मनिषा कोइरालाको विरोधाभासी राष्ट्रवाद : देशभक्ति कि पिताभक्ति ?

सुन्नुहोस्

मनिषा इतिहासमा दरकिनार भइसकेको निरङ्कुश राजतन्त्रको पैरवी यसर्थमा गर्दैछिन् कि त्यो फर्किए उनका पिता प्रकाश फेरि ‘राजाको मन्त्री’ हुने छन् । राज्यसत्तामा उनको परिवारको पहुँच फेरि बढ्नेछ । यति निम्न कोटीको छुद्र स्वार्थका लागि उनी जस्ती नाम चलेकी अभिनेत्री लोकतन्त्र र नागरिक अधिकारविरुद्ध उभिन्छिन् भने त्यो राष्ट्रवाद हैन, राष्ट्रघात हो ।

मनिषा कोइरालाको विरोधाभासी राष्ट्रवाद : देशभक्ति कि पिताभक्ति ?

काठमाडौं । अभिनेत्री मनिषा कोइराला ‘राष्ट्रवाद’ बारे विवादास्पद अभिव्यक्ति दिएर अहिले चर्चामा छन् । शनिबार उनले एक कार्यक्रममा ‘ग्लोबलाईजेसन’ को विरोध गर्दै नेपालमा राष्ट्रवाद कमजोर भएको तर्क मात्र गरिनन्, धुमिल छवि भएका पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राष्ट्रवादको आदर्शका रूपमा चित्रणसमेत गरिन् ।

मनिषा कोइरालाको राजनीतिक पृष्ठभूमि हेर्दा उनका यस्ता अभिव्यक्ति अनपेक्षित थिएनन् । तर, स्वयम्‌‌ उनको जीवनका कर्म र परिवेशसँग उनको तर्क प्रणाली नमिलिरहेको हुँदा धेरैलाई त्यो विरोधाभास पाखण्ड प्रतीत भयो । र, सामाजिक सञ्जालमा मनिषाका अभिव्यक्तिको विरोधमा तीव्र प्रतिक्रिया आए ।

मनिषा कोइरालाले आफ्नो जीवनको अधिकांश समय भारतमा बिताइन् । मूलतः हिन्दीलगायत विभिन्न भारतेली भाषाका सिनेमामा काम गरिन् । रुचिको काम र पेशा गर्न पाउने उनको अधिकार र स्वतन्त्रताप्रति कसैको कुनै आपत्ति पनि थिएन । भारतेली, नेपाली र विश्वभरिकै दर्शकले उनका सिनेमा र अभिनय रुचाएका थिए । तर, जीवनभरि भारतेली सिनेमाका लागि काम गरेकी एक अभिनेत्रीले जब ‘राष्ट्रवाद’ का नाममा नेपाली जनतालाई अनावश्यक सङ्कीर्णतातिर उक्साउने प्रयत्न गर्छिन् भने त्यो पक्कै सङ्गतिपूर्ण र शोभनीय देखिन्न ।

भारतीय सिनेमाको तुलनामा मनिषाले नेपाली वा नेपालीय भाषाका सिनेमा एकदमै थोरै लगभग नगन्य मात्र काम गरिन् । भलै कि उनको सिने जगत्‌मा प्रवेश नेपाली भाषाको ‘फेरि भेटौँला’ बाट भएको थियो । नेपाली राष्ट्रियताको उनलाई यतिधेरै माया थियो भने देशमै बसेर नेपाली सिनेमाकै लागि किन काम गरिनन् भन्ने प्रश्न स्वाभाविकरूपमा उठ्छ ।

त्यसको उत्तरमा उनले ‘पैसा र अवसर’को कुरा गर्लिन् । हिन्दी सिनेमाको ठूलो र नेपाली सिनेमाको सानो बजेट र बजारको कुरा गर्लिन् । सँगसँगै अर्को प्रश्न उठ्छ, के पैसा र अवसर उनलाई मात्र चाहिएको हो ? जीवनभरि भूमण्डलीकरणबाट फाइदा उठाएको व्यक्तिले अरुलाई सङ्कीर्ण राष्ट्रवादको पाठ पढाउने नैतिक अधिकार राख्छ ?

यसमा कुनै शङ्का छैन, हिन्दी सिने जगत्‌मा उनी एक अब्बल र प्रतिष्ठित अभिनेत्री हुन् । ‘सौदागर’, ‘बाम्बे’, ‘१९४२ : अ लभ स्टोरी’, ‘अग्निसाक्षी’, ‘इस्केप फ्रम तालिवान’, ‘डियर माया’लगायत उनले दर्जनौं सुपरहिट सिनेमामा काम गरेकी छन् । हिन्दी सिने जगत्‌को अभिनय विधामा उनको योगदान विशिष्ठ र गौरव गर्नयोग्य छ ।

तर, उनको राजनीतिक सोच भने सधैँ सन्दिग्ध रहँदै आएको छ । उनी नेपालको लोकतान्त्रिक आन्दोलनका एक किंवदन्ती पुरुष बीपी कोइरालाकी नातिनी पनि हुन् । तर, उनको राजनीतिक सोच भने उनका हजुरबा बीपी कोइरालाभन्दा उनका पीता प्रकाश कोइरालाबाट प्रभावित छ भन्ने दुनियाँलाई थाहा छ ।

उनले आफ्ना केही अन्तर्वार्तामा यो स्वीकार गरेकी छन् कि नेपाली भाषामा उनको राम्रो दख्खल छैन, तसर्थ उनले बीपीको साहित्य र विचार खासै पढेकी र बुझेकी छैनन् ।

वैचारिक उत्तराधिकार जैविक तथा वंशीय उत्तराधिकारबाट आउने पनि हैन । त्यस्तो अपेक्षा कसैले राख्न हुँदैन । कोइराला परिवारमा जन्मिने सबै लोकतन्त्रवादी हुन्छन् भन्ने छैन । तसर्थ अभिनेत्री कोइरालाले आफ्ना हजुरबा बीपीको साहित्य पढ्नैपर्छ र विचार मन पराउनैपर्छ भन्ने छैन । त्यो उनको स्वतन्त्रता र खुसीको विषय हो । नातिनी मनिषाले नपढे पनि बीपीको साहित्य पढ्ने र विचार मन पराउने संसारमा लाखौं मानिस छन् ।

स्वयम्‌‌ जेष्ठपुत्र प्रकाश कोइरालाले बीपीको विचार र नेपाली कांग्रेसको राजनीतिक लाइनलाई सधैँ धोकाबाजी गरे, जसप्रति बीपीको ठूलो अपेक्षा थियो भने नातिनी मनिषाको के कुरा ।

बीपी पुत्र प्रकाश कोइरालाको निरङ्कुश राजतन्त्रप्रतिको मोह २०४६ सालको जनान्दोलनको पूर्वसन्ध्यामै प्रष्ट भइसकेको थियो । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले लिएको निर्दलीय पञ्चायती व्यवस्थाविरुद्धको संयुक्त जनआन्दोलन नीतिको खिलाफमा उनले त्यो बेला नै वक्तव्यबाजी गरेका थिए । लोकतान्त्रिक जनआन्दोलनलाई कमजोर पार्ने, निर्दलीय पञ्चायत र निरङ्कुश राजतन्त्रलाई मद्दत पुग्ने काम गरेका थिए ।

त्यो बेला नै प्रकाश कोइराला नेपाली कांग्रेस परित्याग गरी पञ्चायत प्रवेश गर्ने र मरिचमान सिंह श्रेष्ठ नेतृत्वको सरकारमा मन्त्री हुने हल्ला चलेको थियो । जनान्दोलनको सफलता र निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य भएको हुँदा प्रकाश कोइरालाको सोच सफल हुन पाएन ।

त्यसपछि उनी फेरि कांग्रेसमै फर्किए । सुनसरी र रौतहटबाट उपनिर्वाचन लडे । मनिषा पिता प्रकाशका लागि कांग्रेसको रुख चिह्नमा भोट माग्दै हिँडिन् । बीपी पुत्र हुनुको राजनीतिक लाभ प्रकाशलाई भयो । २०४६ को जनान्दोलन विरोधी प्रकाशको भूमिका कांग्रेसीहरूले बिर्सन चाहे । कांग्रेसभित्रको एक हिस्साको ठूलो विरोधका बाबजुत काका गिरिजाप्रसाद कोइरालाले प्रकाशलाई कांग्रेस राजनीतिमा जबरजस्त पुनर्स्थापित गरे । दुई-दुईपटक प्रतिनिधिसभा सदस्यको टिकट दिए । प्रकाशलाई यसरी टिकट दिन हजारौं निष्ठावान् कांग्रेसीको भाग खोसिएको थियो ।

तर, प्रकाश कोइरालाले आफ्नो चरित्र पुनश्च देखाए, जब ज्ञानेन्द्र शाहको उदय भयो । देश ज्ञानेन्द्र शाहको ‘असोज १८’ र ‘माघ १९’ का प्रतिगामी कदमविरुद्ध चिन्तित र आन्दोलित थियो, उनी मन्त्री खान गए । त्यसपछिका दिनमा मनिषाका पिता प्रकाश कोइराला नेपाली राजनीतिको मूलधारबाट पूर्णतः किनारीकृत छन् ।

बीपी कोइरालाको आफ्नै सङ्घर्षको कथा, विचार र व्यक्तित्व थियो । मनिषा कोइरालाको पनि सिनेमा क्षेत्रमा आफ्नै सङ्घर्षको कथा, योगदान र लोकप्रियता छ । प्रकाश कोइरालाको भने त्यस्तो कुनै ठूलो सार्वजनिक व्यक्तित्व, योगदान, बौद्धिकता र वैचारिक प्रभाव छैन । उनी एक औसत वा सामान्य राजनीतिजिवी मात्र हुन् ।

दूर्भाग्यको कुरा हो कि मनिषाको विचारमा भने कमजोर व्यक्तित्व भएका प्रकाश कोइरालाप्रतिको ‘पिताभक्ति’ देखिन्छ । पिता प्रकाशजस्तो राजनीतिक लाइन लिन्छन्, पुत्री मनिषाले त्यसैलाई साथ दिँदै आएकी छन् । प्रकाश कांग्रेस हुँदा मनिषा कांग्रेसका लागि भोट माग्दै हिँड्थिन् । प्रकाश राजावादी हुँदा उनी पनि राजावादी भएकी छन् । गत आम चुनावमा उनले राप्रपाको आमसभामा भाषण गरेको स्मरण ताजै छ । उनको राजनीतिक उद्देश्य के हो भन्ने जनताबाट लुकेको छैन । उनले आफ्नो सिने जगतको ‘ग्लामर’ उपयोग गरेर जनतालाई भ्रमित गर्ने कुनै ताकत राख्दिनन्, जो उनी गर्न खोज्दैछन् ।

नक्कली राष्ट्रवाद र हिन्दुत्वको आडमा निरङ्कुश राजतन्त्रको पुनर्स्थापना गर्ने प्रयासलाई साथ दिनु मनिषाको पुरानै असफल र कमजोर राजनीतिक लाइनको निरन्तरता हो । तर, आफ्नो यो राजनीतिक उद्देश्यसँग जोडेर उनले राष्ट्रवादको जुन भाष्य पिलाउने प्रयास गरेकी छन्, त्यो भने बिल्कुलै असान्दर्भिक र पाखण्डपूर्ण छ ।

मनिषाले चर्चा गरेको राष्ट्रवाद स्वयम्‌‌ आफ्नो जीवनमा उनले कति अवलम्बन गरिन् ? हिन्दी र भारतीय सिनेमामा उनले जीवनभरि गरेको काम नेपाली राष्ट्रवाद हो कि भूमण्डलीकरण ? जीवनभरि भूमण्डलीकरणले उपलब्ध गराएका सुविधा र अवसर उपभोग गर्ने, बुढेशकालमा देश फर्किएर उल्टै अरुलाई राष्ट्रवाद पढाउने प्रयास कति उचित हो ? कति नैतिक हो ?

साँच्चै भन्ने हो भने मनिषा राम्रोगरी नेपाली भाषासमेत बोल्न जान्दिनन्, अड्कीअड्की अप्ठ्यारो गरी बोल्छिन् । नेपालभित्रका अन्य भाषा, संस्कृतिप्रति उनमा कुनै रुचि, आकर्षण र लगाव देखिन्न । संसारकै सबैभन्दा ठूलो सिने उद्योगकी चर्चित अभिनेत्री भएर नेपालको सार्वजनिक तथा राष्ट्रिय जीवनमा उनले गरेको योगदान के हो, कसैलाई थाहा छैन ।

एक नेपाली सन्तानले बलिउडमा तरक्की गरिन् । आफ्नो अभिनय कला पस्किन, बेचिन, नाम र दाम कमाइन् । त्यतिसम्म ठीक छ । त्यसबाहेक उनले देशका लागि के सिन्को भाँचिन् ? करिअरको  उचाइमा हुँदा उनले कुन सार्वजनिक हित र कल्याणको काम गरिन् ? कुन वैचारिक योगदान गरिन् ? कुन राष्ट्रिय आन्दोलनमा भाग लिइन् ? लोकतन्त्रका लागि लाखौं मानिसले जेलनेल भोगिरहँदा, हजारौंले बलिदान गरिरहँदा उनी कहाँ थिइन् ?

उल्टै तिनै मान्छेलाई उनले राष्ट्रवाद सिकाउँदैछन्, जसले जीवनभरि यही रहेर देशका लागि सकेको गरे ? यहीँ जन्मे, यहीँ हुर्के, यहीँ बाँचे अनि यहीँ मरे ।

मनिषा र मनिषाहरूले यो बुझ्न जरुरी छ कि राष्ट्रवाद निरङ्कुश राजतन्त्रको कुत्सित चाहना लुकाउने रामनामी बर्को हुन सक्दैन । न हिन्दुत्वको बर्कोले यो अपराध ढाक्न सक्दछ, न राष्ट्रवादले । एक्काइसौं शताब्दीका नेपाली जनतालाई नागरिक स्वतन्त्रतता, लोकतान्त्रिक अधिकार, भूमण्डलीकरण र खुलापनबाट वञ्चित गर्ने कुत्सित सपना किमार्थ साकार हुनेछैन ।

मनिषा इतिहासमा दरकिनार भइसकेको निरङ्कुश राजतन्त्रको पैरवी यसर्थमा गर्दैछिन् कि त्यो फर्किए उनका पिता प्रकाश फेरि ‘राजाको मन्त्री’ हुने छन् । राज्यसत्तामा उनको परिवारको पहुँच फेरि बढ्नेछ । यति निम्न कोटीको छुद्र स्वार्थका लागि उनी जस्ती ख्यातिनाम चलेकी अभिनेत्री लोकतन्त्र र नागरिक अधिकारविरुद्ध उभिन्छिन् भने त्यो राष्ट्रवाद हैन, राष्ट्रघात हो ।

राष्ट्र भनेको जनता हो, आम नागरिक हो । आम नागरिकको अधिकार छिन्ने सबै प्रयत्न राष्ट्रवाद हैन, राष्ट्रघात हुन् ।

डोनाल्ड ट्रम्पलाई नेपाली जनतामाझ राष्ट्रवादको प्रतिकका रूपमा उभ्याउने अर्को ठूलो गल्ती गरेकी छन् मनिषाले । ट्रम्पको चरित्र र नेपाली राष्ट्रवादबीच कुनै सम्बन्ध छैन । नेपाली राष्ट्रवादको चरित्र सङ्कीर्ण र मानवताविरोधी रुढीवाद हैन । विश्वलाई नै एक परिवार मान्ने, ‘बसुदैव कुटुम्बकम्’ हो नेपाली राष्ट्रवादको सारतत्व । नेपाली राष्ट्रवादको आदर्श चरित्रहीनता हैन । ट्रम्प हारून् या जितून् त्यो अमेरिकी जनताको सरोकारको विषय हो, नेपालीको हैन । तर, उनको जुन चरित्र र सोच छ, त्यो सङ्कुचित, विवादास्पद र घातक छ ।

जसमाथि कर छलीदेखि बलात्कारसम्मका ९१ वटा मुद्दा छन्, जसले लोकतान्त्रिक आवधिक निर्वाचन परिणाम अस्वीकार गरेर संसद् भवनमा आक्रमण गराउँछ, जो विधिको शासन र भूमण्डलीकरणको विरुद्धमा छ, त्यस्तो पात्रलाई नेपालीमाझ ‘राष्ट्रवादको प्रतीक’ का रूपमा प्रस्तुत गर्नुको कुनै तुक छैन ।

मनिषाले राष्ट्रवादलाई भूमण्डलीकरणको विरुद्ध उभ्याउन खोजेकी छन्, जो एक खतरनाक फाँसीवादी सोच हो । नेपालको विकास भूमण्डलीकरण प्रक्रियामा सामेल भएको कारणले हैन, नगएर, ढिलो गएर कमजोर भएको हो ।

सन् १९५० पछि संसारमा जति पनि देशले आर्थिक तरक्की र समृद्धि हासिल गरेका छन् । ती भूमण्डलीकरणले दिएका अवसरमार्फत सम्भव भएको हो । एकाङ्गी स्थानीय राष्ट्रवादले हैन । नेपाललाई सङ्कीर्ण राष्ट्रवादको चौघेराभित्र बन्दी गर्न खोज्नु झन् धेरै गरिबी, बेरोजगारी र अल्पविकासमा कैद गर्नु हो । बर्बरता र मध्ययुगीन अन्धकारको युगतिर फर्काउन खोज्नु हो ।

संयुक्त राष्ट्रसङ्घ र बहुपक्षीयता संलग्नता भूमण्डलीकरण हो । मानव अधिकारको विश्वव्यापी घोषणापत्र भूमण्डलीकरण हो । आधुनिक विज्ञान तथा डिजिटल प्रविधिको विकास र हस्तान्तरण भूमण्डलीकरण हो । आप्रवासन तथा शरणार्थी अधिकार भूमण्डलीकरण हो । सिंगापुर र चीनजस्ता देशको पछिल्लो समृद्धिको आधार भूमण्डलीकरण हो ।

मनिषा त्यस्तो देशका जनतालाई भूमण्डलीकरणविरुद्ध उकास्ने दुस्चेष्टा गर्दैछिन्, जसको अर्थतन्त्रको आधार विप्रेषण छ । करिब ४२ प्रतिशत परिवारको चुल्हो विप्रेषणबाट चल्छ । स्वयम्‌‌ उनको नाम, दाम चमक धमक भूमण्डलीकरण र विप्रेषणको योगदान हो ।

यदि मनिषाको जस्तो सङ्कीर्ण राष्ट्रवाद सबैले मान्थे त भारतीयले उनलाई सिनेमामा यतिधेरै काम गर्ने मौका दिने थिएनन् । न त उनको आजको नाम, दाम र चमक धमक नै हुन्थ्यो । भारतीयहरू त्यति सङ्कीर्ण राष्ट्रवादी छैनन् जस्तो कि मनिषाले आफ्नो भाषणमा चित्रण गरिन् । भारतमा करिब २० लाख नेपालीले अनौपचारिकरूपमा मौसमी वा स्थायी रोजगार गर्छन् भन्ने तथ्याङ्क मनिषालाई पक्कै थाहा होला ।

नेपालजस्तो भर्खरै लोकतन्त्र, खुल्लापन, उदारीकरण र भूमण्डलीकरणको अवसर उपयोग गर्न थालेको देशलाई रुढीवाद, सङ्कीर्ण राष्ट्रवाद र निरङ्कुश राजतन्त्रतिर फर्काउने चेष्टा यो देशको भविष्य र नयाँ पुस्ताप्रतिको घात र अपराध सावित हुनेछ भन्ने मनिषाले बुझ्न आवश्यक छ ।

समग्रमा मनिषा कोइरालाको राष्ट्रवाद कुनै देशभक्ति हैन, पिताभक्ति मात्रै हो । पिता प्रकाश कोइरालाका कुन्ठित राजनीतिक आकांक्षालाई पक्षपोषण गर्न उनले आफ्नो प्रतिष्ठालाई दाउमा लगाएकी छन् । र आफ्नै हजुरबाको गर्विलो लोकतान्त्रिक सङ्घर्षको इतिहासमाथि कालो पोत्ने दुस्चेष्टा गरेकी छन्, जो बिल्कुलै विरोधाभासी र असङ्गत छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved