भाइरल गीतले सम्झाइदिएको अरेली काँडा : च्वास्स घोच्छ तर गुणकारी, जानौँ के काम लाग्छ?

यस्ता छन् औषधीय गुण र अरू विशेषता

गीत र नाचको भाव अभिनयले त ‘अरेली काँडा’ एकदमै घातक, विषालु वनस्पति होला जस्तो लाग्छ । तर, हाेइन ।

नेपालभ्युज

भाइरल गीतले सम्झाइदिएको अरेली काँडा : च्वास्स घोच्छ तर गुणकारी, जानौँ के काम लाग्छ?

‘अरेली काँडैले मलाई च्वास्सै, च्वास्सै…!’

यसपालिको तीजमा गाउँघरका झुपडीदेखि सहर–बजारका बंगलाहरूमा एकनास घन्किएको गीत हो यो । यहीं गीतमा आमा, दिदी बहिनीहरु कम्मर मकाइ–मर्काइ नाचे । दुवै हात हल्लाउँदै कम्मर बङ्गाएर खुट्टा उचाल्दै घुमेको भिडिओ टिकटक र फेसबुकमा राखे ।

यससँगै गीतमा लिपसिङ मिलाउँदै भिडिओ बनाएर टिकटकमा ‘शेयर’ गरिरहेका र हेरिरहेका नयाँ पुस्तामाझ ‘अरेली काँडा’ थाहा पाउने हुटहुटी जागेको हुनुपर्छ। गाउँका वनपाखामा घाँस दाउरा गर्नेहरू त अरेली काँडाका बारेमा जानकार नै हुन्छन्।

शहर बजारमा बस्ने कतिपय नयाँ पुस्तालाई ‘अरेली काँडा’ के हो भन्ने थाहा नहुन सक्छ। यसपटकको तीजको माहौल बनाउने काम गरेको यो गीत सुनेका शहर बजारिया नयाँ पुस्तालाई पनि लाग्दो हो ‘के रहेछ यो अरेली काँडा ?’

नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको लय र शान्ति श्री परियारको स्वरमा रहेको ‘अरेली काँडैले मलाई च्वास्स, च्वास्स..’ गीतमा प्रकाश सपूत र अञ्जली अधिकारीको नृत्य छ। गीतले ‘अरेली काँडालाई’ जति पीडा दिने चिजको रूपमा उछालेको छ, उति नै त्यो गुणकारी पनि छ। युट्युबमा सार्वजनिक भएको तीन सातामै डेढ करोड भ्यूज कमाउन सफल गीतमा प्रयोग गरिएको ‘अरेली काँडा’ खासमा के हो त ?

तीज समीक्षा : ओझेलमा मौलिक भाका, हावी भयो ‘अरेली काँडा’

गीत र नाचको भाव अभिनयले त ‘अरेली काँडा’ एकदमै घातक, विषालु वनस्पति होला जस्तो लाग्छ । तर, हाेइन ।

ससाना काँडा : जसले घोच्छ ‘च्वास्स च्वास्स’

अरेली काँडा तराईदेखि पहाडका डाँडा भीरपाखामा प्रशस्त पाइन्छ। विषेशत यो ५ देखि १५ फिट अग्लो हुन्छ। धेरै ठूलो मोटाइ हुँदैन। रातो फूल फुल्छ। कोशा लाग्छ।

पतझर र काँडायुक्त हुन्छ। यसको काँडा धेरै लामो हुँदैन। यसको रुख र हाँगामा सानासाना काँडा हुन्छन्। जसले धेरै गहिरोगरी घोच्दैन। गीतमा भनिए झैँ ‘च्वास्स च्वास्स’ मात्र हुन्छ। अरेली काँडाको पात मसिनो हुन्छ। यो बेलुकी घाम डुब्नासाथ लज्जावती झारझैँ ओइलिन्छ।

बारुददेखि औषधि निर्माणमा उपयोगिता

बारुद बनाउनका लागि सोडा, गन्धक र अङ्गार चाहिन्छ। बारुदका लागि चाहिने अङ्गार अरेली काँडाको बिरुवाबाट बनाउन सकिन्छ।

छिप्पिएको अरेली काँडाको दाउरा बनाएर बाल्ने र त्यसको कोइलाबाट अङ्गार बनाउन सकिन्छ। छिप्पिएको अरेली काँडाको दाउरा सुकाएर बाल्दा मज्जै बल्छ। तेल समेत निस्कन्छ। राम्रो बल्ने भएकाले गाउँघरमा खाना पकाउन यसको दाउरालाई राम्रो मानिन्छ।

यो वनस्पति औषधिको रूपमा पनि उपयोगी छ। यसको पातले जोर्नी दुखाई, सुन्निने–फुल्ने, रुघा, खोकी, पिनास, इत्यादि रोगमा अचुक काम गरी सन्चो पार्छ। यसले गर्भाशय– पाठेघर सुन्निने, ठूलो हुने र खस्नेमा तुरुन्त काम गरी लाभ पुर्‍याउने जानकारहरू बताउँछन्।

धादिङको अरेली काँडा (फोटो – रोजिना काप्री)

समयको सूचक

घाम लागिरहँदा अर्थात् दिनभर यसको पात फुकेको हुन्छ। तर, घाम डुबेपछि वा बेलुकी भएपछि यसका मसिना पातहरू एक आपसमा खप्टिन्छ र ओइलाएको जस्तो देखिन्छ। भोलिपल्ट बिहान भएर घाम लागेपछि फेरि यसका पातहरू फुक्छन्।

घाम डुबेपछि यो बिरुवाको पात ओइलाउने भएकाले असार साउनमा पानी परेको बखत वा पुस माघमा घामलाई बादलले छेकेको बेला रात पर्न लागेको जानकारी यो बिरुवाले दिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved