दिल्लीको जीबीरोड-जहाँ सयौँ नेपाली महिलाले बिताउँदै छन् नारकीय जीवन (भिडिओ)
दिल्लीको जीबी रोडमा ४ हजार हाराहारीमा महिला यौनकर्मी छन्। ती मध्ये सयौँ नेपाली छन्। उनीहरूलाई ‘यौनप्यास मेटाउने साधन’ बनाउन लोभलालचमा पारेर कोठीमा पुर्याईएको हो। परिबन्दको सिकार भई नारकीय जीवन बिताउन बाध्य महिला त्यहाँबाट निस्कन सक्दैनन्। जीबी रोडको अवस्था र त्यहाँका चेलीको नारकीय जीवनबारे स्थलगत रिपोर्ट ।
दिल्लीबाट फर्किएर। “ए मेरे साथी, आजा यहाँ पे, जन्नत दिखाँदुगाँ !” एक महिलाले बटुवालाई बोलाइन्। केही महिला भद्दा लाग्ने शृङ्गारले छोपिएर पैदलयात्री नियालिरहेका थिए।
पैदल यात्रीलाई बोलाउने त्यही समूहकी एक थिइन्। हातमा सल्केको चुरोटबाट धुवाँ आइरहेको थियो। उनीहरु दोहोरो अर्थ लाग्ने भाषा र भावभङ्गीले जिस्काइरहेका थिए।
बोलाइएका बटुवा नजिकै पुग्यो। एक जनाले बोलिन् “आजाओ साब, अच्छी अच्छी माल दिखाता हुँ। नई लाइगई लड़की हे ?’’
महिलाले माथि जाने इसारा गरिन्। बटुवा माथि पुग्यो। भित्तामा लेखिएको थियो ‘कोठी नम्बर ६४।’ महिलाले बटुवालाई ढोकाभित्र छिराइन्। बटुवा अँध्यारो गल्ली जस्तो भर्याङ चढ्दै उकालो लाग्यो। उ स्याँस्याँ गर्दै माथिल्लो तलामा पुग्यो।
‘लाउड स्पिकर’मा गीत बजिरहेको थियो, ‘‘परदेशी परदेशी जाननही …’’
त्यहाँ होटेलको लबी जस्तै लाग्ने फराकिलो कोठा थियो। ग्राहकले कलंकीको खसीबजारमा खसी छानेझैँ युवती छानिरहेका थिए। ‘‘इस लड़की से ज्यादा खूबसूरत कोई और लड़की नहीं हे क्या ?’’, ‘‘दूसरी लड़की दिखाओ ?’’ ‘‘इसका किमत कितना हे ?’’ यस्तै भनिरहेका थिए।
‘‘सात सौ रूपये दो, पसन्दवाले लड्की कमरे में ले चलो’’ बोस जस्तो देखिने महिला भन्दै थिइन्। कोही आफूलाई मनपर्ने युवती बोलाएर अर्काे कोठामा पस्दै थिए। ‘‘ कोई लड़की पसंद नहीं है यार, दुसरे कमरेमे चलो’’ कोही सँगै गएका साथीलाई बाहिर निकाल्दै भन्दै थिए।
०००
यो दृश्य भारतको राजधानी नयाँ दिल्लीको जीबी रोडको हो। जुन ‘रेड–लाइट एरिया’ अर्थात् ‘यौन व्यापार क्षेत्र’ हो। यौन व्यवसायकै कारण बदनाम छ यो बजार। त्यही बजारको चर्चित ब्लकको एक ‘कोठी’मा काम गर्ने यौन व्यवसायी र ग्राहकबीचको कुराकानी हो।
‘गारस्टिन बास्टिन रोड’ अर्थात् ‘जीबी रोड’ दिल्लीको बजार मध्ये एक हो। भारत बेलायतको अधीनमा रहँदा सडकको नाम इस्ट इन्डिया कम्पनीका एक ब्रिटिस अधिकारीको नाममा राखिएको थियो। त्यहाँ वरपर बाक्ला घर छन्। पुरानो दिल्लीको अजमेरी गेट र लाहोरी गेटको बीचमा छ, जीबी रोड।
दिल्लीको चाँदनी चोक त धेरैलाई थाहा छ। सबै किसिमका सामान पाउने नेपालको असन बजार जस्तै हो। सस्तो मूल्यमा पाउने भएकाले व्यापारिक केन्द्र पनि हो। जुन ‘मुगल कालीन’ (मुगल साम्राज्य हुँदादेखिकै) बजार हो।
पुरानो दिल्लीमा पाँच गेट छन्। त्यसमध्ये एउटा गेट त्यही बजारभन्दा अगाडि छ। जसलाई ‘अजमेरी गेट’ भनिन्छ। त्यहाँ पुग्न नयाँ दिल्ली रेलवे स्टेसनबाट बाहिर निस्किएर बायाँ घुम्नुपर्छ।
सिधा हिँडेपछि सडक पार गर्नुपर्छ। दायाँतर्फ देखिनेछ ‘अजमेरी गेट’। त्यहाँ निलो बोर्डमा ‘स्वामी श्रद्धानन्द मार्ग, जीबी रोड’ लेखिएको देख्न सकिन्छ। दुई किलोमिटर पर ‘लाहोरी गेट’सम्मलाई जीबी रोड भनिन्छ।
ब्रिटिस उपनिवेशबाट सन १९४७ मा भारत स्वतन्त्र भयो। ब्रिटिसको नामबाट राखिएको बजारको नाम परिवर्तन गरियो। सन् १९५६ मा ‘जीबी रोड’को नाम परिवर्तन गरी ‘स्वामी श्रद्धानन्द मार्ग’ राखियाे। तैपनि अझै ‘जीबी रोड’कै नामले बढी चिनिन्छ।
जीबी रोडमा सबै प्रकारका अटोमोटिभ पार्टस् (मोटरगाडीका पार्टपुर्जा) बेचिन्छन्। दोस्रो, यो दिल्लीको ‘रेड–लाइट’ अर्थात् ‘यौन व्यापार क्षेत्र’ पनि हो। जहाँ अनुमति लिएर तथा नलिई यौन व्यवसाय चलिरहेको छ। यो धेरै पहिलादेखि नै निरन्तर चलिरहेको छ।
कथनअनुसार मुगल कालमै (सन् १५२६ देखि, सन् १८५७ सम्म चलेको) ‘कोठी’ थियो। मुगल कालको केही राजधानीमध्ये पुरानो दिल्ली पनि एक थियो। त्यो समयमा पाँचवटा कोठी थिए। ब्रिटिस शासनको समयमा सबै कोठी पुरानो दिल्लीको जीबी रोडमा आएर एकत्रित भए।
नारकीय जीवन
जीबी रोडका अँध्यारा कोठामा धेरै देशका चेलीले नारकीय जीवन बिताइरहेका छन्। त्यहाँ एक सय भन्दा बढी ब्लकमा कोठी छन्। जहाँ करिब ४ हजार यौनकर्मी रहेको तथ्य भारतीय मिडियामा उल्लेख हुँदै आएको छ।
त्यसमध्ये कैयौँ नेपाली छन्। धेरैजसो बेचिएका हुन्। सडकमा हिँड्दा नयाँ बटुवाजस्तो देखिएमा कतिपयले अघि नबढ्न सुझाव दिनसक्छन्। ‘‘वह गंदी जगह हे। लुटजाती है। जेबकटते हैं। मत जाओ’’ केही सज्जन मानिसले सुझाव दिनसक्छन्।
दिउँसो बजारमा भीड लाग्छ। तल सटरमा अटो पार्टपुर्जा किन्नेको भीड, माथि कोठामा यौन किनबेच। साँघुरो फुटपाथमा हिँड्दा हातमा चियादेखि विभिन्न सामान बेच्नेहरू पनि ठोक्किन आइपुग्छन्। त्यहाँ हिँड्दा महिलाले दुर्व्यवहार सहनुपर्छ। त्यसैले खासै महिला देखिँदैनन्।
साँघुरो दुई लेनको सडक छ। दायाँ-बायाँ पुराना घर जोडिएका छन्। घरका भुइँतल्लामा मेकानिक्स र गाडीका पार्टस् बेच्ने पसल छन्। भित्र जान साँघुरा ढोकाबाट सिँढी चढ्नुपर्छ। माथि पुगेपछि तलातला छन्। त्यही कोठी सञ्चालननमा छन्। सरसफाइ खासै देखिँदैन। फ्ल्याट भाडामा लिएर बस्नेको पेसा यौन व्यवसाय नै हो। तिनीहरूको लागि एक मात्र आयस्रोत ग्राहक हुन्।
सडकबाट हेर्दा घरहरू पुराना र रङ्ग खुइलिएका देखिन्छन्। झ्यालहरूमा तार र फलामका डन्डीहरूले छेकिएको छ। झ्यालभित्र केही महिला बाहिर हेरिरहेका देखिन्छन्। आँखा झिम्क्याएर बटुवालाई माथि आउन इसारा गरिरहेका हुन्छन्। हात हल्लाएरै पनि बोलाउन सक्छन्।
बाटोमा हिँड्दा दलालहरू फकाउन आइपुग्छन्। कतिपय त बाटोमा गुडिरहेको अटो रिक्सा रोक्न र यात्रुलाई तान्न नै आइपुग्छन्।
सडक छेवैको घरमा भूँईतलामा सटरैसटर छ। बीच-बीचमा ढोका छन्।
ढोका दायाँ-बायाँ भारी मेकअप गरेर बसेका महिला देखिन्छन्। ढोकैबाट माथि जाने भर्याङ छ।
भर्याङमा कोही बसेका हुन्छन्, कोही ढोका छेउ उभिएका। उनीहरूको काम बटुवालाई र अटोमा चढेर गन्तव्यमा लागिरहेका पुरुषलाई बोलाउने हुन्छ।
000
जीबी रोडको बाटो हिँड्दै गर्दा एउटा दलाल आयो। भन्यो ‘अच्छीअच्छी माल हे। नेपाली लड्की हे।’ नेपाली युवती धेरैको रोजाइ हुनेरहेछ। त्यही भएर ‘नेपाली युवतीको ब्रान्ड’ लाई उनीहरुले यसरी प्रचार गरिरहेका थिए।
हामी रिर्पाेटिङको लागि गएका थियौं। कोठीमा बेचिएका चेली र उनीहरूको भोगिरहेको दुर्दशा देखाउनु थियो। सकेसम्म केहीको उद्धार होस् भन्ने अपेक्षा पनि। सोही कारण टोली ग्राहक बनेर सिँढी उक्लियो।
साँघुरो सिँढी चढ्दै जाँदा नमिठो गन्ध आयो। मेकअपको गन्ध टाढैबाट ह्वास्स आयो। पान खाएर थुकिएका भित्तामा काला र राता धब्बा थिए। अँध्यारा सिँढी चढ्दै जाँदा पुगिने हरेक फ्ल्याटमा महिला र पुरुष मूल्यमा बार्गेनिङ गरिरहेका सुनिन्थ्यो। ‘‘सात सौ के बिना काम नहीं होगा,’’ कोठीवाला मूल्यमा दाबी गर्दै थिए।
‘‘नहीं मेरे पास केवल पाँच सौ है। मेँ बस इतना ही देता हूं। नहीं तो मेँ दूसरे में चला जाऊंगा’’ ग्राहकतर्फबाट यस्ता यस्ता आवाज आइरहेको सुनियो।
जति सिँढी चढ्दै गयो भर्याङ उत्ति पान र गुटखाले फोहोर भेटिन्थ्यो। साँघुरो भर्याङको हरेक मोडमामा वृद्ध र रोगी महिलाहरू माग्न बसेका भेटिए। सायद कोठीको रिटायर लाइफ त्यही हो। अहिले रस र यौवनले भरिएर बार्गेनिङ गरिरहेका सबै महिलाको यही हविगत भोलि हुनेछ।
जतिजति तलामाथि चढ्दै चढ्दै गयो, उतिउति कम उमेरका युवती तथा किशोरी भेटिन्थे। अन्तिम अर्थात् चौथो तलामा पुगेपछि फेर अर्काे ठूलो कोठी आयो। महिला र किशोरी प्रशस्त थिए। ग्राहक पनि यस्तै छपक्कै।
महिलाहरू कोही सरसफाइमा व्यस्त थिए। कोही उभिएका, कोही बसेका, कोही लिपस्टिक पाउडर धसिरहेका। कोही मोबाइल चलाउँदै थिए।
हिन्दी भाषामा कुराकानी गरिरहे पनि नेपाली युवती हुन् भन्ने थाहा पाउन मुस्किल थिएन। उनीहरूको लवजले नेपाली भन्ने चिनिन्थ्यो। अझ जनजाति समुदायका महिला त झनै प्रस्टै चिनिन्थ्यो। नेपाली लवजमा हिन्दी बोल्दा अलि फरक सुनिँदोरहेछ।
वरिपरि मोटामोटा हात पाखुरा भएका केटाहरू थिए। युवतीलाई जबरजस्ती धन्दामा लगाउन र ग्राहकबाट मोटो रकम असुल्न उनीहरूको प्रयोग हुँदोरहेछ।
कोही ग्राहकलाई केटी मन नपरेपछि फर्केर जान लागेमा उनीहरूलाई लुटेरसमेत पठाइँदोरहेछ।
उनीहरूको उदेश्य जसरी पनि झार्नु’ रहेछ। पैसा नभए सामान लुट्दा रहेछन्, घडी, मोबाइल जे छ त्यही।
माथि केहीबेर कुरा गरेपछि हामी तल झर्यौं। सडकको फुटपाथमा पुगियो। माथि चढेका एक युवक पनि पछिपछि थिए। युवक ओर्लँदै गर्दा बाउन्सरले सोध्यो “क्युँ पसन्द नही आया ?” ‘नाई सभी बुढिया हैं’’ युवकले ओर्लँदै भन्यो। ‘‘आजा में आपको अच्छी अच्छी माल दिखाता हूँ ” ढोकामा बसेको बाउन्सरले भन्यो।
‘नै चाहिए’ ग्राहकले आफ्नो बाटो सोझ्याउँदै थियो। बाउन्सरले उसलाई तानिहाल्यो। माथि भर्याङतर्फ धकेल्यो। युवकलाई जबरजस्ती लैजान माथिबाट बाउन्सरको अर्काे साथी आयो। दुवैले घिच्याउँदै माथि लगे। सायद त्यो युवक लुटियो।
कहिले नफेरिने चोला
कोठीमा आएका नयाँ र पुराना ग्राहकको यौनतृष्णा मेटाउनु महिलाको दैनिकी छ। उनीहरूको मूल्य सात सय रुपैयाँ (२ जुनमा ) रहेछ। संसारमा उदयमान अर्थतन्त्र भएको मुलुक हो भारत।
तर पनि, जबरजस्ती यौन धन्दामा लगाइएका महिलाको समस्या उस्तै छ। दिल्लीको छेउ भएर बग्छ यमुना नदी। त्यही नदी जस्तै छन्, दिल्लीका कोठीका महिलाका समस्या।
निरन्तर बगिरहने यमुना नदी जस्तै छ, कहिल्यै नरित्तिने पीडा र यातना नचाहेरै बेचिएका उनीहरूको कोठीमै बित्छ दिनचर्या र रात। नचाहेरै ग्राहकको सन्तुष्टिका लागि दिनरात प्रयोग भइरहनुपर्ने बाध्यता।
‘‘कतिपयलाई किशोरीलाई आकर्षक देखाउन स्तन बढाउनेदेखि जवान बनाउने औषधि खुवाइन्छ’’ जानकार एक पसलले सुनाए ‘‘ग्राहकसँग नसुते खाना पनि दिँदैनन्। दिनहुँ कुटपिट गर्छन्। मारिदिने धम्की दिन्छन्। मारिनुभन्दा यौनधन्दा गर्न ठीक ठान्छन्। अनि बाध्य हुन्छन्।’’
बन्धक बनाइएका उनीहरूसँग दैनिक कैयौँ जनाबाट बलात्कृत भएर आँसु पिएर बस्नुबाहेक अरू विकल्प छैन।
केही भागेर उम्कन सफल हुन्छन्। बाध्यात्मक रूपमा धेरै वर्षसम्म यौनकर्मी बनिसकेपछि केही घर फर्कन मन गर्दैनन्। त्यस्ता केही नेपाली महिला पनि कोठी मालिक्नीसम्म भइसकेका रहेछन्।
कोठी नम्बर ६४- नेपाली केटीको घर
जीबी रोडमा ४ हजार हाराहारीमा महिला यौनकर्मी छन्। अधिकांश बेचिएका र बाध्यताले काम गरिरहेका छन्।
कोठी नम्बर ६४ नेपाली केटीको घर भनेर चिनिन्छ।
धेरैजसो नेपाली महिला र युवती भएकाले त्यसो भनिँदोरहेछ।
यससँगै ५४, ५६ मा पनि केही नेपाली युवती छन्। धेरैजसो तामाङ समुदायका छन्।
‘‘जबरजस्ती कोठीमा ल्याइएकालाई बन्द कोठामा राखिन्छ। ग्राहक आएपछि ढोका खोलेर अर्काे कोठामा लगिन्छ। बाउन्सर राखिएको हुन्छ। उसैले कोठामा लगेर ग्राहकलाई भित्र पठाएर बाहिरबाट चुकुल लगाइदिन्छ।
बेचिएका महिला भाग्न नपाओस् भनेर बाहिरैबाट चुकुल लगाइदिन्छन्’’ चाउडी बजार बस्ने अटो चालक आश्विन सिंह भन्छन्, ‘‘भित्रबाट ग्राहकले काम सकियो भनेपछि बाहिरबाट चुकुल खोलिन्छ। उसैगरी अर्काे ग्राहक नआएसम्म महिलालाई पहिलेकै अँध्यारो कोठामा थुनिन्छ।’’
उजुरी परेमा कहिलेकाहीँ कोठीमा दिल्ली महिला आयोग र प्रहरीले छापा मार्ने गरेको छ। ‘‘उद्धार हुँदा कतिपय अवस्थामा पीडितलाई कोठी सञ्चालकबाट केही रकम राहत दिन लगाइन्छ। तर, जबरजस्ती काममा लगाउने कोठी सञ्चालक र व्यवस्थापकलाई कारबाही हुन गाह्रो छ,’’ एक अधिकारकर्मी भन्छिन्।
जीबी रोड प्रवेश गरेलगतै ‘कमला बजार प्रहरी चौकी’ छ। त्यहाँका ५० प्रतिशत कर्मचारी विभिन्न कोठीका मालिक र व्यवस्थापकसँग नजिक सबन्ध रहेकाले यौन धन्दामा हस्तक्षेप गर्दैनन्। कैयौँ बेचिएका चेलीको पनि बेवास्ता हुने गरेको भारतीय मिडिया बताउँछन्।
कोठीमा नेपाल, बङ्गलादेश, पाकिस्तान र भारतकै पश्चिम बङ्गाल, बिहार, झारखण्ड, ओडिशालगायत ठाउँबाट महिला ल्याइएका छन्।
भारतका एक पत्रकार भन्छन्, ‘‘यहाँका ८० प्रतिशत बढी महिलालाई जबरजस्ती यौन धन्दामा लगाइन्छ। उनीहरू बेचिएर आएका हुन्। तर, प्रहरीले खासै वास्ता गर्दैन। कहिलेकाहीँ उजुरी परेमा छापा मारेर सम्बन्धित महिलाको उद्धार हुनेगर्छ। त्यसबाहेककाहरु जबरजस्ती यौनकर्ममा लाग्न बाध्य छन्।’’
दिउँसै लुटपाट मच्चिरहँदा पनि प्रहरीले निगरानी गर्दैन। मानव बेचबिखन भारतमा सबैभन्दा ठुलो सङ्गठित अपराधमध्ये एक हो। सरकारी तथ्यांकअनुसार भारतमै सन् २०२२ मा मात्रै दुईलाख महिला तथा बालबालिका बेपत्ता भएका छन्।
यसलाई नियन्त्रण गर्न नसकेपछि ओसारपसारको व्यवसाय फस्टाएको अधिकारकर्मीको भनाइ छ। दिल्लीका केही अधिकारकर्मी भन्छन् ‘‘हराएका बालिका तथा महिला कतिपय कोठीमा लगेर बेचिन्छन्। उद्धारको सक्रियता कमजोर छ।’’
यसरी पुग्छन् कोठीसम्म ?
कतिपयले नेपाली महिला त कोठी सञ्चालक छन्। सयभन्दा बढी कोठीमध्ये कोठी नम्बर ६४ मा धेरै युवती छन्। अरूमा भन्दा यहाँ कलिला युवती र किशोरी ल्याइन्छ। त्यहाँ केही वर्ष बिताएपछि अरू कोठीमा बेचिन्छन्।
त्यो ब्लकमा केही नेपाली महिला नै कोठी सञ्चालक छन्। कतिपय कोठीका दलाल नेपाली छन्। उनीहरूले विभिन्न बहानामा नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुलीलगायत विकट क्षेत्रका कम पढेलेखेका युवतीलाई कोठीसम्म पुर्याउँछन्।
केही आकर्षक रोजगारीको प्रलोभन पुग्छन्। केही बिहे त कोही लभको चक्करमा दलालरुपी प्रेमीले सोझा युवतीलाई नरकमा होम्छ।स्थानीयका अनुसार एकजना महिला कोठीमा पुर्याउँदा दलालले एक लाख रुपैयाँसम्म भारु पाउनेगर्छ।
प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोका एक अधिकारीका अनुसार दुबई, मलेसिया लग्ने भन्दै कोठीमा पुर्याएर बेचिन्छ। ती अधिकारी भन्छन्, ‘‘विदेशमा काम गर्न लैजाने भन्छन्। त्यसको लागि भारतबाट जानुपर्ने बताउँछन्। दिल्लीमा लगेपछि कोठीमा छाडेर आउँछन्।’’
Facebook Comment
Comment