क्रिश्चियानिटी र कम्युनिज्म : के प्रचण्ड अर्को जिसस क्राइष्ट हुन् ?

मन्त्री किरातीले चर्चा गरेको प्रचण्ड कुनखाले हुन् ? हिजो जनयुद्धकालमा सांस्कृतिक क्रान्ति भन्दै धार्मिक सम्पदा र प्रचलन नाश गर्ने र पण्डित-पुरोहितलाई भाटे कारबाही गर्ने प्रचण्ड कि बराहक्षेत्र पुगेर भैसी पूजा र भारतीय मन्दिरमा पुगेर आरती उतारिरहेका गेरुवस्त्रधारी प्रचण्ड ?

क्रिश्चियानिटी र कम्युनिज्म : के प्रचण्ड अर्को जिसस क्राइष्ट हुन् ?

काठमाडौं । प्रसिद्ध दार्शनिक बट्र्रान्ड रसेलले आफ्नो उत्तिकै प्रसिद्ध पुस्तक ‘हिष्ट्री अफ फिलोसफी’ मा मार्क्सवादको समीक्षा गर्दै लेखेका छन्— कम्युनिज्म इज मोर्डन क्रिश्चियानिटी अर्थात् साम्यवाद आधुनिक इसाईवाद हो ।

रसेलको यो विश्लेषण संसारका धेरैजसो कम्युनिष्ट पार्टी र नेता-कार्यकर्ताले मन पराउँदैनन् । कहाँको क्रिश्चियानिटी, कहाँको मार्क्सवाद ! उनीहरूको भनाइ हुन्छ— क्रिश्चियानिटी एक धार्मिक तथा आध्यात्मिक विचार हो । ईश्वरवादी दर्शन हो । मार्क्सवाद समाज विज्ञान हो, भौतिकवादी तथा नास्तिक दर्शन हो । यी दुईबीच कुनै समानता छैन ।

तर, प्रचण्ड सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको भनाइले भने बट्र्रान्ड रसेलको उपरोक्त विश्लेषणलाई पुष्टि गर्न खोजेको आभास हुन्छ । मन्त्री किराती बारम्बार आफ्नो भाषणमा क्रिश्चियानिटी र कम्युनिष्टबीच तारतम्य स्थापित गर्न खोज्दछन् र यो पनि भन्न भ्याउँछन् कि— प्रचण्ड अर्का जिसस क्राइष्ट हुन् । अर्थात् जिसस क्राइष्ट र प्रचण्डबीच थुप्रै समानता छन् ।

यद्यपि यी सन्दर्भ बिल्कुलै फरक हुन् । तर, प्रसङ्ग जोडिन आउँछ । रसेलले क्रिश्चियानिटीको दार्शनिक सार तत्त्वलाई मार्क्सवादको दर्शनशास्त्रसँग तुलना गर्दै त्यसो भनेका थिए । त्यो पनि क्रिश्चियानिटीको एक हाँगो रोमन क्याथोलिक सेन्ट अगस्टाइनवादी मान्यतासँग तुलना गरेर ।

रसेलको तुलना 

क्रिश्चियानिटीले भन्छ कि मान्छे पापको प्रतिफल हो । आदम र इभले गल्तीले बर्जित फल खाएको कारणले ‘मान्छेको पतन’ र ‘ओर्जिनल सिन’ अर्थात् ‘पाप’ जन्मियो । मान्छेको जन्म नै पापको कारणले हुन्छ र मुक्ति प्रभु यशुले दिनुहुन्छ ।

साम्यवादले भन्छ कि सर्वहारा वर्ग एक ‘ऐतिहासिक अपरिहार्यता’ हो । सर्वहारा भनेको श्रमबाहेक केही नभएको एक शोषित, उत्पीडित तथा दुखी वर्ग हो । तर, इतिहासको विकास क्रममा ९५ प्रतिशत मान्छे एकपटक यस्तो हुनैपर्छ । ५ प्रतिशत मात्र बुर्जुवा हुन सक्दछन् ।

यी दुवै विश्लेषणको दार्शनिक अर्थ हुन्छ— नियति । पहिलो विश्वासमा मान्छे पापग्रस्त छ । त्यो पनि आफूले गरेको हैन, आदम र इभले गरेको गल्तीको पाप । दोस्रोमा मान्छे ऐतिहासिकताबाट ग्रस्त छ, त्यो पनि आफूले गरेको गल्तीबाट हैन, इतिहासले सिर्जना गरेको परिस्थितिका कारणले । अर्थात् मान्छे ‘पाप’ र ‘ऐतिहासिकता’ बाट मुक्त छैन ।

क्रिश्चियानिटीले भन्छ कि मान्छे पापमोचनका लागि चर्चको सहारामा जानुपदर्छ । चर्चका पादरीले उनीहरूलाई परमात्मासँग भेटाइदिन्छन् र पापी आत्मा मुक्त हुन्छन् । चर्च पाप मोचित हुने पवित्र स्थल हुन् । पादरी तिनका अभियन्ता वा परमात्माका दूत हुन् ।

मार्क्सवादी विचारले भन्छ कि सर्वहारा वर्गले आफ्नो मुक्तिका लागि कम्युनिष्ट पार्टीमा सङ्गठित हुनुपर्दछ । कम्युनिष्ट पार्टीका नेता, कमरेड, अगुवा दस्ता वा वर्गमुक्ति योद्धाले उनीहरूलाई शोषण, दमन र उत्पीडनबाट मुक्त गर्दिन्छन् ।

सन्त अगस्टाइन र कार्ल मार्क्सको अन्तिम सार पनि एउटै छ— दुवैले निजी सम्पत्तिको अन्त्यले मात्र शोषणको अन्त्य हुने दाबी गर्दछन् । सन्त अगस्टाइन त्यसका लागि चर्चलाई भूदान गर्ने अभियान चलाउँछन् । कार्ल मार्क्स निजी सम्पत्तिको अन्त्य गरी कम्युनमा सामूहिक सम्पत्ति हुनुपर्ने वकालत गर्दछन् । लेनिनको भाषामा सम्पूर्ण उत्पादनका साधनको राष्ट्रियकरणपछि मात्र सर्वहारा वर्गले मुक्ति पाउने सुनिश्चित हुन्छ ।

क्रिश्चियानिटी र कम्युनिज्म दुवैको सोच एकलरेखीय छ । भूस्वामित्व सबै चर्चमा गएपछि किसानको शोषण चर्च र पादरीले गर्दैनन् भन्ने के ग्यारेन्टी छ ? सबै उत्पादन साधनको स्वामित्व राष्ट्रियकरण भएपछि राज्य चलाउनेले जनताको शोषण गर्दैनन् भन्ने के ग्यारेन्टी छ ? चर्चको शासनले नै शोषण गर्न थाल्यो भने त्यसपछिको मुक्तिको बाटो के ? साम्यवादी सरकार र पार्टीले नै शोषण गर्न थाल्यो भने त्यसपछिको क्रान्ति कुन हो ?

यी प्रश्नमा आएर सेन्ट अगस्टाइन र कार्ल मार्क्स दुवैको मुख चुप हुन्छ । दुवैको सिद्धान्त सिद्धिन्छ । दुवैको कल्पनाशीलताको सीमा समाप्त हुन्छ ।

आखिर व्यवहारमा भयो पनि त्यही । यी दुवै सोच अन्ततः असफल भए । चर्चको शासनबाट मुक्ति पाउन युरोपमा ठूला-ठूला र जोखिमपूर्ण धर्मसुधार आन्दोलन भए र ‘प्रोटेष्टानिज्म’ जन्मियो । प्रोटेस्टेन्टहरूले भने— आत्मा र परमात्माको बीचमा कुनै पुल, कुनै चर्च वा पादरी चाहिँदैन । आत्माले आफैँ परमात्माको प्राप्ति गर्न सक्दछ ।

यही मान्यताले इसाई समाज र राष्ट्रमा ‘सेक्युलरिज्म’ अर्थात् धर्म निरपेक्षता जन्मियो । ठीक त्यसैगरी सोभियत सङ्घ, पूर्वी तथा मध्ययुरोपका साम्यवादी स्वर्गहरू एकपछि अर्को गर्दै ध्वस्त भए । त्यहाँ पनि ठीक त्यही आरोप थियो कि कम्युनिष्ट शासकहरू स्वयम् निरङ्कुश शोषक वर्गमा परिणत भए । त्यो वर्गलाई बुझाउन ‘न्यूमेन क्लातुरा’ भन्ने नयाँ शब्द नै जन्मियो ।

विश्वका ४८ मुलुकमा स्थापित भइसकेको एकदलीय कम्युनिष्ट शासनपछि एउटा हातको औँलामा गन्न सकिने गरी सीमित भयो ।

किरातीको सन्दर्भ 

नेपालको इसाई समुदायको एक कार्यक्रमलाई सम्बोधन गर्दै वर्तमान सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले दिएको अभिव्यक्ति अहिले विवादमा परेको छ । उनको भनाइको समग्रतालाई हेर्दा धर्मनिरपेक्ष नेपालमा इसाई धार्मिक समुदायको पनि उत्तिकै अधिकार छ भन्ने मान्यतालाई पक्षपोषण गर्न खोजेको देखिन्छ । तर, उनका शब्द बारम्बार चिप्लिएका छन् ।

यदि उनको आशय त्यही थियो भने पनि उनले प्रयोग गरेका शब्द सही हैनन् । क्रिश्चियन धर्म नमान्नेलाई ‘संविधान विरोधी, देशद्रोही’ ठहर गर्ने र ‘हत्कडी लगाएर जेल पठाउने’ उनको अभिव्यक्ति सरासर आपत्तिजनक हो ।

लोकतन्त्रमा कुनै धर्म मानेको वा नमानेका कारण कसैलाई पनि संविधानविरोधी, देशद्रोही ठहर गर्न र हत्कडी लगाएर जेल पठाउन सकिँदैन । पाइँदैन । राज्यसँग त्यस्तो अधिकार हुँदैन । तसर्थ मन्त्री किरातीको यो भनाइ बिल्कुलै अतिरिञ्जित हो ।

किराती आफैँ भन्छन् कि उनी नास्तिक हुन्, कुनै पनि धर्म मान्दैनन् । फेरि उनी आफैँ भन्छन् कि कुनै धर्म नमान्नु ‘संविधानविरोधी, देशद्रोह र हत्कडी लगाएर जेल पठाउन’ योग्य अपराध हो । उनको बोल्ने भाँती नपुगेको भए भिन्नै कुरा । अन्यथा उनको यो भनाइ धर्मनिरपेक्ष राष्ट्रको ‘स्प्रिट’ मुताबिक हुँदै हैन ।

उनले यो भन्नपर्थ्यो कि हाम्रो संविधान र धर्मनिरपेक्षताको मान्यताले कुनै पनि धर्मप्रति विभेद र अपमान गर्ने अधिकार कसैलाई दिँदैन । समग्र भाषणमा उनले बेलाबेला यसो भनेका पनि छन् । हुन सक्दछ, उनको आशय पनि यही थियो । तर, धार्मिक सभामा दिइने भाषणलाई उत्तेजक बनाउने कि सहिष्णु ? मर्यादित शुभकामना दिने हो कि ताली र भोटको लोभमा बोल्दाबोल्दै सन्तुलन गुमाउने ? धार्मिक कार्यक्रम राजनीतिक आमसभा हो र ? कार्यक्रममा मन्त्री किरातीले ताली पाएका छन् । उनी जति असन्तुलित, असहिष्णु र उग्र भएका छन्, त्यति नै जोडले ताली बजेको प्रष्टै छ । तर, उनले सन्तुलन र मर्यादा भने गुमाएका छन् ।

तुष्टीकरणको राजनीति 

मन्त्री किराती र उनको माओवादी पार्टीले अल्पसङ्ख्यक र सानो आकारको इसाई समुदायको दमित भावनालाई एक क्षण तुष्टीकरण गराएर के कति भोट थप्यो वा थपिने छ थाहा छैन । तर, सँगसँगै अर्को पाटोलाई पनि हेर्नु पर्दछ । बहुसङ्ख्यक धर्मावलम्बी समुदायको चित्त दुखाएर बढाइएको भनिएको भोट राजनीतिले नाफाभन्दा बढी घाटा हुन सक्दछ । यस्तो कामलाई तुष्टीकरणको राजनीति भनिन्छ, जो अन्ततः आफैँलाई नोक्सानदायक हुन्छ ।

इसाई र इस्लाम नेपालका रैथाने वा मौलिक धर्म हैनन् । किरात, बैदिक हिन्दू, बौद्ध, बोन, रैथाने वा मौलिक विचार, धर्म, सभ्यता र संस्कृति हुन् ।

नि:सन्देह धर्मनिरपेक्ष राज्यमा धार्मिक स्वतन्त्रता र सहिष्णुता हुनपर्दछ । अन्यत्रबाट फैलिँदै आएका भए पनि सबैको उत्तिकै सम्मान गरिनुपर्दछ । तर, पैगम्बर मोहम्मदको जन्म नेपालमा भएको हैन, मक्का, मदिना नेपालमा छैनन् भन्ने पनि उत्तिकै ठूलो सत्य हो । क्राइष्टको जन्म वा क्रुसिफिकेसन नेपालमा भएको हैन भन्ने पनि उत्तिकै ठूलो सत्य हो ।

किरात, हिन्दू, बौद्ध र बोनका यावत् पवित्र स्थल यहीँ छन् । बुद्ध यहीँ जन्मिए, लुम्बिनीमा । हिन्दू मान्यताका कयौं ऋषिमुनीहरू यहीँ जन्मिए। पशुपतिनाथ, मुक्तिनाथदेखि कयौं पवित्र स्थल यही छन् । किरातको उद्गम र प्रभाव क्षेत्र दुवै नेपाल र नेपाल मात्र हो । यो प्राकृतिक भिन्नता र त्यसले सिर्जना गर्ने मनोविज्ञानलाई कसैले पनि बेवास्ता गर्नुहुँदैन ।

धर्मनिरपेक्षता वा धार्मिक स्वतन्त्रतालाई स्वीकार गर्नु लोकतन्त्र र मानव अधिकारको अन्तर्राष्ट्रिय मान्यता र अभिसन्धिलाई स्वीकार गर्नु हो । आफ्नो मौलिक विचार, सभ्यता, संस्कृति, ज्ञान परम्परा र मूल्यप्रणाली सबै त्याग गर्नु हैन । तसर्थ, अन्यत्रबाट फैलिँदै आएका सम्प्रदायका धर्मालम्बीलाई खुसी बनाउने नाममा आफ्नै संस्कृति र सभ्यताको अपमान हुने अभिव्यक्ति कसैले दिनु हुँदैन ।

मन्त्री किरातीले गरेको ठूलो गल्ती यहीँनेर हो । क्रिश्चियन समुदायलाई शुभकामना र सुरक्षाको अनुभूति दिनु उनको कर्तव्य हुन्थ्यो । तर, धार्मिक सभामा गएर तुष्टीकरणको राजनीति गर्न जरुरी थिएन ।

प्रचण्ड र क्राइष्टको नमिल्दो तुलना 

मन्त्री किरातीले आफूलाई मात्र हैन, भाषणका क्रममा बारम्बार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत तानेका छन् । उनी प्रचण्डको समेत जिसस क्राइष्ट र क्रिश्चियानिटीप्रति विशेष लगाव छ भन्ने सन्देश दिने प्रयत्न गर्दछन् । प्रचण्डलाई जिसस क्राइष्टकै नयाँ अवतारका रूपमा चित्रण गर्न खोज्दछन् ।

धार्मिक आदर्श पुरुषसँग समकालीन राजनीतिक नेताको तुलना आफैँमा हाँस्यास्पद हो । भोलि केपी शर्मा ओलीले ‘म अर्को बुद्ध हुँ’, शेरबहादुर देउवाले ‘म अर्को श्रीकृष्ण हुँ’ भन्ने हो भने कस्तो सुनिएला ?

जिसस क्राइष्ट एक आध्यात्मिक सन्त थिए, प्रचण्ड एक माओवादी सशस्त्र विद्रोही हुन् । जिजस आफैँ क्रुसिफाई भए, आफैँ हिंसाको शिकार भए । प्रचण्ड युद्धको एक पक्ष थिए । जुन नयाँ जनवादी क्रान्ति र साम्यवाद स्थापना गर्न भनेर उनले युद्धको सुरुवात र नेतृत्व गरेका थिए, अन्ततः ती उद्देश्य परित्याग गरेर उनी संसदीय व्यवस्था मान्न आएका हुन् । तसर्थ, प्रचण्डमा आफ्नै विचारप्रतिको निष्ठासमेत देखिन्न ।

क्राइष्ट र प्रचण्डको तुलना बिल्कुल निरर्थक हो । यस्तो तुलना सायद क्रिश्चियन समुदायले नै मन नपराएको हुन सक्दछ । फेरि मन्त्री किरातीले चर्चा गरेको प्रचण्ड कुनखाले हुन् ? हिजो जनयुद्धकालमा सांस्कृतिक क्रान्ति भन्दै धार्मिक सम्पदा र प्रचलन नाश गर्ने र पण्डित-पुरोहितलाई भाटे कारबाही गर्ने प्रचण्ड कि बराहक्षेत्र पुगेर भैसी पूजा र भारतीय मन्दिरमा पुगेर आरती उतारिरहेका गेरुवस्त्रधारी प्रचण्ड ?

मन्त्री किरातीले स्वयम् आफ्ना नेतामा आएको बदलावलाई बुझ्न नसकेको देखिन्छ ।

राजनीतिक जोखिम

तुष्टीकरणको राजनीतिले मौलिक धर्म, संस्कृति मान्ने बहुसङ्ख्यक समुदायलाई असन्तुष्ट र आक्रोशित मात्र बनाउँदैन, त्यसका राजनीतिक जोखिम पनि धेरै हुन्छन् । देशमा त्यसै पनि हिन्दूत्वको राजनीतिलाई राजतन्त्रसँग जोडेर उछाल्ने प्रयत्न भइरहेको छ । यस्तो बेला जिम्मेवार पदमा बसेको व्यक्तिले अनावश्यकरूपमा तुष्टीकरणको राजनीति गर्नु सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानकै लागि जोखिम बढाउने काम हुन सक्दछ ।

यसको ज्वलन्त उदाहरण छिमेकमा भारतीय राजनीति छँदैछ । भारतमा तुष्टीकरणको राजनीति जति बढ्दै गयो, भारतीय जनता पार्टी त्यति नै बलियो हुँदै गयो । अन्ततः अहिले ‘लेफ्ट-लिबरल’ हरूको राजनीतिक अस्तित्व नै सङ्कटमा परेजस्तो भएको छ । कम्युनिष्टहरू लगभग सकिएका छन् । कांग्रेस निक्कै कमजोर भएको छ ।

नेपालका तथाकथित ‘लेफ्ट-लिबरल’ हरूले छिमेकको यो घटनाबाट शिक्षा लिन जरुरी छ । मन्त्री किरातीका जस्ता उताउला, अमर्यादित र असन्तुलित टिप्पणीले दक्षिणपन्थको हावालाई अझै फुक्न मद्दत पुर्‍याउँछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved