आलेख

उत्कर्षतर्फ ‘सूचना युद्ध’

इन्टरनेट जोडिएको मोबाइल पुँजीपतिका लागि ‘सुनको खानी’ सावित भएको छ । व्यक्ति स्वयलाई भन्दा बढी उसको बारेमा सोसल मिडिया कम्पनीलाई थाहा छ । सूचनाको ठूलो संग्रहपछि सोसल मिडियासँग व्यक्तिको सोचाइलाई प्रभावित गर्न सक्ने तागत बढेको छ । एक अर्थमा यो मानिसलाई चाहेअनुसार चलाउन सक्ने भएको छ ।

उत्कर्षतर्फ ‘सूचना युद्ध’

प्रविधिको विकासले अकल्पनीय अवसर उपलब्ध गराएको छ । यसको प्रयोग अर्को ब्रह्माण्डको खोजीदेखि लिएर कृतिम मस्तिष्क निर्माणमा समेत भइरहेको छ । तर, यो लेख भने प्रविधिले उपलब्ध गराएको सूचनाको पहुँच र त्यसले उत्पन्न गरेको चुनौतीमा केन्द्रित हुने छ । खास गरी सोसल मिडियाको दुरुपयोगले कसरी लोकतन्त्र विरुद्ध ‘सूचनाको युद्ध’लाई व्यापक बनाएको छ त्यसबारे छोटोमा छलफल गरिने छ ।

हामी सबैलाई थाहा छ, सूचना एक उच्च माग भएको वस्तुमा परिणत भएको छ । यसको मोलमोलाइमा तछाडमछाड देखिन्छ । शक्ति राष्ट्रबीच पनि यसको नियन्त्रणका लागि ‘युद्ध’ चलिरहेको छ । हामी कमैलाई हेक्का छ इन्टरनेटमा उपलब्ध व्यक्तिगत सूचनाहरूसमेत उक्त ‘युद्ध’मा प्रयोग हुने गर्छन् ।

इन्टरनेट जोडिएको मोबाइल पुँजीपतिका लागि ‘सुनको खानी’ सावित भएको छ । व्यक्ति स्वयलाई भन्दा बढी उसको बारेमा सोसल मिडिया कम्पनीलाई थाहा छ । सूचनाको ठूलो संग्रहपछि सोसल मिडियासँग व्यक्तिको सोचाइलाई प्रभावित गर्न सक्ने तागत बढेको छ । एक अर्थमा यो मानिसलाई चाहेअनुसार चलाउन सक्ने भएको छ ।

सोसल मिडियामा प्रयोग भइरहेको प्रविधिले व्यक्तिको कमजोरी पत्ता लगाई उसको सोचाइलाई प्रभावित गर्न सक्दछ । उदाहरणका लागि सोसल मिडिया कम्पनीको मालिकले कुन प्रयोगकर्तासँग पैसा छ र कुनसँग छैन भनेर पत्ता लगाउन सक्छ । यसले पैसा हुनेलाई विलासिताका विज्ञापनबाट प्रभावित गरे जस्तै नहुनेलाई जुवा र चिठ्ठाका लागि लोभ्याउने गर्दछ ।

सोसल मिडियाको अर्को पक्ष हो ‘लाइक’, ‘कमेन्ट’ तथा ‘रियाक्ट’को लत । यो लत पनि कम हानिकारक छैन । कुनै कुरा पोस्ट गरेपछि बारम्बार हेर्न मन लाग्छ । कति भ्युज आयो ? कसले के भन्यो ? वा, भन्ला ? कसले ‘लभ रियाक्ट’ गर्यो वा गरेनजस्ता अनावश्यक उत्सुकताहरूले पोस्टकर्तालाई सताउँछन् । नेपाली प्रयोगकर्ताबीच सोसल मिडिया चाकडी गर्ने औजार पनि बनेको छ । रफाव देखाउनसमेत यसको प्रयोग भइरहेको छ ।

परिस्थिति कस्तो बनेको छ भने बोलेको कुराप्रति इमान्दार हुन मन छैन भने सोसल मिडियामा बोले हुन्छ । एक व्यक्तिले अर्को अस्तित्व नै नभएको व्यक्तिको नाममा ‘फेक एकाउन्ट’ बनाएर पोस्ट गर्न छुट छ । मन नपर्ने मान्छेलाई ‘ब्लक’ गरेर आफ्नो ‘बबल’ (फोकाको संसार)मा बाँच्नलाई पनि सम्भव छ । जुनसुकै कुरालाई समर्थन वा विरोध जे गरे पनि हुन्छ । सोसल मिडियामा स्पष्टीकरण दिने वा छलफलमा जोडिएर एक-अर्कालाई सुन्ने सम्भावना कम हुन्छ । त्यसकारण सोसल मिडिया भ्रम र झुटको उत्पादन गर्ने कारखानाजस्तो भएको छ ।

तीव्र विकास भएको कृतिम बौद्धिकताले झनै ठूलो चुनौती लिएर आएको छ । यसको सहयोगमा मानिसले आफूजस्तै अर्को भुर्चअल मानिसको निर्माण गर्न सक्छ । धेरै काम ती मानिसबाट लिन सक्छ । यसको प्रयोगबाट कहिल्लै नघटेको घटनाको श्रव्य तथा दृश्य बनाएर भ्रमित गर्न सकिन्छ । यो प्रविधिको सोसल मिडियामा प्रयोग हुँदा समाजमा झुटको फैलावट कुन स्तरमा पुग्ला अनुमान लगाउन गाह्रो छ ।

लाभको दृष्टिकोणबाट हेर्दा सूचनाको प्रवाहमा देखिएको विद्युतीय गतिका कारण सबैलाई फाइदा पुगेको छ । अवश्य पनि कुनै सूचनाका लागि वा नयाँ कुरा देख्न–सिक्नका लागि स–शरीर पुग्नुपर्ने बाध्यताबाट मानिस मुक्त भएको छ । यो आफैँमा ठूलो उपलब्धि हो ।

टीभी तथा रेडियोको समयमा एक ठाउँमा बसेर केही सीमित श्रोतबाट सूचना लिने गरिन्थ्यो । प्राय: त्यस्ता श्रोतहरू सरकार तथा केही व्यक्तिको नियन्त्रमा हुने गर्दथे । अहिले व्यक्तिपिच्छे मिडिया छ । अध्ययन गर्नका लागि विश्वविद्यालयहरूको पनि विश्वविद्यालयका रूपमा इन्टरनेट जोडिएको मोबाइल उपस्थिति छ । एक अर्थमा भन्नुपर्दा मानिसको हातमा संसार छ ।

तर, बुझ्नुपर्ने कुरा के छ भने उक्त अवसरको सदुपयोग (सूचना) प्रविधिले ल्याएको चुनौतीसँग नजुधेसम्म वास्तविक अर्थमा प्राप्त हुन सक्दैन । अनि, चुनौती पनि अवसर जस्तै भिमकाय छ । जस्तै, जसरी यसले संस्कृति तथा राज्यका सिमाना तथा आर्थिक अवसरहरूको सीमिततालाई तोड्न सजिलो बनाएको छ त्यसरी नै अन्तरदेशीय अपराध बढाउन र अर्को देशको सार्वभौमिकतामाथि हस्तक्षेपका लागि सहज वातावरण बनाउन पनि सहयोगी भएको छ ।

सूचनाको युद्ध र आउँदै गरेका चुनाव

शक्तिशाली देशबीच एक-अर्काको सूचनामा हानी पुर्‍याउने, चोर्ने, गोप्यलाई सार्वजनिक गरिदिने तथा अर्कोका बारेमा गलत कुरा फैलाउने विश्व राजनीतिको प्रवृत्तिलाई सामान्यतः ‘सूचनाको युद्ध’ भनेर बुझिन्छ । जेमी बार्टलेटले आफ्नो पुस्तक ‘द पिपुल भर्सेज टेक’मा तर्क गरेका छन् ‘तथ्यहीन, पूर्वाग्रही, हिंसा भड्काउने खालका अभिव्यक्तिहरूलाई सोसल मिडियामार्फत फैलाउने जुन युद्ध छेडिएको छ त्यो पनि ‘सूचनाको युद्ध’ हो । यद्यपि, यो युद्ध लोकतन्त्रका विरुद्धमा भइरहेको छ ।’

राजनीतिक फाइदाका लागि सोसल मिडियाको दुरुपयोग गर्ने प्रवृत्ति विश्वव्यापी बनेको छ । तानाशाहहरू मात्रै होइन उदारवादी तथा वामपन्थी राजनीतिज्ञले पनि यसको प्रयोग गरी गलत लाभ लिइरहेका छन् । वास्तवमा भन्ने हो भने अहिले चुनाव जित्नका लागि सोसल मिडिया प्रमुख हुन आएको छ । यसको प्रयोगका लागि संसारभर अर्बौंं डलर खर्च भइरहेको छ ।

चुनावमा सोसल मिडियामार्फत जे भइरहेको छ त्यो जनताको सोच्ने तरिकालाई तोडमोड गरी आफूअनुकूल बनाउन भइरहेको छ । यस्तो प्रयोग व्यक्तिको नैसर्गिक अधिकारमाथिको आक्रमण हो । आम मानिसलाई झुट तथा भ्रममा पारेर चुनावलाई प्रभावित गर्नु लोकतन्त्रविरोधी काम हो । चुनावले सोसल मिडियाको प्रयोगलाई झनै विकृत बनाउनु दुःखद् छ ।

केही महिनापछि संयुक्त राज्य अमेरिका र भारतमा आम चुनाव हुँदै छन् । यसले ल्याउन सक्ने हानिकारक सूचनाको महामारीका विषयमा विश्वभरि चिन्ता व्यक्त गरिएको छ । २०१६ मा डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालको दुरुपयोग गर्दै चुनावमा अप्रत्यक्ष धाँधली भएको कुरा मिडियामा आयो । बाह्य शक्तिको संलग्नतामा त्यस्तो भएको भन्ने चर्चा पनि भयो । भारतमा पनि यस्तै सोसल मिडियाको दुरुपयोगबाट नरेन्द्र मोदी उदाएको चर्चा हुने गरेको छ । मोदीले मिडिया तथा सोसल मिडियालाई विपक्षका विरुद्ध र आफ्ना पक्षमा प्रयोग गर्न सफल भएका थिए ।

पछिल्ला केही वर्ष डोनाल्ड ट्रम्प र नरेन्द्र मोदीले सत्ताका लागि प्रचार गरेका झुट, प्रयोग गरेको नश्लीय राष्ट्रवाद तथा लाद्न खोजेको तानाशाहीका सन्दर्भमा प्रशस्त लेखिएको छ र लेखिँदै पनि छ । सम्भवत: ट्रम्प र मोदी नै आउँदै गरेको चुनावका प्रमुख प्रतिस्पर्धी हुन् । दोश्रो कार्यकालका लागि ट्रम्प २०२० भएको चुनावमा हारेका थिए भने मोदी तेश्रो कार्यकालका लागि प्रतिस्पर्धा गर्दै छन् ।

अमेरिकामा आप्रवासी र मुस्लिमप्रतिको घृणालाई र भारतमा पनि त्यस्तै प्रकृतिको मुस्लिमविरोधी हिन्दू अतिवादलाई भोटको राजनीतिमा प्रयोग गरिएको छ । ट्रम्प र मोदीलाई सोसल मिडियाले उनीहरूले खोजेजस्तै उपकरण दिएको छ । मोदीको हिन्दू सर्वोच्चतावादी राजनीतिको प्रभाव सोसल मिडयामार्फत नेपालमा पनि फैलिएको छ । अब फेरि २०२४ मा उनीहरूको सत्तामा आगमन भए विश्वव्यापी लोकतन्त्र र न्यायको बाटो अवरुद्ध हुने जोखिम बढेको छ ।

सोसल मिडियाको दुरुपयोग गरी लोकतन्त्रको हुर्मत लिन विश्वभरका अन्य शासकले पनि सिक्दै गएका छन् । चीन र रुसजस्ता देशमा पहिले देखिनै आ–आफ्नो विशेषताको तानाशाही व्यवस्था छ । शासकले आफ्नो स्वार्थ अनुकूल त्यहाँका जनताको मानसिकतालाई तोडमोड गरेका छन् । अहिले विश्व भूराजनीतिलाई युक्रेन तथा ताइवान समस्याले झनै जटिल बनाइरहेको छ । यसै समयमा विश्वकै ठूला तथा महत्त्वपूर्ण चुनाव हुँदैछन् । अब फेरि गलत सूचना, झुट तथा घृणाको व्यापक प्रयोग हुने चिन्ता बढी रहेको छ ।

फेसबुक, एक्स्, युट्युब, टिकटक, ह्वाटस्एप आदिको दुरुपयोग गरी आम मानिसको सोच्ने तरिकालाई कम्पनीहरूले नाफा र राजनीतिक दलहरूले सत्ताका लागि प्रभावित गरिरहेका छन् । नेपालको सन्दर्भमा पनि सोसल मिडियाको प्रभाव प्रष्ट छ । सोसल मिडियालाई ‘राम्रो’सँग प्रयोग गर्न सक्ने मान्छे नेता बनेका छन् । सोसल मिडियाकै भरमा काठमाडौं महानगरका स्वतन्त्र उम्मेदवार बालेन साहले स्थानीय चुनाव र आम चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीले जिते । वास्तवमा पपुलिज्म्ले राजनीतिक दलका नेता मात्रै होइन मिडिया तथा अदालत समेत प्रभावित गरेको देखिएको छ । सोसल मिडियाको प्रयोगले यो जोखिमलाई झनै बढाएको छ ।

नेपालमा पनि अब सबैजसोले बुझेका छन् सोसल मिडियामा मान्छे खटाउन सके चुनाव जितिन्छ । केही महिना पहिलेको कुरा हो । वैकल्पिक राजनीतिक शक्तिको आवश्यकताका विषयमा छलफल गर्न हामी दर्जनौं साथीहरू काठमाडौंको एक ठाउँमा जम्मा भएका थियौँ । मैले छलफलमा उपस्थित केही साथीहरूमा आउँदो चुनाव सजिलै जितिन्छ भन्ने आत्मविश्वास देखेँ ।

यसो बुझ्दा यस्तै सोसल मिडियाकामा काम गर्ने उहाँहरूले चिनेको एकजना व्यक्ति हुनुहुन्छ रे । उहाँकै सहयोगमा जित्न सम्भव छ भनेर साथिहरू ढुक्क हुनुभएको रहेछ । यद्यपि, सहयोग गर्नेछु भनेका उक्त व्यक्ति त्यो छलफलमा हुनुहुन्थेन । अहिले सोसल मिडियामा चहलपहल हेर्दा दक्षिणपन्थी र हिन्दूअतिवादीहरूले पनि यसमा खर्च वा लगानी गरिरहेको जस्तो देखिन्छ ।

सोसल मिडियाको प्रयोग राजनीतिका लागि अपरिहार्य जस्तै भएको छ । आम मानिसका लागि पनि यो उपयोगी छ । माथि छलफल गरिएका चुनौतीका कारण यसलाई बन्दै गर्नुपर्छ भन्ने होइन । यस्तै, अनेकौं तरिकाले प्रविधिको प्रयोग हाम्रो जिवनको अभिन्न पाटो भइसकेको छ । तिनलाई अस्वीकार गरेर अब जीवनलाई अगाडि बढाउन गाह्रो छ । त्यसकारण हामीले छलफल गर्नुपर्ने कुरा भनेको प्रविधि ठिक कि बेठीकमा होइन । प्रविधिको कुन प्रयोग ठीक र कुन बेठीक भनेर गर्नुपर्ने हुन्छ । प्रविधि एक औजार हो जसलाई जसरी चाह्यो त्यसरी नै प्रयोग गर्न सकिन्छ । गलत प्रयोग हुनु औजारको दोष होइन ।

अन्त्यमा, जस्तोसुकै चुनौती आए पनि अब समाज प्रविधिको प्रयोगबाट पछि हट्न सक्दैन । वास्तवमा यसको विकासमा अवरोध सिर्जना गर्नु न फाइदाजनक छ न त अब सम्भव नै । यो मानिसका लागि निकै सहयोगी सावित पनि भइसकेको छ । माथि भनिएजस्तै यो एक औजार भएकाले आफैँमा ठीक र बेठीक हुँदैन । यसले उपलब्ध गराएको अवसरलाई कसरी सदुपयोग गर्ने ? कसरी नियमन गर्ने ? यो विषयमा सोच्नु जरुरी छ । सोसल मिडिया कम्पनी र प्रयोगकर्तालाई उत्तरदायी बनाउनका लागि प्रभावकारी कानुनको कार्यान्वयन गर्नुपर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved