प्रकाश सपूतको गीतमाथिको हमला र वेश्यावृत्तिबारे नेपाली बुझाइ

वेश्यावृत्तिलाई जीवनको दुर्दशाको रूपमा चित्रण गर्नुको अर्थ महिलालाई कमजोर र विकल्पहीन बनाउनु हो। जबकि उनी संरचनागत हिंसाको शिकार भएकी हुन्। सपुतले बनाएको यो बिम्ब गलत छ। यदि हिजोकी कुनै योद्धा आज वेश्यावृत्तिमा संलग्न हुन बाध्य छन् भने उनीमाथि आज पनि हिंसा जारी छ।

प्रकाश सपूतको गीतमाथिको हमला र वेश्यावृत्तिबारे नेपाली बुझाइ

तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा भएको दशवर्षे सशस्त्र द्वन्द्व आफ्ना प्रतिबद्धतामा असफल भयो । मूलतः यसको नेतृत्वले प्रतिबद्धताविपरीत व्यवहार गर्दा त्यसमा होमिएको ठूलो पंक्तिको जीवन नै दुर्दशामा परिणत हुनपुग्यो।

प्रकाश सपूतको पछिल्लो गीत ‘पीर’ र त्यसको भिडिओले यही यथार्थ प्रस्तुत गरेको छ। गीतको सबैभन्दा सकारात्मक र सह्रानीय पक्ष यही हो। त्यसका लागि उनी धन्यवाद र प्रशंसाका पात्र हुन्। यो भिडियो त्यसबेलाका धेरै लडाकूलाई आफ्नो जीवनकथाजस्तो लाग्नसक्छ।

गीतले हामीलाई चिन्तन गर्न बाध्य बनाउँछ– नेपाली कम्युनिष्ट आन्दोलनको पुनःदुर्घटना र सीमाबारे । माओवादी आन्दोलन दुर्घटनासम्म कसरी पुग्यो भन्नेबारे मैले अढाई महिनाअघि खोतल्ने प्रयास गरेको थिएँ, जसलाई ‘चौबाटोमा अलपत्र स्वप्नविहीन माओवादी‘ शीर्षकमा प्रकाशित छ।

अहिले जसरी उनको गीतमाथि माओवादीको एउटा पंक्तिले गाली-गलौज गरिरहेको छ, त्यो गलत छ। प्रकाश सपूतको गीत प्रतिबन्ध लगाउनुपर्ने माग राख्नेहरू ती योद्धाहरूको योगदानबाट सत्तासुखको लाभ उठाउने तप्का हुन्। उनीहरूको बलिदानमाथि महल बनाउनेहरू हुन् । यो प्रतिबन्धको माग सशस्त्र द्वन्द्वकालका असहमत हुनेलाई ‘सफाया’ गर्ने घातक सोचको निरन्तरता हो। ‘आलोचक सबै दुश्मन हुन्’ भन्ने चिन्तनको उदाहरण पनि हो। यस्तो चिन्तन निन्दनीय छ। शान्तिपूर्ण प्रतिस्पर्धाको संसदीय राजनीतिमा आएको माओवादीबाट भएको यो व्यवहारको जति कठोर शब्दले आलोचना गरे पनि पर्याप्त हुने छैन ।

म्युजिक भिडिओमा प्रकाश सपूतले दुई जना भूतपूर्व योद्धाको जीवनको दुर्दशालाई दुई भिन्दाभिन्दै चित्रबाट प्रस्तुत गरेका छन्– वैदेशिक रोजगारी (बन्धक बन्न बाध्य) र वेश्यावृत्तिमा संलग्न हुन विवश।

एक पूर्वयोद्धालाई वेश्यावृत्तिमा संलग्न बनाइएको विषयलाई लिएर अहिले सामाजिक सञ्जालमा माओवादीको पक्षबाट आलोचना भइरहेको छ।

प्रकाश सपूतले जीवनको दुर्दशाको बिम्ब वेश्यावृत्तिलाई बनाएका छन्, त्यो भने प्रश्नभन्दा पर छैन। ‘कुनै स्त्रीको जीवन दुर्दशामा पुग्नु भनेको वेश्यावृत्तिमा संलग्न हुनु हो’ – उनले बनाएको भाष्य यही हो।

के वेश्यावृत्ति दुर्दशाको पर्याय नै हो त?

यो प्रश्नको जवाफ खोज्न वेश्यावृत्तिबारेको बुझाइ के हो भन्नेमै पुग्नुपर्छ। वेश्यावृत्तिलाई कसरी बुझ्ने भन्ने विषयमा उपयुक्त स्रोत Sheila Jeffreys को पुस्तक ‘The Industrial Vagina: The Political Economy of the Global Sex Trade’ हुनसक्छ।

उक्त कृतिमा Jeffreys ले Prostitution (वेश्यावृत्ति) बारेका पूर्ववत् मान्यताहरूमाथि प्रश्न गर्दै कसरी अन्तर्राष्ट्रिय राजनीतिक अर्थतन्त्रले यसलाई प्रोत्साहन गरिरहेछ भन्ने बृहत् अध्ययन प्रस्तुत गरेकी छन्।

वेश्यावृत्तिबारेका मान्यता स्थापित गर्ने क्रममा उनले radical feminist framework को सहारा लिँदै भनेकी छन्, “वेश्यावृत्ति महिलाको पराधीनताबाट शुरू भएको हानीकारक सांस्कृतिक अभ्यास (harmful cultural practice) हो र यसमा महिलाविरूद्धको हिंसा (violence against women) समावेश छ। …(र) यो अभ्यास महिलाको शरीरमार्फत् पुरूषको फाइदाका लागि भइरहेको छ।” (पृ.१०)

सन् १९७० मा Kate Millett ले लेखेको वाक्य उनले उद्धृत गरेकी छन्, “वेश्यावृत्ति महिलाको अवस्थाको सार बताउने उदाहरण हो जसले महिलालाई केवल ‘योनी’मा सीमित गरिदिएको छ ।” (पृ. १)

पुस्तकको निष्कर्ष खण्डमा उनले वेश्यावृत्ति उन्मूलनका लागि यसलाई महिला विरूद्ध हिंसाको रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएकी छन्। सन् १९९३ को ‘महिलाविरूद्धको हिंसाविरूद्धको संयुक्त राष्ट्रसंघीय घोषणा’ले यसलाई त्यसरी नै स्थापित गरेको थियो।

उनले उपयुक्त विकल्पको रूपमा ‘स्विडिस मोडल’ प्रस्तुत गरेकी छन्। सन् १९९९ जनवरीमा स्वीडेनले पारित गरेको कानून ‘Prohibitis the Purchase of Sexual Services’ ले वेश्यावृत्तिलाई महिलाविरूद्धको हिंसाको रूपमा परिभाषित गर्दै यसमा संलग्न महिलालाई अपराधी ठहर गर्नुको साटो दुर्व्यवहारको शिकारको रूपमा प्रस्तुत गरेको छ। साथै यो कानूनले ‘यौनेच्छाका लागि महिला र केटीहरूको शरीर किन्नेहरूलाई अपराधी’ ठहर गरेको छ। उक्त कानूनअनुसार वेश्यावृत्तिमा संलग्न महिला होइन उनको शरीर भोग गर्नेहरू अपराधी वा हिंस्रक हुन्छन्।

अब प्रकाश सपूतको गीतमा जाऊँ। वेश्यावृत्तिलाई जीवनको दुर्दशाको रूपमा चित्रण गर्नुको अर्थ महिलालाई कमजोर र विकल्पहीन बनाउनु हो। जबकि उनी संरचनागत हिंसाको शिकार भएकी हुन्। सपुतले बनाएको यो बिम्ब गलत छ। यदि हिजोकी कुनै योद्धा आज वेश्यावृत्तिमा संलग्न हुन बाध्य छन् भने उनीमाथि आज पनि हिंसा जारी छ।

भिडिओमा केहीले मात्र उठाइरहेको तर उठाउनुपर्ने अर्को दृश्य छ। विदेश गएकी पूर्वयोद्धाका पति तीन महीनादेखि बेखबर श्रीमतीको सोधपुछतिर लाग्दैनन् तर साथीको उक्साहटमा वेश्यागमनमा जान्छन्।

‘क्रान्ति’ असफल भएर नेताहरू पतनको पराकाष्ठामा पुग्दासम्म पनि लेनिनको ‘राज्य र क्रान्ति’, कार्ल मार्क्सको जीवनी पढ्ने, विदेश जाँदैगरेकी श्रीमतीको झोलामा क्रान्तिकारी किताब राखिदिने माओवादी पूर्वयोद्धाको चेत र चरित्र त्यही हो त ? माथि छलफल गरेजस्तै वेश्यावृत्तिमा संलग्न हुन बाध्य नारी हिंसापीडित हो । अनि त्यसको क्रेता चाहिँ पीडक पुरूष । माओवादी पूर्वयोद्धालाई ‘महिलाविरूद्ध हिंसा’को कारकको रूपमा प्रस्तुत गरिएकोप्रति क्रुद्ध जमात आदर्श पूर्वयोद्धा पुरुष पात्रलाई वेश्यागामी बनाउँदा चाहिँ किन मौन ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप ब्लग

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved