक-पटक मृत्युले थापेको पासो फुस्काउँदै आएँ ।

त्यसो त आफ्नै कवितामा भनेजस्तै नवराज अहिले पनि मुस्कुराइरहेका छन्, बाँचिरहेकै छन् । अझ ठूलो कुरा, पटक-पटक मृत्युले थापेको पासो फुस्काउँदै आएका छन् ।

पोयट आइडल सिजन २ मा जजेजसँग सेल्फी लिँदै नवराज न्यौपाने । जहाँ सम्मान र प्रोत्साहनस्वरूप जजेले उनका कविता सङ्ग्रह सपनाका लहरहरू-२ विमोचनसमेत गरेका थिए ।

नवराजको जस्तो पृष्ठभूमि हुनू र त्यस्तै अवस्था हुनू हो भने यहाँ रहेकाहरूमध्ये कतिजना उनीजस्तै बाँच्न सक्छन्, त्यो थाहा छैन । तर, यत्तिचाहिँ पक्कै हो कि नवराज अपवाद हुन् । जो मृत्युमा पनि जीवनै-जीवन देखिरहन्छ, जो ब्लड क्यान्सर बोकेर पनि मुस्कुराइरहन्छ ।

त्यसो त नवराजलाई दुईपटक ब्लड क्यान्सर भएको भनियो । पहिलो क्यान्सर निको भएको थियो । तर, फेरि बल्झियो । बल्झिएपछि पुन: सामना गर्नुको साटो अर्को विकल्प कहाँ थियो उनीसँग ।

पहिलो क्यान्सर वैदेशिक रोजगारीका क्रममा कुवेतमा रहँदै भएको थियो उनलाई । कुवेतमै ३ महिनाको उपचारपश्चात् उनी नेपाल फर्किए र अहिले जावलाखेल क्यान्सर अस्पतालमा उपचाररत छन् ।

आफ्नो पारिवारिक पृष्ठभूमि कमजोर रहेको गर्वका साथ सुनाउँछन् नवराज । त्यसैले आफ्नो उपचारमा पनि थप सकस भएको सँगै जोड्छन् उनी ।

“कोही-कसैले गरिब भन्न लजाएर मिडल फ्यामिली भन्छन् तर, मलाई भन्न लाज लाग्दैन । म गरिब परिवारकै मान्छे हुँ । त्यसैले थप सकस पनि भइरहेको छ,” उनी सत्य सुनाउँछन् ।

परिवार नै पनि भद्रगोल छ नवराजको । सिन्धुपाल्चोक स्थायी घर भएपनि उनी काभ्रेस्थित मामाघरमा जन्मिए । अहिले ३५ उकालो लागेका उनलाई डेढ वर्षको हुँदै आमाले काठमाडौं ल्याइन् । यहीँ पढे र जवान बने । त्यसपछि रोजगारीका क्रममा मलेसिया, साउदी अरबदेखि कुवेतसम्म पुगे । त्यहीँ उनलाई ब्लड क्यान्सरजस्तो रोगले ग्रस्त बनाएको थाहा भयो ।

नवराज गीतकारभन्दा बढी कवि हुन् । कविताका शब्द-शब्दमा उनले आफूलाई भेट्छन् । उनले यसबीचमा ‘सपनाका लहरहरू-२’ कविता सङ्ग्रहसमेत सार्वजिनक गरे । जुन सङ्ग्रहबाट प्राप्त रकमले उनले उपचार गराइरहेका छन् ।

नवराज न्यौपानेद्वारा लिखित कविता सङ्ग्रह सपनाका लहरहरू-२, जहाँबाट प्राप्त पैसाले उनले उपचार गराइरहेका छन् ।
नवराज न्यौपानेद्वारा लिखित कविता सङ्ग्रह सपनाका लहरहरू-२, जहाँबाट प्राप्त पैसाले उनले उपचार गराइरहेका छन् ।

“मेरो उपचारातार्थ सङ्ग्रह हो सपनाका लहरहरू-२ । त्यहाँबाट प्राप्त पैसाले पनि मलाई उपचारमा सहज बनाइदिएको छ । सपनाका लहरहरू-२ को मूल्य पाँचसय मात्रै छ । मैले किन्नका लागि आग्रहसमेत गरिरहेको छु,” उनले सुनाए ।

पोयट आइडल सिजन २ को मञ्चमा देखेपछि मैले नवराजलाई भेट्न प्रस्ताव गरेँ । किमो लिइरहेको जानकारी गराएर तत्कालै भेट्न नमिल्ने विनम्रताका साथ जानकारी पाएँ । मैले फोन-मेसेन्जरको सहायताबाट थप कुरा गर्ने अनुमति मागेँ । यसपछि यो कथा बन्यो । उनले आफ्ना कथा/कहानी सुनाउँदै गए । मैले सुन्दै गएँ । अन्तिममा जीवन र मृत्युबारे के भन्नुहुन्छ ? सोधेको थिएँ ।

जवाफमा उनले भने, “जीवन जताबाट हेरे पनि युद्धको मैदान हो । प्रेमले जित्न सके उचित हुन्छ । अनि मृत्यु सबैको गन्तव्य हो, लिखितम् हो, नडराऔँ । सुख त त्यस्तै हो, मिल्ला/नमिल्ला, खुसीचाहिँ आफ्नै मनभित्र खोज्नुपर्छ ।”

उसो त ब्लड क्यान्सरजस्तो प्राणघातक रोगबाट ग्रसित अधिकांश बिरामी डिप्रेसन भएरै बढी बित्छन् । उनीहरू आइसोलेट भएर बस्नुपर्छ । त्यही समय धेरै डिप्रेसनमा पुग्ने गर्छन् । तर, नवराज आइसोलेट हुँदा पनि एक्लै हुँदैनन् । उनका साथमा हजारौं शब्दहरू सँगै हुन्छन् । उनी कविता र कविताका शब्दसँगै सयर गरिरहन्छन्, खेलिरहन्छन् ।

मृत्युसँग पनि नडराउने नवराजको यो अदम्य साहसलाई कतिपयले ‘ठग’ को संज्ञासमेत दिएका छन् । तर, त्यसलाई पनि उनले ठूलोरूपमा लिएका छैनन् । उनको दुखेसो छ, “भन्नेहरूले भन्दै गर्छन् । के गर्नु, मेरो पनि त नियति यस्तै छ । तर, ठग्नु हुँदैन भन्ने मेरो जीवनकै एकमात्रै सिद्धान्त हो ।”

नवराज आफ्ना लागि कविता नै सबैथोक भएको जिकिर गर्छन् । खुसी, दु:ख, एक्लोपन सबै-सबैतिर आफू कवितासँगै रहने गरेको सुनाउँछन् उनी । “आइसोलेट भएर बाँच्नुपर्दा कति धेरै त डिप्रेसन भएरै मर्छन् । तर, म त कविताहरूसँगै हुन्छु । शब्दहरूसँगै हुन्छु,” उनले भने ।

उनी क्यान्सर बोकेर पनि लेखिरहन्छन् । त्यसैले त उनले आफूलाई ‘क्यान्सर राईटर’ भन्छन् । उनले आफ्नो फेसबूक बायोमा पनि त्यही राखेका छन् ।

खैर, अन्तिममा नवराजले आफूलाई भगवान्‌कै साथमा छाडिदिए । भने, “मेडिकल साइन्सले नै भनिसक्यो । अन्तिममा त सबै नै जानै हुन् । के गर्नू, भगवान् भरोसा !”

सँगै नवराजको अन्तिम आग्रह थियो- ‘लिन चाहनेहरूले उपचारार्थ कविता सङ्ग्रह सपनाका लहरहरू-२ लिइदिए मलाई सहज हुन्थ्यो ।’ नवराज, जसले पुस्तक बेचेरै उपचार गराइरहेका छन् । यसपछि मलाई उनले आफ्नो सम्पर्क नम्बर ९८६०४६८२७४ उपलब्ध गराए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved