आलेख

सपनाहरूको शोकमा

मलाई लाग्यो उपन्यासमा जीवन जस्तो लेख्यो त्यसरी नै अगाडि बढ्छ । तर, यथार्थमा जीवन कथा जस्तो हुँदैन । मैले बुझेँ मेरो प्रेम, मेरो सपना र मेरो लोकतन्त्र सबका सब कुनै भावुक कविका रचनाहरू हुन् । जसलाई पढ्न त मजा आउँछ तर, भुइँको जीवनसँंग तिनीहरूको कुनै साइनो हुँदैन ।

सपनाहरूको शोकमा

२०४७ सालको दशैंछेकको कुरा हो । म राजधानीबाट लगभग एक वर्षपछि गाँउ आएको थिएँ तरहरा, सुनसरी । आफ्नै गुँडमा फर्किएको चराजस्तो फुर्ती थियो तनमा । तर, मन भने गाँउमा थिएन । ज्यान यता, मन उता । उता अर्थात् राजधानीतिर । मिनेट-मिनेटमा उता कसैसँग कुरा गर्न मन लाग्थ्यो । हाते फोन थिएन । ल्यान्डलाईन खर्चिलो हुन्थ्यो । त्यसैले मनको तिर्सना मेट्न लामा-लामा प्रेमपत्रहरू लेख्नु मेरो दैनिक काम बनेको थियो ।

राजधानीमा मेरो कलेजमात्र थिएन, नाम चलेका चलचित्र घर, पुस्तक पसल, नाटक हेर्ने गल्ली, आन्दोलन गर्ने सडक र मेरी प्रेमिका बस्ने टोल पनि उतै थिए । ती सबैलाई कल्पनातित रंग र सुगन्धले सुशोभित गर्दै म प्रेमपत्रहरू लेख्ने गर्थेँ । साथीहरू भन्थे– ‘तँ प्रेमपत्र लेख्न सिपालु छस् ।’ प्रकाश कोविदका पात्रहरूले बोल्ने लवजमा साथीहरू भन्थे– ‘तेरा शब्दहरूले मुटुमा करौती चलाउँछन् यार ।’ म फुरुक्क हुन्थेँ र उनीहरूका समेत प्रेमपत्रहरू लेखिदिन्थेँ ।

म विज्ञानका ठेलीहरूभन्दा धेरै उपन्यास पढ्थेँ । उपन्यासबाट शब्दहरू सापटी लिन्थेँ । तिनै शब्दलाई प्रेमपत्रमा भर्थेँ । म उपन्यासका पात्रसँग खेल्थेँ । बात मार्थेँ । मन परेका पात्रसँग डुल्न निस्कन्थेँ । सपनाका रंगीन पहाडतिर डुल्नुको मज्जै अलग ।

मैले पढेका उपन्यास जस्तै थिए मेरा सपनाहरू । त्यसैले सपनाजस्तै हुन्थे मैले लेख्ने चिठीहरू पनि । यसरी, त्यो समय चिठी लेख्ने र सपना देख्ने काममा म मगनमस्त थिएँ । जीवन उमंगले भरिपूर्ण थियो । सुन्दर थियो, सपना जस्तै थियो ।

त्यसैताका मैले प्रकाश कोविद, युधीर थापादेखि दोस्तोभस्की, गोर्की र टोल्सटोयसम्मका उपन्यास पढेँ । तर, मलाई सबैभन्दा मनपर्ने उपन्यास थियो— अग्निदीक्षा । निकोलाई आस्त्रोभस्किको पात्र पावेलले मलाई मोहित बनाएको थियो । यो कुरा मैले धेरै पटक, धेरै ठाँउमा भनेको छु कि म त्यो समय पावेलबाट सर्वाधिक प्रभावित थिएँ । उ मलाई निकै बेजोड लाग्थ्यो ।

पावेल कर्चागीनको जीवन विचित्र लाग्थ्यो । साहस, प्रेम, आस्था र सपनाहरूको बेमिसाल । पावेलले प्रेम गर्छ । पावेलले युद्ध गर्छ । पावेलले पढ्छ । लेख्छ । पावेलले देशलाई माया गर्छ । समाजलाई माया गर्छ । उ विश्राम लिँदैन, सधैँ गतिशील हुन्छ । कहिल्यै हार्दैन । जीवनको अन्तिम मोर्चा पनि जितेरै छोड्छ । मलाई लाग्यो, यो हो जीवन । यसरी मैले मेरो नायक भेटेँ ।

म साथीहरूका बीचमा बस्दा पावेलको प्रशंसा गर्थेँ । उप्रतिको अतिशय लगावले हुनुपर्छ म आफूलाई समेत पावेलजस्तै ठान्थेँ । हुँदाहुँदा यस्तो भयो कि पावेलले जस्तै केही चमत्कार गरेर म आफूलाई क्रान्तिकारी सिद्ध गर्न चाहन्थेँ ।

के गर्ने होला ? झन्डै एक हप्ता मनमा आँधी चलिरह्यो । मेरो मनले स्वयम् मलाई आह्वान गरिरह्यो—केटा तैँले केही त गर्नैपर्छ । आखिर प्रेमिकालाई चिठीमात्र लेखेर त कसरी पावेल कर्चागीन हुन सकिन्छ र ? सायद म आफूलाई पावेल कर्चागिच बनाउन र आफ्नो बहादुरीको कथा, उता राजधानीमा आफ्नी सुनकेसरी रानीलाई सुनाउन चाहन्थेँ ।

त्योबेला शहरमा मात्र हैन, गाँउमा पनि प्रजातन्त्र आएको थियो । हामी भन्थ्यौँ, प्रजातन्त्र भनेको स्वतन्त्र सपनाहरूको बगैँचा हो । उदारता हो । उमंग हो । तर उल्टो मान्छेहरू सङ्कीर्ण बन्दै थिए । त्यसैले एक आपसमा पाखुरा जोडेर कुरा गर्थे । घरायसी कुरा गर्दागर्दै राजनीति निस्कन्थ्यो । अनि विवाद सुरू हुन्थ्यो ।

अवस्था यस्तो थियो कि, चोकमा चिया खान सँगै आएका मित्रहरू फर्किँदा शत्रु भएर फर्किन्थे । मन्दिरदेखि मधुशालासम्म प्रजातन्त्र लागेको थियो । विवाह, ब्रतवन्ध, मलामी सबै प्रजातन्त्रको प्रभावमा थिए । राजनीतिक दलबाहेक परिवार, आफन्त, मित्र र छिमेकका सबै सम्बन्धहरू कमजोर भएका थिए । प्रजातन्त्रको ठूलो भ्रम फैलिएको थियो गाँउमा ।

सबै छुट थियो प्रजातन्त्रमा । झगडा गर्न छुट थियो । मस्त जाँड खाएर श्रीमतीलाई भकुर्न छुट थियो । बिहानभरि चिया पसलमा बसेर राजनीतिका अन्तहीन विवाद गर्न छुट थियो । मार्क्स बन्न छुट थियो । वीपी बन्न छुट थियो । अप्ठ्यारा शब्दहरू बोल्न र समाजवादका रहस्यहरू छर्न छुट थियो । त्योभन्दा अगाडी बढेर गफ गर्दागर्दै लाठीमुङ्ग्री चलाउन छुट थियो ।

यत्ति मात्रै होइन, बिच चोकमा आमसभा गर्न छुट थियो । सभामा जे मन लाग्छ, त्यहो बोल्न छुट थियो । अरुलाई गाली गर्न छुट थियो । आफ्नो गुणगान गाउन छुट थियो । धेरै छुट थियो । यस्ता धेरै छुटहरूमध्ये काठ चोर्न पनि छुट थियो । जंगल पस्यो, मनलाग्दो सखुवाको रुख छान्यो, ढाल्यो र घर ल्यायो ।

मलाई लाग्यो, अब पावेल कर्चागीन हुने समय आइपुग्यो । एकदिन साँझको कुरा हो । हामी केटाहरूबीच सल्लाह भयो कि अब जंगल जोगाउनुपर्छ । हामी काठ चोरलाई समातेर पाता फर्काउन र मस्त भकुर्न चाहान्थ्यौँ । त्यसका लागि हामीले समूह बनायौँ र जंगलको गस्ती गर्ने निर्णयमा पुग्यौँ । जंगल गस्ती जाने, काठ चोरलाई समाउने र रातारात नाम चम्काउने ।

हाम्रो निष्कर्ष थियो, काठ चोर्नेहरू सबका सब देशलाई लुट्ने राष्ट्रद्रोही र गद्दार हुन् । देशका असली सन्तान त हामी हौँ । यो विचारले हाम्रो समूहलाई अझ उत्साहित बनायो । हामी आफूले पढेका कथा वा हेरेका सिनेमाका नायकजस्तै हुन चाहन्थ्यौँ ।

काठ चोर्नेहरू आफ्नै छिमेकी थिए । चोरको त्यो हुलमा आफ्नै दौँतरीहरू पनि थिए । राति गोरुगाडा लिएर जंगल गयो, बिहान बडेमानका सखुवाका टुना कोठेबारीमा लडायो । यसमा गाँउका फुच्चे नेताहरूको पनि संलग्नता थियो । प्रजातन्त्र जो आएको थियो, त्यसैले प्राय: धेरैका नयाँ काठेघर बन्दै थिए । बुर्जा हालेका बडेबडे घर ।

अरुका नयाँ घर हेर्दै हामी केटाहरू भने मुख मिठ्याउँथ्यौँ । यसर्थ काठ चोर पक्रिने कुरामा हाम्रो क्रान्तिकारी जोश मात्र थिएन, सायद मनको कुनै कुनामा सुषुप्त बसेको आरिस पनि थियो । आफू हुतिहारा हुनुको हिनताबोध पनि थियो । घरमा माता-पिताबाट झेल्न परेको दबाबको प्रतिक्रिया पनि थियो ।

रेन्जरसँग हाम्रो परिचय थियो । त्यसैले गाँउकै वन कार्यालयको आँगनमा हाम्रो बैठक बस्यो । रेन्जरसँग सल्लाह गरियो । कुरा मिल्यो । अर्को दिन गस्ती जानका लागि उनले जिल्ला वन कार्यालयबाट २ वटा टिपर मगाए । हाकिमहरूका लागि रातो बत्ती र साईरन भएको सानो गाडी पनि आइपुग्यो ।

योजनाअनुसार नै अर्कोदिन साँझ ७ बजे हामी वन कार्यालय अगाडी जम्मा भयौँ । म सबैभन्दा अगाडी पुगेँ । किनभने मेरो पावेल कर्चागीन मसँगै थियो । हामी ३७ जना युवाहरू, थोत्रा बन्दुक बोकेका ७ जना वनपाले, २ जना रेन्जर, ४६ जनाको हाम्रो टोली राति ८ बजेतिर चारकोसे झाडीको गस्ती लगाउन तरहराबाट उँभो लाग्यो । एउटा गतिलो मिसनमा सहभागी भएको गर्वले सबै भरिएका थियौँ । उमंग थियो । सपना थियो ।

हाम्रो गाडी चारकोसे जंगलको शान्तिलाई बीचबाट चिर्दै अगाडी बढ्यो । जंगल अन्धकार थियो । कालो शान्ति । टिपरको आवाज अग्ला सालका रुखमा ठोकिदा कतै आँधी सुसाएजस्तो सुनिन्थ्यो । चराहरू अतालिँदै उड्थे । लाटोकोसेरो त्रासले कराएको सुनिन्थ्यो । गाडीको हेडलाईटमा किराहरू ठोकिन्थे । हामी फायरलाईन हुँदै जंगलको गहिराइभित्र पसिरहेका थियौँ । पछाडि फर्किएर हेर्दा जंगल अध्यारो सुरुंगजस्तो लाग्थ्यो ।

मिसन भयानक हुँदै थियो । हाम्रो गाडीमा ४ जना वनपाले पनि सँगै थिए । उनीहरूसँग बन्दुक थियो । उनीहरू मौन थिए । सायद उनीहरूलाई मिसनको गम्भीरता थाहा थियो । तर, हामी मगनमस्त थियौँ । रोमाञ्चित थियौँ । एक जना पालेले हामीलाई विस्तारै बोल्न संकेत गर्‍यो । बन्दुक भएर पनि उ डराएको थियो । हामी खालीहात थियौँ तर, डर कति पनि थिएन ।

जंगल छिरेको त्यस्तै एकाध घण्टामा हामी रोकियौँ । सानो चौरजस्तो ठाँउ थियो । सबै गोलो घेरामा उभियौँ । रेन्जरले कडा निर्देशन दिए । समूहमा हिँड्ने । अनावश्यक नबोल्ने । एक्सन गर्नुपर्दा वनपालेको निर्देशन मान्ने । कुनै गडबडी भए बन्दुक बोक्नेहरूको पछाडि उभिने । अप्ठ्यारो स्थिति आए वा जंगलमा हराए गाडीको साईरन सुन्ने र रातो बत्तीतिर आउने ।

रेन्जरको निर्देशन बोकेर हामी पैदल अगाडि बढ्यौँ । एक घण्टा हिँडिसकियो सिकार कतै छैन । जंगल निकै बाक्लो थियो । माथि आकासमा ताराहरूसमेत देखिँदैनथ्यो । जंगलमा अल्झिँदै, झाडी पन्छाउँदै, बाटो पहिल्याउँदै अध्यारोमा हिँड्नु निकै अप्ठ्यारो थियो ।

एकठाँउमा पुगेपछि वनपालेले संकेत गर्‍यो । हामी उभियौँ । पर केही आवाज सुनियो । स्यार स्यार स्यार स्यार… । अब पक्का भयो सिकार नजिकै छ । मिसन अन्तिम चरणमा छ । हाम्रो सास फुल्यो । रौँहरू ठाडा भए । वनपालेको निर्देशनमा काठ चोर्नेहरूको अखडालाई विस्तारै घेरा हालियो ।

त्यो क्षण जीवनकै सबैभन्दा रोमाञ्चक थियो । रगत नसाहरूमा बेगले कुद्दै थियो । होश थिएन । बिजुली चम्किएको गतिमा हामीले एक्सन गर्‍यौँ । २ वटा गोरुगाडा, २ जना काठ चिर्ने आरावाला र अरु ४ जनालाई समातियो । मिसन सफल भयो । हामी विजयोल्लासले चिच्यायौँ ।

त्यसपछि टोली फर्किन थाल्यो । फर्किँदा हाम्रो समूहमा अर्कै जोश थियो । हातमा सफलता थियो, मनमा उमंग । साथीहरू कोही हल्ला गर्दै थिए, कोही गाउँदै ।

तर, विस्तारै हाम्रो उमंग संशयमा फेरियो । किनकि जति अगाडि बढेपनि हाम्रो गन्तव्य आइपुगेन । पक्का भयो, हामी जंगलमा हरायौँ । बाटो भुलियो । घुमिफिरी त्यही ठाँउमा आइपुग्ने, जहाँबाट उनीहरूलाई समातिएको थियो । यस्तो भयो कि जंगलको मात लाग्यो । जंगलमा फसियो ।

हराएको दुई घण्टा जति भएको थियो कि, एक्कासी अगाडिबाट हो-हल्ला सुरू भयो । सपनाजस्तो । कुनै चलचित्र जस्तो । साँच्चैको पाषण युद्धजस्तो । हान्, मार्, ठोक्, खोस्‌जस्ता शब्दहरूका साथ हामीलाई काठ चोरहरूको समूहले अघि नै घेरा हालिसकेछ । अर्थात् सयौँ मान्छेले एक्कासी हामीमाथि हमला बोले । हामी उनीहरूको घेरामा फस्यौँ । यस्तो त सपनामा पनि देखिएको थिएन । हामी विजयको उन्मादमा थियौँ । यस्तो बेला जंगलमा गुरिल्ला आक्रमण भयो । हामी सम्हालिन नपाउँदै हाम्रो टोली मिनेटभरमा छिन्नभिन्न भयो ।

को कता भाग्यो को कता, थाहा भएन । कसो-कसो अँध्यारोको फाइदा उठाउँदै म पनि फुत्किएँ । तर, कता फुत्किएँ पत्तो पाइनँ । राति घरको आँगनमा निस्कन डराउने म चारकोसे झाडीमा फसेँ । मनले भन्यो अब सकियो । तर के गर्ने ? निकै बेरपछि अलिक पर भरुवा बन्दुक पड्किएको आवाज सुनियो । अनि त्यस्तै आधा घण्टापछि विस्तारै हो-हल्ला शान्त भयो ।

म अजंगको जामुनको रुखमा टाँसिएको रहेछु । सास फुलिरहेको थियो । घड्कन बढिरहेको थियो । के-के गर्दा, एक्कासी कसैसँग ठोकियो । अब मरियो भन्ने लागेको थियो तर आफ्नै साथी रहेछ । हामी मृत्युको मुखबाट बचेका २ जना अभागीहरू २० मिनेट जति एकअर्कोलाई हेराहेर गरेर बस्यौँ । रेन्जरको निर्देशनअनुसार अब गाडीको साईरन सुन्ने र रातो बत्तीमा ध्यान दिने कुरा थियो । तर आधाघण्टा कुर्दा पनि न त कतै रातो बत्ती देखियो, न त साईरन सुनियो ।

हामी अँध्यारोमा छामछाम-छुमछुम गर्दै अगाडि बढ्यौँ । कता जाने थाहा थिएन, त्यसै अन्दाजमा हिँड्दै थियौँ । एक्कासी सानो चौर आयो । चौरमा हात्ती जस्तै चकमन्न थियो हामीले छोडेर आएको बत्तीवाला गाडी । तर, त्यहाँ न त साईरन बजाउने मान्छे थियो, न त बन्दुक बोकेका वनपाले ।

अर्कोदिन सबेरै गाँउमा हल्ला फैलियो । हल्ला निकै ठूलो थियो । बिहान ७ बजेसम्ममा वन कार्यालयमा सयौं मान्छेहरू जम्मा भइसकेका थिए । हामीलाई हेर्न उत्सुकहरूको ठूलै भीड थियो । कोही हाम्रो तारिफ गर्दै थिए । कसैले गाली गरेको पनि सुनिन्थ्यो । कोही हिजो मस्त पिएको रनाहामा गाली र तारिफ एकैपटक गर्दै थियो ।

जे होस् त्यो दिन पावेल कर्चागीनले करामत गरेकै थियो ।

बिहान वन कार्यालयमा पुगेपछि थाहा भयो, हामीले समातेका गोरुगाडा खोसिएछन् । आरावाल भागेछन् । मतियारमध्येका ३ जना फुत्किएछन् । एकजनालाई ल्याइएछ । तथापि, मिसन ब्यर्थ भएन । एकजना हात लाग्यो ।

पूरा दिन हो-हल्ला र जिज्ञाशामा बित्यो । अब के हुन्छ ? जवाफ कसैसँग थिएन । दिउँसो जिल्ला वन कार्यालयबाट ठूला हाकिमहरू आए । नेताहरूको पनि राम्रै उपस्थिति रह्यो । प्रहरी प्रशासनको पनि ठूलै भीड लाग्यो । भनेजत्ति चोर नसमाए पनि हाम्रो ठूलै चर्चा भयो । हामी नायक बनेका थियौँ । १९ वर्षे उमेरमा नायक बन्नुको आनन्द अमूल्य थियो ।

हामीले आफ्नो काम गरेका थियौँ, अब काम गर्ने पालो थियो अरुको । अरु अर्थात् सिडियो, डिएफओ, डिएसपी अनि नेताहरू । तर, त्यसपछि के भयो हामीलाई थाहा भएन । हामी त सपना देख्नेहरू थियौँ । त्यो पनि हाम्रो एउटा सपना थियो । हामीले जे गर्नु थियो, गरेका थियौँ । बाँकी नेता र प्रशासनको काम थियो ।

पछि सुनियो, हामीसँगै गस्तीमा जाने रेन्जरहरूलाई स्पष्टीकरण सोधियो रे ! उसको सरुवा भयो । समातिएको काठ तस्करलाई कुनै नेताले जमानी दियो । हामीले उदण्ड केटाहरूको परिचय पायौँ । यसरी त्यो घटना सकियो । एउटा मिसन सकियो । जंगल जोगाउने युवाहरूको सपना सकियो । हाम्रो उत्साह सकियो ।

तर, समय रोकिएन । प्रजातन्त्र र जंगलको कथा उसैगरी अगाडि बढिरह्यो । त्यो सालको दशैं र तिहार सकिँदा-नसकिँदै घटनाको रापताप सबै सेलायो । त्यसपछि मैले नयाँ उपन्यास पढ्न सुरु गरेँ । त्यसपछि पनि मैले अनेक प्रेम-पत्रहरू लेखेँ । तर पत्रहरूले मात्र कसैको भावुक प्रेमलाई पार लगाउन सम्भव थिएन । त्यसैताका मैले नयाँ ज्ञान प्राप्त गरेँ । त्यो थियो पात्र र पाठकलाई हेर्ने ज्ञान ।

मलाई लाग्यो उपन्यासमा जीवन जस्तो लेख्यो त्यसरी नै अगाडि बढ्छ । तर, यथार्थमा जीवन कथा जस्तो हुँदैन । मैले बुझेँ मेरो प्रेम, मेरो सपना र मेरो लोकतन्त्र सबका सब कुनै भावुक कविका रचनाहरू हुन् । जसलाई पढ्न त मजा आउँछ तर, भुइँको जीवनसँंग तिनीहरूको कुनै साइनो हुँदैन । यसरी त्यो सालको दशैं तिहार सकियो र म काठमाडौं फर्किएँ।

आजकल लगभग ३३ वर्षपछि पनि दशैंमा गाँउ फर्कँदा म त्यो घटना सम्झन्छु । र, त्यस्ता अनेक घटना सम्झन्छु । मन आफैँ ती दिनहरूको सम्झनामा बयेली खेल्छ । अनि सम्झनामा आउँछन् ती साथीहरू, जोसँग धेरै सपना थिए र अझ धेरै सपना देख्ने उमंग थियो ।

तर, समयको खेल देखेर अत्यास लाग्छ कि मेरा साथीहरू कहाँ छन् र म कता आइपुगेँ ? हिजोमात्र मेरो एकजना साथीले मलाई केही प्रश्न गर्‍यो । उसले सोध्यो, “साथी किन हाम्रा सपनाहरू मरे ? किन हजारौं पावेलहरू आफ्नै सपनाहरूको मलामी जान्छन् यो देशमा ? के सपनाहरू मर्नकै लागि मात्र देखिन्छन् ?”

यसपाली दशैंमा म गाउँ गइनँ । अब गाँउ-गाँउ जस्तो छैन । न त पुराना साथीहरू गाँउमा छन्, न त नयाँमा त्यो उमंग छ । अतः मेरो साथीले सोधेको पछिल्लो प्रश्नको उत्तर खोज्न म काठमाडौंकै सडक, धुलो र धुँवा झेलिरहेको छु । जवाफमा मैले भनेको छु, “पख यार, राजधानीमा नाम चलेका केही  दरबारहरू छन् तिम्रा प्रश्नको जवाफ त्यतै खोजौँला ।’

तर, सत्य भन्नुपर्छ मैले जुन दरबारको कुरा गरेँ, ती दरबारको गजुर त मैले देखेको छु तर गजुरले उत्तर दिदैँनन् । मान्छे बोल्दैनन् । म मेरो साथीको जवाफ कहाँ खोजौँ ?

मलाई लाग्छ— उत्तरहीन हुनु नै आजको मुख्य संकट हो ।

[email protected]


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved