आजु तिलक चढै रघुनन्दन के : जनकपुरधाममा विवाहपञ्चमीको धुम

विवाहपञ्चमीको चौथो दिन तिल्कोत्सव मनाइँदै

आजु तिलक चढै रघुनन्दन के : जनकपुरधाममा विवाहपञ्चमीको धुम

जनकपुरधाम ।

आजु तिलक चढै रघुनन्दन के
रघुनन्दन के रघुनन्दन के

यस्तै सुमधुर लोक गीत संगीतबीच प्रत्येक वर्ष जनकपुरमा मनाइने रामजानकी विवाह पञ्चमी महोत्सवको रौनक यतिखेर जनकपुरधाममा देखिएको छ ।

प्राचीन मिथिला र अहिले मधेस प्रदेशको राजधानी जनकपुरधाममा भगवान् सीताराम विवाह पञ्चमी महोत्सव पौराणिक प्रचलन अनुसार मनाइँदै छ ।

जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले यसलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । साताव्यापी महोत्सवमा सहभागी हुन यसपटक लाखौँ श्रद्धालु यहाँ आएका छन् । सो क्रममा श्रद्धालुले जानकी मन्दिरलगायत यहाँस्थित देवालयहरुमा बिहानैदेखि पूजाअर्चना गर्नेहरुको भीड लाग्ने गरेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले बताए।

रामायणमा तुलसीदासले लेखिएको पंक्ति उद्धृत गर्दै जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बताउँछन्, ‘सिया रघुवीर विवाह जे गावही, सुनही तिनहुँ सदा उछाह मंगलाय तन रामजसो ।’

बालकाण्डको अन्तिममा लेखिएको यस पंक्तिको अर्थ हो, भगवान् राम र सीताको यस अलौकिक विवाहलाई जसले हृदयदेखि सुन्ने, गाउने र वाचन गर्ने गर्छ, उसको जीवन सदैव मंगलमय हुन्छ। त्यसैले पनि विवाहपञ्चमी महोत्सव जनकपुरधामको घरघरमा सुनिने, गाइने र वाचन गर्ने गरिन्छ । वर्षौंदेखि जनकपुरधामले धान्दै आएको यस सांस्कृतिक विरासत मिथिलाका अन्य सहरमा फैलिँदै छ ।

महन्थ दासका अनुसार सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा उपस्थित हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछायाँ जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुने गर्दछन् ।

मैथिल साहित्यकार डा. राजेन्द्र विमल भन्छन्, “संस्कृतिअनुसार विवाह महोत्सव मनाइने क्रममा राम मन्दिर र जानकी मन्दिरबाट राम सीताको प्रतिमालाई सुसज्जित डोलीमा राखी रङ्गभूमिमा लगी स्वयम्बर र परीक्षण विधि भएपछि जानकी मन्दिरमा ल्याई विवाह संस्कार सम्पन्न गरिन्छ । त्यस्तै सो अवसरमा निस्किने भगवानको डोला शोभायात्रामा सहभागी हुनेले महोत्सव दैवी विवाह भएको अनुभव गर्दै आफूलाई धन्य सम्झन्छन् ।”

राजर्षी जनक, जानकी र याज्ञवल्क्यको पुण्यभूमि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा बर्सेनि मंसिर शुक्ल पक्ष पञ्चमी तिथिमा राम जानकी विवाहपञ्चमी मेला लाग्छ ।

सीतोपाख्यान उत्तराद्र्धमा सीता स्वयम्बरका बारेमा उल्लेख भए अनुसार आश्विन पूर्णिमाका दिन अयोध्या नरेश महाराज दशरथ नन्दन राजकुमार श्रीरामचन्द्रले प्राचीन शिव धनुषलाई भाँचेको र त्यसपछि मार्ग शुक्ल पञ्चमी तिथिमा श्री राम जानकीको शुभविवाह भएको प्रसङ्ग उल्लेख गरिएको छ ।

उक्त विवाह भएको खुशीयालीमा सम्झनास्वरूप जनकपुरधाममा प्रत्येक वर्ष विवाह पञ्चमी पर्व मनाउने परम्परा रहेको छ ।

राम र जानकीको स्वयंवर भएको जनविश्वास रही–आएको रंगभुमी १२ बिघा मैदानमा विवाह पञ्चमीका दिन जनकपुरधाम स्थित राम मन्दिरबाट जन्ती सहित भगवान् रामको डोला नगरको परिक्रमा गर्दै ल्याइएपछि जानकी मन्दिरबाट बाजागाजा सहित लावा–लस्करका साथ जानकीको डोला लगेर स्वयंवर गरिन्छ । त्यसपछि दुवै डोला नगरको परिक्रमा गर्दै जानकी मन्दिरमा पुगी मिथिलाको संस्कृतिअनुसार वैवाहिक कार्यक्रम सम्पन्न गरिन्छ ।

हजारौं वर्ष पूर्व त्रेता युगमा मिथिलापति सिरध्वज जनकले सीता स्वयंवरको आयोजना गर्दा देशदेशान्तरका सयौं राजा र राजकुमार उपस्थित हुन पुगेको ऐतिहासिक तथा पौराणिक मान्यता छ । अहिले पनि हिन्दू जातिको आस्थाको केन्द्रको रूपमा रहेको जनकपुरधाममा देशका विभिन्न स्थानलगायत भारतबाट आएका लाखौं श्रद्धालु डोला परिक्रमाको दर्शन तथा पूजापाठ गर्न उपस्थित हुन्छन् ।

यस वैवाहिक समारोहको पूर्वाङ्गस्वरूप मंसिर शुक्ल द्वितीया तिथिका दिन अयोध्याबाट साधु सन्तहरू समेतको एउटा जन्तीको डफ्फा(बाराती समूह)लाई जनकपुरधाम आइपुग्दा भव्य स्वागत गर्ने गरिन्छ । अयोध्याबाट आउने जन्ती समूह (बाराती समूह)लाई यसअघि नै नेपाली सीमामा प्रवेश गर्नासाथ मटिहानी, जलेश्वर, पिपरा, लादोबेला र जनकपुरधाममा भव्य तथा हार्दिक स्वागत तथा अभिवादन गर्ने परम्परा छ ।

साताव्यापी विवाहपञ्चमीको पहिलो दिन मंगलबार नगरदर्शन र दोस्रो दिन बुधबार फुलबारी लिला र बिहीबार तेस्रो धनुष यज्ञ सम्पन्न भइसकेको छ । आज चौथो दिन मंसिर २९ गते तिल्कोत्सव, मंसिर ३० गते मटकोर रहेको छ भने पुस १ गते विवाहपञ्चमीको मुख्यदिन विवाह उत्सव रहेको छ । पुस २ गते रामकलेवा गरी सप्ताहव्यापी श्री सीताराम विवाहपञ्चमी महोत्सव समापन हुनेछ ।

आज तृतीया तिथिमा राम मन्दिरमा जानकी मन्दिरबाट साधु सन्त र नगरका प्रमुखजनहरूको उपस्थितिमा तिलकोत्सव(कुरा छिन्ने काम, वाग्दान) सम्पन्न हुने कार्यक्रम रहेको महन्थ दास बताउँछन्।

भोलि चतुर्थी तिथिको सन्ध्यामा मिथिला परम्परा–अनुसार कन्यापक्षका तर्फबाट गरिने ’मटकोर’कर्म गङ्गासागरमा पुगेर निर्वाह गरिन्छ । पञ्चमी तिथिमा राम मन्दिरबाट श्रीरामचन्द्रको डोला बाजागाजाका साथ नगरपरिक्रमा गर्दै रङ्गभूमि मैदानमा पुग्दछ ।

त्यहाँ पहिलेदेखि नै जानकी मन्दिरबाट जानकी माताको मूर्ति सुसज्जित मण्डपका साथ मन्दिरका महन्त, साधुसन्त र समाजका प्रबुद्ध नागरिक सम्मिलित सरियाती दल(घरगाउँले समूह वा माइती पक्ष)द्वारा स्वागत अभिवादनका साथै राम मन्दिरबाट पुगेको डोलालाई जानकी मन्दिरबाट पुर्‍याइएको मण्डपद्वारा पाँचपटक परिक्रमा गराएर श्रीरामचन्द्रलाई पुष्पहार अर्पण गरिन्छ ।

राम मन्दिरबाट पुगेको मण्डपबाट महन्थले जानकीजीलाई माला लगाई आरतीपूजनपछि स्वयम्बर पूरा हुन्छ । त्यसपछि राम मन्दिरको मण्डप अगाडि राखेर सबै पछिपछि लाग्दछन् र जानकी मन्दिर पु¥याएर आरती पूजन गरिन्छ । त्यसपछि राम मन्दिरको डोला लावालस्करका साथ राममन्दिर फर्कने गर्दछ भने त्यसै रात मिथिला परम्परा–अनुसार भगवान् रामचन्द्र र माता जानकीको वैवाहिक कार्यक्रम सम्पन्न हुन्छ ।

अहिले विवाह महोत्सवमा सहभागी हुन आउने पर्यटकहरूका कारण जनकपुरका होटल, लोज र धर्मशालाहरू भरिभराउ छन्। साथै भक्तजनको सुविधाका लागि स्थानीय संघ संस्थाहरूले ठाँउ–ठाँउमा बासको प्रबन्धका लागि पन्डाल निर्माण गरिदिएका छन्।

खास गरेर नेपाल तथा भारतको विभिन्न भूभागबाट ठूलो संख्यामा तीर्थयात्रीहरू जनकपुरधाम आउने क्रम विगत दुई दिनदेखि जारी छ ।

अघिल्ला वर्षहरूमा महोत्सवमा सहभागी हुन देशविदेशका विशिष्ट राजनीतिक व्यक्तित्वलाई पनि आमन्त्रित गर्ने गरिन्थ्यो। विशिष्ट व्यक्तिहरूको आगमन हुँदा सर्वसाधारण श्रद्धालुलाई महोत्सव मनाउन समस्या हुने गरेको हुँदा यस वर्ष विशिष्ट अथितिलाई ननिमत्याएको जानकी मन्दिरका छोटे महन्थ रामरोशन दास बैष्णवले बताए।

प्रदेशभर सार्वजनिक बिदा

सीताराम विवाह पञ्चमी महामहोत्सवको अवसरमा मधेस प्रदेश सरकारले आइतवार सार्वजनिक बिदा दिएको छ ।

तीन दिनसम्म मदिरा र माछामासु बिक्री वितरणमा रोक

जनकपुरधाममा श्रीसीताराम विवाहपञ्चमी महोत्सवको अवसरमा तीन दिनसम्म मदिरा तथा माछा/मासु बिक्री वितरणमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय धनुषाले आज एक सूचना जारी गर्दै मङ्सिर २८ गते राति १२ बजेदेखि पुस १ गते राति १२ बजेसम्म मदिरा तथा माछा/मासुको बिक्री वितरणमा रोक लगाएको हो।

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवलाई सुरक्षित, मर्यादित र सौहार्दपूर्ण वातावरणमा मनाउनका लागि जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको प्रशासकीय अधिकृत विश्वविजय शर्माले जानकारी दिए।

यस अवधिमा जनकपुरधामको परिक्रमा क्षेत्रभित्र र परिक्रमा सडकको दायाँबायाँ मदिरा बिक्री वितरण, सेवन तथा पशुपंक्षी काट्न, माछा, मासु बिक्री वितरण, ओसारपसार गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी चक्रपानी पाण्डेले बताए।

खाद्यान्नबाट १ सय २१ फिटको राम र सीताको आकृति

श्रीसीताराम विवाहपञ्चमी महामहोत्सवको अवसर पारेर जनकपुरधामको बाह्र विघा रङ्गभूमि मैदानमा विश्वका सबैभन्दा ठूलो खाद्यान्नबाट भगवान् राम, सीताको स्वयंम्बरको आकृति बनाउने काम भइरहेको छ ।

भगवान् राम सितासँगै राजर्षि जनक तथा विश्वामित्रको पनि आकृति निर्माण गरिने भएको छ । सबै चित्र ११ हजार ११ स्क्वायरफिटको रहने भएको छ ।

खाद्यान्नबाट बनाउन थालेको आकृतिको उचार्ई १ सय २१ फिट र चौडाई ९१ फिटको रहने भएको श्रीसीताराम अनाज प्रतिमा निर्माण समितिका संयोजक एवं जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए।

आकृतिको निर्माणमा ११ प्रकारको खाद्यान्न गरेर १ सय २ क्विन्टल लाग्ने संयोजक महासेठले बताउनु भयो । यसमा चालन, गहुँ, भटमास, चना, मुम्फली, मुंग, रहरको दाल, मक्कै, रहरको दाल, मसुरोको दाल र काला उरिद प्रयोग गरिने भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved