यौनकार्यलाई अपमान नगरौँ, यो पनि काम हो

नेपालमा ७० हजार महिला यौनकार्यमा सहभागी छन्। यो सत्यको सामना गर्न ‘हाम्रा योद्धा’ र ‘तिम्रा रखेल’ जस्ता शब्दले पुग्दैन। यथार्थ बुझ्नका लागि मानवीय संवेदना चाहिन्छ।

यौनकार्यलाई अपमान नगरौँ, यो पनि काम हो

भर्खरै सार्वजनिक भएको प्रकाश सपूतको गीतको छोटो दृश्यमा राखिएको यौनकर्मी महिला र उनको राजनीतिक विरासतबारे तत्कालीन नेकपा (माओवादी) हुँदै वर्तमानमा माओवादी केन्द्रका नजिकका कार्यकर्ताको ठूलो आपत्ती रहेको छ। खासगरी पूर्व माओवादी लडाकुलाई यौनकर्मी बन्न बाध्य भएको देखाइएको प्रसंगलाई लिएर गीतको म्युजिक भिडिओको विरोध भइरहेको छ। यो लेखमा उक्त भिडिओ र त्यसको विरोध गरिरहेको राजनीतिक दलबारे लेख्न चाहन्नँ। यो लेख नितान्त यौनकर्मसँग सम्बिन्धित छ। त्यससँगै यौन हिंसा, यौन शोषण र यौन स्वतन्त्रता लगायतका यौन राजनीतिका पक्षहरु भनेर जोडिएर आउने छन्।

यौनकर्मी महिलाहरुको अधिकारका लागि काम गरिरहेका देशभरका संस्थाको साझा सञ्जाल ‘जागृति महिला महासंघ’का साथीहरुले उपलब्ध गराएको तथ्यांक अनुसार नेपालमा ७० हजार महिला यौनकर्ममा सहभागी छन्। नेपाल सरकारको ‘एड्स तथा यौन रोग नियन्त्रण केन्द्र’ले सार्वजानिक गरेको तथ्यांकका अनुसार पनि ५० हजार मानिस यौनकर्ममा सहभागी छन्।

कोही किन यौनकर्मी बन्छ ?

महिला (केही हदसम्म पुरुषहरु र यौनिक अल्पसंख्यक)माथि त्यस्तो के आपत आइलाग्दो हो र यौनकर्ममा लाग्दा हुन् ? धेरै जनाले सोच्ने, सोध्ने र उत्तर पाउन जटिल प्रश्न हो यो, वैचारिक र व्यक्तिगत दुवै हिसाबले। भर्खरै मेरा एक विद्यार्थीले यौनिक अल्पसंख्यक माथि शोधपत्र लेख्ने क्रममा लेस्बियन महिलामध्ये केही यौनकर्म गर्न बाध्य भएको सन्दर्भ ल्याए। उनलाई अन्तवार्ता दिने महिलाले पैतृक सम्पतिमा पहुँच नभएको, घर परिवारले आफ्नो यौन झुकाव अस्विकार गरेको, रोजगारदाताले लेस्बियन भन्ने थाहा पाएपछि कामबाट निकालिदिएको, आफ्नो पार्टनर पनि आफू जस्तै संरचनात्मक विभेदको शिकार भएकाले जिविका नै अप्ठ्यारो भएको जस्ता बाध्यता बताएका थिए।

विद्यार्थीले ती सबै विवरण सुनाइरहँदा म भने ‘महिलाले महिलालाई नै मनपराएर प्रेम गरेकाहरु कसरी पुरुष ग्राहकसँग कारोबार गर्दा हुन् ?’ भन्ने सोचेरै रन्थनिएँ।

“किन यस्तो हुन्छ ?”, मैले यौनकर्मको वकालत गरिरहेकी एक दिदीलाई सोधेँ।

उहाँको उत्तर थियो, “जसरी कोही मानिस आफ्नो प्रेमी, पति वा पार्टनर हुँदाहुँदै यौनकर्म गर्न सक्छ, त्यसैगरि एक लेस्बियन आफू महिलाप्रति आकर्षित भए पनि पुरुष ग्राहकलाई सेवा दिन सक्छ।”

यहाँनेर एउटा पुरानो सन्दर्भ कोट्याउँ, कम्युनिष्ट वैचारिक स्कुलबाट आएकामध्ये धेरैलाई मनपर्ने एउटा समीक्षा छ, चिनिया साहित्यकार लु सुनले हेनरी इब्सेनको नाटक ‘द डल्सहाउस’माथि लेखेको। जसको सार हो, ‘घरेलु हिंसाबाट प्रताडित भएकी महिला जब सडकमा आउँछे ऊ वेश्या बन्छे।’

मेरा विद्यार्थीले अन्तवार्ता गरेका महिला र लु सुनको ठम्याईमा केही हदसम्म सत्य भेटिन्छ (सबै यौनकर्मीको सवालमा पूर्ण सत्य नहुन सक्छ)।

कहिलेकाहिँ भेटिने यौनकर्मी महिलासँग र बाक्लैगरी भेटिने यौनकर्मि को अधिकारका लागि काम गर्ने साथीहरु बीच कुरा हुँदा यौनकर्मका विविध पाटाबारे छलफल हुन्छन्। ती मध्ये बाध्यताको पाटोबारे कुरा गर्दा त्यसको पृष्ठभूमिमा सामाजिक विभेदको दिक्क लाग्दो फेहरिस्त भेटिन्छ। परिवारले स्वीकार नगरेको विवाह, आफू माथि भएका विभिन्न यौन हिंसा, घरेलु हिंसा, शिक्षा र सीपको कमी, यौनकर्मबाहेक अरु जानेको काम नहुनु, काठमाडौंको हकमा सानोतिनो ठेलामा सामान राख्दा प्रहरीले दिएका दुःख सम्म आउँछन्। तर यौनकर्ममा लागेका सबै महिला खान, लगाउनकै बाध्यताले मात्रै यो पेशामा लागेका छैनन्। यसलाई एउटा काम र जीवनमा अगाडी बढ्ने भ¥याङका रुपमा बुझेर लाग्नेहरु पनि छन्।

कतिपय भर्खरै पढिरहेको युवती र भोलि कुनै राम्रो कम्पनीको सीईओ हुने लक्ष्य राखेकाहरु पनि यो पेशामा संलग्न छन्। त्यसैले लु सुनको उक्त टिप्पणी सामाजिक विद्रोही महिलाहरुलाई सुरक्षाको नामका नियन्त्रण गर्ने एउटा हतियारको रुपमा नेपालको कम्युनिष्ट बौद्धिकहरुले जानेर, नजानेर प्रयोग गरेको देखिन्छ। समाजमा महिलाको ठूलो हिस्साले विद्रोह गर्न थालेपछि घरेलु हिंसा वा कुनै पनि हिंसामा पर्दैमा कोही मानिस यौनकर्मि नै भइहाल्दैनन् भन्ने यथार्थ पनि स्थापित छ। घर परिवारबाट विद्रोह गर्ने मध्ये धेरै यौनकर्ममा लागेनन् भन्नुको अर्थ यौनकर्म भन्ने गरिएजस्तो गलत पनि होइन।।

वस्तुकरणको सवाल

महिलाको कुरा आउँदा हामी प्रायः कार्ल माक्सको सन्दर्भ लिँदै वस्तुकरणको व्याख्या गर्न थाल्छाँ। वस्तुकरणको सवाल मुख्यतः वर्गसँग जोडिएर आउँछ। यो ठम्याईसँग जोडिने दुई पक्ष छन्। पहिलो, आज एउटै घरमा जन्मेका पुरुष मालिक र महिला दास किन छन् भन्ने प्रश्नको सरल उत्तर नखोजी वस्तुकरणको विस्तृत परिभाषाको व्याख्या गर्न खोज्नु स्वैरकल्पना मात्रै हो। दोस्रो, आज आम मानिस वस्तु बन्न किन बाध्य छ ? महिलाको शरीरको मात्रै किन कुरा गर्ने ? राजनीतिमा लागेका कैयौ मानिसका कुरा गरौँ। आफ्नो क्रान्तिकारिता धितो राखेर, आफ्नो आत्मालाई ढाँटेर, बाहिर बाहिर चोर चोर भन्दै, उही नेताका अगाडी ‘जी हजुर’ गर्दै एउटा मानिस वस्तु बन्न किन बाध्य छ ? किन कोही मुखौटो माथि मुखौटो पहिरेर बाँच्न बाध्य छ ?

संरचनात्मक लाभ लिँदै, उचित र नैतिकताको फैसला गर्दै हिँड्न सक्ने तथाकथितहरु आफै आफ्नो विवेक अनुसार चल्न सक्दैनन् भने आम रुपमा संरचनात्मक विभेदमा परेका वर्गहरुको वस्तुकरणको सवाल पनि गफै मात्र हो।

यौन दासता र यौन कर्म

समाजिक स्तरिकरण पढाउँदा समाजशास्त्रमा हामी वर्तमान विश्वलाई दासता उन्मुलन भएको विश्वको रुपमा व्याख्या गर्छौँ। नेपालमा पनि आधिकारिक रुपमा दास प्रथाको उन्मुलन भएको सय वर्ष भन्दा बढी भईसक्यो। अर्थ–राजनीतिक विश्लेषण गर्नेहरु नेपाल दास प्रथाबाट धेरै टाढा पूँजीवादमा पुगेको व्याख्या गर्छन्। नेपालकै संविधानमा राज्यलाई ‘समाजवाद उन्मुख’ भनिएको छ। तर साथसाथै हामी संसारभर दास प्रथाका अवशेष छन् भन्ने पनि पढाउँछौँ। ती विभिन्न अवशेषमध्ये एक हो, यौन बजारमा बिक्री। आज विभिन्न बहानामा, स्वदेश वा विदेशमा महिलाहरु बेचिएका छन् र यौनकर्म गर्न बाध्य बनाइएका छन्।

तर यो लेख जसबारे लेखिएको हो, उनीहरु कसैले घिसारेर, बेचेर, ‘यौन कर्म नगरे तँलाई खान बस्नै दिन्न’ भनेर बलजफ्ती गरिएका महिला होइनन्। उनीहरु आफ्नो स्वाभिमान सहित, आफ्नो जहान परिवार (जसमा बुढा बाआमा, कलिला छोराछोरी, कतिपयका रोगी श्रीमान् पनि) र आफ्नै भविश्यका सपनाले डोहोरिएर आफ्नो शरीरको मोलमोलाई गर्ने चेतना सहितका जिउँदा जाग्दा महिला हुन्। दिनभर चोकमा मकै पोलेर, ठेला वा डोकोमा साग बेचेर वा दिनभर बालुवा चालेर वा होटलमा भाँडा माज्दा पनि कोठा भाडा, छोराछोरीको विद्यालयको शुल्क र दालभात पेट भरि दिन नसकेपछि वा परिवारका सदस्य बिरामी पर्दा औषधी किन्ने पैसा नपुगेर आफूले गरिरहेको काम र यौनकर्मको तुलना गरेर जाँचीबुझी लागेका हुन्।

दुई जिब्रे समाज

७० हजार महिलासँग दैनिक ‘शरीर बिसाउन’ पुग्ने पुरुषको संख्या दोब्बर तेब्बर छ। ती पुरुष यो समाजमा अपवित्र हुँदैनन्। यसैको ज्वलन्त उदाहरण हो, प्रकाश सपूतको भिडिओको विरोध गर्नेले ‘हाम्रा योद्धाहरुलाई यौनकर्मी भन्ने?’ भन्दै गर्दा ‘हाम्रा योद्धाहरुले वेश्यागमन गर्छन् भन्ने’ भनेको भने कहिँ भेटिएन।

महिला र पुरुषका लागि दोहोरो मापदण्ड बनाउने र त्यसै अनुसार व्यवहार गर्नेमा देशको प्रशासन, पुरातनपन्थी र आफूलाई क्रान्तिकारी दाबी गर्नेबीच गहिरो एकता छ। यो एकता यौनकर्मीलाई हेर्ने दृष्टिकोणमा मात्रै छैन, समाजका असल र खराब भनिने धेरै पक्षहरुमा छ।

यो त्यहि सोच हो जुन बम्बईको कोठीबाट उद्धार गरिएर नेपाल ल्याइएका महिलाहरुलाई सेल्टर दिने संस्थाका अध्यक्षहरुलाई सामाजिक बहिष्कार गरिनुपर्छ भन्दै संसद्को बैठकमा भाषणको रुपमा तीन दश अगाडि नै प्रकट भएको थियो।

त्यो त्यही सोच हो जुन १७ वर्षकी किशोरीले म आफूभन्दा दोब्बर उमेरको पुरुषबाट यौन हिंसामा परेँ भन्दा ‘त्यसले फसाएकी हो’ भन्दै प्रकट भइरहेको छ।

त्यो त्यही सोच हो जुन बलात्कारमा परेका कैयौँँ किशोरीको चरित्रमा चोरी औँला ठडाउँदै प्रकट हुन्छ।

तर सत्य के पनि हो भने साथ र अवसर पाए भने, यौनदासता पूर्ण जिन्दगीमा भासिएका महिला पनि फेरि समाजमा उदाहरणीय भएर फर्किन्छन्। सुनिता दनुवार, चरिमाया तामाङ जस्ता दिदीहरु यो समाजमा त्यसको उदाहरण हुनुहुन्छ। हामीले सिक्ने यो पनि हो।

खोइ हिसाब ?

एउटा प्रश्न, यो समाजले पढाएको नैतिकताको पाठ के यौनकर्मी महिलाहरुले पढेनन् होला ? उक्त नैतिकताको धरातलबाट यौनकर्मको वास्तविक धरातलमा उभिँदा उनीहरु कति काँपे होलान् ? कति रोए होलान् ? कतिपटक आत्महत्याको प्रयास गरे होलान् ? कतिपटक आफन्तको ढोका ढक्ढकाए होलान् ? ती पीडाको हिसाब राखेको छ समाजले ? खोजी ल्याउने हो भने उत्तर आउँछ, ‘छैन !’।

शिक्षा, स्वास्थ्य, गाँस, बास जस्ता आधारभूत आवश्यकताको व्यवस्था सरकारले गरिदिएको भए, पुर्खौली सम्पतीमा छोरीको हक कानूनी र सामाजिक रुपमा नै व्यवस्था भएको भए, हिजो आम जनताका माझ बस्न सक्ने नेता आज पनि आम जनता कै माझमा बस्न सक्ने हिम्मत भएका भए, सायद हजारौँ महिलाले यौनकर्मिबन्ने हिम्मत गर्दैनथे होलान्।

यति ठूलो संख्यामा महिलाहरु यौन व्यवसायमा लाग्नुको कारण नै नखोजी यो ‘गलत हो’ भन्ने तर्क नै गलत हो। महिला र पुरुषका लागि गरिएको अधिकार र नैतिकताको दोहोरो भारी अबका महिलाहरुलाई बोझ भइसकेको छ (यो वाक्य सरला गौतमको हो र मेरो पनि आवाज हो)। आज नेपालका हरेक ठूला शहरका चोक गल्लीमा यौनकर्मीहरु छन्। उनीहरुको संख्या सानो छैन (७० हजार भन्ने सानो संख्या होइन)। यो आजको नेपाली समाजको एउटा सत्य हो। सत्यको सामना गर्न ‘हाम्रा योद्धा’ र ‘तिम्रा रखेल’ जस्ता शब्दले पुग्दैन। यथार्थ बुझ्नका लागि मानवीय संवेदना चाहिन्छ। कार्यान्वयन गर्न निश्चित योजना र साहस चाहिन्छ। कमरेडहरु के तपाईंहरुमा नेता बन्ने साहस छ ?

5 thoughts on “यौनकार्यलाई अपमान नगरौँ, यो पनि काम हो

  1. यथार्थपरक उत्कृष्ट विचेचना सहितको लेख।

  2. ती मानिसहरुले आ-आफ्ना ज्ञानेन्द्रिय हरु सन्तुलन मा नराख्दाकाे प्रभाव मात्रै हाे !

  3. पितृसत्तात्मक सोचले महिलालाई मात्र यौनकर्मी भने पनि पुरुषहरु पनि यौनकर्मी हुन् वा छन भनेर अझै पनि भनेको पाइदैन । महिलाले चाहेर मात्रै यौन कर्मी बन्न सक्दैन्न । जो जो पुरुष यौन कार्यमा संलग्न हुन्छन् उनीहरुको बारे पनि अध्ययन गर्न जरुरी छ । महिलालाई मात्र यौनकर्मी भन्न मिल्दैन र न्यायिक हुदैन पनि ।

  4. समसायिक विवेचना पढें । सत्य तीतो हुन्छ । डबल स्टेण्डर्ड हुने परिपाटी हटेको छैन । समाजमा गहिरिॅदै गएको खाडल पूर्ने जमर्को गर्नु परिछ ।

  5. यस लेखमा प्रविष्ट धेरै कारणहरूमा सहमति छ । मानिस आफैंमा एउटा स्वतन्त्र संसार हो । तसर्थ हरेकका रुचि पनि भिन्न छन । भिन्न रुचिहरू भित्र यौन पनि एउटा महत्त्वपूर्ण पक्ष हो । यो पनि प्राकृतिक रूपले नै हरेक प्राणीको जैविक आवश्यकता पनि भएकाले झन महत्त्वपूर्ण पक्ष हो । तसर्थ व्यक्तिको रुचिको पाटो थप गर्नुपर्ने देखिन्छ । आपराधिक प्रवृतिले निर्देशित वा उद्देश्य प्राप्तिका लागि अनेक पक्षलाई साधनको रूपमा प्रयोग गरिने कुरा सामान्यरूपमा देखिएको, पढिएको भए पनि वैचारिक पक्षलाई कुनै गलत नियतसँग जोडेर आउने लेख स्तरीय हुन सक्तैन ।

Leave a Reply

Your email address will not be published.

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved