काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरू संसद् सुचारु हुनुपर्ने पक्षमा रहेको बताएका छन् । बुधबार बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् अवरोध गरिरहेको स्मरण गर्दै उनले भने, “हामी संसद् सुचारु गर्ने पक्षमा छौँ । कहीँ कोहीविरुद्ध अभियोजन छ भने अभियोजन चल्ने ठाउँबाट चल्छ । अनि कांग्रेसले नै भ्रष्टाचारी हो भनिदिने, फैसला ठोकिदिने ? हामीलाई धेरै कांग्रेस नेताहरूको जन्मकुण्डली थाहा छ । बढी नबोले हुन्छ ।”
ओलीले अब कांग्रेसलाई संसद्मा बोल्न नदिने बताए । “हामी बोलेका छैनौँ भनेर कांग्रेसले मसलको राजनीति नगर्दा हुन्छ । अब कांग्रेसलाई बोल्न दिइँदैन । कहीँ कोहीविरुद्ध कुनै आरोप वा अभियोजन छ भने पहिले उसले बोल्न पाउनुपर्छ । पहिले रवि लामिछानेले बोल्न पाउनुपर्छ । त्यसपछि मात्रै कांग्रेसले बोल्नुपर्छ । अनि सरकार खुस्क्यो, रविलाई चिथोर्ने ?,” ओलीले भने ।
उनले गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति बन्न आवश्यक नरहेको बताए । “के संसद् कांग्रेसको घरबाट ल्याएको हो ? संसद्मा हामी पनि छौँ,” उनले भने, “कुनै समिति बन्न आवश्यक छैन ।”
कांग्रेसले गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा दोषी भएको यथेष्ट प्रमाण रहेको जिकिर गर्दै उच्चस्तरीय संसदीय छानबिन समिति बनाउन माग गरेको छ । उसले समिति नबनेसम्म सदन नचल्ने अडान कसेको छ ।
यसअघि मङ्गलबार बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको दुवै बैठकमा कांग्रेसले नाराबाजी गरेको थियो ।
Facebook Comment
Comment