‘राममन्दिर’ उद्घाटनपछिको भारतीय राजनीति र नेपालमा पार्ने प्रभाव

अयोध्या ‘राममन्दिर’ पछि यसको सांस्कृतिक, धार्मिक र राजनीतिक प्रभाव नेपालमा पनि अवश्य पर्नेछ । भारतपछि हिन्दू बहुसंख्यक भएको देश नेपाल नै हो । नेपाल-भारतको धार्मिक, संस्कृति, सामाजिक सम्बन्ध र भौगोलिक निकटताले एकअर्कालाई प्रभावित नगर्न सम्भव नै हुँदैन । तर, त्यसका सीमा पनि छन् ।

‘राममन्दिर’ उद्घाटनपछिको भारतीय राजनीति र नेपालमा पार्ने प्रभाव

काठमाडौं । सोमबार भारतको अयोध्या नगरमा ‘राममन्दिर’ को गर्भगृहमा ‘राम लला’ को प्राण प्रतिष्ठा सम्पन्न भएको छ । प्राण प्रतिष्ठा कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रिय स्वयम्‌सेवक सङ्घका अध्यक्ष मोहन भागवत्, उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलगायतका शक्तिशाली राजनीतिक व्यक्तित्व विशेष महत्त्वका साथ सहभागी भए ।

सामान्यतया: यस्तो कार्यक्रम ‘धार्मिक महत्त्व’ मा सीमित हुनु पर्ने हो । हिन्दू अवधारणमा ‘प्राण प्रतिष्ठा’ एक विशेष महत्त्वको धार्मिक अनुष्ठान हो, जसको राजनीतिक उद्देश्य हुँदैन । हिन्दू धर्म एक बहुईश्वरवादी मत तथा सम्प्रदाय हो, जसमा देवीदेवताका मूर्ति स्थापना र पूजन स्वाभाविक मानिन्छ ।

देवीदेवताका मन्दिर निर्माणपछि गर्भगृहमा मूर्ति स्थापना गरिन्छ । मूर्तिमा देवीदेवताको प्राण आएर बसोस् भनेर प्रतिष्ठाको आह्वान गरिन्छ । तर, अयोध्या नगरमा निर्मित राममन्दिर, यसको गर्भगृहमा स्थापित ‘राम लला’ को प्रतिमा र प्राण प्रतिष्ठा समारोहको जति धार्मिक महत्त्व छ, त्योभन्दा बढी यसको राजनीतिक महत्त्व छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले यसको अन्तर्यलाई उच्च महत्त्व दिँदै ‘कालचक्रको दिशा बदल्ने’ घटनाका रूपमा चित्रित गरे । प्राण प्रतिष्ठा समारोहको औचित्यलाई स्थापित गर्न उनी ११ दिन लामो कठोर उपवास बसे । यस ११ दिनभित्र नासिकदेखि धनुष्कोडीसम्म ती सबै स्थानलाई पछ्याउँदै गए, जो रामायणमा वर्णित थिए । राम १४ वर्षको बनबासबाट फर्किएको आभास दिने गरी उनी धनुष्कोडीबाट प्राण प्रतिष्ठाका दिन अयोध्या आए ।

कुनै मन्दिरको निर्माण, मूर्ति स्थापना र प्राण प्रतिष्ठामा प्रधानमन्त्रीको यो स्तरको प्रत्यक्ष, कठोर र सक्रिय संलग्नताले के पुष्टि गर्दछ भने यसको राजनीतिक महत्त्व धेरै ठूलो छ । भारतीय राजनीति र समाज व्यवस्थामा त यसको प्रभाव पर्ने नै भयो । दक्षिण एशिया र समग्र विश्वमा धेरथोर यसको प्रभाव अवश्य पर्नेछ ।

कसैलाई मन पर्नु/नपर्नु भिन्नै कुरा हो, लोकतान्त्रिक छनोटको विषय हो । तर, भारतीय जनता पार्टी आफ्नो विचार, उद्देश्य, लक्ष्य र गन्तव्यप्रति बढो स्पष्ट दल मानिन्छ । र, यो कुरा यस दल र यसका शीर्षस्थ नेताले हरेक पुस्तामा पुष्टि गर्दै आएका छन् ।

भारतीय जनता पार्टी एक दलभन्दा बढी एक विचार, एक आन्दोलन र एक साधनाजस्तो देखिन्छ । यो सजिलोगरी सामाजिक स्वीकार्यता हासिल गरेको र सत्तामा आएको दल हैन ।

यो आन्दोलनको इतिहास शताब्दीभन्दा लामो छ । शताब्दी लामो राजनीतिक सङ्घर्षका सबै कालखण्ड वा मोडमा यो धार उत्तिकै बलियो वा प्रभावशाली थिएन । तर, विचारको प्रभाव, पार्टी र आन्दोलन कमजोर भएको समयमा पनि यसका नेता र कार्यकर्ता अविचलित सङ्घर्षमा सामेल थिए ।

भारतीय जनता पार्टीको वैचारिक इतिहास सन् १९१५ मा गठित अखिल भारतीय हिन्दू महासभासँग जोडिन्छ । त्यसको ठीक १ सय वर्षपछि सन् २०१४ मा भाजपाले पहिलो बहुमत हासिल गरेको थियो । यो आन्दोलनको प्रारम्भमा बिनायक दामोदर सावरकरजस्ता नेता थिए, जसले सांस्कृतिक राष्ट्रवाद र हिन्दूत्वको राजनीतिक दर्शन बनाएका थिए ।

सन् १९२५ मा एक अर्को सङ्गठन अस्तित्वमा आयो, राष्ट्रिय स्वयम्‌सेवक सङ्घ । यसलाई भाजपाको मातृसङ्गठन मानिन्छ । यसका संस्थापक नेता के.बी. हेड्गेबार र सिद्धान्तकार तथा प्रभावशाली प्रचारक एम.एस. गोल्वाल्करको जीवन आफ्नो विचारप्रति उत्तिकै निष्ठावान् थियो ।

सन् १९५१ मा यो वैचारिक धारको राजनीतिक सङ्गठन भारतीय जनसङ्घ बन्यो । यो कालखण्डमा डा. श्यामप्रसाद मुखर्जी र दिनदयाल उपाध्यायजस्ता नेता थिए । मुखर्जी संविधानको धारा–३७० को विरोध गर्न कश्मिर गएको बखत श्रीनगर प्रहरी हिरासतमा मारिए भने अर्का नेता दिनदयाल उपाध्यायको बिहारको मुगलसराह रेलवे स्टेशसनमा रहस्यमय ढंगले हत्या भयो ।

डा. मुखर्जीको निधन भएको करिब ६७ वर्षपछि सन् २०१९ मा प्रधानमन्त्री नरेन्द्र मोदीले संविधानको ३७० खारेज गर्ने प्रस्ताव संसद्‌बाट पारित गराए । यसले के देखाउँछ भने भारतीय जनता पार्टीको राजनीतिमा आफ्नो विचार, आन्दोलन, इतिहास, विरासत र एजेण्डाप्रतिको निष्ठा र प्रतिबद्धता छ ।

अयोध्या राममन्दिरको घटनाले पनि यो कुरा पुष्टि गर्दछ । किनकि अयोध्या रामजन्मभूमि विवाद भाजपाका अहिलेका नेता नरेन्द्र मोदी-अमित शाहभन्दा अघिल्लो पुस्ताका अटल बिहारी बाजपेयी र लालकृष्ण आडवानीको युगमा सतहमा आएको थियो ।

सन् १९९० को सेप्टेम्बर-अक्टोबरमा भजपा नेता लालकृष्ण आड्वानीले ‘अयोध्या रथ यात्रा’ गरेका थिए । यो यात्रा गुजरातको सोमनाथबाट सुरू भएको थियो । रथयात्रा बिहार पुग्दा तत्कालीन मुख्यमन्त्री लालुप्रसाद यादवले साम्प्रदायिक भावना फैलाएको भन्दै रोकेका थिए । फलतः घटनाक्रमले दंगाको रूप लिएको थियो । आरएसएसका स्वयंसेवकले रथ यात्राभन्दा अगाडि नै अयोध्या पुगी बाबरी मस्जिद तोडफोड गर्ने प्रयास गरेका थिए । तर, प्रशासनले निक्कै ठूलो बल प्रयोग गरी रोकेको थियो ।

सन् १९९२ को डिसेम्बर ६ मा त्यहाँ अर्को ठूलो दंगा भयो । त्यो दिन भारतीय जनता पार्टीका आड्वानी, मुरलीमनोहर जोशी र उमा भारतीले राममन्दिर बनाउन दबाब दिने उद्देश्यले आयोजित धार्मिक सभामा भाषण गर्ने कार्यक्रम थियो । १ लाख ५० हजारभन्दा बढी सहभागी थिए । उत्तेजित सहभागीले बाबरी मस्जिद तोडफोड गरे । त्यसपछि भड्किएको दंगामा देशभरि करिब २ हजार मानिसको मृत्यु भएको थियो ।

सोमबारको प्राण प्रतिष्ठा समारोहमा प्रधानमन्त्री मोदीले ती घटनाको स्मरण गरे । त्यसलाई ‘राम भक्ति’ का लागि भएको बलिदानका रूपमा चित्रण गरे । उनले भने; करिब ५०० वर्षपछि ‘राम अयोध्यामा फिर्ता’ आएका छन् । ‘श्रीराम’ लाई भारतबाट कसैले खोस्न सक्ने छैन । राम भारतीय राष्ट्रका प्रतीक हुन् । राम भारतका शान, मान र विधान हुन् । ‘रामराज्य’ भारतीय राज्य र शासनप्रणालीको आदर्श हो ।

प्रधानमन्त्री मोदीले भने कि त्रेता युगमा बनबास गएका राम १४ वर्षमा अयोध्या फर्किएका थिए, यसपटक राम ५०० वर्षमा अयोध्या फर्किएका छन् । यो ‘५ सय वर्ष’ भित्रको कथा भिन्नै छ । यसले भारतीय राजनीति र सभ्यताको कठोर आरोह अवरोहलाई चित्रण गर्दछ ।

हिन्दू विश्वासअनुसार मुगल साम्राज्यका जर्नेल मिर वाकीले सन् १५२८ तिर यहाँको परम्परागत राम जन्मभूमि मन्दिर भत्काएर त्यसैमाथि मुगल संस्थापक बाबरको नाममा ‘बाबरी मस्जिद’ बनाएका थिए । बाबरी मस्जिद भएको स्थान नै राम जन्मभूमि भएको दाबीले हिन्दू र मुस्लिम समुदायबीच लामो विवाद हुँदै आएको थियो ।

हिन्दूहरूको बाबरी मस्जिद भत्काएर पुन राममन्दिर बनाउनुपर्ने माग गर्न थालेपछि यो विवादले ठूला-ठूला दंगा निम्त्यायो । पहिलो दंगा सन् १८५० मा भयो । सन् १९५९ मा अंग्रेज शासकले बीचमा पर्खाल लगाएर एकातिर राममन्दिर र अर्कोतिर बाबरी मस्जिदको क्षेत्र छुट्याएका थिए ।

सन् १८८५ मा राममन्दिरका महन्त रघुविर दासले फैजापुर जिल्ला अदालतमा सोही स्थानमा राममन्दिर बनाउन पाउनुपर्ने भन्दै मुद्दा दर्ता गरे । अदालतले उनको निवेदन अस्वीकार गरेको थियो ।

भारतीय स्वतन्त्रतापछि सन् १९४९ मा गोरखनाथ मठका सन्त दिग्विजय नाथले ९ दिन लामो रामायण सभा अयोध्यामा आयोजना गरे । यो सभामा भेला भएका हिन्दू भक्तजनले जबरजस्ती बाबरी मस्जिदमा प्रवेश गरेर तोडफोड गरेका थिए । प्रकारान्तले करिब २.७७ हेक्टर जमिनको यो विवाद स्वतन्त्र भारतको इतिहासकै सबैभन्दा ठूलो राजनीतिक तथा धार्मिक विवाद बन्न पुगेको थियो ।

उत्तर प्रदेशको फैजापुर जिल्लास्थित अयोध्यानगरलाई लोकप्रिय रामायण महाकाव्यमा उल्लेखित राजा दशरथको दरबार भएको स्थान मानिन्छ । सरयु नदीको किनारामा दशरथको दरबार थियो भन्ने वाल्मिकी रामायणको भाष्यलाई त्यसको प्रमाण मान्ने गरिन्छ । त्यहाँ सरयु नामको नदी छ । सोमबारको भाषणमा प्रधानमन्त्री मोदीले भने, “सागरदेखि सरयुसम्म श्रीराम भारतीय राष्ट्रिय एकताका सूत्राधार हुन् ।”

१६औं शताब्दीमा मुगल भारतीय उपमहादेशमा आए । मुगलहरू तुर्कमेनिस्तानको ‘तैमुरलेङ’ वंशको एक मुस्लिम धर्मावलम्वी हाँगो थियो । बाबरले पानीपत र दिल्लीको युद्धमा स्थानीय रजौटालाई पराजित गरेपछि दिल्लीको सत्ता मुगलहरूको हातमा गएको थियो ।

यो विवाद सन् २०१९, नोभेम्वर  ९ को सर्वोच्च अदालतको फैसलापछि कानूनीरूपमा निरूपण भएको मानियो । फैसलाले विवादित भूमिमा राममन्दिर बनाउन दिनुपर्ने र बाबरी मस्जिद बनाउन भिन्नै ५ एकड जमिन राज्यले व्यवस्था गर्दिनुपर्ने उल्लेख थियो ।

त्यसपछि राममन्दिर निर्माणको क्रम कोभिड १९ लकडाउन र संकटका बीच पनि अघि बढ्यो । जसरी मुखर्जीकालको मुख्य मुद्दा संविधानको धारा–३७० खारेज गर्दा प्रधानमन्त्री मोदी गौरवान्वित देखिन्छन्, त्यसैगरी बाजपेयी-आड्वानी युगको मुख्य सवाल अयोध्या राममन्दिर विवादलाई एक निष्कर्षमा पुर्‍याउँदा मोदीको चेहरामा थप उल्लास र आत्मविश्वास भरिएको देखिन्छ ।

विनायक दास सावरकरबाट गणना गर्ने हो भने मोदी यो विचार र आन्दोलनका पाँचौँ पुस्ताका नेता हुन् । दोस्रो पुस्तामा हेड्गेबार-गोल्वाल्कर, तेस्रो पुस्तामा मुखर्जी-दिन दयाल उपाध्याय, चौथो पुस्तामा बाजपेयी-आड्वानीले यो विचार र आन्दोलनलाई नेतृत्व गरेका थिए ।

राममन्दिर प्राण प्रतिष्ठा समारोहमा भारतका कुनै पनि विपक्षी दलले भाग लिएनन् । यसको अर्थ हो कि उनीहरूले यसलाई धार्मिक अनुष्ठानका रूपमा मात्र नबुझेर एक राजनीतिक महत्त्वको घटनाका रूपमा लिए ।

भाजपालाई छोडेर त्यहाँ मुख्य ४ वैचारिक धारका राजनीतिक दल छन् । पहिलो, भारतीय राष्ट्रिय कांग्रेस र यसबाट फुटेर जन्मेका कांग्रेस समूहका दल नै हुन् । यी दलहरू एक प्रकारका उदारवादी वा प्रजातान्त्रिक समाजवादी हुन्, जसले ‘हिन्दूत्वको राजनीति’ मा विश्वास गर्दैनन् । यो धारका मुख्य नेताका रूपमा अहिले गान्धी-नेहरू परिवारका पाँचौँ पुस्ताका राहुल गान्धी स्थापित छन् ।

उनी भाजपा र कांग्रेसको भिन्नतालाई ‘महात्मा गान्धी र नाथुराम गोड्से’ बीचको भिन्नताका रूपमा चित्रण गर्ने बारम्बार प्रयास गरिरहेका हुन्छन् । उनी आफ्ना भाषणमा बारम्बार भन्छन् कि उनी ‘गान्धी हुन्, सावरकार हैनन’ । यसको सिधा अर्थ हो, राहुल गान्धी कांग्रेसलाई धर्मनिरपेक्ष र उदारवादी दलका रूपमा नै अगाडि बढाउन चाहन्छन् ।

त्यसपछिको अर्को प्रभावशाली धार डा. राममनोहर लोहिया सप्तक्रान्ति र जयप्रकाश नारायणको सर्वोदय आन्दोलनबाट जन्मिएका दल हुन् । यो धारको कुनै केन्द्रित राष्ट्रिय पार्टी छैन । यो धार प्रदेशहरूमा विभक्त छ । बिहारमा आरजेडी र जेडियु, उत्तरप्रदेशमा समाजवादी पार्टी, कर्नाटकामा जनता दल सेक्युलर, उडिसामा विजु जनता दल लगायत यो धारका मुख्य पार्टी हुन् ।

यो धार पनि धर्म निरपेक्षतावादी नै हो, जसले भाजपालाई वैचारिक प्रतिस्पर्धी ठान्दछ । यो धार नराम्रो गरी गुटवाद र परिवारवादमा फसेको छ । कांग्रेस धारको जस्तै समाजवादी धार पनि निरन्तर कमजोर हुँदै छ ।

भारतीय राजनीतिको चौथो ठूलो वैचारिक धार कम्युनिष्ट हो । भारतीय कम्युनिष्टहरू कुनै बेला कांग्रेसपछिको दोस्रो शक्ति थिए । पश्चिम बंगाल र त्रिपुराको प्रदेश वर्चस्व गुमाएपछि यिनीहरू केरलामा सीमित भएका छन् । कम्युनिष्टहरू पनि धर्मनिरपेक्षतावादी नै हुन् ।

पाँचौँ, विभिन्न क्षेत्रीय दलहरू हुन्, जो प्रादेशिक पहिचानमा आधारित राजनीति गर्दछन् । यिनीहरूको एउटै केन्द्र वा शक्ति बन्ने अपेक्षा गर्न सकिँदैन । साथै, यिनीहरूको विचारमा पनि एकरूपता छैन । जस्तो कि महाराष्ट्रको शिवसेना वैचारिक हिसाबले भाजपाकै नजिक छ । तमिलनाडुका डिएमके अहिले विपक्षी गठबन्धनमा छ ।

‘वैकल्पिक राजनीति’ भन्दै दिल्लीबाट उदाएको आम आदमी पार्टीको प्रगति यात्रा पञ्जाबमा गएर रोकिएको छ। यो पार्टी विभिन्न कारणले पछिल्लो चरणमा कमजोर हुँदै गएको देखिन्छ ।

यो वर्षको मध्यतिर भारतमा लोकसभाको नयाँ निर्वाचन हुने छ । दोस्रो कार्यकाल पूरा गर्दै गरेका प्रधानमन्त्री मोदी तेस्रोपटक जित हात पार्ने रणनीतिमा छन् । विपक्षी दल भने भाजपा र  प्रधानमन्त्री नरेन्द्र मोदीसँग एक्लाएक्लै चुनाव लड्न डराएका छन् । उनीहरूले २८ दलको विपक्षी मोर्चा बनाउने प्रयास गरिरहेका छन् ।

अयोध्या राममन्दिर आगामी लोकसभा चुनावमा भारतीय जनता पार्टीका लागि थप एक ‘सफलताको कथा’ बन्ने देखिन्छ । तीव्र आर्थिक वृद्धि, धारा ३७० को खारेजी, विश्वको पाँचौँ ठूलो अर्थतन्त्र, आम डिजिटलीकरण र जी-२० लगायत विश्व रंगमञ्चमा गरिएका भूमिकालाई मोदी शासनकालको सफलताका रूपमा चित्रण गर्ने गरिएको छ ।

भाजपाको राजनीतिक विचार, दर्शन र एजेण्डा नै सांस्कृतिक राष्टवाद र हिन्दूत्व हो भन्ने कुरा यसले कहिल्यै लुकाएको छैन । यस अर्थ भाजपा एक इमान्दार राजनीतिक शक्तिजस्तो लाग्दछ । आफ्नो कुरा जे हो, त्यो भन्ने आँट गर्ने र त्यसका लागि लामो सङ्घर्ष गर्न तयार हुने चरित्रको शक्ति ।

भाजपाको अबको सोच ‘अनिश्चित र अपूर्वानमानीय विश्वको दौरान शक्ति उदय’ को अवसर छोप्नु र ‘सभ्यता-राज्य’ स्थापित गर्नु हो भन्ने मोदी सरकारका विदेशमन्त्री एस. जयशंकरले बारम्बार लेख्दै र बोल्दै आएका छन् ।

तर, धर्मनिरपेक्षतावादी विपक्षी दलहरू भने आफैँ रनभूल्लमा देखिन्छन् । व्यापक मात्राको हिन्दू मतदाता आकारको कारण उनीहरू खुलेर ‘हिन्दूत्वको’ विरोध गर्न पनि सक्दैनन्, न त समर्थन गर्न नै सक्दछन् । भारतीय ‘लेफ्ट-लिबरल’ हरूको राजनीतिक संकट यही बिन्दुमा गतिरोधमा फसेको छ । ‘भारत-भाष्य’विरुद्ध ‘इन्डिया डिस्कोर्ष’ निर्माण गर्न उनीहरूलाई निक्कै गाह्रो भइरहेको छ ।

अयोध्या ‘राममन्दिर’ पछि यसको सांस्कृतिक, धार्मिक र राजनीतिक प्रभाव नेपालमा पनि अवश्य पर्नेछ । भारतपछि हिन्दू बहुसंख्यक भएको देश नेपाल नै हो । नेपाल-भारतको धार्मिक, संस्कृति, सामाजिक सम्बन्ध र भौगोलिक निकटताले एकअर्कालाई प्रभावित नगर्न सम्भव नै हुँदैन । तर, त्यसका सीमा पनि छन् । नेपालका आफ्नै मौलिकता पनि छन्, जसले नेपाली राजनीतिक प्रवृतिलाई फरक गर्न प्रेरित गर्दछ ।

मुगल र ब्रिटिशहरूको गरिब ८ सय वर्ष लामो ‘विजातीय तथा विधर्मी शासन’ भोगेको भारतीय समाजमा ‘हिन्दूत्व’ ‘मौलिकता र मुक्ति’ को सवाल पनि हो । नेपालको समस्या त्यस्तो हैन । नेपालले अहिलेसम्म इतिहासको कुनै पनि कालखण्डमा विदेशी, विधर्मी र विजातीय शासन भोग्न परेको छैन ।

नेपालको शताब्दीऔं लामो समस्या निरंकुशता, वंशवाद, कुशासन, भ्रष्टाचार, अल्पविकास र गरिबी हो । यो मौलिक भिन्नताले नेपालको राजनीति भारतीय राजनीतिकै प्रवृतिमा हिँड्न सक्दैन । नेपाली जनताको यतिखेरको मुख्य चाहना एक उदार आधुनिक लोकतान्त्रिक राष्ट्रिय-राज्य तथा विकास, सुशासन, समावेशीता, सामाजिक न्याय र समृद्धि हो । ऐतिहासिक भोगाइ, मनोदशा र राष्ट्रिय अपेक्षा नै फरक भएका देशको राजनीतिक प्रवृति फरक हुन्छ नै ।

भारतमा ‘राममन्दिर’ पछिको राजनीतिले नेपालका राजावादीले मुख मिठ्याएजस्तो फाइदा नहुने निश्चित छ । पूर्वहिन्दू राष्ट्रको पूर्व राजाका रूपमा ज्ञानेन्द्र शाहप्रति भारतको कुनै रुचि देखिएन । राजावादीहरूले राममन्दिर प्रणप्रतिष्ठा समारोहमा ज्ञानेन्द्र शाहलाई अतिथिका रूपमा निम्त्याइन सक्ने आशा गरेका थिए । तर, यसमा मोदीको कुनै रुचि देखिएन ।

राप्रपा यथार्थमा ‘हिन्दूत्ववादी’ दल पनि हैन, यो मुख्यतः ‘राजावादी’ दल हो । पूर्वपञ्च र शाही निरंकुशताका समर्थकको दल हो । हिन्दूत्व यसको राजनीतिक रोटी सेक्ने तावा मात्रै हो । राप्रपामा कुनै त्यस्तो हिन्दू दर्शन, संस्कार र निष्ठाप्रति समर्पित नेता छैनन्, जो भाजपामा छन् । ज्ञानेन्द्र शाहले अहिलेसम्म २ दिन उपवास बसेको कसैलाई थाहा छैन, जबकी मोदी ‘राम लला’ को प्राणप्रतिष्ठाका लागि ११ दिनको उपबासजस्तो कठोर साधना गर्दछन् ।

तसर्थ राममन्दिरपछिको राजनीतिक विकासक्रमले नेपालमा राजतन्त्रवादी आन्दोलनले जोर पक्रने कुनै अपेक्षा गर्न सकिन्न बरु झनै कमजोर हुन सक्दछ । तर, कांग्रेस-कम्युनिष्टजस्ता ‘लेफ्ट-लिबरल’ दलभित्रै हिन्दू-राज्य र हिन्दूत्वको मुद्दाले दबाब बढाउन सक्दछ । नेपाली कांग्रेसभित्र त यो प्रवृति अहिले नै बलियो छ तर, कम्युनिष्टहरू भित्र पनि बढ्न सक्दछ ।

नेपाल र भारतमा मात्र हैन, कांग्रेस-कम्युनिष्टजस्ता ‘लेफ्ट-लिबरल’ हरूको आज विश्वव्यापी संकट नै यही हो कि उनीहरू द्विधायुक्त र अन्योलग्रस्त छन् । धार्मिक, सामाजिक र सभ्यता सापेक्ष दृष्टिकोण निर्माणमा मात्र हैन, आर्थिक नीति र राजनीतिक प्रणालीको प्रभावकारिताका दृष्टिकोणले पनि यी अन्योलग्रस्त छन् ।

राजनीतिमा अन्योलग्रस्त हुनुको अर्थ आफ्नै विचार, दर्शन र सवालप्रतिको विश्वास र निष्ठा गुमाउनु हो । यस्तो सङ्गठनको कुनै निश्चित उद्देश्य, लक्ष्य र गन्तव्य हुँदैन । तसर्थ, राममन्दिरको हावाले यिनीहरूलाई छुने र प्रभावित गर्ने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved