आलेख

इन्टरनेटको लत के हो ? यसबाट कसरी बच्ने ?

यसको दुरुपयोगलाई रोक्न सोसल मिडियामा झुट बोल्ने मानिसलाई अन्तर्राष्ट्रिय कानून बनाएर कारबाही गर्नुपर्दछ । एक देशमा बसेर अर्को देश वा व्यक्तिका बारेमा आधारहीन कुरा लेख्न छुट हुनु हुँदैन ।

इन्टरनेटको लत के हो ? यसबाट कसरी बच्ने ?

यस लेखलाई ‘उत्कर्षतर्फ सूचना युद्ध’ शीर्षकको अघिल्लो महिना प्रकाशित लेखको खण्ड-२ का रूपमा लेखिएको छ । उक्त लेख अमेरिका र भारतमा आउँदै गरेका आम चुनावको सन्दर्भमा कसरी सूचनाको दुरूपयोग हुने सम्भावना छ ? यसले कसरी लोकतन्त्रलाई नोक्सान पुर्‍याइरहेको छ र पुर्‍याउन सक्दछ भन्ने विषयमा केन्द्रित थियो । यो लेखमा भने मिथ्या सूचना, इन्टरनेटको लत तथा यसबाट बच्ने केही उपायका बारेमा छलफल गरिने छ ।

पंक्तिकारबाट भविष्यमा प्रविधि र सोसल मिडियाका बारेमा अन्य थप लेख पनि लेखिने छन् ।

यहाँ मिथ्या सूचना भन्नाले झुट, अर्धसत्य, आधारहीन विज्ञापन तथा निश्चित स्वार्थका लागि लक्षित राजनीतिक प्रोपोगान्डालाई जनाउँछ । अनि इन्टरनेटको लत भनेर कामै नभए पनि यसको प्रयोग गरी पैसा र समय बर्बाद गर्ने प्रवृत्तिलाई जनाउन खोजिएको हो ।

हुन त इन्टरनेटको विस्तारले ज्ञान र सूचनाको पहुँच बढाएको छ । यसलाई नकारात्मक दृष्टिले मात्रै हेर्नुपर्छ भन्ने छैन । यसको सकारात्मक पक्षका बारेमा माथि उल्लेखित पहिलो लेखमा केही कुरा गरिएको छ भने आउँदा लेखमा गर्दै गइने छ । यस लेख भने आम प्रयोगकर्तालाई सचेत बनाउने उद्देश्यले सोसल मिडियाको नकारात्मक प्रभावमाथि केन्द्रित रहने छ ।

अहिले इन्टरनेट र यसमा उपलब्ध विषयवस्तु केही पुँजीपतिको नियन्त्रणमा छन् । यो नाफाका लागि (दुरू)उपयोग भइरहेको प्रष्ट नै छ । सूचनाको प्रमुख श्रोतका रूपमा स्थापित हुँदै गएको सोसल मिडिया पनि उनीहरूकै नियन्त्रणमा छ । नियन्त्रणमा राख्नेले उनीहरूले चाहेका सूचना फैलाउने र नचाहेकालाई दबाउने गरिरहेका छन् ।

यद्यपि, राम्रो कुरा के हो भने इन्टरनेटको सुविधा पुँजीपतिहरूबीच धनी हुने प्रतिस्पर्धाका कारण नै सही संसारका सबैजसो कुनामा पुगेको छ वा पुर्‍याइएको छ अर्थात् अहिले यसको सहयोगमा जनतालाई शोषण गर्न सहज भएपनि भविष्यमा सबै प्रयोगकर्ताका लागि यो आफ्नै स्वतन्त्र मिडिया चलाउने श्रेष्ठ अवसर हुने देखिन्छ । यो अवसरको व्यवहारमा उपयोग नहुन्जेल अहिलेलाई मुख्य चुनौती के छ भने यसले झुट र अफवाह फैलाउन बलियो भूमिका खेलिरहेको छ ।

सोसल मिडियाको प्रभाव इन्टरनेटको विस्तारसँगै विश्वव्यापी भएको हो । देशको सिमानामा सीमित नरहने यसको प्रभावलाई नियमन गर्न कठिन भइरहेको छ । तर, यत्ति कारणले मात्रै कानून कार्यान्वयन गर्न गाह्रो भएको भने होइन । दिनदिनै हुने नयाँ आविष्कारका कारण पनि राज्यले यसको नियमन गर्न सकिरहेका छैनन् । यस्तो अवस्थाको भरपुर फाइदा लिएर सूचना नियन्त्रण गर्ने व्यक्तिहरू रातारात धनी भएका छन् ।

सूचना बजारमा कति महँगो मालका रूपमा आएको छ भन्ने कुरा बुझ्नका लागि एलन मस्कले टुईटरलाई अप्रत्यासित मूल्यमा खरिद गरेको घटनाले नै प्रष्ट पार्दछ । छोटकरीमा भन्न के खोजिएको हो भने यो समयसम्म आइपुग्दा व्यापारका लागि इन्टरनेटको प्रयोग वा सूचनाको महत्त्व बढेको छ ।

सोसल मिडियामा मिथ्या सूचनालाई ‘बूस्ट्’ गरेर वा पैसा तिरेर फैलाउन सकिन्छ । यसमा आउने लिखित, फोटो, अडिओ तथा भिडिओ सूचनाको आधिकारिकता हेर्ने कुनै निकाय छैन । कृत्रिम बौद्धिकताको विकासले यो चुनौतीलाई झनै संवेदनशील बनाएको छ ।

आम मानिसले विरोध गरे भने र राज्य सख्त भयो भने मात्रै केही सीमित सूचनालाई हटाउने गरिन्छ । यद्यपि, ति सूचना हटाउने समयसम्म नोक्सानी भने पुगिसकेको हुन्छ । कस्तो देखिन्छ भने यदि व्यापारी र शासकको फाइदामा सूचना छैन भने त्यसलाई दबाइन्छ । उनीहरूलाई फाइदा हुने छ भने झुट पनि फैलाउने गरिन्छ ।

उदाहरणका लागि भारतीय राजनीतिका प्रभावशाली विपक्षी नेता राहुल गान्धीको सन्दर्भलाई लिन सकिन्छ । गान्धीलगायत अन्य धेरैले उनीहरूको युट्युब च्यानल र अन्य सोसल मिडिया अकाउन्ट कम्पनी र मोदी सत्ताको मिलेमतोमा दबाउने गरिएको बारम्बार बताएका छन् ।

जासूसी प्रविधिको दुरुपयोग गरी सत्ताले विपक्षी नेताका मोबाइल फोन सुन्न खोजेको एप्पल कम्पनीले बताएपछि अहिले मोदी सरकारको आलोचना भइरहेको छ । यस्ता आरोपको छानबिन र कारबाही गर्ने कुनै निकाय छैन । वास्तवमा संसारभरि नै सत्ताका आलोचकविरुद्ध यस्तो हुने गरेको तथ्य अब गोप्य रहेन ।

हिजोआज ‘सोसल मिडिया क्रियाकलाप’ हेरेर व्यक्तिको मूल्याकंन गर्ने परिपाटी विकसित भएको छ । यसकारण प्रयोगकर्ताले निजी सूचना इन्टरनेटमार्फत सोसल मिडिया तथा अन्य वेबसाइटलाई दिने गर्दछन् । त्यसैका आधारमा उसको पहिचान निर्माण हुने अहिलेको परिस्थितिमा यसो गर्नु उनीहरूका लागि आवश्यकसमेत भएको छ । यस परिस्थितिको नाजायज फाइदा लिन सोसल मिडिया कम्पनीले निजी सूचना व्यापारी तथा राज्यलाई बेचिदिन पनि सक्दछन् ।

प्रयोगकर्तालाई खास जोखिम के हो ?

व्यक्ति इन्टरनेटमा उपलब्ध अनेकन कुराको लतमा फस्न सक्दछ । जस्तै टिकटकको लत । कतिपयलाई टिकटकमा भिडिओ बनाउने लत छ भने कतिलाई अरूले बनाएका हेर्ने । टिकटक बनाउँदा व्यक्तिको ज्यान जानेसमेतका घटना भएका छन् । यसका लागि केही सेकेन्डको भिडि‌ओले व्यक्तिलाई अर्च्यूअल संसारमा प्रसिद्ध बनाउन पनि सक्दछ । यसबाट बढी ‘भ्यूज’ पाउने केहीले पैसासमेत कमाउने गरेका छन् ।

यो ‘भाइरल हुने’ आशक्तिका कारण व्यक्तिको एकाग्रतामा कमी आएको छ । यसका कारण अहिले व्यक्तिमा पुस्तक पढ्ने, लामा लेख तथा अन्तर्वार्ता हेर्ने र पृष्ठभूमिसहित विषयवस्तुको विश्लेषण गर्ने बानी हराउँदै गएको छ । छिटोछिटो धेरै जानकारी प्राप्त गर्ने अभिलाषाका कारण बुझाइमा समस्या हुने गरेको छ । छोटो जानकारीबाट धेरै कुरा बुझ्न सक्ने हुनु परिपक्वता हो । त्यो सबै सोसल मिडिया प्रयोगकर्तामा छैन । त्यसकारण अहिले बुझाइमा अपूर्णता र भ्रम हुने जोखिम बढेको छ ।

सोसल मिडियाले मानिसलाई आफ्नो प्रचारका लागि उस्काउने गर्दछ । मानिसको ध्यान अरूको कुरा बुझ्नेमा भन्दा अरुको आफूमा तान्नेमा व्यग्र छ । आफूलाई महान् देखाउने ठाउँ नै सोसल मिडियाजस्तो भएको छ । लाइक तथा कमेन्टलाई अवार्डका रूपमा लिने गरिन्छ भने आफ्नो सफलता वा उपलब्धि देखाउन सोसल मिडियाकै प्रयोग गर्ने चलन चलेको छ ।

सोसल मिडियामा सानो कुरालाई बढाइचढाइ गर्ने र दिमागमा आएका विचारलाई फरक-फरक कोणबाट नसोची हतारमा पोस्ट्याउने गरिन्छ । यो प्रवृत्तिको शिकार ठूला-ठूला नेता पनि हुने गरेका छन् । यसको पछिल्लो उदाहरण हुन् इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहू । उनले यही अक्टोबर सातमा हमासद्वारा भएको आतकंकारी आक्रमणको दोष इजरायली सेना तथा गुप्तचरलाई लगाएर सोसल मिडियामा लेखेका थिए । उनले उक्त पोस्ट डिलिट गर्दै दश घण्टापछि माफी मागे । उनको नेतृत्वमा अहिले सर्वसाधरण प्यालेस्टाइनमाथि खानापानी बन्द गरी हजारौं बम बर्साइएको छ । बदलाको भावनाले गरिएको यो नरसंहारको विश्वभरि विरोध भइरहेको छ ।

सोसल मिडियाका फोटा तथा भिडिओ हेरेर व्यक्तिलाई चिन्न गाह्रो छ । ‘डिजिटल मेकअप’को सहायतामा मानिस राम्रो देखिने भएकाले आफ्नो अनुहार हर्ने र त्यहीअनुसार लगातार पोस्ट्याउने लत व्यापक भएको छ । क्यामरादेखि अनेकन एप्लिकेशनको प्रयोगले उक्त कामलाई सहज बनाएकाले अब टिकटक तथा फोटोलाई ध्यानमा राखेर मोबाइल फोनको उत्पादनसमेत गर्न थालिएको छ । यो प्रवृत्तिले समाजमा विचलन ल्याएको छ । यस समस्यालाई ‘भर्च्यूअल रार्सिसिज्म्’ (आत्ममोह) भनेर पनि भन्न सकिन्छ ।

सोसल मिडियामा अनेक प्रकारका सूचना बिनापृष्ठभूमि देखा पर्दछन् । खुसी बनाउने वा दुःखी, उत्साहित बनाउने वा ग्लानी यस्ता विभिन्न भावावेश उत्पन्न गर्ने भिडिओहरू छिनछिनमा देखिन्छन् । लामो समय यस्ता भिडि‌ओ हेर्ने व्याक्तिको भावनामा ‘अटोमेशन’ (स्वचालन)को अवस्था उत्पन्न हुने गरेको छ । यो भावना उत्पन्न नहुँदै प्रतिक्रिया दिने अवस्था हो । यो मानसिकता भावनाको अनुभूति गर्नेभन्दा पनि अनुभूति गरेको प्रतिक्रिया दिने चक्रमा फसेको छ । वास्तवमा सोसल मिडियाले वर्तमान आत्मनिर्वासनको समस्यामा थप जटिलता उत्पन्न गरेको छ ।

भाँचिएको ध्यानसँगै इन्टरनेटमा लत लाग्न सक्ने अनेकन कुराहरू छन् । यहाँ बाह्रै महिना चौबिसै घण्टा गलत मनसायले सूचनाको बाढी लाग्छ । यसले आम प्रयोगकर्ताको मानसिकता तोडमोड हुने जोखिम छ । उदाहरणका लागि समाचार हेर्दा पनि यौन उत्तेजना सिर्जना गर्ने फोटा र भिडिओ आउने गर्दछन् । टिकटक, फेसबूक तथा इस्टाग्रामदेखि अन्य थुप्रै साइटमा सेक्ससम्बन्धी कन्टेन्ट पाइने हुँदा व्यक्ति यसको लतमा फसेका छन् । वास्तवमा इन्टरनेटको फैलावटसँगै अश्लील फिल्मको लत पनि समस्याको रूपमा आएको छ ।

पछिल्लो समय देखिएको अर्को खराब लत हो अनलाइन गेमको । खासगरी किशोर अवस्थाका व्यक्तिमा देखिएको यो लत सामाजिक समस्या भएको छ । ठूलो-ठूलो स्क्रिनमा त्यहीअनुसारको अनुभूति दिलाउने तरिकाको स्टुडियो बनाएर गेम खेलाउने व्यावसाय फैलिएको छ । यस लतबाट आफ्नो बच्चालाई मुक्त गर्न अभिभावक चिन्तित छन् । अहिले कस्तो छ भने अनलाइन गेमको लतबाट मुक्त गर्ने केन्द्र अथवा ‘अनलाइन एडिक्सन् रिह्याविलिटेशन सेन्टर’को स्थापना गर्नुपर्ने अवस्था छ ।

बच्ने कसरी ?

पहिलो— प्रयोगकर्ता उसका लागि इन्टरनेट किन आवश्यक छ त्यो कुरामा प्रष्ट हुनु पर्दछ । ऊ किसान, विद्यार्थी, शिक्षक, अन्नुसन्धानकर्ता, पत्रकार वा अन्य के हो र उसका लागि इन्टरनेट किन आवश्यक छ ? त्यसका लागि उपयुक्त अनि आधिकारिक श्रोत कुन हो ? उपलब्ध श्रोतहरू उपयोगी छन् वा छैनन् त्यसका बारेमा शंकाको दृष्टिकोणले हेर्न आवश्यक छ ।

पैसा तिरेका श्रोत ठीक र निःशुल्क खराबै हुन्छन् भन्ने हुँदैन । यद्यपि, निःशुल्क उपलब्ध श्रोतको उत्पादनका लागि आवश्यक लगानी कहाँबाट र कसरी भएको छ त्यो बारे जानकारी राख्नु आवश्यक हुन्छ । ती सामग्रीले मानिसलाई सक्षम बनाउन सहयोग गरिरहेका छन् कि परनिर्भर बनाइरहेका छन् त्यसमा ध्यान दिन जरूरी छ ।

दोश्रो— आवश्यक नहुँदा वा काम नै नहुँदा पनि समय बिताउनका लागि इन्टरनेट चलाउने बानीले प्रयोगकर्ताहरू गलत सूचनाको शिकार हुने गरेका छन् । यसबाट मुक्त हुनका लागि मोबाइललाई एक ठाउँमा राख्ने । आवश्यक नहुँदा नबोक्ने तथा बोकी हाले पनि अति आवश्यक हुनेबाहेक साइलेन्ट मोडमा राख्नुपर्दछ ।

अनावश्यक नोटीफिकेशनबाट बच्नका लागि लाईक तथा सस्क्राइब नगर्ने । गरिएका पेज तथा एप्स प्रयोजन सकिएपछि डिलिट वा अनसस्क्राइब गर्ने । मोबाइल वा कम्प्युटरलाई सधैँभरि इन्टरनेट कनेक्सनमा नराख्ने गर्दा पनि इन्टरनेटको लतबाट बच्न सकिन्छ ।

तेश्रो— आफूले प्रयोग गरेका श्रोतहरू तथा बिताएको समयका बारेमा प्रत्येक दिन वा कम्तिमा हप्तामा एक पटक निरीक्षण गर्ने । कुन विषयवस्तुमा कति समय बित्यो र त्यो कति उपयुक्त छ त्यसबारेमा सोच्ने र छलफल गर्ने । इन्टरनेटको लतबाट बच्नका लागि बिहान उठ्दाबित्तिकै मोबाइल नचलाउने । बेलुका सुत्नु अगाडि पनि अत्यावश्यक बाहेक अन्य अवस्थामा यसको प्रयोग नगर्ने । सोसल मिडियामा शेयर गरेका समाचारभन्दा उपयुक्त पत्रिकाको वेबसाइट खोलेर हेर्ने बानी बसाल्ने ।

बालबालिकाले आफूभन्दा ठूलाले गरेको क्रियाकलाप हेरेर सिक्दछन्, त्यसकारण अभिभावकले यसको प्रयोगलाई आवश्यकतामा आधारित बनाउने । अडिओ तथा भिडिओ हेरेर सिक्न नसकिने होइन । यद्यपि, उक्त सिकाइ कम प्रभावकारी हुने हुँदा सम्भव भएसम्भ पुस्तक अध्ययन गरेर तथा शिक्षकको सहयोगबाट बालबालिकामा सिक्ने बानीको विकास गर्नु आवश्यक छ ।

अन्त्यमा,

प्रयोगकर्ताले सोसल मिडियाको प्रयोग गरेर यसैका बारेमा छलफल गर्न सक्दछन् । किन यसको प्रयोग उपयुक्त छ ? किन छैन ? यसको दुरुपयोगलाई रोक्न सोसल मिडियामा झुट बोल्ने मानिसलाई अन्तर्राष्ट्रिय कानून बनाएर कारबाही गर्नु पर्दछ । एक देशमा बसेर अर्को देश वा व्यक्तिका बारेमा आधारहीन कुरा लेख्न छुट हुनु हुँदैन । आधिकारिक परिचय बिना सोसल मिडियाको अकान्ट बनाउन दिनु हुँदैन । आफ्नो परिचय लुकाएर भनिने कुराले वाक स्वतन्त्रताको रक्षा गर्न सक्दैन बरु उल्टो हानी पुर्‍याउँछ ।

यसमा प्रचारित सूचनाका कारण भएको नोक्सानीको भर्पाइ सोसल मिडिया कम्पनीबाट भुक्तान गर्नु पर्दछ । पैसा कमाउनका लागि झुटको व्यापार गर्नेहरूसँगबाट आम मानिस सजग बन्न सक्रिय प्रयास गर्नु आवश्यक भएको छ । तब मात्र इन्टरनेटले उपलब्ध गराएको अवसरको सही उपयोग हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved