गीत समीक्षा

प्रकाश सपुतको ‘मुटु कटक्कै’, कर्णप्रिय गीतभित्र आँखा बिझाउने विज्ञापन

नयाँ र राम्रो भिडिओ कथामा कर्णप्रिय लागेको यो गीतले दर्शक स्रोताको आँखा भने बिझाएको छ । १५ मिनेटको भिडिओमा १५ ठाउँमा विज्ञापन देखिन्छ । गीतभित्र अनावश्यक रूपमा देखाइएको अस्वाभाविक विज्ञापनले झर्को लागेको दर्शकहरूले प्रतिक्रिया दिएका छन् ।

नेपालभ्युज

प्रकाश सपुतको ‘मुटु कटक्कै’, कर्णप्रिय गीतभित्र आँखा बिझाउने विज्ञापन

 ‘छोड्यौ चटक्कै, छोड्यौ चटक्कै
तिम्रै झल्कोले मुटु कटक्कै ।’

मायामा पीडा पाउने पुरुषलाई मन बहलाउने ठाउँको विषय उठान गर्दै सर्जक प्रकाश सपुतले ल्याएको नयाँ गीतको अंश हो यो ।

नेपाली सङ्गीतमा प्रकाश सपुत नयाँ सिर्जनाका लागि दर्शक–स्रोतालाई पर्खाउन सक्ने ताकत राख्ने सर्जक हुन् । आमजनको कथाव्यथा समेटेर तयार पारिने उनका हरेक सिर्जनाले दर्शक स्रोताको मुटुको भित्री तह हल्लाइ दिन्छन् ।

प्रेमिल शब्दमा राजनीतिक दृश्यको अन्तरघुलनसहितको कथा होस् या सामाजिक कथा वा प्रेमकै कथा होस् उनका गीतमा आमा मानिसको रोदन क्रन्दन भेटिन्छ ।

यसपालिको प्रकाश सपुतको गीतमा पनि आम युवाहरूको पीडा भेटिएको छ । यसअघिका उनका अधिकांश गीत विवादमा पर्थे । चौतर्फी आलोचनापछि केही दिनपछि भिडिओ हटाएर फेरि अपलोड गर्ने गर्थे । यसपालिको उनको गीतमा विवाद देखिएन, तर पनि दर्शकस्रोता भने सन्तुष्ट हुन सकेनन् ।

प्रकाश सपुतले सोमबार साँझ सार्वजनिक गरेको ‘मुटु कटक्कै ’ गीतको चर्चाको शिखर चढ्दो छ । गीतभित्रको ‘केटाहरूका लागि रुने ठाउँ’ को बोर्डको सकृनसर्ट सामाजिक सञ्जालमा भाइरल छ ।

‘केटाहरूका लागि रुने ठाउँ’ देखाइएको प्रकाश सपुतको गीत युट्युब ट्रेन्डिङमा

गीतले युट्युबको ट्रेन्डिङमा समेत कब्जा जमाएको छ । टिकटकमा समेत हजारौँ भिडिओ बनिसकेको छ ।

नयाँ र राम्रो भिडिओ कथामा कर्णप्रिय लागेको यो गीतले दर्शक स्रोताको आँखा भने बिझाएको छ । कारण हो, अत्याधिक विज्ञापन । १५ मिनेटको भिडिओमा १५ ठाउँमा विज्ञापन देखिन्छ ।

गीतभित्र अनावश्यक रूपमा देखाइएको अस्वाभाविक विज्ञापनले झर्को लागेको दर्शकहरूले प्रतिक्रिया दिएका छन् । दर्शकहरू भन्छन्, ‘‘एक दुई ठाउँमा कथाअनुसार विज्ञापन देखिँदा ठिकै लाग्छ । तर अनावश्यक बिज्ञापन हेर्नुपर्दा भिडिओ नै फिका लाग्यो ।’’

प्रकाश सपुतको गीतमा सुनिरहन मन लाग्ने शब्द र सङ्गीतमा युवाहरूको पीडा हेर्दा मन थाम्न नसकिने दृश्यहरू छन् । गीत, संगीत, गायनका साथै अभिनय र निर्देशनमा समेत उनले आफूलाई अब्बल साबित गरेका छन् ।

प्रकाश सपुतको गीति भिडिओलाई ‘छोटो फिल्म’को स्तरमा उकासेको छ । भिडिओमा कथा अनुसारको भूमिकामा आफू र अभिनेत्री कुसुम शर्मालाई दुरुस्तै प्रस्तुत गरेका छन् । अरू कलाकारको पनि जीवन्त अभिनय छ । गायकद्वय कुशल बेलबासे र प्रतापदासलाई पनि उनले निकै मिठाे तरिकाले प्रस्तुत गरेका छन् । उनहरूको उपस्थिति अर्थपूर्ण र दर्विलो छ ।

म पनि प्रकाश सपूतको पक्षमा, स्रष्टालाई धम्क्याउनु गतल  (भिडिओसहित)

तैपनि खोट लगाउने ठाउँ भने औधी धेरै ठाउँमा देखाइएको विज्ञापनले दिएको छ । उनले विज्ञापन शुल्कबाटै भिडिओ तयार गरेको देखिन्छ । त्यो अस्वाभाविक होइन । कलाकार व्यावसायिक हुनुपर्छ पनि । तर, त्यो विज्ञापन कुन ठाउँमा कसरी प्रयोग गर्ने भन्ने विषयमा सपुत चुकेका देखिन्छन् ।

कहाँ-कहाँ कति पटक देखिन्छ विज्ञापन ?

प्रभु बैंकको विज्ञापनबाट सुरु हुन्छ भिडिओ । लगतै न्यूलक्ष्मी ज्वलर्स, शिवम् सिमेन्ट, बीवाईडी इलेक्ट्रिक गाडी, एउटा रियल स्टेट, श्री केश जडीबुटी आयल र बर दुबईको मोबाइल पसलको गरी ७ वटा विज्ञापन लगातार देखिन्छ ।

यी सातवटा विज्ञापन पहिला पूरा भिडिओ देखिएपछि गीत सुरु भएपछि लोगोमा एकैसाथ सबै विज्ञापन देखाइएको छ । भिडिओको सुरुमा १ मिनेट ३० सेकेन्ड त लगातार विज्ञापन नै छ ।

गीत सुरु हुनुअघिको यो विज्ञापन पनि खासै अनौठो होइन, गीतको भिडिओमा यस्तो राख्ने प्रचलन नै छ ।

तर, प्रकाश सपुतको ‘मुटु कटक्कै’मा गीतभित्रको भिडिओमा पनि आँखा बिझाउने विज्ञापन भेटिन्छ । भिडिओभित्र झन्डै तीन सेकेन्ड लामो भित्ते घडीको दृश्यमा शिवम् सिमेन्टको भद्दा लोगोले दर्शकको आँखा बिझाउँछ ।

प्रभु बैंकमा लोन लिन गएको दृश्यमा पनि बैङ्कको ठूलो विज्ञापन देखाइन्छ । तर, त्यो भने कथाले मागेको दृश्य झैँ लाग्छ । अभिनेत्री कुसुम सडकमा हिँड्दै गर्दा फेरि खम्बामा तेलको विज्ञापन देखिन्छ । लगतै प्रकाश र कुसुम सडकमा स्कुटीमा हिँड्दै गर्दा अगाडिको माइक्रोबसमा ठूलो विज्ञापन दुई तीन सेकेन्ड लामै देखिन्छ । यो दृश्य सुहाएको देखिँदैन ।

म पनि प्रकाश सपूतको पक्षमा, स्रष्टालाई धम्क्याउनु गतल (भिडिओसहित)

अलिपछि बैङ्कको ऋण तिर्न नसकेर उठीबास लगाइएको एक जोडी देखाइन्छ । त्यहाँ पनि फेरि प्रभु बैंक देखाइन्छ।

भिडिओमा कथाअनुसार प्रखर चिया पसलबाट व्यवसाय थालेका प्रकाश एकपछि अर्को व्यावसायिकता हासिल गरिरहेका हुन्छन् । उनको बारेमा मिडियामा एक सामग्री प्रकाशन हुन्छ । त्यहाँ समेत तीनवाट विज्ञापन देखिन्छ ।

त्यहाँ भने विज्ञापन सान्दर्भिक देखिन्छ । भिडिओको कथा वीवाईडी गाडीसम्म घुम्छ । त्यहाँसम्मको दृश्य कथाले मागे पनि त्यहाँ फूलदानी कप र झोलामा समेत बीवाईडीकै लोगो देखाइएको छ, जुन दर्शकलाई अस्वाभाविक लाग्छ ।

फेरि गाडीको पृष्ठभूमिमा समेत वीआईडीकै लोगो देखिन्छ । प्रखरको विषयमा लेखिएको म्यागेजिनमा देखिएको शिवम् सिमेन्टको विज्ञापन भने अस्वाभाविक छैन । किनकि पत्रिकामा विज्ञापन देखिनु अनौठो होइन । गीत सकिएपछि फेरि सबै सात वटै विज्ञापनको लोगो एकसाथ देखिन्छ ।

सम्बन्धित समाचार –

प्रकाश सपूतको गीतमाथिको हमला र वेश्यावृत्तिबारे नेपाली बुझाइ

प्रकास सपूतको ‘जाले रुमाल फाट्यो’ सार्वजनिक, विभेदको विरोध

भाइरल गीतले सम्झाइदिएको अरेली काँडा : च्वास्स घोच्छ तर गुणकारी, जानौँ के काम लाग्छ ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved