भ्यूजटक:

‘सङ्क्रमणकालीन न्याय कसैले कमाइखाने भाँडो बनाए, प्रचण्डकै पालोमा यो टुङ्गिन्छ’

'सङ्क्रमणकालीन न्याय नटुङ्गिए माओवादीको भविष्य सुनिश्चित छैन भन्नू भ्रम'

‘यो व्यवस्था ल्याउनका लागि बलिदान गरेका दलहरू जिम्मेवार भएनन् । पूरै छैनन् भन्न मिल्दैन । तर, जुन तहमा हुनुपर्थ्यो, त्यो तहमा जिम्मेवार देखिँदैनन् । त्यसैले अराजकतवादीहरूले ठाउँ पाए ।’

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का नेता खिमलाल देवकोटाले सङ्क्रमणकालीन न्यायको मुद्दा चाँडै टुङ्गिने बताएका छन् । शान्ति प्रक्रियापछि लामो समय लागेपनि अब भने चाँडै टुङ्गिने दिशामा गएको उनको जिकिर छ ।

कतिपय दलहरूले यसलाई ‘कमाइखाने भाँडो’ जस्तो बताएको तर, अब भने यो टुङ्गिने दिशामा गइसकेको उनी बताउँछन् । भर्खरै संयुक्त राष्ट्रसङ्घका महासचिवले गरेको नेपाल भ्रमणले पनि त्यो देखाएको उनको भनाइ छ । “महासचिव गुटेरेसले शान्ति प्रक्रियाका सन्दर्भमा तपाईंहरू सही ठाउँ हुनुहुन्छ भन्नुभएको छ । एक्लै हुनुहुन्न भन्नुभएको छ । जटिल कुरा हो तर, जसरी भएपनि टुङ्ग्याउनुपर्छ भन्नुभएको छ । महासचिवको भनाइले हामी ठीकै ठाउँमा छौँ,” देवकोटा भन्छन् ।

कमाइखाने भाँडो बनाउने राजनीतिक दलहरू पनि ‘अब योभन्दा बढी नगरौँ’ भन्ने बिन्दुमा पुगेको बुझाइ देवकोटाको छ । “अन्तर्राष्ट्रिय समुदाय पनि लगभग ‘कन्भिन्स’ देखिन्छ । पीडितहरू विभाजित थिए, अब उनीहरू पनि एक भएका छन् । यी सबै सबै तथ्यहरूले सङ्क्रमणकालीन न्याय चाँडै टुङ्गिँदैछ भन्ने सङ्केत गर्छ,” उनले भने ।

अहिलेको सरकारको प्राथमिकतामा यससँग सम्बन्धित टीआरसी विधेयक रहेको उनले बताए । माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्यसका लागि सक्रियता बढाएका छन् । उनकै पालामा यो टुङ्गिने भनाइ देवकोटाको छ ।

सङ्क्रमणकालीन न्याय टुङ्ग्याउने सन्दर्भमा कानूनहरूको अभाव नरहेको उनको भनाइ छ । “कानूनहरू छन्/थिए । काम भइरहेको थियो । त्यसअन्तर्गत २ वटा आयोगहरू पनि थिए । तर, अदालतले विधेयकमा रहेका ४ वटा विषयलाई खारेज गरिदियो । त्यसपछि त्यही फैसलाबमोजिम ऐन संशोधन गर्नुपर्छ भन्ने भयो । ०७१ सालदेखि संशोधन विधेयक प्रस्तुत गर्न प्रयत्न गरियो । नेकपाको दुईतिहाइ बहुमत हुँदा प्रस्तुत हुन सकेन । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा पारित हुन सकेन, प्रस्तुतचाहिँ भयो । अब अहिले प्रधानमन्त्री प्रचण्ड हुनुहुन्छ । अहिले विधेयक छलफलको क्रममा छ,” उनले भने, “चाँडै विधेयक अधिवेशन बोलाएर टीआरसी पारित गराउनुपर्छ ।”

‘सङ्क्रमणकालीन न्याय नटुङ्गिए माओवादीको भविष्य सुनिश्चित छैन भन्नू भ्रम’

देवकोटा सङ्क्रमणकालीन न्याय नटुङ्गिए माओवादीको भविष्य सुनिश्चित छैन भन्नू भ्रम रहेको बताउँछन् । माओवादीका विरोधीहरूले बाहिर यस्तोखाले नकारात्मक सन्देश प्रवाह गर्न खोजेको आरोप उनको छ ।

“यो विषय टुङ्गिएन भन हेग जान्छ भनिएको छ, त्यसरी प्रशारित गरिएको देखिन्छ । हेगमा जाने भनेको अन्तर्राष्ट्रिय फौजदारी अदालतमा जाने भनेको हो । त्यो भनेको अन्तर्राष्ट्रिय फौजदारी अदालतसम्बन्धी रोम विधानको अनुमोदन भएको हुनुपर्छ । अनुमोदन भएको ६० दिनपछि मात्र त्यो मामला अनुसन्धानको विषय बन्छ । नेपालले अहिलेसम्म त्यो विधान अनुमोदन गरेको छैन । अनि कसरी जान्छ हेग ?,” देवकोटा सोध्छन् ।

अपवाद ढङ्गले सुरक्षा परिषद्ले नै निर्णय गरेपनि त्यो मानवताविरुद्धको अपराध भएको हुनुपर्ने तर, जनयुद्धमा त्यस्तो घटना नभएको उनी सुनाउँछन् । “कुनै पनि दस्ताबेजले मानवताविरुद्धको अपराध भयो भनेर भनेको छैन । म विश्वस्त छु, यो हेग जाने कुरा होइन । यहाँ टुङ्गिएन भने हेग पुग्छ भन्ने कुरा बिल्कुल मिथ्या तर्क हो,” देवकोटाले भने ।

न्याय नटुङ्गिए पनि पार्टीगतरूपमा माओवादीलाई केही नहुने भनाइ देवकोटाको छ । तर, त्यो टुङ्गिनुपर्ने विषय रहेको उनी बताउँछन् । “कतिपयले माओवादीको भविष्य नै धरापमा छ भनेर प्रोजेक्सन गर्छन्, कतिपय दलहरूले माओवादीको भविष्य सुनिश्चित छैन भन्छन् । त्यो भनेको मनको लड्डु घिउसँग खाने काम हो । टीआरसी टुङ्गिएन भने माओवादी सकियो भन्ने उनीहरूलाई लाग्छ, त्यो मिथ्या हो,” उनले भने ।

‘व्यवस्थाप्राप्तिका लागि लड्नेहरू विभाजित हुँदा त्यसमाथि खतरा बढ्न थाल्यो’

देवकोटा वर्तमान व्यवस्थामाथि कुनै न कुनैरूपमा प्रहार बढेको देख्छन् । त्यसको कारण भने व्यवस्थाप्राप्तिका लागि लडेका दलहरू विभाजित हुनु भएको उनको बुझाइ छ ।

“यो व्यवस्था ल्याउनका लागि बलिदान/योगदान गरेका दलहरू जिम्मेवार भएनन् । पूरै छैनन् भन्न मिल्दैन । तर, जुन तहमा हुनुपर्थ्यो, त्यो तहमा जिम्मेवार देखिँदैनन् । यो व्यवस्था प्राप्त भएपछि जे हुनुपर्थ्यो, त्यो भएन । जनतालाई डेलिभरी जुन हिसाबले पुग्नुपर्थ्यो, त्यो पुगेन । त्यसैकारण अराजकतावादीहरू बढे । उनीहरूले स्पेश पाउँदा व्यवस्थामाथि खतरा बढेकोजस्तो देखिन्छ,” देवकोटाको निचोड छ ।

त्यही दलहरूको कमजोरीमाथि टेकेर पुनरुत्थानवादीहरू चल्मलाउन थालेको उनी बताउँछन् । “राज्यसत्ता सम्हाल्नेहरू गम्भीर हुनेबेला आएको छ । यस्तै अराजकता बढ्यो भने समाज अझ बिग्रन्छ, त्यो भनेको राज्यसत्तामाथि प्रश्न उठ्नु हो । त्यसैले बेलैमा यसको प्रतिवाद गर्नुपर्छ,” उनले भने ।

बाहिर भनिएजस्तै व्यवस्था नै उल्टिन लागेको नभएको तर, बेलैमा समचेत नभए त्यहीसम्मको काम हुनसक्ने ठम्याइँ देवकोटाको छ । त्यसका लागि राजनीतिक दलहरू एक हुनुपर्ने उनको भनाइ छ । “अहिल्यै हो पूर्वतयारी गर्ने, सच्चिने । बिग्रन दिनुहुँदैन,” उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved