सन् २०२३ : अन्तर्राष्ट्रिय खेलकुदमा नेपालले पायो केही ऐतिहासिक उपलब्धी

नेपालभ्युज

सन् २०२३ : अन्तर्राष्ट्रिय खेलकुदमा  नेपालले पायो केही ऐतिहासिक उपलब्धी

काठमाडौं। अंग्रेजी क्यालेन्डरअनुसार सन् २०२३ को अन्त्यसँगै सन् २०२४ को आगमन भएको छ।

सन् २०२३ मा विभिन्न क्षेत्रमा झैँ खेलकुदमा पनि धेरै उतार चढाव आए। अन्तराष्ट्रिय खेलमा यो वर्ष नेपालका लागि रह्यो त ? आउनुहोस विस्तारमा जानौं ।

कबड्डी

१९ औं एसियाली खेलकुदमा नेपालबाट कबड्डीमा डेब्यू गरेको महिला टोलीले कांस्य पदक जित्न सफल भयो। एसियाली खेलकुदमा नेपालले पदकको खाता नखोल्ने डर भइरहेको बेला महिला कबड्डीले कांस्य पदक पक्का गर्यो।

चीनको हान्जाउमा भएको प्रतियोगितामा इरानले बङ्गलादेशलाई ५४–१६ अङ्कले पराजित गरेसँगै नेपाल समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको थियो। सेमिफाइनलमा नेपाल भारतसँग पराजित भयो ।

तर, सेमिफाइनल पुग्नासाथ नेपालले कांस्य पदक भने पक्का गरेको थियो।

कराते

१९ औं एसियाली खेलकुदको करातेमा नेपाली खेलाडी एरिका गुरुङले रजत पदक जितेर इतिहास बनाइन । फाइनलमा उनी कजाकस्तानकी वेरुल्त्सेवा सोफियासँग हारेपछि स्वर्ण पदक जित्नबाट चुकिन् ।

एरिका एसियाली खेलकुदमा रजतपदक जित्ने नेपालको दोस्रो खेलाडी भएकी छन् । यसअघि तेक्वान्दोकी सविता राजभण्डारीले सन् १९९८ मा थाइल्याण्डमा भएको एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन । यो एसियाली खेलुकदमा नेपालले एक रजत र एक कांस्य पदक जित्यो ।

मुवाथाई

डब्लूबीसी मुवाथाईको विश्व च्याम्पियनसिप खेलमा प्रतिस्पर्धा गर्न गएका तीन नेपाली खेलाडीले द्वितीय स्थान हासिल गर्दै कीर्तिमान बनाए ।

थाइल्यान्डमा आयोजना भएको च्याम्पियनसिपमा मुवाथाईको ‘विश्व च्याम्पियनसिप’ फाईटमा भाग लिन गएका नेपाली गेन्जी राई, दिगविजय राठौर र लालबहादुर तामाङले समान रेकर्ड राख्न सफल भए् ।

नेपालका राई (३१ केजी), तामाङ (५३ केजी), र राठोर (६३ केजी) को खेलमा प्रतिस्पर्धा गरेका थिए । तीनै जनाले द्वितीय स्थान हासिल गर्दै रजत पुरस्कार पाउन सफल भए ।

उसु

साउदीको रियादमा भएको वर्ल्ड कमब्याट गेम्समा उत्कृष्ट प्रदर्शन गर्दै नेपालका विजय सिन्जाली प्रथम भएका थिए । उसु खेलको पुरुष छानछ्वान बिधामा एतिहासिक ९.७२ स्कोर सहित विजय प्रथम भए ।

यस अघि चीनमा भएको १९ औं एशियाली खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय जगतमा ९.७० स्कोर सहित आफ्नै कीर्तिमान तोडेका विजय यसपाली भने प्रथम हुन सफल भए ।

गल्फ

नेपाल नम्बर एक एमेच्योर गल्फर सुवास तामाङले आईजीयु १२२ औं एमेच्योर गल्फ च्याम्पियनसिप अफ इण्डियाको उपाधि हात पारे।

सुवासको यो ऐतिहासिक सफलता हो। नेपाली गल्फरले भारतमा कुनैपनि प्रतियोगिताको उपाधि जितेको यो पहिलो पटक हो ।

सन् १८९२ मा सुरूआत भएको भारतकै सबैभन्दा पुरानो गल्फ च्याम्पियनसिप जित्ने सुवास पहिलो नेपाली खेलाडी भए ।

बक्सिङ

नेपाली बक्सर सुष्मा तामाङले एएसबीसी यू–२२ बक्सिङ प्रतियोगितामा रजत पदक जितेकी थिइन्।

थाइल्यान्डको बैंककमा भएको ४८ केजी तौल समूहको फाइनलमा सुष्मा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग ५–० अङ्कले पराजित भएपछि स्वर्णबाट बन्चित भइन । सुष्माले मंगोलियाकी जनारगुली बाइस्येनबाइलाई हराउँदै फाइनलमा स्थान पक्का गरेकी थिइन्। उनी प्रतियोगिताको फाइनल पुग्ने पहिलो नेपाली खेलाडी हुन्।

पारा तेक्वान्दो

पारा तेक्वान्दोमा पनि नेपाली खेलाडीको प्रदर्शन उल्लेख्य रह्यो। नेपालकी सिर्जना घिसिङले विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन्।

साउदी अरेबियाको रियादमा आयोजना भएको प्रतियोगितामा सिर्जनाले ५२ केजीमुनी के–४४ क्याट्गोरीमा स्वर्ण पदक जितिन्। नेपालको लागि विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा यो पहिलो स्वर्ण हो ।

सिर्जनाले एसियन पारा युथ गेम्स र डब्लूटी प्रेसिडेन्ट कपमा पनि रजत पदक जितेकी थिइन् । विश्व वरीयतामा शीर्ष १६ मा पर्ने पारा तेक्वान्दो खेलाडीले यस प्रतियोगितामा सहभागी हुने अवसर पाएका थिए।

इन्टरनेसनल लेभर–२ पारा तेक्वान्दो प्रशिक्षक कविराज नेजी लामाको प्रशिक्षणमा रहेका सिर्जना र पलेशाले प्रतियोगितामा भाग थिए।

यस्तै, पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले चौथो एसियाली पारा खेलकुदमा नेपाललाई ऐतिहासिक पदक दिलाएकी थिइन्।

चीनको हान्जाउमा भएको एसियाली पारा खेलकुदमा पलेशाले महिला के–४४ क्याटगोरीअन्तर्गत ५७ केजीमुनि तौलसमूहमा कांस्य पदक जित्दै इतिहास रचेकी थिईन्।

फुटबल

सन २०२३ मा पुरुष फुटबलले खासै उत्साह ल्याउन सकेन । महिला फुटबलले भने केही उपलब्धि हासिल गर्यो ।

१९औं एसियाडको तयारीस्वरूप नेपालले महिला फुटबलमा दक्षिण एसियाको बलियो टोली बंगलादेशसँग दुई वटा मैत्रीपूर्ण खेल खेलेको थियो ।

सो भ्रमणमा नेपालले दोस्रो खेल टाइब्रेकरमार्फत ४–२ गोलअन्तरले जित्दै सिरिजको ट्रफी उचाल्यो । खेलमा वैकल्पिक गोलकिपरका रूपमा मैदान प्रवेश गरेकी अञ्जना रानामगरले दुई पेनाल्टी बचाएपछि नेपालले रोमाञ्चक जित हासिल गरेको थियो ।

यस्तै, साफ यू–२० महिला फुटबल प्रतियोगितामा पनि नेपाली टोली उपविजेता बन्यो। बङ्गलादेशमा भएको खेलमा घरेलु टोलीसँग ३–० गोलअन्तरले पराजित हुँदा नेपालले उपविजेतामा चित्त बुझाएको थियो।

यता, पुरुषतर्फ राष्ट्रिय टोली विश्वकप फुटबल छनोटमा सहभागी भयो। पहिलो चरणमा लाओसलाई पराजित गरेको नेपाली टोली दोस्रो चरणमा भने पराजित भइरहेको छ ।

दोस्रो चरणको पहिलो खेलमा नेपाल  यूएईसँग ४–० गोलअन्तरले पराजित भयो। सो खेल यूएईको घरेलु मैदानमा भएको थियो।

दशरथ रंगशालामा भएको दोस्रो खेलमा नेपाल यमनसँग २–० गोलअन्तरले पराजित भयो। दोस्रो चरणका बाँकी खेल आगामी मार्चमा हुनेछन्। समूह एचमा नेपाल, यमन, यूएई र बहराइन छन्।

फुटबल खेलाडीको पलायन भने यो वर्षभरी नै चर्चाको विषय बन्यो । एकै वर्ष करिब १ दर्जन खेलाडी विदेश पलायन भए । यसले राष्ट्रिय टोली निर्माणमै समस्या आउने सम्भावना देखिएको छ ।

क्रिकेट

सन् २०२३ मा क्रिकेटलाई नेपालको सबैभन्दा सफल खेलको रुपमा स्मरण गर्न सकिन्छ। राष्ट्रिय टोली र यू–१९ टोलीले अन्तर्राष्ट्रिय स्तरमा गतिलो प्रदर्शन गर्न सफल भए।

आइसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले सनसनी नै मच्चायो । एकदिवसीय स्टाटस नै गुमाउने अवस्थामा पुगिसेकको नेपालले अन्तिम १२ मध्ये ११ खेल जितेर विश्वभर नै चर्चा कमायो ।

अन्तिम खेलमा यूएईलाई हराउँदै नेपाल एकदिवसीय विश्वकपको क्वालिफायरमा पुग्यो । यो खेल त्रिवि मैदानमा भएको थियो ।

विश्वकप क्वालिफायरको पहिलो खेलमा नेपाल आयोजक जिम्बावेसँग पराजित भयो । नेपालले पहिले ब्याटिङ गरेर २९० रन बनाएको यो खेलमा कुशल भूर्तेलले ९९ रन बनाएका थिए ।

दोस्रो खेलमा भीम सार्कीको अविजित ७७ रन मद्दतले नेपालले अमेरिकालाई पराजित गर्यो । तेस्रो खेलमा नेपाल वेस्ट इन्डिजसँग सहजै हार्यो ।

चौथो खेलमा नेदरल्याण्डसँग पनि हारेपछि नेपाल क्वालिफायरको सुपर सिक्समा पुग्न असफल भयो । तर, यो क्वालिफायरमा नेपालले पहिलो पटक टेष्ट राष्ट्र वेस्ट इन्डिज र जिम्बावेसँग प्रतिस्पर्धा गर्ने मौका पायो।

सन् २०२३ को एसिया कप नेपालको लागि ठूलो अवसरको रुपमा आयो । एसिया कपमा नेपाली क्रिकेट टोलीले भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने अवसर पायो। दुवै खेलमा पराजित भए पनि नेपाललाई अन्तराष्ट्रियस्तरमा चिनाउने यसले सहयोग पुर्यायो ।

एसियाली खेलकुदमा नेपाली टोलीले अर्को उपलब्धी हासिल गर्यो। मङ्गोलियाविरुद्धको खेलमा नेपालले विभिन्न कीर्तिमानी बनायो। मंगोलियाविरुद्ध नेपालले २० ओभरमा ३ विकेट क्षतिमा ३१४ रन बनायो। जुन टी–२० को इतिहासमा नै सर्वाधिक ठूलो स्कोर बन्न पुग्यो।

यससँगै, नेपालले सन् २०१९ मा आयरल्यान्डविरुद्ध अफगानिस्तानले बनाएको २७८ रनको कीर्तिमान भंग गर्न सफल भयो।

कुशल मल्लले ३४ बलमा शतक हानेर कीर्तिमान बनाए । उनले क्रिश गेल, युवराज सिंह र हजरतुल्लाह जाजाको ३५ बलमा शतक पुरा गरेको कीर्तिमान तोडे।

सो खेलमा नेपालले मङ्गोलियालाई २७३ रनले पराजित गर्यो। अत्यधिक रन अन्तरको कीर्तिमान पनि नेपालकै नाममा भयो । सन् २०१९ मा टर्कीलाई चेक रिपब्लिकले २५७ रनले पराजित गरेको कीर्तिमान नेपाली टोलीले तोड्यो।

सोही खेलमा दीपेन्द्र सिंह ऐरीले प्रहार गरेको अर्धशतक भने क्रिकेट इतिहासमै दुर्लभ कीर्तिमान बनेको छ । ऐरीले ९ बलमा अर्धशतक पुरा गरे।

उनले ८ छक्का र २ रन लिएर अर्धशतक पुरा गरे। उनले लगातार ६ छक्का प्रहार गरे। अब उनको कीर्तिमान बराबरी हुन सके पनि तोड्न भने लगभग असम्भव छ ।

दीपेन्द्रको कीर्तिमान तोड्न ८ बलमै अर्धशतक बनाउनुपर्नेछ । जुन सामान्य अवस्थामा असम्भव छ ।

टी–२० एशिया छनोटको सेमिफाइनलमा यूएईलाई ८ विकेटले पराजित गर्दै नेपाल टी–२० विश्वकपमा छनोट भयो। सन् २०१४ मा पारस खड्काको नेतृत्वमा नेपालले पहिलो टी–२० विश्वकप खेलेको थियो।

१० वर्षपश्चात नेपाल पुनः टी–२० विश्वकपको लागि छनोट भएको छ । टी-२० विश्वकप यही वर्ष अमेरिका र वेस्टइन्डिजमा हुँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved