दिल्लीको ‘आधुनिक कोठी’मा सयौं नेपाली युवती, अनलाईनबाटै चलाइन्छ यौनधन्दा (भिडिओ)

प्रहरीले पक्राउ गरेर नेपाल ल्याएकाले खोले राज

दलालहरूले दुबई पुर्‍याउने आश्वासन दिएर काठमाडौंका दोहोरी साँझ र डान्सबारमा काम गरिरहेका युवतीलाई ‘चिलले चल्ला टिपेझैँ टिप्छन्’ र पुर्‍याउँछन्, दिल्लीका आधुनिक कोठीहरूमा । एउटै समूहले १० वर्षको अन्तरमा करिब २ सय नेपाली युवती भारत पुर्‍याएर यौनधन्दामा लगाएको खुलेको छ ।

दिल्लीको ‘आधुनिक कोठी’मा सयौं नेपाली युवती, अनलाईनबाटै चलाइन्छ यौनधन्दा (भिडिओ)

काठमाडौं । ‘इ–स्कर्ट’ नामको अनलाइन साइट ‘यौन कारोबारका लागि संसारभर नै चर्चित छ । त्यसलाई चलनचल्तीको भाषामा ‘कल गर्ल’ सेवा भनिन्छ । यो साइटमा युवतीका आकर्षक फोटो राखिएको हुन्छ ।

फोटोसँगै उनीहरूको सबै विवरण देखिन्छ  त्यहाँ । विवरणमा युवतीको उमेर, उचाइ, छालाको रङ, छाती, कम्मर तथा नितम्बको लम्बाइ पनि हुन्छ । कतिपयको मूल्य पनि त्यही लेखिएको हुन्छ । उपलब्ध हुने समय र स्थानलगायतका विवरण त्यहीँ भेटिन्छ ।

सेवा लिन चाहनेले फोटोमै क्लिक गरेर वा अफिसको ह्वाटएप्समा म्यासेज गर्न सक्छन् । ग्राहकले अनलाइन पोर्टल वा ह्वाटएप्सबाटै इच्छाएको युवती छनोट गर्छन्  । अधिकांशले अनलाइनमार्फत नै शुल्क भुक्तानी गर्छन् । र, बोलाउँछन् होम डेलिभरीका लागि ।

केही समयपछि भनिएकै ठाउँमा ग्राहकको लोकेसनमै ‘कल गर्ल’ पुर्‍याइन्छ । ग्राहककहाँ पुगेपछि युवतीको काम हुन्छ यौनधन्दामा सहभागी हुने । निश्चित समयपछि उनीहरू फर्किन्छन् । फेरि अर्काे अर्डर आएको ठाउँमा पुर्‍याइन्छन् ।

०००

अनलाइनमार्फत यौन सम्पर्कका लागि युवती उपलब्ध गराउने यौन व्यवसायको आधुनिक रूप हो । जहाँ युवतीलाई सम्बन्धित ग्राहकले चाहेको ठाउँमा पुर्‍याइन्छ । कहिलेकाहीँ ग्राहकहरू कोठीमै पनि पुग्न सक्छन् ।

नेपालमा यसरी व्यवसाय गर्न सहज छैन । किनकि प्रहरीले हर्दम निगरानी गरिरहेको हुन्छ । त्यसैले दलालहरूले अहिले अर्को उपाय निकालेका छन् । नेपाली युवतीलाई भारत लैजाने र त्यहीबाट यौन व्यवसाय सञ्चालन गर्ने ।

नयाँ दिल्लीको किसनगढलगायतका धेरै स्थानमा अत्यधुनिक ‘फ्ल्याट’ भाडामा लिएर युवतीलाई राखिएको छ । कोठामा प्रवेश गरेपछि लहरै बसिरहेका युवती भेटिन्छन् । ग्राहकले इच्छाएको युवती छनोट गर्छन् । बिल तिर्छन् । कोठामा लैजान्छन् ।

त्यहाँ यौन व्यापारको लागि प्रयोग गरिएका अधिकांश युवती नेपाली छन् । केही भारत, बंगलादेशका पनि भेटिन्छन् । नेपालबाट लगिएका कतिपय युवती दुर्गम गाउँका हुन् । केहीलाई आकर्षक पारिश्रमिकको प्रलोभनमा दुबई लग्ने भन्दै कोठीमा पुर्‍याएको छ । थोरै युवतीलाई सहमतिमै काम लगाए पनि प्राय: युवतीलाई जबरजस्ती लगाएको पाइएको छ ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले केही युवतीलाई उद्धार गरेर स्वदेश ल्याएपछि यी तथ्य खुलेको हो । त्यही धन्दामा प्रयोग भएका पाँच युवतीलाई ब्यूरोले १० पुसमा स्वदेश फर्काएर आफन्तको जिम्मा लगाएको छ ।

मानव बेचबिखन कसूरमा स्याङ्जा गल्याङ नगरपालिका ७ का ३५ वर्षीय टीकाराम भण्डारी र ३१ वर्षीया अस्मिता भण्डारी ऊर्फ रिया भनिने टीकाकुमारी वली पक्राउ परेका छन् । उनीहरूलाई भारतीय प्रहरी र भारतीय सामाजिक संस्था किन इन्डियाको सहयोगमा ब्यूरोले दिल्लीबाट पक्राउ गरेको हो । उनीहरू दम्पती हुन् ।

उनीहरूले भारतको नयाँ दिल्लीमा दस वर्षदेखि अनलाइनमार्फत यौनधन्दा चलाएको खुलेको छ । उनीहरूले दिल्लीको किसनगढमा अत्यधुनिक फ्ल्याटमा ‘आधुनिक कोठी’ चलाउँदै आएका थिए ।

भिडिओ (भिडिओ तल बाँकी समाचार)

०००

उनीहरूले नेपाली युवतीलाई प्रयोग गरी धन्दा चलाउँदै आएको भेटिएकाले युवतीको उद्धारसँगै सञ्चालकलाई पक्राउ गरिएको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रमुख एसएसपी जीवन श्रेष्ठले जानकारी दिए । पक्राउ परेका टीकाराम र टीकाकुमारीविरुद्ध थप अनुसन्धानका लागि सात दिनको म्याद थप भएको छ ।

“प्रमाणका आधारमा हेर्दा उनीहरू दिल्लीमा १० वर्षदेखि यस्तो धन्दामा संलग्न रहेको भेटिएको छ । नेपाली युवती लगेर त्यहाँ ‘फ्ल्याट’ भाडामा लिएर राखेको पाइयो । ती युवतीलाई अनलाइनमार्फत ग्राहककहाँ पुर्‍याइदिने गरेको पाइयो,” एसएसपी श्रेष्ठले भने ।

मानव बेचबिखन कसुरमा पक्राउ परी हिरासतमा रहेका स्याङ्जा गल्याङ नगरपालिका ७ का ३५ वर्षीय टीकाराम भण्डारी र ३१ वर्षीया अस्मिता भण्डारी ऊर्फ रिया भनिने टीकाकुमारी वली ।

यसअघि गत वर्षको ७ चैतमा पनि ब्यूरोले ९ जना युवतीलाई उद्धार गरेको थियो । उनीहरूलाई दिल्लीको कोठीसम्म पुर्‍याउने मकवानपुर भीमफेदी गाउँपालिका ९ की २० वर्षीया सम्झना भनिने सेन्जी तामाङ, धादिङ धुनीबेँसी गाउँपालिका २ का २५ वर्षीय भुवन तामाङ र अर्की २० वर्षीया युवती पक्राउ परेका थिए ।

उनीहरू अहिले पुर्पक्षका लागि जेलमा छन् । उनीहरूले नेपाली युवती प्रयोग गरी धन्दा चलाउँदै आएको खुलेको थियो ।

मनोरञ्जन क्षेत्रमा काम गर्ने निसानामा

दिल्लीमा यौनधन्दा चलाउनेको निसानामा विशेषगरी काठमाडौंको रात्री मनोरञ्जन क्षेत्रमा काम गर्ने युवती हुन्थे । जो दोहोरी साँझ, डान्सबार र क्लबमा नाच्ने र वेटरको काम गर्थे ।

उनीहरूलाई आकर्षक तलबको अफर गरेर कतिपयलाई दिल्ली पुगेर दुबई लैजाने बताउँथे । दिल्लीस्थित होटेल, रेस्टुरेन्ट, फेन्सी पसलमा काम लगाइदिने प्रलोभनमा युवतीलाई फसाउँथे । अनि काठमाडौंबाट विभिन्न नाका हुँदै युवतीलाई दिल्ली पुर्‍याउँथे ।

दिल्लीको जीबीरोड – जहाँ सयौँ नेपाली महिलाले बिताउँदै छन् नारकीय जीवन (भिडिओ)

भारत पुगेका युवतीलाई टीकाराम र टीकाकुमारीले आकर्षक ‘मेकअप’ गराउँथे । क्यामरामेन बोलाएर अश्लील हाउभाउको पोजसहित फोटो खिचाउँथे । अनि वेबसाइटमा विभिन्न विवरणसहित राख्थे ।

‘ह्वाटएप्स’मार्फत युवतीको फोटो ग्राहकलाई पठाउँथे । नेट र ह्वाटएप्सकै सहयोगमा इच्छाएको युवतीलाई ग्राहकले भनेको ठाउँमा उपलब्ध गराइदिन्थे ।

धन्दाका लागि उनीहरूले सामाजिक सञ्जालमा ह्वाट्एप्स ‘ग्रुप’ नै बनाएका थिए । ब्यरोका  प्रवक्ता एसपी कृष्ण पङ्गेनीले भने, “नेपालबाट लगिएका युवतीलाई ‘मेकअप’ गरी आकर्षक बनाउँथे । फोटो खिचेर ग्राहकलाई पठाउँथे । ग्राहकलाई मन परेकालाई छानेर अनलाइनबाट पैसा तिर्थे । अनि घर होटल कोठा जता भन्यो उतै पुर्‍याउने गरेको खुलेको छ ।”

मानव बेचबिखन कसुरमा पक्राउ पक्राउ परी पुर्पक्षको लागि जेलमा रहेकाहरू । दिल्लीसम्म पुर्‍याउने मकवानपुर भीमफेदी गाउँपालिका ९ की २० वर्षीया सम्झना भनिने सेन्जी तामाङ, धादिङ धुनीबेँसी गाउँपालिका २ का २५ वर्षीय भुवन तामाङ र अर्की एक युवती

६ जनासँग सुताइने, कबुलेको पैसा पनि नदिने

एक युवतीले दैनिक ६ जनासम्म ग्राहकलाई सेवा दिनुपर्थ्यो । अनुसन्धानबाट खुलेअनुसार महिनामा एक युवतीले एक सय ८० ग्राहकलाई अनिवार्यरूपमा सेवा दिनुपर्थ्यो । यसबापत् सञ्चालकले प्रतिग्राहक पाँचदेखि ५० हजार भारुसम्म असुल्थे । युवतीलाई भने प्रतिग्राहक २० प्रतिशत उपलब्ध गराउने भनिएको थियो ।

यसरी युवतीलाई मासिक लाखौँ रुपैयाँ दिनुपर्थ्यो । तर, उनीहरूले आफूहरूसँग कबुल गरेबमोजिमको रकम नदिई शोषण गर्ने गरेको पीडित युवतीले बयान दिएका छन् ।

व्यूरोका प्रवक्ता एसपी कृष्णप्रसाद पङ्गेनी भन्छन्, “युवतीलाई जबरजस्ती यौन व्यापारमा पनि लगाउने र ग्राहकबाट लिएको रकममा पनि शोषण गर्ने गरेको पाइयो । कतिपय युवतीलाई रकम नै नदिई नेपाल फर्काएको अनुसन्धानबाट देखिन्छ ।”

६ महिनापछि अर्काे कोठीमा, १० वर्षमा लगिए २ सय युवती

पक्राउ परेकाले दिएको बयानअनुसार कोठीमा सधैँ एकै युवती राखिँदैनन् । ६ महिनापछि अर्काे सञ्चालकले खोलेको त्यस्तै कोठीमा पठाइन्छ । ग्राहकको माग नयाँ-नयाँ रोजाइ हुने भएकाले उनीहरूले नेपालबाट युवती लगिरहने र ६ महिनापछि अर्काे कोठीमा पुर्‍याउने क्रम चलिरहन्छ ।

ब्यूरोका अनुसार कोठी सञ्चालकले प्रत्येक ६ देखि आठ महिनाको अन्तरालमा युवतीको ‘सिफ्ट’ गराउँथे ।

मानव बेचबिखन कसुरमा पक्राउ स्याङ्जा गल्याङ नगरपालिका ७ का ३५ वर्षीय टीकाराम भण्डारी र ३१ वर्षीया रिया भनिने टीकाकुमारी वलीले दिल्लीमा कोठी चलाएको १० वर्ष भइसकेको थियो ।

यो अन्तरालमा उनीहरूले एक सय ५० देखि २ सयजना नेपाली युवतीलाई यौन व्यवसायमा लागाइसकेको खुलेको छ । उनीहरूविरुद्ध युवतीको फरक-फरक समूहले ६ वटा जाहेरी दिएका छन् ।


टिकटकको माध्यमबाट महिला बेचबिखन बढ्दो, गाउँ गाउँमा ठगहरु सक्रिय


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved