म पनि प्रकाश सपूतको पक्षमा, स्रष्टालाई धम्क्याउनु गतल (भिडिओसहित)

कुनै जमाना थियो, जहाँ बन्दूक र कलमबीचको लडाइँ थियो । अहिले त्यो पनि छैन तर किन यस्ता गीतहरू बज्नबाट रोकिन्छ। सबै बुद्धिजीवी, समाजसेवीहरू मिलेर यस्ता गीतको विरोध जनाउने प्रवृत्तिलाई रोक्नुपर्छ । उनीहरूलाई बुझाउनुपर्छ।

म पनि प्रकाश सपूतको पक्षमा, स्रष्टालाई धम्क्याउनु गतल (भिडिओसहित)

प्रकाश सपूतले ‘पिर’ मा जुन गीत रचना गरेर गाएका छन्, त्यसले दोस्रो जनआन्दोलनपछिका पीडाहरूलाई उजागर गरेको छ। उक्त म्युजिक भिडियोमा पूरा टीमले जसरी काम गरेको छ, त्यसका लागि राष्ट्रले सर्जकलाई बधाई दिएर सरहना गर्नुपर्ने हो । तर, उल्टै हामी विरोध गर्छौं।

प्रकाश सपूतले पीडाहरूलाई बाहिर निकालेर जुन शब्दमा ‘पीर’ भन्ने एल्बम बाहिर ल्याए। गलत प्रवृत्तिलाई उजार गरिदियो भनेर सारा नेपालीले काँधमा राख्नुपर्ने ठाउँमा यो विरोध किन? त्यो गीत लगभग ८० लाखभन्दा बढीले हेरिसकेका छन्, यो गीत पूरा तीन करोड नेपालीले एक पटक होइन पाँच–पाँच पटकसम्म हेर्नुपर्छ।

हामीले कहिल्यै पनि कलम, स्वर र संगीतको भाषा बुझ्न सकेनौँ । हामी त्यो मात्र बुझ्छौँ– कसैले गाली गर्‍यो वा लाठी तेर्स्याइयो भने । सडकमा कसैले टायर बाल्यो भने हामी त्यसैको पछाडि कुद्छौँ। हाम्रो संस्कृति नै त्यही किसिमको हुँदै गयो।

यति राम्रो गीतलाई हिलो छ्याप्ने अथवा निरुसाहित गर्ने जुन काम भइरहेको छ, यो निन्दनीय छ। हामी पूरै राष्ट्र मिलेर यस्ता प्रवृत्तिका व्यक्तिको विरोध गर्नुपर्छ।

किन उनीहरू त्यस्तो पेशा (वेश्यावृत्ति)मा लाग्न बाध्य भए त ? रोजगारीका लागि देश छोडेर विदेशिन बाध्य छन्। यो गीतकै कारण प्रकाश सपूतलाई आघात पुर्‍याउँने गरी डर, धम्की र नकारात्मक टिप्पणीहरू आइरहेका छन्, त्यो बिल्कुलै गलत छ । तर, माओवादी कमाण्डर प्रचण्ड र डा. बाबुराम भट्टराईले यसलाई नकारात्मक रुपमा नलिई सहज रुपमा लिनुपर्ने भनी धारणा सार्वजनिक गर्नुभयो, त्यसलाई धन्यवाद दिनुपर्छ।

हरेक राजनीतिक पार्टीको एउटा नीति हुन्छ । एउटा नियम हुन्छ । तर, हाम्रो देशमा राजनीतिले विकास नगरेर व्यवसाय ग¥यो । त्यसैले मान्छेमा यसप्रति वितृष्णा जागेको छ।

यदि प्रकाश सपूतको म्युजिक भिडियोले नराम्रो कुरा देखाएको हो भने माओवादीको नेतृत्व तहबाटै यसको विरोध हुनुपर्ने हो । साच्चिकै माओवादी विरोध किन तल्लो तहका व्यक्तिहरूले अड्कल काटेर अनेकथरी भनिरहेका छन् ? माओवादीबाट जहिले पनि हाम्रा सष्टाहरूलाई ‘पीर’ दिने काम भइरहेको छ।

गीतहरूलाई बहिष्कार गर्ने प्रवृत्ति आजको मात्र होइन, २०५८÷५९ तिर मेरै गीतले यो भोगिसकेको छ ।
‘फूलको माला सजिएको फोटो मात्र झुल्छ,
जो मरे पनि नेपालीकै सुउदो खाली हुन्छ,
नेपलीकै छोरा मर्छ जसले मारे पनि,
जीत हुन्न नेपाली जसले हारे पनि आमा, जसले हारे पनि आमा !’

उक्त गीत मैले दुवै पक्षलाई समेटेर गाएको थिएँ तर यो गीतलाई बन्द गर्नुपर्छ भन्दै दुवै पक्ष लागेका थिए । म अहिले आफूले व्यहोरेको त्यो क्षण सम्झिरहेको छु तर तिनै माओवादी साथीभाइले एकै ठाउँबाट दुई सयभन्दा बढी क्यासेट किनेर लगेको पनि मैले सुने।

‘यस्तो बरदान देऊ है आमा
मनमा सद्भाव जगाओस् हे आमा,
यी हातले बन्दूक होइन,
यी हातले किताब, कलम समाओस्’

उक्त शब्द रहेका गीतमा पनि निकै नकारात्मक टिप्पणीहरू आए र बन्द गरिएको थियो जसले गर्दा ती गीतहरू बज्न छोडेका थिए। त्यो बेला कुनै द्वन्द्वका गीतहरू बजे भन्दै माओवादीले बन्द गर्न लगाए भने कुनै शाही सेनाले बन्द गर्न लगायो ।

यसरी गीतहरू बन्द गर्दा मारमा श्रष्टाहरू पर्छन् जो धेरै मेहेनत गरेर गीत बनाउने र गाउँछन् । श्रष्टा ती हुन्, जो राष्ट्रलाई जोगाउन भनेर पसिना बगाउँछन् । यस्तो गर्दा राष्ट्रका लागि गाउने गीतकारहरू कति निरुसाहित हुन्छन् होला।

कुनै जमाना थियो, जहाँ बन्दूक र कलमबीचको लडाइँ थियो । अहिले त्यो पनि छैन तर किन यस्ता गीतहरू बज्नबाट रोकिन्छ। सबै बुद्धिजीवी, समाजसेवीहरू मिलेर यस्ता गीतको विरोध जनाउने प्रवृत्तिलाई रोक्नुपर्छ । उनीहरूलाई बुझाउनुपर्छ।

‘पिर’ गीत मैले त पाँच पटकसम्म हेरिसके। कहिले एउटा पक्षबाट हेर्छु, कहिले अर्को पक्षबाट हेर्छु। कहिले हेर्छु– यसमा विरोध गर्नुपर्ने कुन पक्ष थियो र त्यसरी विरोध गरियो ? यसमा त अँगाल्नुपर्ने पक्षबाहेक अरु केही पनि देखिँदैन।

देश छोडेर विदेशिनुपरेको व्यथा आजको होइन। हामीले साच्चै भन्ने हो भने– जतिखेर माओवादी द्वन्द्वकालमा लागेका हाम्रा जनसेना दाजुभाइ दिदी–बहिनी जति पनि थिए, उनीहरू आज कहाँ छन् त भन्दा उनीहरूमध्ये धेरै देश छोडेर विदेशिन बाध्य भएका छन्।

‘पिर’ गीतमा देखाइए जसरी विदेशिएकी ती महिला त प्रतिनिधि पात्र मात्र हुन्, जो त्यस्तै सीधा रुपमा भन्दा वेश्यावृत्तिमा पूर्वलडाकूलाई जसरी चित्रण गरिएको छ, के यो नेपालमा नभएको कुरा हो र ?

आज पनि शरीरका विभिन्न भागमा गोलीका छर्राहरू लिएर धेरै माओवादी पूर्वलडाकु हिँडिरहेका छन्। माओवादी शान्तिप्रक्रियामा आइसकेपछि उनीहरूको उपचार गराउने, उनीहरूलाई रोजगारीमा लगाउने सरकारको दायित्व होइन र ? यसबारे माओवादी नेतृत्व के सोचिरहेको छ, त्यो त थाहा भएन । एउटा सचेत नागरिकले त्यसबारे बोल्नुपर्ने दायित्व होइन र?

मेरो भनाइ हो– यसरी आँखा छर्लङ्ग हुनेगरी कविता र गीतहरू आउँछन् भने त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ। यसलाई कति पनि नकारात्मक रुपमा लिएर सष्टाहरूलाई दुःख दिएर निरुसाहित गर्ने काम गर्नुहुँदैन। अझ म त के भन्छु भने– यीभन्दा पनि अझ सुक्ष्म तरिकाले केलाएर त्यसलाई गीत बनाइयोस् ता कि हाम्रो आँखा खोलियोस् ।

हाम्रो समाजमा भइरहेका बेथिति र विकृतिलाई गीतमार्फत् उजागर गर्दै जनचेतना जगाउने काम गर्ने गीतकार, गायक र कलाकारलाई त हामीले टुँडिखेलमा राखेर फूलमाला लगाउनुपर्ने हो । नागरिक अभिनन्दन गर्नुपर्ने हो । तर उल्टो, उनीहरूलाई मार्ने धम्की समेत दिएर लुक्न बाध्य बनाइएको छ। यसरी विरोध गर्ने व्यक्तिहरूले पुनः गीत हेरेर नकारात्मक बुझाइलाई मेटाउने कोशिस गर्न आग्रह गदर्छु।

(वरिष्ठ स्त्री रोग विशेषज्ञ एवम् गीतकार डा. भोला रिजालसँग समृद्धा केसीको कुराकानीमा आधारित।)

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved